काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको जनरल वार्डमा झुलभित्र सुतिरहेका छन् २३ वर्षीया कोभिड उपाध्याय।
डेंगु भएपछि उनी आइतबारदेखि शुक्रराज अस्पतालको जनरल वार्डमा भर्ना भएर उपचारत छन्।
एक सातादेखि कामज्वरो आएपछि उनलाई दाजुले गत शुक्रबार नै शुक्रराज अस्पताल ल्याएका थिए। तर दिनभरि स्लाइन पानी चढाएर औषधि सिफारिस गरी चिकित्सकले घर पठाएका थिए।
घर लगेपछि बान्ता समेत हुन थालेपछि उनलाई फेरि शुक्रराज अस्पतालमा आइतबार भर्ना गरिएको उनकी आमा कल्पना काफ्लेले बताइन्। काठमाडौंमा बसेर पढ्दै गरेका छोरा बिरामी परेपछि उनकी आमा उदयपुरदेखि छोराको स्याहारका लागि काठमाडौं आएकी हुन्।
अस्पतालमा भर्ना गराएर उपचार गरेपछि भने छोरालाई निको हुने आशामा छिन् कल्पना।
‘पहिला जँचाएर घरमै लगेको थियो, बान्ता भएर झनै गाह्रो भएपछि फेरि ल्याएर भर्ना गरिएको हो। अस्पताल भर्ना गरेको तीन दिन भयो,’ उनले भनिन्, ‘यहाँ राम्रै रहेछ, अब छिट्टै निको होला।’
डाक्टरले धेरै पोषिलो र झोलिलो खान सुझाव दिए पनि छोराले नखाइदिँदा भने उनी चिन्तित थिइन्।
उपाध्यायकै अगाडिपट्टि अर्को बेडमा थिए यज्ञराज थापा। उनलाई पनि डेंगु ज्वरोले बिरामी पारेपछि अस्पताल भर्ना भएका हुन्।
सुरुमा ज्वरो आउने, जाडो हुने समस्या देखिएपछि उनले घरमै ज्वरोको औषधि खाएर बसे। तर तीन दिनसम्म पनि ज्वरो ठिक नभएपछि सोमबार शुक्रराज अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन्।
अस्पतालमै भर्ना भएर उपचार पाएपछि भने आफ्नो स्वास्थ्यमा सुधार भएको उनले सुनाए।
उनले भने, ‘राम्रोसँग फलफूल, खाना खाएपछि ठिक हुन्छ भन्नुभएको छ, छिट्टै ठिक हुन्छु भन्ने लागेको छ।’
उपाध्याय र थापा जस्तै अस्पतालमा डेंगु भएका बिरामी भर्ना हुने क्रम बढ्न थालेको छ।
अस्पतालको ओपिडी तथा आकस्मिक कक्षमा पनि डेंगुको आशंकामा परीक्षण गराउन आउनेको भीडभाड देखिएको छ।
आकस्मिक कक्षका बेड तथा तथा प्यासेजमा राखिएका बेडहरुमा पनि बिरामी भरिभराउ छन्।
जनरल वार्डकी नर्सिङ इन्चार्ज कमलाकुमारी पौडेलका अनुसार साउनदेखि अस्पतालमा डेंगुका बिरामी बढ्न थालेका छन्।
वार्डमा अन्य रोगका बिरामी पनि उपचाररत रहेकाले अस्पतालले डेंगुका बिरामीलाई झुलभित्र राखेर उपचार गराइरहेको छ।
अस्पतालमै पनि लामखुट्टे लाग्न सक्ने भएकाले अस्पतालमा भएको झुल बिरामीका लागि प्रयोग गरिएको जनरल वार्डकी नर्सिङ इन्चार्च पौडेलले बताइन्।
‘यहाँ पनि लामखुट्टे लाग्छ, वार्डमा डेंगुसँगै अन्य बिरामीहरु पनि छन्, बिरामी कुरुवा र अन्य बिरामीलाई सर्ने जोखिम भएकाले डेंगुका बिरामीलाई झुलमा राखेका छौं।’
बिरामी अनुसार झुल भने पर्याप्त नभएको उनको गुनासो छ।
अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा मिलन बज्राचार्यका अनुसार डेंगुका बिरामीहरु ज्वरो आउने, आँखाको गेडी दुख्ने, शरीर दुख्ने, शरीर चिलाउने, रातो डाबर आउने, श्वास फेर्न गाह्रो हुने, पेट फुल्ने, होस कम हुँदै जाने, शरीरमा निलो डाम बढ्ने, शरीर शिथिल हुने, शरीर चिसो हुने, शरीरबाट रगत बग्ने, बान्ता हुने, गिजाबाट रगत बग्ने, रक्तचाप कम हुने लगायतका लक्षण लिएर ओपिडी तथा आकस्मिक कक्षमा उपचारका लागि आउने गरेका छन्।
उनीहरुलाई सामान्य लक्षण भएमा स्वास्थ्य जाँच तथा औषधि सिफारिसपछि घर पठाउने र जटिल समस्या देखिएका बिरामीलाई भर्ना गरी उपचार गर्ने गरिएको डा बज्राचार्यले बताए।
गर्भवती महिला, वृद्धवृद्धा तथा लामो समयदेखि दीर्घरोग भएका बिरामीहरुमा डेंगु हुँदा बढी जटिलता देखिएको उनको भनाइ छ।
‘सामान्य बिरामीलाई स्वास्थ्य जाँच गरेपछि पारासिटामोल खान सुझाव दिएर घरमै बसेर आराम गर्न र झोलिलो पोसिलो खाना खान सुझाव दिन्छौं,’ डा बज्राचार्यले भने, ‘प्लेटलेट कम भएका तथा गम्भीर लक्षण देखिएका बिरामी तथा जोखिम समूहमा रहेका बिरामीलाई भर्ना गरेर उपचार गरिरहेका छौं।’
अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार अस्पतालले डेंगुका बिरामीलाई लक्षित गरी आकस्मिक कक्षमा डेंगु क्लिनिक सञ्चालन गरिएको छ।
सो क्लिनिकमा दैनिक २ सयभन्दा बढी बिरामी डेंगुको लक्षण लिएर आउने गरेको उनको भनाइ छ। यस्तै ओपिडीमा दैनिक ७० जना बिरामी डेंगुको लक्षण लिएर आउने गरेका छन्।
आकस्मिक तथा ओपिडीमा आउनेमध्ये करिब ८० प्रतिशत बिरामीमा डेंगु पोजेटिभ देखिएको गौतमले जानकारी दिए।
अस्पतालका सूचना अधिकारी गौतमका अनुसार मंगलबार मात्र शुक्रराज अस्पतालको आइसियुमा ५ जना, ६ जना क्याबिन र १५ जना जनरल वार्डमा भर्ना भएर उपचारत छन्।
डेंगु पोजेटिभ आउनेको अनुपातमा अस्पतालमै भर्ना गर्नुपर्ने अवस्थाका बिरामी भने कम भएको गौतमको भनाइ छ।
अस्पतालमा भर्ना गर्नुपर्ने अवस्थाका डेंगुका नयाँ बिरामी दैनिक १० देखि १२ जना मात्र रहेको र डिस्चार्ज हुने दर पनि सोही संख्यामा रहेकाले अस्पतालमा बेड अभावको अवस्था भने नरहेको गौतमले जानकारी दिए।
डेंगुबाट बच्न सम्भव भएसम्म लामखुट्टेको टोकाइबाट बच्न र लामखुट्टे उत्पादन हुने स्थान नष्ट गर्न डा बज्राचार्याको सुझाव छ।
डा बज्राचार्यका अनुसार डेंगु हुँदा जथाभावी औषधि सेवन गर्ने र प्लेटलेटको मात्रा बढी हुन्छ भन्ने भ्रममा परी मेवाको पात खाँदा स्वास्थ्यमा समस्या देखिएको पाइएकाले आफूखुसी औषधि सेवन गर्न नहुने उनले बताए।