काठमाडौंमा लकडाउन सुरु हुनुभन्दा पाँच महिनाअघि मात्रै १३ जना इन्डिोनेसियन नागरिक नेपाल आए।
२०७६ चैत ११ मा लकडाउन जारी हुँदा उनीहरु सप्तरीमा थिए। लकडाउनले असहज बनेको सप्तरी बसाइलाई सहज बनाउने उद्देश्यसहित उनीहरु जसोतसो गाडीको व्यवस्था गरेर काठमाडौं आइपुगे।
ती इन्डोनेसियन नागरिकले सोचेजस्तो काठमाडौं त्यतिबेला थिएन। नयाँ अनुहारलाई न कुनै होटलले बास दिन्थे न कुनै टोलमा छिर्न दिन्थे। बास बस्ने ठाउँको खोजी गर्दै उनीहरु जिल्ला प्रहरी परिसर ललितपुर पुगे। त्यतिबेला ललितपुरका प्रहरी प्रमुख थिए, एसएसपी (हाल डिआइजी) टेकप्रसाद राई।
ललितपुरका विभिन्न होटलदेखि प्यालेसहरुमा उनीहरुलाई आइसोलेट गरेर राख्नका लागि राईले निकै पहल गरे तर पार लागेन। यस्तोसम्म अवस्था आयो, सहयोग माग्दा जनप्रतिनिधि समेत तर्किए।
बासै नपाउने अवस्था आएपछि ती इन्डोनेसियन नागरिकलाई त्यतिबेला भनेकोे कुरा राईले सुनाए, ‘नआत्तिनु, तिमीहरुको साथमा नेपाल प्रहरी छ। हामी व्यवस्था मिलाउँछौं।’
वचन पूरा गर्दै १३ जना नै इन्डिोसियनलाई ललितपुर परिसरमा ल्याएर ब्यारेकमै बस्ने व्यवस्था डिआइजी राईले मिलाए। उनीहरुका लागि ब्यारेकमै छुट्टै खाने–बस्ने व्यवस्था मिलाएर राखिएको थियो। केही समयपछि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएपछि उनीहरु स्वदेश फर्किए।
कोरानाकालमा अग्रपंक्ति (फ्रन्टलाइन)मा खटिएर काम गरेका प्रहरी लकडाउन कार्यान्वयन गर्दै अलपत्र परेका विदेशी नागरिकको सहारा बनेको यो एउटा प्रतिनिधि घटना हो। यस्ता विषय हेर्दा सानो लाग्छ। तर हाम्रो अन्तर्राष्ट्रिय छविलाई चियाउने आँखिझ्याल यस्तै घटनाहरु भइदिन्छन्।
चीनको वुहानबाट सन् ३१ डिसेम्बर २०१९ बाट फैलिन सुरु गरेको कोरोना भाइरसले नेपाललाई समेत चोखो राखेन। २०७६ फागुनमा नेपालमा पनि एक जना संक्रमित भेटिएपछि सुरु भएको कोरोना माहामारी अझैसम्म जारी छ।
कोरोना माहामारी न्यूनीकरण गर्न भन्दै २०७६ चैत ११ गतेबाट लकडाउन गरिएको थियो। त्यसयता नेपाल प्रहरीले फ्रन्टलाइनमा खटिएर प्रशंसनीय काम गरेको छ।
कोभिड नियन्त्रणका लागि सरकारले बनाएको संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा प्रहरी नायव उपरीक्षक (डिएसपी)को कमाण्डमा ६ जनाको प्रहरी टोली समेत खटिएर काम गरेको थियो। डिएसपीकै कमाण्डमा केन्द्रीय हेल्थ डेस्कमा ११ जना प्रहरी, डिएसपीको कमाण्डमा ७ जनाका दरले सात वटै प्रदेशमा प्रदेश हेल्थ डेस्क, प्रहरी निरीक्षकको कमाण्ड रहने गरी ६ जनाको संख्यामा सबै जिल्लामा जिल्ला हेल्थ डेक्स बनाएर प्रहरीले कोभिड नियन्त्रणको काम गरेको थियो।
यी हेल्थ डेक्सले कोभिड विरुद्धका २६ हजार १६८ वटा जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरेर प्रहरीले कोभिड संक्रमण नियन्त्रणमा प्रशंसायोग्य काम गरेको थियो।
मास्क नलगाई हिँड्ने ४ लाख ७० हजार २७४ जनालाई कारबाही गरी ३७ लाख २७ हजार ४२९ रुपैयाँ जरिवाना वापत राजस्व समेत प्रहरीले त्यसबेला उठाएको थियो भने मास्क नलगाउने २ लाख ३३ हजार ७७१ जनालाई मास्क वितरण गरेको थियो।
दक्षिणी सीमा–नाकाबाट नेपाल प्रवेश गरेका ३९ हजार ११८ जनालाई होल्डिङ सेन्टरमा राखेर स्थानीय तहको समन्वयमा आ–आफ्नो घरसम्म पुर्याउने गरिएको प्रहरी हेडक्वाटरले जनाएको छ।
नागरिक जोगाउन जसले आफ्नै ज्यान गुमाए
कोरोना संक्रमण फैलन नदिई नागरिकलाई सुरक्षित राख्न फिल्डमा खटिएका प्रहरी अधिकारीले ज्यान नै गुमाउनुपरेको थियो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईका अनुसार कोरोना संक्रमण फैलन नदिन फ्रन्टलाइनमा खटिएका ११ जना प्रहरीले कोरोनाका कारण ज्यान गुमाएका छन्।
भीड नियन्त्रण, लकडाउन कार्यान्वयन, आइसोलेसनको व्यवस्थापन, उद्धार, राहत वितरण गरी नागरिकको जीवनयापन सहज बनाउन खटिएकामध्ये ११ प्रहरी अधिकारीले ज्यान गुमाए। डिएसपीद्वय समीरचन्द्र खरेल, राजकुमार केसीको कोरोना संक्रमणको कारण प्रहरी अस्पतालमै ज्यान गयो। यी दुई डिएसपीसँगै, दुई असई र एक सिपाही गरी पाँच जनाले कोरोनाको दोस्रो लहरमा ज्यान गुमाए।
कोरोनाको पहिलो लहरमा भने सिपाही र हवल्दार गरी ६ जनाले ज्यान गुमाएका थिए। अवस्था यस्तोसम्म भयो कि, कोरोना नियन्त्रणमा खटिएका प्रहरीले अस्पतालमा उपचार समेत पाएनन्। २०७८ जेठ १ गते प्रहरी चौकी चारपाला, गुल्मीमा कार्यरत असई शम्भुलाल दमाईंको समयमा उपचार नपाएकै कारण मृत्यु भयो।
वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएपछि चौकीकै ‘सेल्फ आइसोलेन’मा बसेका उनलाई जेठ १ गते श्वासप्रश्वासमा समस्या भएपछि जिल्ला अस्पताल तम्घास पुर्याइए पनि उपचार नै गर्न नपाई डाक्टरले मृत घोषित गरेका थिए।
अक्सिजनको व्यवस्थापनदेखि मास्क वितरणसम्म
कोरोना माहामारीका कारण अक्सिजन सिलिण्डर अभावदेखि अक्सिजन नै नपाउनेसम्मका घटना भएका थिए। प्रहरीको सक्रियतामा प्रहरी अस्पताल महाराजगञ्जले दैनिक ६ हजार ७१६ लिटर मेडिकल अक्सिजन उत्पादन गर्न सकिने गरी जेनेरेसन सिस्टम सञ्चालनमा समेत ल्याएको थियो।
प्रहरी अस्पतालबाट दैनिक रुपमा उत्पादित अक्सिजन ४६ लिटर क्षमताका १४० थान सिलिण्डरमा भर्न सकिन्छ।
कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्यांक, अक्सिजन स्टोरेज ट्यांक, सिलिडर फिलिङ स्टेसन लगायतका उपकरण राखिएको उक्त सिस्टम युनाएइेट नेसन अफिस फर प्रोजेक्ट सर्भिस (युएनओपिएस)को सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा प्रहरीले सञ्चालनमा ल्याएको थियो। प्रहरीले ठूलो मात्रामा अक्सिजन उत्पादन गरेपछि अक्सिजनको हाहाकारमा केही कमी आएको थियो।
अक्सिजन उत्पादन पर्याप्त भए पनि जोहो गर्ने भन्दै अक्सिजन सिलिण्डर लुकाउनेसम्मका घटना कोरोना माहामारीमा भएका थिए। त्यतिबेला ६ हजार ६८४ थान खाली अक्सिजन सिलिन्डर र अक्सिजन सहितको ४ हजार ४३ थान सिलिण्डर संकलन गरी वितरण गरिएको तथ्यांक प्रहरी प्रधान कार्यालयसँग छ।
पुराना प्रयोगमा नआएका अक्सिजन सिलिण्डरलाई पनि संकलन गरेर पुनः प्रयोगमा ल्याउन पनि प्रहरीले त्यतिबेला सक्रिय भूमिका खेलेको थियो।
कालोबजारी गर्नेदेखि रोग फैलाउनेसम्मलाई कारबाही
महामारीलाई अवसर बनाएर कालोबजारी गर्नेविरुद्ध पनि प्रहरीले आक्रामक रुपमा काम गरेको थियो। थर्मल गनको कालोबजारी गर्ने व्यापारी सुलभ अग्रवालसम्मका व्यक्तिलाई पक्राउ गरेर कालोबजारी नियन्त्रणमा प्रहरीले भूमिका खेलेको थियो।
थर्मल गन, अक्सिमिटर र अन्य औषधिजन्य सामानहरुको कालोबजारी गरेको आरोपमा प्रहरीले देशभरबाट ९४ जनालाई पक्राउ गरेर मुद्दा समेत चलाएको थियो। महामारीको मौका छोपेर ६ सयको अक्सिमिटरलाई ३ हजार रुपैयाँसम्म बिक्री–वितरण गरेपछि प्रहरीले पक्राउ गरेर कारबाहीको दायरामा ल्याएको थियो।
त्यसैगरी संक्रामक रोग नियन्त्रण ऐन, २०२० सम्बन्धी कसुरमा पनि ५१ जनालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको प्रहरी प्रवक्ता राईले बताए।
संक्रमित भएका व्यक्ति नै अस्पतालबाटै भाग्ने र रोग फैलाउन खोजेको भन्दै ५१ जनालाई कारबाही गरिएको प्रहरीको तथ्यांक छ।
समाजमा कोभिड सम्बन्धी अफवाह फैलाउँदै हिँड्ने व्यक्तिलाई समेत पक्राउ गरेर प्रहरीले कारबाही गरेको थियो। अफवाह फैलाएर जनमानसमा आतंक सिर्जना गरेको भन्दै ७ जनालाई कारबाही गरिएको थियो।
कोभिड महामारीका समयमा प्रहरीले खेलेका महत्वपूर्ण भूमिकाको कदर गर्दै स्वास्थ्यखबरले नेपाल प्रहरीलाई स्वास्थ्यखबर विशेष सम्मान प्रदान गरेको छ। महामारीमा महत्वपूर्ण योगदान दिएका सम्पूर्ण नेपाल प्रहरीलाई स्वास्थ्यखबरको सलाम!