प्रश्न: बच्चामा कान पाक्ने समस्या किन हुन्छ?
डा योगेश न्यौपानेको उत्तर: बालबालिकामा देखिने आम समस्याहरुमध्ये एक हो, कान पाक्ने समस्या। यो समस्या विशेषगरी दुई किसिमका हुन्छन्। एक, एक्युट ओटाइटिस मिडिया र दोस्रो, क्रोनिक ओटाइटिस मिडिया।
यो समस्या भएका अधिकांश बालबालिकाहरु कान समातेर रुने गर्छन्। नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ। जसले कानमा भएको हावाको प्रेसरलाई व्यवस्थापन गर्छ। बच्चाहरुमा रुघा लागेपछि त्यही पाइप हुँदै कानमा संक्रमण हुन्छ। त्यसैले कान पाक्छ र दुख्छ। यो उमेरका बालबालिकाहरुलाई बढी रुघा लाग्ने भएकाले उनीहरुमा कान पाक्ने समस्या आम रुपमा देखिन्छ। रुघा लागेको छ तर कानमा संक्रमण भएको छैन भने रुघाको औषधि खाएर मात्र पनि उपचार हुन्छ। तर रुघा पनि लागेको र कानमा संक्रमण भइसकेको अवस्था छ भने रुघाको औषधि र एन्टीबायोटिकको प्रयोग गर्नुपर्छ। कान पाक्ने समस्या बारम्बार भयो र राम्रोसँग उपचार गरिएन भने ती बालबालिकाको कानको जालीमा प्वाल पर्छ। कानको जालीमा प्वाल परेपछि हरेक पटक रुघा लाग्दा कानबाट पिप निस्कने समस्या हुन्छ।
एक्युट ओटाइटिस मिडिया – हप्ता दश दिनदेखि एक महिनासम्म कान पोकेको अवस्थालाई एक्युट ओटाइटिस मिडिया भनिन्छ। २ देखि ५ वर्ष सम्मका बालबालिकालाई यो समस्याले बढी सताउँछ। रुघा लाग्ने, कान दुख्ने र कानबाट पिप आउने यसका लक्षणहरु हुन्। पाक्ने समस्याको सुरुवाती अवस्था नै एक्युट ओटाइटिस मिडिया हो।
क्रोनिक ओटाइटिस मिडिया – सामान्य भाषामा बुझ्नुपर्दा कान पाक्ने समस्याले लामो समयदेखि दुख दिइरहेको अवस्था क्रोनिक ओटाइटिस मिडिया हो। जसमा ३/४ महिना वा वर्षौदेखि कान पाकिरहेको हुन्छ। एक्युट ओटाइटिस मिडियाको समस्या बारम्बार भइ कानको जालीमा प्वाल परेर पिप बाहिर निस्कनुलाई क्रोनिक ओटाइटिस मिडिया भनिन्छ। यसको समयमै उपचार गरिएन भने बालबालिकाको सुनाईमा कमजोरी हुन। बारम्बार कान पाक्नु, बच्चाले कम सुन्नु यसका लक्षणहरु हुन्।
कान पाक्ने समस्याको सुरुवाती अवस्था छ भने सामान्य उपचारले पनि निको हुन्छ। तर बारम्बार कान पाकिरह्यो र जालीमा पनि ठूलो प्वाल परेको छ भने शल्यक्रिया नै गर्नुपर्ने हुन्छ। कतिपय अवस्थामा बालबालिकाको शल्यक्रिया गर्न अभिभावकहरु डराउँछन्। र ठूलो भएपछि शल्यक्रिया गर्न आग्रह गर्छन्। तर उपचार गर्न ढिला गरे सुनाईमा समस्या आउने खतरा हुन्छ।
मेरो बच्चा पाँच वर्षको छ। यति सानो उमेरमै अपरेसन गर्न मिल्छ त ? भनेर मलाई धेरै अभिभावकले सोध्नुहुन्छ। जुन रोगको समस्या जुन उमेरमा छ त्यही समयमा गर्नुपर्छ। ढिला गर्नु हुँदैन। उपचार गर्न ढिलाई भए बहिरोपनदेखि विभिन्न समस्या हुन सक्छ।
कान पाक्ने समस्याले गर्दा कानको हड्डी कुहिने समस्या पनि निम्त्याउन सक्छ। यो समस्या ५ वर्ष माथिका बालबालिकाहरुमा बढी देखिन्छ। कानबाट गन्हाउने पिप आउनु, कान दुख्नु र कम सुन्नु यसका लक्षण हुन्। कानको हड्डी कुहिने समस्या बढ्दै गए यसको संक्रमण मस्तिष्कसम्म पुग्ने संभावना पनि हुन्छ। जसले गर्दा मेनेन्जाइटिस हुने, बहिरोपन हुने र मुख बाङ्गिने समस्या आउन सक्छ।