काठमाडौं– कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकलाई जबरजस्ती भ्यानमा लगेर विवादित भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरीले गल्ती स्वीकार्दै माफी मागेका छन्।
रौतहको दुर्गा भगवती गाउँपालिकाको कोभिड युनिटमा खटिएका डा संजितकुमार साहसँग प्रहरी उपरीक्षक सद्धिविक्रम साहले प्रहरीका तर्फबाट माफी मागेका हुन्।
आइतबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा एसपी साहले माफी मागेपछि आफूहरु नियमित काममा फर्किएको डा साहले बताए।
‘एसपीले नै प्रहरीबाट गल्ती भयो भनेर स्वीकार गर्नुभयो, सुरक्षाकर्मीले जबरजस्ती ल्याएर गल्ती गर्नुभएकोमा म नै माफी माग्छु भन्नुभयो,’ डा साहले भने, ‘उहाँहरुले गल्ती भएको स्वीकार गर्नुभएपछि विवाद समाधान भयो। हामी पनि काममा फर्कियौं ।’
शनिबार बिहान प्रहरीले नै कुटेर घाइते भएका एक स्थानीयको प्राथमिक उपचार पछि जिल्ला अस्पतालमा रेफर गरिएको थियो। बिरामी रेफर गर्दा प्रहरीले डा साहलाई पनि प्रहरीसँगै जानुपर्ने बताएका थिए। तर आफू कोभिडका बिरामीको उपचारमा खटिएकाले जान नमिल्ने डा साहले बताएका थिए ।
डा साहले प्रहरीसँग जान नमानेपछि माथिको आदेश भन्दै प्रहरीले उनलाई जबरजस्ती भ्यानमा राखेर जिल्ला प्रहरी कार्यालयमा लगेको थियो।
ड्युटीमा खटिएको समयमा आफूलाई जबरजस्ती लगिए पछि डा साह लगायत प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए ।
कोरोना संक्रमितको उपचार खटिएको समयमा आफूलाई अपराधी जसरी गरिएको भन्दै जबरजस्ती प्रहरी कार्यालय लैजाने प्रहरी इन्स्पेक्टरले आफूसँग माफी माग्नुपर्ने भन्दै डा साह लगायत स्वास्थ्यर्मीहरुले जिल्ला प्रशासन कार्यालय शनिबार नै ज्ञापन पत्र बुझाएका थिए।
आइतबार दिउँसो प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिविक्रम साह, गाउँपालिकाका जनप्रतिनिधि सहितको टोली र डा साहबीच वार्ता गराएका थिए।
सो क्रममा जिल्ला प्रहरी कार्यालयका एसपी साहले आफैंले आदेश दिएर नै डा साहलाई जबरजस्ती ल्याइएको र प्रहरीबाट गल्ती भएको भन्दै माफी मागेका थिए।
एसपी साहले माफी मागेपछि डा साह लगायत स्वास्थ्यकर्मीहरु आफ्नो काममा फर्कन सहमत भएका छन्।
यो पनि
कोभिड बिरामीको उपचारमा सक्रिय डाक्टरलाई प्रहरीले जबरजस्ती अपराधीलाई झैं लिएर गए