डडेल्धुरा- सुदूरपश्चिमका चार पहाडी जिल्लामा वातारण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन शुरु गरिएको छ। नेपाल सिआरएस कम्पनीले पहिलोपटक डडेल्धुराबाट वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराउन थालेको हो।
बिहीबार डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा रहेको उग्रतारा माविमा एक कार्यक्रमकाबीच सेनिटरी प्याडको शुभारभ गरेको हो। अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख शंकरराज पाण्ड्य, इभाना मानन्धर मिस नेपाल सन् २०१५ लगायतले विद्यालयका छात्राहरूलाई एक साथ प्याड दिँदै प्याड दिएर शुभारम्भ गरेका हुन्।
ग्रामिण क्षेत्रमा मातृ तथा बाल शिशु स्याहार सुधार आइसिएमसिसिआर कार्यक्रमअन्तरर्गत महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता व्यवस्थापन र सुधारका लागि वातावरण मैत्री सेनिटरी प्याड उपलब्ध गराइएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जर्मन सहयोग केएफडब्लुबीचको सहकार्यमा प्याडको शुभारम्भ गरिएको सिआरएसका प्रबन्ध निर्देशक जीवलाल पोखरेलले जानकारी दिए। यो कार्यक्रम सुदूरपश्चिम प्रदेशको डडेल्धुरासहित बैतडी, डोटी र बझाङमा लागू छ।
यस कार्यक्रमले विद्यालयका छात्रालगायत महिलाहरूमा महिनावारी बेला सकारात्मक परिवर्तको ज्ञान दिने अपेक्षा लिइएको छ। कार्यक्रम सञ्चालन भएका जिल्लामा वातारण मैत्री प्याड सुपथ मूल्य र सहजै उपलब्ध गराउनुका साथै महिनावारी भएका बेला स्वस्थ रहन र स्वच्छ वातावरण बनाउन व्यवास्थापनमा सहयोग पुगाउने लक्ष्य लिइएको छ।