२५ वर्षअघि एक नवस्नातक जागिरको खोजीमा भारतीय कम्पनी बायोलोजिकल इभान्स लिमिटेड पुग्छन् । ठिट्यौली जोस अनि केही गर्छु भन्ने अठोट भएका ती युवकलाई कम्पनीले मेडिकल रिप्रेजेन्टेटिभ (एमआर) का रुपमा पत्याउँछ । धैर्य, लगाव र सकारात्मक सोचका कारण छोटो समयमै आफ्नो क्षेत्रमा राम्रो परिचय बनाउन सफल हुन्छन्, पंकजकुमार तिवारी ।
सन् १९९० मा एमआरका रुपमा जागिरे जीवनमा प्रवेश गरेका पंकजले अहिलेसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । आफ्नो कामलाई सदैव प्राथमिकतामा राख्दै निरन्तर खटिएको देखेर उनलाई नेपालका औषधि कम्पनीले अफर गर्नुु स्वाभाविक भइहाल्यो । भारतीय कम्पनी राम्रो हुँदा २, ४ नेपालीले मात्र राजगारी पाउने तर नेपाली उद्योग राम्रो बनाउन सके ३, ४ सय नेपालीले रोजगारी पाउन सक्ने सोचका साथ उनी सन् १९९७ मा नेसनल हेल्थकेयर प्रालिमा एरिया म्यानेजरका रुपमा प्रवेश गरेका हुन् ।
त्यतिबेलासम्म कम्पनीले आफ्नो उत्पादन बजारमा ल्याएकै थिएन । जम्मा १२ वटा औषधिबाट उत्पादन सुरु गरेको उक्त कम्पनीले अहिले बजारमा २ सयभन्दा बढी प्रकारका औषधि बिक्री गर्दै आएको छ । गुणस्तरीय औषधि उत्पादनमा कहिले पनि सम्झौता गर्नु हुँदैन भन्ने उनको स्पष्ट धारणा छ । भन्छन्, ‘कम्पनीको सफलता भनेकै टिमवर्क हो ।’
सबैसँग राम्रो व्यवहार र सबैको उत्तिकै सम्मान गर्ने स्वभावका कारण उनीसँग काम गर्न सबै रमाउँछन् । ७ जनाको टिमबाट काम सुरु भएको कम्पनीमा अहिले मार्केटिङमा मात्र सयभन्दा बढी कर्मचारी छन् । नेपालमा सहजै पाइने र अन्य कम्पनीले उत्पादन गरेका औषधिभन्दा फरक र नयाँ उत्पादन गर्नुपर्छ भन्ने उनको सोच उनकै हो । नेपालमा उत्पादन नहुने र अन्य देशबाट ल्याउँदा महँगो पर्ने समयमा औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर यस्ता नार्कोटिक इन्जेक्टेबल औषधि उत्पादन गरी कम्पनीले नेपाली चिकित्सकहरूको मन जित्यो । कम्पनी विदेशमा समेत औषधि निर्यात गर्ने सफल भइसकेको छ ।
लोकल बजारको व्यवस्थापन सहज बनाउँदै विदेशमा निर्यात गर्नसक्ने अवस्थामा पुगेको नेसनलको विगत सम्झन्छन् पंकज, ‘हामीले बजार सुरु गर्दा सिद्धि पोलिक्लिनिकको एउटा कोठा १२ सय रुपियाँमा भाडामा लिएर चलाएका थियौँ । सबैको सहयोग र कम्पनीको विश्वासकै कारण हामी अहिलेको स्थितिमा आएका हौं ।’
समयको परिवर्तनसँगै नयाँ कुरा आउँछन् । काममा सफलताका लागि आफूलाई सदैव अपडेट राख्नुपर्ने उनको धारणा छ । त्यसकै लागि उनी प्रशस्त अध्ययन गर्छन् र कलेजमा पढाउँछन् पनि । अब पंकजको एउटै सपना छ— नेपाली कम्पनीहरूको उपस्थिति विश्व मानचित्रमा देखाउने । त्यसका लागि उनले फिलिपिन्स, म्यानमार, श्रीलंका र रसिया पुगेर आधिकारिक प्रतिनिधिसँग कुरा गरिसकेका छन् ।
उहाँजस्तो व्यक्तिलाई कम्पनीमा पाउनु खुसीको कुरा
राधेश्याम महतो, बजार निर्देशक
उहाँजस्तो व्यक्तिलाई कम्पनीमा पाउनु हाम्रा लागि खुसीको कुरा हो । गा¥होभन्दा गा¥हो परिस्थितिमा पनि धैर्य राखेर त्यसलाई समाधान गर्न सक्ने खुबी उहाँमा छ । उहाँकोसकारात्मक सोचकै कारण बजारमा कम्पनीको गुडविल राम्रो छ । कसैलाई पनि नराम्रो नसोच्ने उहाँको बानीका कारण हरेक समस्या सहजै समाधान भइरहेका छन् ।
हाँको भिजनसँग प्रभावित
हेमराज शर्मा, सेल्स म्यानेजर
म उहाँसँग सन् २००० देखि सँगै काम गरिरहेको छु । आफ्नो पेसालाई सम्मानित र मर्यादित बनाउनुपर्छ भन्ने उहाँको भिजनसँग प्रभावित भएरै म १५ वर्षदेखि सँगै छु । कर्मचारीको वृत्तिविकास भए कम्पनीको पनि विकास हुन्छ उहाँको सोचअनुसार नै तालिम दिने, अवलोकन भ्रमण गराउने, तलब बढाउने अनि व्यक्तित्व विकासका काम अघि बढिरहेका छन् ।