महिला स्वास्थ्य स्वयम्सेविकाहरूले नेपालको मातृ तथा शिशु मृत्युदर घटाउन निकै ठुलो भूमिका निर्वाह गरिरहेका छन्। दुर्गम समुदायमा डाक्टर नपुग्ने नेपालमा उनीहरूको योगदान कुनै डाक्टरको भन्दा कम छैन। अन्तर्राष्ट्रियस्तरबाट समेत यो कार्यक्रमको प्रशंसा हुने गर्छ। यही कार्यक्रमकी परिकल्पनाकार हुन् डा. रिता थापा। प्रसूति गृहबाट आफ्नो करिअर सुरु गरेकी डा. थापा अन्ततः जनस्वास्थ्यमा समर्पित भइन्। विश्व स्वास्थ्य संगठनमा विभिन्न पदमा बसेर काम गरिसकेकी डा. थापा अझैं पनि स्वास्थ्य मन्त्रालयका नीति बनाउन सल्लाह सुझाव दिने गर्छिन्।
सम्झना बाल्यकालका
सन् १९४० को दशक। देशभर छोरीलाई पढाउनुहुन्न भन्ने परम्परा व्याप्त थियो। तर, उनको शिक्षित परिवार यसको विरुद्धमा थियो। सेनाको जागिर छाडेर बसेका बुबा छोरीलाई पढाउनुपर्छ, उनीहरूमा सशक्तिकरण गराउनुपर्छ भन्ने सोचमा थिए। यहीकारण बुबा, आमा र जेठा दाईले उनलाई सानैमा अक्षर चिन्न सघाए। विद्यालयमा पाइला नटेक्दै उनी रामायण, स्वस्थानीलगायतका धार्मिक पुस्तक पढ्न सक्ने भैसकेकी थिइन्। औपचारिक शिक्षा भने १० वर्षको उमेरमा पद्मकन्या स्कुलबाट ५ कक्षाबाट सुरु भयो। त्यतिबेला पद्मकन्यामा पढाउने अधिकांश शिक्षिका दार्जिलिङका थिए। सानैदेखि खेलकुदमा निकै अगाडि थिइन् उनी। काकाले ब्याडमिन्टन सिकाए। बिहान सात बज्नुअघि नै काकाको घरको कोर्टमा ब्याडमिन्टन खेलिसक्थिन्। धेरैले केटाजस्तो खेल्दै र साइकल सिक्दै हिँडेको भनेर कुरा काटे। तर, ‘केटाले सक्दा हामीले किन सक्दैनौं’ भनेर प्रतिवाद गर्थिन् उनी। खेलमा उत्कृष्ट हुँदैं जाँदा उनी लगातार तीन वर्ष ब्याडमिन्टनको राष्ट्रिय ट्रिपलक्राउन च्याम्पियनसमेत बनिन्। सन् १९५५ मा पद्मकन्याबाट दोस्रो श्रेणीमा एसएलसी गरिन्।
अध्ययनको उचाई
सानैदेखि डाक्टर बन्ने इच्छा थियो। तर एसएलसीमा नागरिक विज्ञानमा बढी नम्बर आयो। तर चिकित्सक बन्न विज्ञान लिएर पढ्नुपथ्र्यो। बायोलोजी पढ्न त्रिचन्द्र कलेज जानुपर्ने भयो। तर, केटाहरू पढ्ने कलेजमा कसरी छोरीलाई पठाउनु भनेर परिवार हच्कियो। त्यहीकारण परिवारले भारतस्थित पटना विमेन्स कलेजमा पठायो। सुरुमा फ्लोरेन्स नाइटिङगेलको जीवनीबाट प्रभावित उनी नर्स बन्न चाहन्थिन्। तर, मेडिकल क्षेत्र नै रोजेपछि डाक्टरै किन नबन्ने भन्ने सल्लाह भयो परिवारमा। त्यही भएर आइएस्सीपछि कोलम्बो प्लानअन्र्तगत उनले लखनउको किङजर्ज मेडिकल कलेजबाट एमबिबिएस गरिन्। सानैदेखि नै उनको सोच थियो, चिकित्सा क्षेत्र प्रतिष्ठा र आदर्शका लागि हो।
भेषबहादुरसंगको विवाह
त्यतिबेला छोरीको बिहे कम उमेरमै गर्ने चलन थियो। उनी दश कक्षामा पढ्दादेखि नै केटा माग्न आइरहन्थे। त्यसमध्ये एउटा थियो भेषबहादुर थापाको परिवार। तर रिताले विवाहलाई इन्कार गर्दै गइन्। एमबिबिएस पढ्दा १९६१ मा बिदामा नेपाल आएका बेला विवाहका लागि फेरि भेषबहादुरबाट प्रस्ताव आयो। एमबिबिएस नसकी विवाह गर्दिन भनिन्। उनले भेषबहादुरलाई देखेकी पनि थिइनन्। अमेरिकामा पढ्दापढ्दै राजाले बोलाएका केटा निकै ठूलो पोष्टको भन्थे। त्यतिबेला भेषबहादुर राष्ट्रिय योजना आयोगका सचिव थिए। उनले फेरि अस्वीकार गरिन्। आमाले त कोठामा ढोकै लगाएर सोध्नुभयो, कतै भारतमै कुनै केटासँग ‘लभ’ परेको पो छ कि ? त्यसबेला पनि एमबिबिएसपछि भनेर उम्किइन्।
सन् १९६२ मा एमबीबीएस सकेर नेपाल आएको एकहप्तामै फेरि भेषबहादुरबाटै विवाहको कुरा आयो। यतिका वर्षदेखि कुरिरहेकाले रिताको मन छोयो। रिताले पहिला केटा भेट्छु भनिन्। त्यतिबेलासम्म केटीले केटा हेर्ने चलनै थिएन। आमा झस्किइन्। तर, उनले जिद्दी छाडिनन्। अनि केटालाई पाहुना बनाएर घरमा बोलाइयो। केटा मन पर्यो रितालाई पनि। अमेरिका पढेर फर्किएका डा. भेषबहादुरले एक शब्द पनि अंग्रेजी बोलेनन्। मिठो नेपाली बोले। यो कुराले प्रभावित भइन् उनी। व्यवहार पनि सार्है राम्रो लाग्यो। तत्कालै मागी विवाह भयो।
चिकित्सकीय अभ्यास
एमबिबिएस सकेर नेपाल आएपछि उनले प्रसूति गृहमा काम थालिन्। त्यहाँको अभ्यास उनका लागि ठूलो पाठ बन्यो। त्यहाँ काम गर्दा उनले धेरै लैंगिक असमानताका दुखद् घटना देखिन्। बर्सेनि अनिच्छित गर्भ रहेका धेरै महिला त्यहाँ आउँथे। यौनका विषयमा महिलाका केही अधिकारै थिएनन्। यहीकारणले महिला तथा बालस्वास्थ्यमा समस्या निम्त्याइरहेको थियो। उनले परिवार नियोजन मातृशिशु स्वास्थ्यको एक अभिछिन्न पाटो भएको देखिन्। उनलाई यी समस्याको एकमुष्ट समाधान खोज्न मन लाग्यो। तर, क्लिनिकल तहबाट यो सम्भव थिएन। त्यसैले तत्कालिन स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिनेशानन्दसंग उनले पब्लिक हेल्थतर्फ जाने इच्छा व्यक्त गरिन्। डा. दिनेशानन्दले स्वागत गरे। तर उनले जनस्वास्थ्यमा पैसा र आकर्षकण दुवै नभएको कुरा पनि सचेत गराए। रिताले स्वास्थ्य सेवा पैसाका लागि नभएको प्रष्ट पारिन्।
प्रसूति गृहमा डेढ वर्ष काम गरेपछि उनले सन् १९६४ मा जनस्वास्थ्यतिर काम सुरु गरिन्। सुरुमै उनलाई मातृ शिशु कल्याण तथा परियोजनाको प्रमुख बनाइयो। जागिरको पहिलो दिन नै उनलाई नेपालको नक्सांकन गर्ने जिम्मेवारी आइपर्यो। नक्सांकन गरिन् पनि। तर, बिग्रियो भनेर गाली खाइन्। त्यसपछि यस्ता काम गरेर बस्दिँन भनेर कार्यक्रममा लाग्न थालिन्। कागजमा नक्सा बनाउने उनको जीवनको सपना थिएन। उनी त नेपालका आमा र बच्चाको जीवनको नक्सा कसरी कोर्ने भन्ने ध्याउन्नमा थिइन्। प्रसूति गृहमा देखेको आमा र शिशुको अवस्थाले उनको लक्ष्य त्यसैमा केन्द्रित भैसकेको थियो।
सन् १९९६ मा रिता ११ महिनाको काखे छोरा छाडेर एमपिएच गर्न अमेरिकाको जोन हप्किङस् विश्वविद्यालय प्रस्थान गरिन्। छोराको मायाले उनी पढाइ छाडेर फर्किन लागेकी थिइन्। तर कोरियाकी एक सहपाठीले तिमीले अर्को एकजनाले पाउने छात्रवृत्ति खेरफाल्दा सबैले धिकार्छन् भनेपछि पढाइ सकेर फर्किइन्। १८ महिने कोर्स एक वर्षमै सकियो। उनलाई विश्वविद्यालयले फिलिपिन्स खटायो। उनले सात दिनमात्रै पोटारिकामा काम गरेर नेपाल फर्किइन्। जनस्वास्थ्यको समस्या धेरै नेपालमै छ, किन फिलिपिन्स जाने भन्ने सोचेर उनी नेपाल फर्किएकी थिइन्।
महिला स्वास्थ्य स्वयम्सेविकाको परिकल्पनाकार
मातृ शिशुकल्याण तथा परियोजनाको पहिलो क्लिनिक काठमाडौंको गोकर्ण स्वास्थ्यचौकीबाट सुरु भयो। यो कुनै भर्टिकल कार्यक्रम जस्तो थिएन। आमा र बच्चा रहँदासम्म रहने कार्यक्रम थियो। यसका लागि छुट्टै नीति, कार्यक्रम र सोच आवश्यक थियो। जनशक्ति कमीका कारण चार वर्षसम्ममा काठमाडौमा आठ वटा क्लिनिक मात्र थिए। जबकि ग्रामीण क्षेत्रमा मातृ, शिशु र बालमृत्युदर अमानवीय स्तरको थियो। देशको सरदर मृत्युको ३७ प्रतिशत एक वर्ष मुनिका शिशुले ओगटेका थिए। ग्रामीण भेगका अधिकांश आमा तथा बच्चा स्वास्थ्य सेवाविहीन थिए। जनशक्तिको चरम अभावले ग्रामीण भेगमा स्वास्थ्य सेवा पुग्ने अवस्था थिएन। काठमाडौका ती आठ क्लिनिकको अध्ययनले ७० प्रतिशतभन्दा बढी काम पारामेडिकलले पनि गर्न सक्ने देखियो। यो तथ्यले परिवार नियोजन तथा मातृ शिशु परियोजनालाई घरदैलोसम्म पुर्याउन सक्ने बाटो देखायो। डा. रितालाई लाग्यो सिकायो भने हिस्ट्रि लिने, नुन चिनी पानी बनाउन सिकाउने, सर्वोत्तम पिठो बाँड्ने, भिटामिन वितरण गर्ने, बाल पोषणको स्थिति जाँच्ने, सरसफाइ, परिवार नियोजन आदि काम जसले पनि गर्न सक्छ। यही परिकल्पनाले जनस्वास्थ्यमा अति आवश्यक पर्ने घरदैलोमा पुग्ने जनस्वास्थ्यकर्मी ‘हेल्थ एड’को १९६८ बाट सुरुवात भयो। यो नेपालको स्वास्थ्य क्षेत्रमा ‘पाराडाइमसिफ्ट’ साबित भयो। यो कामको सुरुवात नेपालले अल्माआटा घोषणापत्र जारी हुनु १० वर्ष अघि नै गरिसकेको थियो।
त्यसपछि परिवार नियोजन तथा मातृशिशु स्वास्थ्य योजनाअन्तर्गत समुदायबाट ८ कक्षासम्म पढेका इच्छुक मानिस छनौट गरी ६ हप्तासम्म तालिम दिएर सरसफाईबारे सल्लाह दिने, समुदायमा झाडापखालाको उपचार गर्न सिकाउने जनशक्ति तयार गर्ने कार्यक्रम बनाइन्। यसको स्वीकृतिका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पठाइयो। तर, तत्कालिन अर्थ सचिवले विदेशीको पैसामा सेतो हात्ती पाल्न खोजेको भनेर प्रस्ताव पन्छाए। यस्ता कार्यक्रम सरकारले थेग्न सक्दैन भन्ने भनाई उनको थियो। रिता मन्त्रालय धाउन छाडिनन्। उनले एक दिन अर्थसचिवलाई हौंस्याउँदै भनिन्, ‘गरीबलाई एउटा एस्प्रिन खान दिनुस् आशिष लाग्छ।’
यही वाक्यले नै अर्थ सचिवलाई छोएछ, उनले तत्काल फाइल सदर गरिदिए। १०७ जनाको तालिमका लागि बाटो खुल्यो। पथलैयामा तालिम भयो। यो जनस्वास्थ्य कुटनीतिको सफल प्रयोग थियो। यही निर्णयले नेपालमा महिला स्वास्थ्य स्वयम्सेविकाको अवधारणा भित्रियो, जसले नेपालको बाल तथा मातृ मृत्युदर घटाउन उल्लेख्य भूमिका निर्वाह गरिरहेका छन्।
त्यतिबेला यो कार्यक्रमका लागि मान्छे छान्नसमेत हेलिकप्टर प्रयोग हुन्थ्यो। मान्छेहरु हेलिकप्टर हेर्न आउँथे, तिनैमार्फत् गाउँगाउँमा खबर पुग्थ्यो। महिला समूह आउँथे भरिभराउ उपस्थितिबाट तालिमका लागि मान्छे छानिन्थे।
तर, महिलालाई परिवार नियोजनको साधन प्रवद्र्धनमा लगाएको भन्दै त्यतिबेलाका चर्चित महिला नेतृहरूले समेत रिताको विरोध गरे। तर महिलाहरू स्वास्थ्यका प्याकेज लिएर घरघर पुग्न छाडेनन्। पछि प्रमुख दाता यूएसएआईडीले परिवार नियोजन र मातृशिशु कार्यक्रम एकै ठाउँमा राख्दा जनसंख्या नियन्त्रणमा सुस्तता आउने हुनाले परिवार नियोजनलाई छुट्टै कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव राखेपनि त्यो हुन पाएन। त्यो नमान्दा रिताले झण्डै जागिर गुमाएकी थिइन्।पछि नाम परिवर्तन गरेर परिवार नियोजन तथा मातृशिशु स्वास्थ्य कार्यक्रम राखियो।
अमेरिकी सहयोग नियोग यूएसएआइडी र विश्व स्वास्थ्य संगठनको सहयोगमा सरकारले सन् १९५६ देखि नेपालको पहिलो जनस्वास्थ्य कार्यक्रम औंलो उन्मुलन योजना सञ्चालन गरेको थियो। त्यो कार्यक्रममार्फत् १९७० को दशकमा औंलो नियन्त्रण गर्न सफल हुँदा पनि तत्कालिन सरकारले औंलो नियन्त्रणमा राख्न सक्ने ग्रामीण स्वास्थ्य कार्यक्रम स्थापना गर्न सकेको थिएन। त्यसका साथै दातृ संस्थाको सहयोग पनि नरहने स्थिति आएपछि औंलो फेरि फर्कने त्रासमा सरकारले सन् १९७५ मा रातारात ६ जिल्लामा एकीकृत आधारभूत स्वास्थ्य सेवा कार्यक्रम लागु गर्यो।
नेपाल सरकारका पाँच वटा ‘भर्टिकल’ कार्यक्रम आफ्नै पाराले चलेको थियो। जसमा परिवार नियोजन तथा मातृशिशु स्वास्थ्य, क्षयरोग, कुष्ठरोग नियन्त्रण, मलेरिया नियन्त्रण तथा बिफर उन्मुलन थिए। सोही वर्ष नै पाँच ‘भर्टिकल’ कार्यक्रम एकीकृत भए। डा. रितालाई वरिष्ठ जनस्वास्थ्य प्रशासकको रुपमा कार्यक्रमको प्रमुख बनाइयो।
ती पाँचवटा फरक कार्यक्रमलाई एकै ठाउँमा गाभी वडास्तरसम्म गुणस्तरीय सेवा पुर्याउने गहन जिम्मेवारी थियो। सबै कार्यक्रमसँग धेरैका प्राविधिक स्वार्थ जोडिएका थिए। पहिलो खम्बा बनेर परिवार नियोजन तथा मातृशिशु कार्यक्रम स्थापित भइसकेको थियो। यी सबै सेवालाई घरदैलोसम्म एकीकृत स्वास्थ्य सेवाको प्याकेजका रुपमा पुर्याउने उद्देश्यअनुसार १९७५ देखि प्रत्येक गाविसमा एक–एक जना ग्रामीण स्वास्थ्य कार्यकर्ताको व्यवस्था पनि गरियो। तर, पाँच योजनाका विभिन्न थरिका कार्यभार बढेकाले एउटा ग्रामीण स्वास्थ्य कार्यकर्ताले मात्र काम नभ्याउने देखियो। त्यसैले एकीकृत सामुदायिक स्वास्थ्य अगुवाको कार्यक्रमका लागि लगानी थालियो। १९८० मा १६ जिल्लामा ५ हजार महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका सञ्चालन गरी सन् १९८८ बाट यो कार्यक्रमका लागि सरकारले नियमित बजेट दिन थाल्यो। स्वास्थ्यमा उपलब्धी हासिल गर्न तल्लो तहमा बलियो संरचना हुनुपर्छ भन्ने उनले राम्रोसंग बुझिसकेकी थिइन्। त्यतिबेला नै जिल्ला–जिल्लामा स्वास्थ्य कार्यालय बने। थुप्रै मानिसले जनस्वास्थ्य पढ्न थाले।
गाउँ तहमा खटिने हरेक महिला स्वयम्सेविकालाई हेल्थपोस्टले चेनमा बाँध्ने काम गरेको थियो। स्वास्थ्य कार्यकर्ता पनि २१ दिनको तालिम पाएपछि सामान्य स्वास्थ्य सेवा र जानकारी लिन र दिन सक्थे। रिताकै अवधारणामा स्वास्थ्यमा एउटा चेन निर्माण भएको थियो। त्यो चेन केन्द्रबाट क्षेत्र, क्षेत्रबाट जिल्ला, जिल्लाबाट गाविस र गाविसबाट वडासम्म थियो।
प्रत्येक वडामा एक–एक वटा सामुदायिक स्वास्थ्य अगुवाको व्यवस्था गर्ने फाइल सदर गराउन जाँदा तत्कालिन स्वास्थ्य सचिवले फाइल पर सार्दै व्यंग गरे, ‘तपाई बुद्धिमान महिला भनेको त गाउँगाउँमा धेरै नेता बनाउन पो लाग्नुभयो’ खासमा वास्तविकता के थियो भने, उनले स्वास्थ्य कार्यकर्ताको नाम ‘स्वास्थ्य अगुवा तर अंग्रेजीमा सामुदायिक स्वास्थ्य लिडर (सिएचएल) भनेर राखेकी थिइन्। पछि ‘ग्रामीण स्वास्थ्य स्वयम्सेवी’ भनेर राखेपछि बल्ल फाइल सदर भयो।
सन् १९६८ देखि हेल्थ एडबाट सुरु गरी १९७८ यता महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका बनाएको यो च्यानलबाट स्वास्थ्य सेवा पुर्याउने परम्परागत शैलीमा प्रभावकारी परिवर्तन भित्रियो– ‘प्याराडाइमसिफट’। यसअनुसार घर दैलोसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउने गरियो। यही महत्वपूर्ण ‘प्याराडाइमसिफट’ ले गर्दा वडा–वडामा काम गर्ने महिला स्वास्थ्य स्वयम्सेविकालगायत ग्रामीण स्वास्थ्य कार्यकर्ता, हेल्थपोष्ट, अस्पताल, जिल्ला जनस्वास्थ्य, क्षेत्रीय तथा केन्द्रीय कार्यालयहरू सबैलाई एउटै चेनमा जोडेर तानेको बलले अहिले नेपालले स्वास्थ्यमा सहस्राब्दी विकास लक्ष्य हासिल हुन सम्भव भएको छ।
विश्व स्वास्थ्य संगठनका वर्ष
सन् १९८० मा रिताका श्रीमान् डा. भेषबहादुर थापालाई सरकारले अमेरिकाको राजदूत बनायो। रिता पनि बिदामा श्रीमान्सँग उतै बस्दै थिइन्। गाउँगाउँ डुलेर काम गर्ने उनलाई अमेरिकाको बसाई चित्त बुझिरहेको थिएन। तर पनि उनले त्यही बसेर अनुसन्धान र परामर्शको काम गरिरहेकी थिइन्। त्यसैबीचमा अमेरिकामा नयाँ राष्ट्रपति आए। राष्ट्रपतिको पाइलटसमेत रहेकी र पछि सेक्रेटरी बनेकी हलिङ भन्डान भन्ने महिलाको अन्तर्वार्ता वासिङटन पोष्टमा छापिएको थियो। त्यसमा भन्डानले भनेकी थिइन्, ‘मलाई नेपालको पहाड चढ्न मन लागेको छ’। त्यसले रिताको मन छोयो। उनले आफू सहयोग गर्न तयार रहेको भन्दै भण्डानलाई चिठ्ठी लेखिन्। त्यसपछि दुवैजना अभिन्न मित्र बने।
अध्ययन बिदा बाँकी भएकाले उनले सरकारसँग बिदा मागिन्। अमेरिकामा रहेका पतिसँगै बस्ने चाहना थियो। तर, तत्कालिन स्वास्थ्य सचिवले उनलाई बिदा दिएनन्.। बिदाका लागि राजालाई नै बिन्ती गर्नुपर्छ भन्ने सल्लाह सचिवले दिए। बिदा त अधिकार थियो। त्यसका लागि राजालाई गुहार्न उनको स्वाभिमानले दिएन। त्यसैले उनले राजीनामा दिइन्। सचिवले एक सातामै स्वीकृत गरे। पछि उलने बुझिन्, आफूले छोड्दा हुने रिक्त स्थानमा सचिवले आफ्नो मान्छे ल्याउन त्यसो गरेका रहेछन्। पछि पति डा. भेषबहादुरले राजीनामा गरेपछि उनी नेपाल फर्किइन्।
नेपाल फर्किएपछि सन् १९८६ मा उनलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वेष्टर्न प्यासिफिक क्षेत्रको कार्यालयमा मातृशिशु स्वास्थ्य तथा परिवार नियोजनको क्षेत्रीय सल्लाहकारका रुपमा काम गर्न बोलायो। नेपालमा एकीकृत स्वास्थ्य कार्यक्रम प्रमुख रहँदा संगै काम गरेका विश्व स्वास्थ्य संगठनका डा. नाकाजिमाले बोलाएका थिए उनलाई। तीन वर्ष उनले फिलिपिन्सको मनिला बसेर काम गरिन्।
डा. नाकाजिमाले आफू विश्व स्वास्थ्य संगठनको डाइरेक्टर जनरलमा चुनिएपछि डा. रितालाई सन् १९८९ मा जेनेभास्थित विश्व स्वास्थ्य संगठनको केन्द्रीय कार्यालयमा महिला स्वास्थ्य तथा विकास कार्यक्रमको जिम्मा दिए। ४ वर्ष जेनेभामा काम गरेपछि परिवार छाडेर बस्न रिताको मनले मानेन। उनी भित्री मनदेखि नै नेपालमै काम गर्न चाहन्थिन्। त्यो कुरा उनले डब्लुएचओ मुख्यालयलाई भनिन्। सन् १९९३ मा डब्लुएचओले उनलाई एनएफपीएको एउटा परियोजनामा आफ्नो परामर्शदाता बनाएर काठमाडौंमा पोष्टिङ गर्यो। उनीहरूले रितालाई आफ्नो देशमा स्वार्थ बाझिन्छ, काम गर्न अप्ठेरो हुन्छ भनेर सम्झाएका थिए। तर उनी ती सबै कुरा छाडेर नेपाल आइन्। त्यसपछि उनी डब्लुएचओको दक्षिणपूर्वी एशिया क्षेत्रीय कार्यालय दिल्लीमा डिपार्टमेन्ट अफ हेल्थ सिस्टम एण्ड कम्युनिटी हेल्थको प्रथम महिला निर्देशक हुन सफल भइन्।
सन् १९८६ देखि विश्व स्वास्थ्य संगठनमा काम गर्न थालेकी डा.रिताले २००१ देखि उमेर हदका कारण अवकाश पाइन्। देश फर्किएपछि उनी नेपाल सरकारको वरिष्ठ जनस्वास्थ्य नीति सल्लाहकारको रुपमा छिन् भने स्वास्थ्य मन्त्रालयका विभिन्न समितिमा रहेर नेपालको जनस्वास्थ्य क्षेत्रलाई उकास्ने कार्यमा अझैं पनि योगदान दिइरहेकी छिन्। नेपाल जनस्वास्थ्य प्रतिष्ठानको उनी संस्थापक सदस्य तथा सल्लाहकार हुन्। उनी अहिले काठमाडौं विश्वविद्यालयको सिनेटमा लब्ध प्रतिष्ठित व्यक्तिबाट छानिएकी छिन्।
उनको यस्तो व्यस्तता देखेर होला उनका कुनै सन्तान पनि डाक्टर बनेनन्। एक वर्षअघि उनको जीवनमा एउटा ठूलो पीडा आइपर्यो। अमेरिकामा कार्यरत वैज्ञानिक छोरा भाष्करको हृदयाघातबाट मृत्यु भयो। यो घाउ भुल्न थापा परिवारले छोराका अधुरा काम पूरा गर्ने उद्देश्य लिएको छ। अन्य दुई छोरीमध्ये एक अन्तर्राष्ट्रिय न्यायालय हेगमा वकिल छिन् भने अर्की छोरी मन्जुश्री थापा नामी लेखिका हुन्। बुहारी र नातिहरु अमेरिका बस्छन्। उनी पति डा. भेषबहादुरका साथ नेपाल बस्छिन्। अहिले पनि दैनिकजसो गल्फ खेल्छिन् उनी।