काठमाडौं- सरकारले अग्रपंक्तिमा काम गर्नेलाई ‘बुस्टर’ डोज दिन थालेको छ। काठमाडौंसहित देशभरका विभिन्न स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको हो। यसअघि आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो।
तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइनेछ। अहिले खोप सञ्चालन भइरहेका काठमाडौंका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ। यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानु पर्नेछ। आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिका व्यक्तिलाई बुस्टर मात्रा दिइनेछ।