काठमाडौं- मास्टर इन पब्लिक हेल्थ (एमपिएच)को नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाका विषयमा अहिले चर्चा चलिरहेको छ। नेपाल मेडिकल काउन्सिलले ७ गते लिन लागेको विशेष परीक्षामा एमपिएचको पनि परीक्षा हुने छ।
उक्त विषय सार्वजनिक भएसँगै एमपिएचको लाइसेन्स परीक्षा कसले लिने? भन्ने विषयमा पक्ष र विपक्षमा छलफल भइरहेको छ। एमपिएचको लाइसेन्स परीक्षा र लाइसेन्स दिने काम नेपाल स्वास्थ्य व्यवसायी परिषदको भन्दै धेरैले नेपाल मेडिकल काउन्सिलको आलोचना गरिरहेका छन्।
एमपिएचको लाइसेन्स परीक्षा लिने अधिकार मेडिकल काउन्सिलसँग नभएको भन्दै यस विषयमा विरोध भइरहेको छ। काउन्सिलले एमबीबीएस अध्ययन पछि एमपिएच अध्ययन गरेकाहरुका लागि लक्षित गर्दै लाइसेन्स परीक्षा लिन लागेको बताइएको छ।
एमपिएचका विषयमा लाइसेन्स परीक्षा नेपाल स्वास्थ्य व्यवसायी परिषदले गर्छ।
एमपिएचको लाइसेन्स परीक्षा कसले लिने? स्वास्थ्यखबरले यस विषयमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारी र नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रार पुष्पराज खनालसँग कुराकानी गरेको छ।
काउन्सिलका रजिष्ट्रारहरुले व्यक्त गरेको धारणा उनीहरुकै शब्दमा:
यो हाम्रो काम हो
पुष्पराज खनाल (रजिष्ट्रार, नेपाल स्वास्थ्य व्यवसायी परिषद)
कानुनले चिकित्सक, नर्सिङ र फार्मेसी बाहेक सबै विषय हाम्रोमा दर्ता हुने भनेर तोकेको छ। हामीले पहिलेदेखि नै एमपिएच लगायत हामीसँग सम्बन्धित विषय अध्ययन गरेकाहरुको नाम दर्ता गर्दै आइरहेका छौं। परीक्षा पनि लिन थालेका छौँ। एमपिएचको हकमा के छ भने हामिले बिपिएच गरेका र अन्य हेल्थका ब्याचलर गरेकाहरूलाई पनि हामिले दर्ता गर्छौँ। मेडिकल काउन्सिलले एमपिएच भनेर परीक्षा गर्नुपर्छ जस्तो मलाई लाग्दैन। किनकि स्वास्थ्यसँग सम्बन्धित वा अझ प्रष्ट रुपमा भन्नुपर्दा हामी स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायहरू एउटाले गरेको कामलाई भ्यालिडेट गरे भइहाल्छ नि। पब्लिक हेल्थको हकमा पहिल्यैदेखि हामीले नै काम गरिरहेका छौँ।
नेपाल मेडिकल काउन्सिलले एमबीबीएस गरेका, बीडीएस गरेकाहरूले पछि एमपिएच गरेमा हाम्रो काउन्सिल अन्तर्गत हो भनेर लिइरहनु भएको छ। हामीले हाम्रो संस्था स्थापना भएदेखि नै लिइरहेका छौँ। २०५३ मा ऐन जारी गरेदेखि यो हामीले लिइरहेको परीक्षा हो। हामी मन्त्रालयका निकायहरू हौँ। हामीले आपसमा मिलेर एक ठाँउबाट लाइसेन्स दिनुपर्छ। हाम्रोमा पनि लिन पाउने अनि मेडिकल काउन्सिलबाट पनि भन्ने गर्नु हुँदैन। किन कन्फ्युजन बढाउने? यो हाम्रो काम हो।
हामीले मेडिकल काउन्सिलसँग कुरा गरिरहेकै छौँ। हाम्रो अनुरोध के रहन्छ भने हामिले नियमित परीक्षा गरिरहेका छौँ। तपाईंहरू नगर्नुस्। यो हाम्रो क्षेत्रभित्र पर्छ। .मेडिकल काउन्सिलले एमपिएचको मात्रै लाइसेन्स दिएर के गर्ने? हामिले त बिपिएच गरेकाहरूलाई पनि दिने गरेका छौँ। त्यो त मेडिकल काउन्सिलले दिने गरेको छैन।
चिकित्सक, नर्स बाहेका सम्पुर्ण स्वास्थ्यको विधा हामीले गरिरहेको भएर स्वास्थ्य व्यवसायी परिषदले नै एमपिएचको लाइसेन्स दिनु नै सहज हुन्छ।
अरू विषयको जाँच जसरी हुन्छ एमपिएचको पनि त्यसरी नै लिएको हो
डा कृष्ण अधिकारी (रजिष्ट्रार, नेपाल मेडिकल काउन्सिल)
१.तपाईंहरुले एमपिएचको लाइसेन्स परीक्षा कहिले देखि लिँदै आउनु भएको छ?
सन् २०१२ देखि।
२.अहिलेसम्म एमपिएचका कतिले मेडिकल काउन्सिलबाट लाइसेन्स लिएका छन्?
मलाई कन्ठ छैन।
३.मेडिकल काउन्सिलले के कानुनमा टेकेर एमपिएचको लाइसेन्स परीक्षा लिइरहेको हो?
अरू विषयको जाँच जसरी हुन्छ त्यसरी नै लिएको हो।
४.काउन्सिलको ऐनमा त चिकित्सक भनेर मात्र भनेको छ। एमपिएचका कुराहरु त त्यहाँको ऐनमा छैन नि?
परीक्षा पनि चिकित्सकको नै लिने हो अरूलाई होइन।
५.यो काम त स्वास्थ्य व्यवसायी परिषदको होला नि? उनीहरुको काम किन तपाईंले गर्नुपर्यो?
होइन होइन। यो हाम्रै काम हो।
६.स्वास्थ्य व्यवसायी परिषदले त यो हाम्रो काम हो मेडिकल काउन्सिलले हाम्रो अधिकार हस्तक्षेप गर्यो भन्छ नि?
खै थाहा भएन । उनीहरूले भन्छन् भने उनीहरूको कुरा हो।