काठमाडौं- निसन्तान दम्पतीको उपचारका लागि भन्दै ललितपुर सातदोबाटोमा सञ्चालित क्रियटर्स आईभीएफ नेपाल प्रालीले जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट इजजात पाइनसकेको स्वीकार गरेको छ।
स्वास्थ्यखबरले फागुन १३ गते स्वास्थ्य मन्त्रालयबाट इजाजत नलिइ टेस्टट्यूब बेबी सेवा अर्थात इनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सञ्चालन गरेका संस्थाहरुको विषयमा समाचार प्रकाशित गरेको थियो। जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र नर्भिक अस्पतालले मात्र मन्त्रालयबाट इजाजत लिएर आईभीएफ सेवा सञ्चालन गरेको समाचार प्रकाशित भएको थियो।
उक्त समाचार प्रकाशित भएपछि क्रियटर्स आईभीएफले स्वास्थ्यखबरमा पठाएको पत्रमा हालसम्म मन्त्रालयबाट सञ्चालन स्वीकृति नपाएको कुरा उल्लेख छ। क्रियटर्सले मन्त्रालयमा नियमावली अनुसार स्वीकृतिका लागि निवेदन दिएको उल्लेख छ।
'२०७७ असोज ५ गते राजपत्रमा प्रकाशित जनस्वास्थ्य सेवा नियमावली २०७७ बमोजिम हुने भनी जानकारी पाएको हुँदा उक्त नियमावलीको अनुसूची ७ को प्रकारण २४ बमोजिम सम्पूर्ण मापदण्डहरु पूरा भएको सम्बन्धित कागजातहरु संलग्न राखी ऐन बमोजिम यस संस्थाको नियमन र अध्यावधिक गरी पाउँ भनि १०७७ माघ २९ गते दर्ता नम्बर ६३३ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष निवेदन गरेका थियौं। हाल यस सम्बन्धमा उल्लेखित मन्त्रालयले आफ्नो कार्यविधि बमोजिम यस संस्थालाई नियमन गर्ने प्रक्रियामा रहेको छ' क्रियटर्सले पठाएको पत्रमा उल्लेख छ।
क्रियटर्स आईभीएफ नेपालकी अध्यक्ष डा सानुमैया श्रेष्ठद्वारा हस्ताक्षरित उक्त पत्र मार्फत नै मन्त्रालयबाट उक्त संस्थाले जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वीकृत नपाएको र नियमनको प्रक्रियामा रहेको प्रष्ट हुन्छ।
मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाका प्रमुख डा मदन उपाध्यायले क्रियटर्सले स्वीकृतिका लागि निवेदन दिएको तर आजसम्म स्वीकृति नपाएको जानकारी दिए।
'उहाँहरुले निवेदन दिनुभएको छ। यस विषयमा हामी अध्ययन र अनुगमनको प्रक्रियामा नै छौं,' उनले भने, 'जनस्वास्थ्य सेवा नियमावली २०७७ अनुसार अहिलेसम्म क्रियटर्सले मन्त्रालयबाट स्वीकृति भने पाएको छैन।'
नियमावली अनुसार स्वीकृति नपाए पनि क्रियटर्सले निसन्तान दम्पतीको उपचारका नाममा लाखौं रकम लिँदै आइरहेको छ।
क्रियटर्स २०७२ असार ६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको संस्था हो। यसले ललितपुरबाट तत्कालिन स्वास्थ्य संस्था स्थापना, संचालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका २०७० अनुसार २०७२ फागुन ४ गते आईभीएफ सञ्चालनको अनुमति पाएको थियो। तर जनस्वास्थ्य सेवा ऐन र नियमावली आइसकेपछि मन्त्रालयबाट नियमावलीमा तोकिए अनुसारको मापदण्ड पुरा गरेर मात्र सञ्चालन गर्न पाउने प्रावधान रहेको छ।
नियमावलीले विगतमा अनुमति पाएका यस्ता संस्थालाई नियमावली आएको ६ महिनाभित्र मन्त्रालयबाट इजाजत लिन समय दिएको थियो। नियमावली २०७७ असोज ५ गते राजपत्रमा प्रकाशित भएको हो। तर नियमावली अनुसार २०७८ फागुन १६ गतेसम्म निजी स्वास्थ्य संस्थामा नर्भिक अस्पतालबाहेक अरुले सञ्चालन स्वीकृति नपाएको डा उपाध्यायले जानकारी दिए।
क्रियटर्ससहित वात्सल्य नेचुरल आईभीएफ प्राली, ओम अस्पताल, अल्का अस्पताल, भेनस अस्पताल, ग्रिनसिटी अस्पताल, ग्रान्डी सिटी अस्पताल, ग्रान्डी अस्पताल, वरदान फर्टिलिटी सेन्टर, काठमाडौं फर्टिलिटी सेन्टर, माया आईभीएफ क्लिनीक, नेपाल इन्टरनेसनल फर्टिलिटी एन्ड ल्याप्रोस्कोपिक सेन्टर, डेनिस आईभीएफ सेन्टर, सञ्जीबनी अस्पताल, पोखरा फर्टिलिटी क्लिनीक, सहारा इन्टरनेसनल फर्टिलिटी सेन्टर लगायतले मन्त्रालयबाट इजाजत नै नलिइ टेस्टट्युब बेबी सेवा सञ्चालन गरिरहेको समाचार प्रकाशित भएपछि मन्त्रालयले यस विषयमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ।
'आईभीएफ सेन्टरका विषयमा समाचार तथा गुनासो आइरहेका छन्,' डा उपाध्यायले भने, 'यस विषयमा मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ।'
जनस्वास्थ्य सेवा नियमावली अनुसार आईभीएफ सेन्टर सञ्चालन गर्ने सेन्टरसँग स्त्रीरोग सेवा, बहिरंग सेवा, प्रोगशाला शुक्रकिट परीक्षण सहित, यूएसजी सेवा, अप्रेसन थियटर, इम्ब्रोलोजी प्रयोगशाला, आकस्मिक सेवाका लागि कुनै एक अस्पतालसँगको सम्झौता गरेको लगायतका मापदण्ड पुरा गरेको हुनुपर्दछ।
यो पनि:
प्रसूति गृह र नर्भिक बाहेक नेपालका सबै टेस्टट्युब बेबी सेवा अवैध
गैरकानुनी रुपमा टेस्टट्यूब बेबी सेवा सञ्चालन गर्दै वात्सल्य