विश्व स्वास्थ्य संगठनको परिभाषाअनुसार मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मदै तालु तथा ओठ चिरेको, गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगहरूबाट मुक्त हुने अवस्थाको रुपमा मुख स्वास्थ्यलाई व्याख्या गरेको छ। झट्ट हेर्दा यी समस्याहरु सामान्य लाग्ने तथा सजिलै उपचार गर्न सकिने भएता पनि वार्षिक रुपमा नेपालमा मुख तथा दाँतसम्बन्धी रोगीहरुको संख्या नाटकिय रुपमा बढ्दै गइरहेको छ। हरेक घरमा लगभग हरेक सदस्यको मुखमा केही न केही समस्याहरु रहेको पाइन्छ।
नेपालमा मुख स्वास्थ्यको अवस्था हेर्ने हो भने पनि एकदमै दयनीय रहेको छ। जनचेतनाको अभावको साथसाथै स्वास्थ्य सेवामा पहुँचको पनि अभाव रहेको छ। सन २००४ मा गरिएको पाथफाइन्डर सर्भे हेर्ने हो भने पनि करिब ६४ प्रतिशत व्यक्तिहरु दाँत दुख्ने समस्याबाट ग्रसित छन। यसैगरी करिब ४४ प्रतिशत (३५-३९ वर्ष) व्यक्ति गिँजा तथा गिँजाको वरिपरिको हड्डिको जटिल समस्याबाट ग्रस्त रहेका छन्। बालबालिकाको साथसाथै वयस्क व्यक्तिहरु पनि दाँत किराले खाँने र त्यसको संक्रमण हड्डिसम्मै पुग्ने रोगबाट ग्रसित छन। मुख स्वास्थ्य राम्रो बनाउन ब्रस गर्ने व्यक्तिहरु ग्रामिण भेगमा एकदमै कम रहेका छन। जनसङ्ख्याको उल्लेख्य समूह दाँत जोगाउने भन्दा पनि दाँत निकाल्ने उपचार गराउन बाध्य छन। मुख स्वास्थ्य सम्बन्धी जनचेतनाको अभाव वयस्क व्यक्तिहरुमा एकदमै धेरै रहेको छ। यसबाहेक मुख तथा अनुहारको दुर्घटना, खुँडेपन र एचआइभी संक्रमणबाट मुखमा हुने समस्या पनि ठूलै रुपमा देखिएको छ।
धेरैजसो नेपालीहरुका लागि मुख सम्बन्धी रोगहरुको उपचार महंगो पर्ने गरेको छ। सीमान्तकृत तथा कम आय हुने जनसंख्याको लागि निजी क्षेत्रको दन्त स्वास्थ्य सेवा लिन नसकिने गरी महंगो छ। देशभित्र अवैध सेवा प्रदायकहरुको संख्या पनि वढिरहेको छ। बिरामीहरु परम्परागत उपचारपद्धति र अवैधानिक सेवा प्रदायकहरु कहाँ जाँदा उनीहरुको स्वास्थ्यमा खतराको स्थिति उत्पन्न भएको छ। हाल यस्तो अवैध उपचार कार्य रोकथामको लागि कानूनी प्रावधान नरहेको अवस्था छ। हाल नेपालमा दाँत र गिँजाको रोगले प्रभावित जनसंख्या, मुख सम्बन्धी अर्वुद रोगबाट पीडित जनसंख्या एवं अवस्था बारे समग्र तथ्यांकको कमी रहेको अवस्था छ।
हालको श्रोत साधनले सामाजिक-आर्थिक रुपले कमजोर रहेका जन समुदायको पहुँचमा आधारभूत मुख स्वास्थ्य सेवा पुर्याआउनु, मुख स्वास्थ्य सेवालाई समतामूलक र उपयुक्त साधनस्रोतसहितको सेवाको रुपमा व्यवस्थित गर्नु नेपाल सरकारको अगाडि ठूलो चुनौति रहेको छ। जनसांख्यिक बनौट, आधुनिकीकरणको साथै नेपालीहरुको आहारमा आएको परिवर्तनले गर्दा मुख सम्बन्धी समस्या बढेको अनुमान गरिन्छ। आधारभूत मुख स्वास्थ्यको पहुँचमा कमी, असमान/असन्तुलित जनशक्तिको वितरण र हाल विद्यमान कमजोर स्वास्थ्य स्थितिको कारण अधिकांश नेपाली जनताको मुख स्वास्थ्य समस्या सम्बोधन हुन नसकेको अवस्था छ।
स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रीम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणा अन्तर्गत सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम हो। समस्त नेपाली नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यका साथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा सुरुवात भएको यो कार्यक्रम हाल स्वास्थ्य बीमा बोर्डले संचालन गर्दै आएको छ।
नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ। वर्तमान संविधानको धारा ५१(ज) मा नागरिकका आधारभूत आवश्यकता सम्बन्धी नीति अन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ। गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न, स्वास्थ्य बीमाद्वारा पूर्व भुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवा प्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आम नागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बीमाको व्यवस्था गरिएको भनि बीमा बोर्डको आधिकारिक वेवसाइटमा उल्लेख गरिएको छ।
स्वास्थ्य बीमा जनताको पहुँच स्वास्थ्यमा सजिलै पुर्याउने हेतुले ल्याइएको हो। तर बीमामा मुख तथा दन्त स्वास्थ्यलाई उचित तरिकाले समेटिएको छैन। अझै भन्नुपर्दा हेपिएको छ। विश्व स्वास्थ्य संगठनको परिभाषामा परेका मुख एवं अनुहारको दुखाइ, मुख तथा घाँटीको क्यान्सर, मुखको संक्रमण, जन्मदै तालु तथा ओठ चिरेको, गिँजासम्बन्धी रोग, दाँत किराले खाने तथा झर्ने, दाँतमा प्वाल पर्ने तथा अन्य मुखसम्बन्धी रोगहरूको बारेमा बीमा मौन रहेको छ।
बीमाले समेटिएका विषयहरु वा उपचारहरु दाँत निकाल्ने, सामान्य जिआइसी वा कम्पोजिट भर्ने र दाँतको एक्सरे रहेका छन्। दन्तस्वास्थ्य समस्याहरुको अनुपातमा उपचारको व्यवस्था अति नै नगन्य रहेको छ। जसले गर्दा बिरामीहरु कि त उपचारविहिन भएर बस्नुपरेको छ कि त महंगो शुल्क तिरेर निजि क्लिनिक वा अस्पतालमा उपचार गर्न बाध्य हुनुपरेको छ। त्यस्तै, अहिले सरकारले बीमा कार्यक्रम सरकारी अस्पतालहरुबाट मात्रै प्रदान गर्ने निर्णय गरेको छ। कतिपय सरकारी अस्पताल वा रिफरल अस्पतालहरुमा सामान्य दन्त उपचार मात्रै हुने गरेको छ। केही समय अघिसम्म निजि अस्पताल वा कलेजमा रिफरल लिएर जाने गरिएको भएता पनि अहिले त्यो अवस्था पनि छैन। जसले गर्दा बिरामीहरु धेरै नै समस्यामा पर्ने गरेका छन्। बिरामीहरु उपचार नहुने र रिफरल पनि नहुने दोहोरो मारमा परेका छन्।
नेपाल सरकारले स्वास्थ्य नीति र नसर्ने रोग सम्बन्धी कार्यनीतिसँग समन्वय गरेर कार्य गर्नेगरी नेपाल मुख स्वास्थ्य नीति २०७१ पनि तर्जुमा गरेको छ। मुख स्वास्थ्यको प्रवर्द्धन तथा रोगहरुको नियन्त्रण गर्ने, मुख स्वास्थ्यसम्बन्धी सेवामा सबैको पहुँच सुनिश्चित गर्ने, निरन्तर निगरानी, अनुगमन तथा मूल्यांकन र अनुसन्धानलाई प्राथमिकता दिने, स्वास्थ्य नीति तथा प्रणालीमा मुख स्वास्थ्यमा प्राथमिकीकरण गर्ने, मुख स्वास्थ्यको विकासको लागि अन्य क्षेत्रहरूसँग साझेदारी गर्ने र स्वाथ्य प्रणालीको सुदृढीकरण गर्ने लगायतका यस नीतिका महत्वाकांक्षी उद्देश्यहरु छन्। सन् २०२४ सम्म केन्द्रमा विशिष्ट सेवा रहेको रिफरल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रदेखि सबै अस्पतालहरुमा उपचार गर्ने जनशक्तिको दरबन्दी सिर्जना गर्ने लगायतका लक्ष्य राखेको राष्ट्रिय मुख स्वास्थ्य नीतिको कार्यन्वयन भने निकै नै फितलो भएको प्रष्ट देख्न सकिन्छ।
मुख स्वाथ्य नितिमा उल्लेख गरिएका समस्याहरुलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा समेटिएको छैन। जसले गर्दा नीति तथा कार्यक्रम र बिमा कार्यक्रम एकआपसमा टाढिएका छन्। जसको मारमा भने जसको लागि बीमा कार्यक्रम ल्याइएको हो ति गरिब तथा सिमान्तकृत जनताहरु परेका छन्। यी समस्याहरुको समाधान भनेको बीमा बोर्ड र सरकारले दन्त चिकित्सा सम्बन्धी विभिन्न समुदायहरु, डेन्टल कलेजका प्रतिनिधिहरु र दन्त चिकित्साका विभिन्न विज्ञहरुसँग समन्वय गरेर समस्याहरुको पहिचान गर्ने र कसरी निरुपण गर्ने भन्ने दिशामा अघि बढ्नु पर्दछ। कुनकुन समस्याहरुमा कुनकुन उपचार विधिहरु बीमा कार्यक्रममा समावेश गर्नुपर्दछ भनेर बृहद अन्तक्रिया कार्यक्रम आयोजना गर्नुपर्दछ। जसले गर्दा सामान्य जनताहरुको मुख तथा दाँतसम्बन्धी रोगहरुको सही उपचार निःशुल्क रुपमा उपलब्ध हुने छ।
(डाक्टर रिजाल काठमाडौं विश्वविध्यालय, कलेज अफ डेन्टल सर्जरी, पेरियोडोन्टिक्स विभागमा लेक्चररको रुपमा कार्यरत छन्)