‘सिस्टर! डाक्टरलाई बोलाइदिनुस् न!’
एउटा बिरामीको भनाइ नसकिँदै अर्को बिरामीले भन्यो, ‘सिस्टर! मैले आलु खान हुन्छ कि हुँदैन?’
बीचमै अर्कोले भन्यो, ‘सिस्टर ! आजको पत्रिका ल्याइदिनू न!’
उनले जवाफ दिन नपाउँदै अर्को बिरामीले भन्यो, ‘सिस्टर ! मेरो दुखाइ कम भएन, तुरुन्त डाक्टर बोलाइदिनुस् है!’
अर्को बिरामीको अभिभावकले प्रश्न गर्यो, ‘सिस्टर! तपाईंको बिहे भएको छ कि छैन?’
कुनाबाट अर्को जिज्ञासा आयो, ‘सिस्टर! मैले डिस्चार्ज भएपछि रक्सी खान हुन्छ कि हुँदैन?’
उनलाई रातभर ड्युटी गर्नुपरेकाले अनिद्रा, भोक र थकानले ग्रस्त बनाएको थियो। चारैतिरबाट चाहिने र नचाहिने प्रश्नको वर्षा भएपछि उनी चिच्याइन्, ‘चुप लाग्नुस्! मेरा १० वटा मुख छन् र सबैलाई एकैपटक जवाफ दिने? पालैपालो आफ्नो समस्या भन्नुस् न!’
त्यसपछि बिरामीहरुले आरोप लगाए, ‘नर्सहरु धेरै रिसाउँछन्, धेरै झर्किन्छन्, रुखा हुन्छन!’
— अपजस —
‘सेतो पोसाकमा सजिएका नर्सहरुको मन सेतो भए हुन्थ्यो तर उनीहरु रूखा हुन्छन्, झर्को मान्छन्, बिरामीसँग रिसाउँछन्…' आदि गुनासो बिरामीका अभिभावकले बारम्बार निर्देशकसँग गरे।
'बिरामीको उपचार गर्ने जस्तो संवेदनशील पेशामा मिठो बोलीले बिरामीको आधा रोग सन्चो हुन्छ। यो कुरा नर्सहरुलाई बुझाउनुपर्यो,’ उनीहरुले लिखित रुपमा निवेदन दिए।
त्यसपछि अस्पतालका निर्देशकले नर्सहरूको भेला गरेर निर्देशन दिए, ‘हामीकहाँ भर्ना हुने सबै मानिस दु:खको हुरीमा फसेका बिरामी मात्र हन्। उनीहरु शारीरिक तथा मानसिक पीडाको कारण झर्किन सक्छन्, रुन सक्छन्, हामीलाई अभिभावक ठानेर गुनासो गर्न सक्छन्।
बिरामीले डाक्टर तथा नर्सहरूले मिठो बोली बोलेको, आफ्नो ख्याल गरेको, राम्रो व्यवहार गरेको, जिज्ञासा सुनेर राम्रो सल्लाह दिएको तथा समयसमयमा समस्या र प्रगतिबारे उनीहरुसँग छलफल गरेको अपेक्षा गर्दछन्, जुन हाम्रो पेसागत कर्तव्य पनि हो। तसर्थ आजदेखि तपाईंहरूले मुस्कानसहितको बिरामीमैत्री सेवा प्रदान गर्नुहोला।’
निर्देशकको निर्देशनपछि नर्सहरूले बिरामीसँग मिठो बोल्ने, आत्मीयता देखाउने तथा मुस्कुराएर सोधपुछ गर्न थाले।
यो परिवर्तन देखेपछि बिरामीका अभिभावकले भन्न थाले, ‘आजभोलिका नर्सहरू कति छिल्लिएका? बिरामीलाई समेत लाइन मार्न थाले।’