अप्ठ्यारो बाटोमा एकजना स्वयंसेविका वृद्धालाई बोकेर उकालो लागिरहेको एउटा तस्बिर ‘भाइरल’ भयो। गुल्मीदरबार गाउँपालिका वडा नं. ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लिला थापा थिइन् उनी। उनी नजिकैबाट गइरहेको कसैले मोबाइलबाट उक्त कामका तस्बिर खिचेर सार्वजनिक गरिदिए। त्यो तस्बिर मात्रै थिएन, निस्वार्थ रुपमा समाजको सेवा गरिरहेका स्वास्थ्य स्वयंसेविकाहरुको यथार्थ थियो। जसले आफूलाई निरन्तर सेवामा समर्पित गरिरहेका छन्।
उक्त तस्बिर ०७८ माघ महिनाको १४ गते पहिलोपटक फेसबुकमा पोष्ट भयो। त्यो बेला देशभर कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहेको थियो। त्यसपछि निरन्तर चर्चामा रह्यो उक्त तस्बिर। त्यही कारण उनलाई धेरैले चिने। धेरैतिर स्यवंसेविकाको रुपमा उनको चर्चा भयो। कामको सम्मान भयो। लिला भन्छिन्, ‘यो मेरो मात्रै सम्मान होइन। मेरो जस्तै स्वयंसेविकाको पहिरन लगाएर जो देशभर खटिरहेका छौं। सबैको सम्मान हो।’
उनै स्वयंसेविका थापालाई यस वर्षको स्वास्थ्यखबर युनाइटेड इमेजिङ हेल्थ अवार्ड २०७९ प्रदान गरिएको छ। स्वास्थ्यखबरपत्रिकाले आफ्नो वार्षिकोत्सवका अवसरमा ओजित हेल्थ अवार्ड समारोहमा थापालाई कोभड च्याम्पियन स्वयंसेविकाका रुपमा अवार्ड प्रदान गरेको हो।
स्वंसेविका थापाको कामको धेरैले प्रशंसा गर्छन्। प्रशंसाले मिल्ने खुशी उनलाई नमिल्ने होइन। तर, वृद्ध महिलालाई बोकेको तस्बिर पहिलोपटक बाहिर आएको हो, यस्तो काम त उनले यसअघि पनि प्रशस्तै गरेकी छिन्। त्यसैले यसलाई स्वभाविक रुपमा लिएकी छिन् उनले।
स्वयंसेविका थापा कसैलाई पर्दा मात्रै होइन, नपर्दा पनि हालखबर बुझ्न गाउँ डुलिरहन्छिन् । त्यही क्रममा थाहा हुन्छन्, दिदिबहिनीका सुखदुःख। त्यो दिन पनि उनी निरन्तर जस्तै गाउँ पसेकी थिइन्। त्यहीबेला भेट भयो, ७८ वर्षीय महिला देवकला टन्डनसँग।
उनले सुखदुःख सोधिन्। कोरोनाका खोप लगाएको÷नलगाएको बारे जानकारी लिइन्। त्यही क्रममा वृद्धाले भनिन्, ‘म हिँड्न सक्दिनँ। यहाँ कसैले ल्याइदिएनन्।’ टन्डनको घर वरपर कोही मान्छे थिएनन्। घर टाढा–टाढा भएकाले वस्ति भएकाले बोक्ने मान्छे भेटिएनन्।
थापा आफैं अघि सरिन्। उनलाई लाग्यो, ‘पुग्न नसकेका कारण खोपबाट वञ्चित गर्नुहुँदैन।’ खोप छुटेमा स्थानीय पालिका र सरकारबाट सेवा सुविधाबाट वञ्चित हुनेसम्मका कुरा चलिरहेको थियो। त्यसले उनलाई जसरी पनि खोप केन्द्रसम्म पुर्याउनैपर्छ भन्ने लाग्यो।
उनी कोरोना सुरु भएदेखि नै यसैगरी सक्रिय थिइन्। स्वास्थ्यमा आइरहेको संकटका समयमा सक्रिय हुनुपर्छ भन्ने लागेर उनले सुरुमा माक्स, सेनिटाइजर र साबुन बाँडिन्। आफ्नै खर्चमा उनले किनेर बाँडेकी थिइन्।
पछि गाउँमा बिरामी हुँदा त्रासका कारण मान्छेहरु सञ्चो विसञ्चो समेत सोध्न जाँदैनथे। तर, उनी संक्रमितका घरघरमा पुगेर आफूसँग भएका औषधि दिन्थिन् र केही हुँदैन भन्दै डाढस पनि।
कोरोनाकालमा उनी कार्यरत वडामा धेरैजना कोरोना संक्रमित भए। थापा प्राय सवै संक्रमितको घर पुगेकी थिइन्। स्थानीयको अनुरोधमा नै २०७१ सालदेखि स्वास्थ्य स्वयंसेविकाको जिम्मेवारी लिएकी थिइन्। आफ्नो श्रीमान (भूपाल थापा) पनि स्वास्थ्य क्षेत्रकै भएको कारण पनि आफूलाई परिवारबाट पनि साथ र सहयोग संगै हौसला प्राप्त भएको थापाको भनाई छ।
०६९ सालमा नेपाल रेडक्रसबाट भोलेन्टियर तालिम लिएपछि उनी यो क्षेत्रमा सक्रिय हुन हौसिएकी हुन्। ‘सानैबाट सेवा क्षेत्रमा लाग्ने रुचि थियो, रेडक्रसको तालिमले झन् अभिप्रेरित गर्यो। त्यसैले ०७१ सालदेखी महिला स्वयंसेविकाको जिम्मेवारी लिएँ,’ उनले भनिन्।
थापा गाउँमा सवैको सहयोगी मात्रै होइन, विश्वासपात्र हुन्। त्यसैले जे–जस्ता समस्या पर्दा पनि पहिले उनलाई सम्झिन्छन्। ‘धेरैजसो दिदि–बहिनीहरुले आफ्नो श्रीमानलाई समेत भन्न नसकेकोे कुरा मसँग बताउँछन्,’ उनले भनिन्, ‘सके आफैं समाधानका लागि सहयोग गर्छु। नसक्नेमा पनि आफूले जानेको उपाय बताउँछु।’
गर्भवतीको हालखबर बुझ्ने, सुत्केरी भएकाहरुलाई भेट्न जाने, तिनिहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने थापाको दैनिकी हो। थापाको घर तम्घास–पाल्पा सडक खण्डको मुख्य सडक छेउमा पर्छ। जसका कारण सडकमा हुने विभिन्न किसिमका दुर्घटनामा पनि प्राथामिक उपचारका लागि उनी नै सम्झिइन्छिन्।
उनको प्राथामिक उपचारको अस्पतालका चिकित्सकहरुले समेत प्रशंसा गर्ने गरेका छन्। जसले थप क्षति हुनबाट जोगाएको भन्दै एकपल्ट उनको खोजी नै भएको थियो। केही समयअघि भएको एक दुर्घटनाबारे उनले स्मरण गरिन् ‘मेरो घरनजिकै ट्याक्टर दुर्घटना पर्यो। चालकको खुट्टा भाँचियो र उहाँलाई पाल्पा पठाउनुपर्ने भयो। मैले तालिममा सिकेको कुरा प्रयोग गर्दै उहाँको खुट्टामा काप्रो बाँधें। त्यहाँ पुगेपछि डाक्टरहरुलाई उपचार गर्न सजिलो भएछ। यसरी बाधेर पठाउने को हो भनेर सोध्दै हुनुहुन्थ्यो रे।’
आफ्नो क्षेत्र मात्र नभएर आफ्नो आवश्यकता भएको जुन सुकै ठाउँमा गएरपनि सेवा दिन तयार रहने गरेको उनी बताउँछिन्। आफू स्वयंसेविका हुन पाएकोमा उनलाई गर्व छ। गाउँका सुखदुखमा साथ दिन पाउँदा उनी हर्षित छन्।
आकस्मिक समस्यामा रात–विरात पनि धेरैपटक हिँडेकी छिन्। बाटोमै सुत्केरी गराएको अनुभव छ उनीसँग। गर्भवतीलाई सुत्केरी गराउन स्वास्थ्यचौकी लैजाँदै गर्दा बाटोमै बच्चा जन्मिन थालेपछि उनलाई नै सुरक्षित प्रसूति गराइन्।
स्वयंसेवालाई राज्यले नीति बनाएको छ। तर, प्रोत्साहन दिन हिच्किचाएको महशस भने बेला–बेला उनलाई हुने गर्छ। स्थानीय सरकार भएपछि दुःखसुख बुझ्ला र गुनासो सुन्ला भन्ने उनलाई लागेको थियो। तर, उनले त्यस्तो पाएकी छैनन्।
स्वास्थ आमा समूहबाट माग गरेपछि वडाबाट बल्ल–बल्ल ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको उनी बताउँछिन्। तर, आफैं आवश्यकता बुझेर दिनुपर्ने उनको भनाइ छ। उनको गुनासो छ, ‘हामी सेवा गर्नकै लागि छौं। तर सरकारले सेवा गर्न थप प्रोत्साहन भने दिनुपर्छ।
बजेटमा पनि स्वयंसेविका प्राय छुट्ने गरेको उनी बताउँछिन्। उनलाई व्यक्तिगत रुपमा ठूलो अपेक्षा छैन। देशभरिका स्वास्थ्य स्वयंसेविकाको प्रतिनिधित्व गर्दै केही कुरा भने भन्न मन छ। त्यसमध्ये एउटा हो, ‘अवकाश भएपछि स्वास्थ्य स्वयंसेविकाको उपचार निःशुल्क हुने ग्यारेन्टीसम्म राज्यले गरोस्।’