काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकार खोसिएका विवादित उपकुलपति डा ज्ञानेन्द्र गिरीले कार्यालय समयमा प्रतिष्ठान परिसरमा मदिरा पिएर पुगेको विषय स्वीकार गरेको तथ्य फेला परेको छ।
प्रतिष्ठानका सहकुलपति स्वास्थ्यमन्त्री विरोध खतिवडाको संयोजकत्वमा बनेको छानबिन समितिको टोलीलाई विवादित उपकुलपति डा गिरीले मदिरा पिएको विषय स्वीकार गरेका थिए। उक्त कुरा प्रतिवेदनमा समेत उल्लेख छ। छानबिन टोलीलाई डा गिरीले मदिरा पिएर आफूले कसैलाई अभद्र व्यवहार नगरेको र दुर्वाच्य नबोलेको बताएका थिए।
'मादक पदार्थ सेवन गरेको सवालमा मैले त्यो दिन कसैलाई अभद्र व्यवहार गरेको छैन, दुर्वाच्य बोलेको छैन',छानबिन प्रतिवेदनमा डा गिरीले दिएको जवाफ उल्लेख छ।
उक्त प्रतिवेदनमा उपकुलपति डा गिरीसहितका पदाधिकारीले प्रतिष्ठानमा पदिय आचरण विपरितका काम गरेको भन्दै कारबाही सिफारिस गरिएको छ। तर सरकारले हालसम्म उक्त प्रतिवेदन सार्वजनिक भने गरेको छैन।
तर उक्त प्रतिवेदन स्वास्थ्यखबरले प्राप्त गरेको छ। जसमा उपकुलपति डा गिरीले मदिरा सेवन गरेको विषय शिक्षाध्यक्ष प्राडा गुरुप्रसाद खनालले समेत जानकारी दिएका छन्। छानबिन समितिका सदस्यलाई डा खनालले उपकुलपतिलाई प्रहरी नायब उपरिक्षक(डिएसपी) र उपमेयरले एस्कर्टिङ गरेर लगेको कारण मापसे लगायतका परीक्षण हुन नपाएको जानकारी दिएका छन्।
डा गिरीले प्रतिष्ठानमा आन्दोलन चलिरहेको समयमा आन्दोलनरत पक्षसँग वार्ता गर्न जाँदा गत असार १५ गते मदिरा सेवन गरेर पुगेका थिए। उनी मदिरामा मातेर पुगेको भिडियो समेत सार्वजनिक भएको थियो।
प्रतिष्ठान सुधार अभियान चलिरहेको समयमा डा गिरीको प्राध्यापक पद किर्ते रहेको समेत पत्ता लागेको थियो।
डा गिरी र प्रतिष्ठानका पदाधिकारीले अनियमितता गरेको पुष्टि भएपछि सरकारले उनीहरुको अधिकार खोसेको छ। प्रतिष्ठानमा उपकुलपति र पदाधिकारीको रुपमा काम गर्न सरकारले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवको टोली बनाएर खटाएको छ। तर प्रतिष्ठानमा काम गर्न समस्या भएपछि उक्त टोली काठमाडौं फर्किएको छ।
स्वास्थ्य मन्त्रालयले उक्त टोलीमा थप एक कर्मचारी समेत राखेर प्रतिष्ठानमा पठाउन लागेको छ।
यो पनि:
'बिपी प्रतिष्ठानका उपकुलपति डा गिरी मदिरामा लठ्ठिएपछि भाँडियो वार्ता' [भिडियो]