नेपालसहित भारत, पाकिस्तान, बंगलादेश जस्ता विकासोन्मुख देशहरुमा लाग्ने क्यान्सरमध्ये फोक्सोको क्यान्सर पहिलो नम्बरमा पर्छ। त्यसपछि क्रमशः ठाउँ–देश अनुसार दोस्रो, तेस्रो पंक्तिमा अन्य क्यान्सरहरू आउँछन्। फोक्सोको क्यान्सर के हो र किन हुन्छ भन्ने विषयमा स्वस्थ्यखबरकर्मी अन्शु खनालले वरिष्ठ अंकोलोजिस्ट डा आरपी बरालसँग गरेको कुराकानी:
फोक्सोको क्यान्सर के हो ?
जब शरीरको सामान्य सेल बिग्रिएर अस्वभाविक रूपमा बढ्न थाल्छ, तब क्यान्सर विस्तार हुन थाल्छ। फोक्सोको क्यान्सर पनि अरू क्यान्सर जस्तै हो। फोक्सोको क्यान्सर खासमा दुई खालका हुन्छन्– नन स्मल सेल लंग्स क्यान्सर र स्मल सेल लंग्स क्यान्सर।
स्मल सेल भनेको एकदमै छिटो फैलिने क्यान्सर हो। अस्पतालसम्म आइपुग्दा करिब ८५ प्रतिशत बिरामीको क्यान्सर ब्रेनसम्म फैलिसकेको हुन्छ। यस्तो अवस्थामा अप्रेसन हुँदैन र प्रायः किमोथेरापी र विकिरण (रेडियसन)ले सेकेर उपचार गरिन्छ।
नन स्मल सेल पनि धेरै प्रकारका हुन्छन्। सुरुको अवस्थामा यसको पहिचान भयो भने अप्रेसन गर्न मिल्छ। बायोस्पीको रिपोर्ट अनुसार कसैलाई किमो चलाउनुपर्ने हुन्छ। कसैलाई रेडियसन चलाउनुपर्ने हुन्छ।
यसका लक्षणहरू के–के हुन् ?
फोक्सोको क्यान्सरका करिब ६० प्रतिशत बिरामीले अस्पताल आएर आफूलाई खोकी लागेको कुरा सुनाउँछन्। खोकीसँगै स्याँ–स्याँ हुने, छाती दुख्ने र खकारमा रगत आउने तथा शरीरको तौल बढ्ने जस्ता लक्षण देखिन सक्छन्।
खकारमा रगत आउँदैमा टिबी नै हुन्छ भन्ने छैन, फोक्सोको क्यान्सर पनि हुन सक्छ। जनमानसमा खकारमा रगत आयो, छाती दुख्यो भने टिबी भयो भनेर औषधि खाने चलन छ। केही जाँच नगरी अनुमानका भरमा टिबी भनेर औषधि खानु गलत र खतरनाक हो। खोकी निको भएन, स्याँ–स्याँ भइरह्यो भने फोक्सोको सिटी स्क्यान गरेर क्यान्सर पहिचान गर्न सकिन्छ। एक्सरेमा देखिएको दागको भरमा टिबीको औषधि खानु गलत हो।
फोक्सोको क्यान्सर भएर आउनेमध्ये ६० देखि ७० प्रतिशत बिरामीले टिबीको औषधि खाएको भेटिन्छ।
के कारणले हुन्छ फोक्सोको क्यान्सर ?
फोक्सोको क्यान्सरको पहिलो कारक तत्व धूमपान या सुर्तीजन्य पदार्थ सेवन हो। कतिपय बिरामीले मैले चुरोट छाडें, सुर्ती चाहिँ खान्छु भन्नुहुन्छ। त्यो गलत हो। धुवाँको रुपमा त्यो चुरोट होस् या धुवाँ नआउने खैनी, यी दुवै क्यान्सरको पहिलो कारक तत्व हुन्।
रोकथाम कसरी गर्ने त ?
जनमानसलाई सुर्तीजन्य पदार्थले मुखको क्यान्सर, फोक्सोको क्यान्सर र अन्य क्यान्सर हुन्छ भनेर थाहा त छ। तर पनि सुर्तीजन्य पदार्थको प्रयोग गर्न भने छाड्दैनन्।
सोही कारण नेपाललाई सुर्तीजन्य पदार्थ मुक्त राष्ट्र (टोब्याको फ्री कन्ट्री) बनाउन हामीले विभिन्न काम गरिरहेका छौं। त्यस्तो हुँदा क्यान्सर धेरै मात्रामा घट्छ। क्यान्सरका बिरामी शून्य त हुँदैन तर संंख्या भने कम हुन्छ।
फोक्सोको क्यान्सरका बिरामी कुन स्टेजमा अस्पताल आइपुग्छन् ?
नेपालमा जुनसुकै क्यान्सरका बिरामी पनि अस्पताल आइपुग्दा तेस्रो या चौथो स्टेजमा हुन्छन्। करिब–करिब ७५ प्रतिशत बिरामी तेस्रो या चौथो स्टेजमा आइपुग्नु दुःखदायी कुरा हो। यो जनचेतनाको अभावले गर्दा भएको हो। अनलाइन मिडिया, टिभी, रेडियो तथा पत्रपत्रिकामा प्रचार–प्रसार नभएको त होइन तर अझै पनि गाउँघरतिर मान्छेलाई धेरै जानकारी नभएको पाइन्छ। त्यसैले सबैले आफ्नो–आफ्नो ठाउँबाट जनचेतना फैलाउन जरुरी छ।
फोक्सोको क्यान्सर भएपछि बिरामी निको हुने सम्भावना कति रहन्छ ?
हरेक क्यान्सरमा स्टेज शून्यदेखि चारसम्म हुन्छ। नियमित स्वास्थ्य परीक्षण गर्नेहरुमा क्यान्सर शून्य स्टेजमै पनि पहिचान हुन सक्छ। सकभर सबै क्यान्सर पहिलो र दोस्रो स्टेजमा पत्तो लाग्यो भने निको पनि हुन्छ। तेस्रो र चौथो स्टेजमा पत्ता लग्यो भने चाहिँ निको हुने सम्भावना कम हुन्छ।
उपचार प्रक्रिया के छ ?
फोक्सोको क्यान्सरमा पहिलो चरणमा गर्ने भनेको एक्सरे हो। त्यसपछि क्यान्सरको शंका लागेमा सिटी स्क्यान गर्नुपर्छ। मिलेको खण्डमा पहिलो उपचार अप्रेसन हो। कुनै–कुनैमा अप्रेसन गर्न मिल्दैन। कहाँ किमो दिने, कहाँ रेडियसन दिने भनेर बायोस्पीले भन्छ।
कुनै पनि क्यान्सरका बिरामी डाक्टरले उपचार गरेर निको भए पनि समय–समयमा अस्पताल भने आइरहनु पर्छ। मलाई क्यान्सर थियो, अहिले निको भयो, अब म अस्पताल जान्न भन्न मिल्दैन। नेपालमा त्यो चेतना भएका बिरामी समेत हामीले पाएका छौं।
सुखद कुरा के हो भने, पहिले र अहिले तुलना गर्दा नयाँ–नयाँ औषधि आएकाले फोक्सोको क्यान्सरमा पनि रिजल्ट राम्रो आएको छ।
बिरामीहरू आफूलाई क्यान्सर भएको थाहा पाएपछि कस्तो प्रतिक्रिया दिन्छन् ?
विदेशतिर हेर्ने हो भने क्यान्सरका बिरामीले नै आफैं डाक्टरलाई आफ्नो क्यान्सर कुन स्टेजमा छ, निको हुने सम्भावना कति छ, उपचार खर्च कति लाग्छ भनेर सोध्ने गर्छन्। नेपालमा भने बिरामीका आफन्तले मेरो आमालाई, मेरो बुवालाई, श्रीमतीलाई, छोरीलाई क्यान्सर छ, कृपया नभन्दिनु होला भनेर बिरामीको साथी पहिले आउनुहुन्छ। अनि मात्रै बिरामी ल्याउनुहुन्छ। बिरामी बाहिर गएपछि फेरि कुन अवस्था छ, के छ भनेर सोध्नुहुन्छ। नेपालमा प्रायः बिरामीलाई भन्न दिने चलन छैन। त्यसले चाहिँ हामीलाई निकै अफ्ठ्यारो पर्छ। बिरामीले थाहा पाएर आफ्नो रोगलाई आफैंले फेस गर्यो भने रोग प्रतिरोधात्मक क्षमता बढ्छ।
बिरामीले मलाई यो रोग लाग्यो, म रोगलाई जित्छु भन्ने आत्मविश्वास लियो भने औषधिले काम गर्नेे सम्भावना बढ्छ। जसले क्यान्सर हुने बित्तिकै आत्मविश्वास घटाउने, दुःखी हुने गर्नुहुन्छ उहाँहरुको उपचार कम सार्थक भएको हामीले देखेका छौं।
नेपालमा फोक्सो लगायतका अन्य क्यान्सरको विषयमा सचेत बढाउन के गर्नुपर्ला ?
जनमानसमा अझै पनि क्यान्सर सर्ने रोग हो भन्ने भ्रम छ। नेपाल जस्तो देशमा सर्ने रोगभन्दा नसर्ने रोगको चाप धेरै छ। सुर्तीजन्य पदार्थसँग फोक्सोको क्यान्सरको प्रत्यक्ष सम्बन्ध छ। सोही कारण स्वास्थ्य मन्त्रालयलाई एउटा टोब्याको कन्ट्रोल सेल बनाउनूस् भनेर हामीले सल्लाह दिएका छौं। साथै, क्यान्सर कन्ट्रोल पोलिसी पनि बनाउन जरुरी छ। सरकारले यसको रोकथामको लागि केही गरेकै छैन भन्न त मिल्दैन, तर पुगेको छैन।
त्यस्तै, क्यान्सरसँग सम्बन्धित रहेरै काम गर्ने संघ–संस्थाहरू धेरै छन्। तर ती संस्थाहरू पनि सबै जिल्लामा पुग्न सकेका छैनन्। सुर्तीजन्य पदार्थ खान सुरु गर्ने भनेको किशोर अवस्थामा हो। त्यसैले सो उमेरका बालबालिकामा पनि चेतना जगाउन जरुरी छ।
स्कुलको पाठ्यपुस्तकमा सुर्तीजन्य पदार्थको सेवन गरेमा यो–यो रोग लाग्छ भनेर उल्लेख गर्नुपर्छ। जसले गर्दा बच्चाहरुले सानो उमेरमै त्यसको असरबारे थाहा पाउँछन्।
एकै दिनमा टोब्याको फ्री कन्ट्री हुन सजिलो छैन। त्यसको लागि सुर्तीजन्य पदार्थको ट्याक्स बढाउनुपर्छ। नेपालमा अझै पनि धूमपानमा एकदमै कम ट्याक्स छ। यदि ट्याक्स बढ्ने हो भने दिनमा १० वटा चुरोट खानेले दुई वटा या तीन वटा त घटाउँछ। पेरिसमा ५० प्रतिशत ट्याक्स बढ्दा चुरोट खानेको संख्या घटेको तथ्यांक छ। र, यो पनि बुझ्न जरुरी छ, सुरुकै अवस्थामा अस्पताल पुग्ने हो भने जुनसुकै क्यान्सर पनि निको हुन सक्छ। तर उपचारको क्रममा बिरामीहरू नियमित अस्पताल भने आउनुपर्छ।