मानिसको शरीर सूक्ष्म कोषहरूले बनेको हुन्छ। यस्ता कोषमा कुनै कारणवश खराबी आयो भने अनियन्त्रित रूपमा धेरै कोषहरू जन्मन्छन्। पछि त्यही कोषहरू क्यान्सरको रूपमा देखा पर्छन्। बालबालिका र किशोर अवस्थामा देखिने क्यान्सरलाई बाल्यावस्थाको क्यान्सर भनिन्छ। प्रत्येक वर्ष विश्वभर करिब चार लाख बाल–बच्चा क्यान्सर रोगले ग्रस्त हुने डा अञ्जली पण्डित बताउँछिन्।
डा पण्डितका अनुसार नेपालमा वर्षेनी एक हजार पाँच सयदेखि दुई हजार जना बालबालिकालाई क्यान्सर हुने गरेको छ। बाल क्यान्सरको विषयमा नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, हरिसिद्धीमा कार्यरत बाल क्यान्सर रोग विशेषज्ञ डा अञ्जली पण्डितसँग स्वास्थ्यखबरकर्मी अन्शु खनालले गरेको कुराकानीः
बालबालिकामा के कारणले क्यान्सर हुन्छ, बताइदिनुहोस् न।
अहिलेसम्म ठ्याक्कै यही कारणले बालबालिकामा क्यान्सर हुन्छ भन्ने पत्ता लागेको छैन। तर भर्खर जन्मेको बच्चालाई पनि क्यान्सर हुन सक्छ। आमाको गर्भमा भएको बच्चामा पनि क्यान्सर भेटिएको छ र जन्मिइसकेपछि १८ वर्षसम्मका बालबालिकामा पनि क्यान्सर हुन्छ।
फरक–फरक उमेर समूहका बालबालिकामा हुने क्यान्सरको कारण एउटै हुँदैन। तर २५ देखि ३० प्रतिशत वंशाणुगत कारणले क्यान्सर हुने अनुमान छ। साथै डाउन सिन्ड्रोम भएका बच्चामा भविष्यमा क्यान्सर हुने सम्भवना बढी हुन्छ। क्यान्सरका अन्य कारणमा खानपान पर्छ।
आमाले गर्भवती हुँदा खान नहुने औषधिहरु खानाले, बच्चाले विषादी छर्केको खानेकुरा, फलफूल खानाले, विकिरणको असरले, गर्भवती हुँदा केमिकल फ्याक्ट्रीको वरपर जाने, काम गर्नेहरुको बच्चामा क्यान्सरको जोखिम उच्च हुन्छ।
नेपालमा बालबालिकामा देखिने आम क्यान्सरहरू कुन–कुन हुन्?
नेपालमा मात्र नभई विश्वमै बालबालिकामा सबैभन्दा बढी हुने क्यान्सर ल्युकेमिया (रक्त क्यान्सर) अर्थात् ब्लड क्यान्सर हो। विश्वका क्यान्सर भएका हरेक १० जना बालबालिकामध्ये ६ देखि ८ जनामा त ब्लड क्यान्सर भेटिन्छ। २ वर्षदेखि १० वर्षसम्मका बालबालिकाको लागि ब्लड क्यान्सर आम मानिन्छ।
बालबालिकालाई हुने क्यान्सरमा दोस्रो नम्बरमा मस्तिष्कको क्यान्सर पर्छ। जसलाई हामी ब्रेन ट्युमर भन्छौं र तेस्रोमा लिम्फोमा पर्छ। त्यसपछि बालबालिकामा आँखाको क्यान्सर, मिर्गौला क्यान्सर, कलेजोको क्यान्सर, बालकमा अण्डकोषको क्यान्सर र १० देखि १६ वर्षसम्मका बालबालिकामा हड्डीको क्यान्सर पनि आम क्यान्सरमा पर्छन्।
सरकारले क्यान्सरको उपचारका लागि सहुलियत दिने गरेको छ। त्यो सहुलियत क्यान्सर भएका बालबालिकाका लागि पर्याप्त छ त?
सरकारले दिइरहेको १ लाख रुपैयाँ पर्याप्त छैन। किनकी, क्यान्सरको औषधि नेपालमा बन्दैन। सबै बाहिरबाट आउँछ। बाहिरबाट आउने औषधि महँगो हुन्छ। साथै, क्यान्सरको उपचार प्रक्रिया पनि लामो हुन्छ। जस्तै– ब्लड क्यान्सरको उपचार बालिकाको हकमा दुई वर्षमा सकिन्छ भने बालिकाको तीन वर्ष लाग्छ।
यो प्रक्रियामा सुरुवातका ७÷८ महिना अस्पताल आवत–जावत गरिरहनुपर्छ। त्यो अवस्थामा सबैभन्दा बढी पैसा खर्च हुन्छ। त्यही अवस्थालाई निगरानी गरेर अहिले दिइरहेको रकममा केही रकम थपिदने हो भने बिरामीको परिवारलाई धेरै राहत हुन्छ।
बालिकाको भन्दा बालकको उपचार प्रक्रिया लामो हुनुको कारण के होला?
बालकको अण्डकोष हुन्छ। अण्डकोषमा क्यान्सरको कोष लुकेर बसेको हुन सक्छ। अण्डकोषबाट लुकेको क्यान्सर नफैलियोस् भनेर उपचार गर्दागर्दै प्रक्रिया लामो हुन जान्छ।
बालबालिकामा हुने क्यान्सर निको हुने सम्भावना चाहिँ कति हुन्छ नि?
बालबालिकामा हुने क्यान्सरको जति छिटो उपचार ग¥यो त्यति नै छिटो निको हुने सम्भावना रहन्छ। त्यसैले समयमै पहिचान गरी उपचार गर्नुपर्छ। बच्चाको उमेर बढ्दै जाँदा रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ। यही कारण उनीहरुले रोगसँग सजिलै लड्न सक्छन्। ठूला मान्छेमा झैँ अन्य रोग जस्तो– सुगर, प्रेसरको समस्या बच्चामा नहुने हुनाले औषधिले पनि छिट्टै काम गर्छ।
नेपालमा क्यान्सर भएर अस्पताल आउने बालबालिकाको अनुपात के छ?
नेपालमा अझै पनि वार्षिक १५ सयदेखि २ हजारको हाराहारीमा बालबालिकालाई क्यान्सर हुने गरेको छ। तर दुई तिहाइ बालबालिका उपचारको पहुँचमै छैनन्। नेपालभरिकै निजी तथा सरकारी अस्पतालको तथ्यांक हेर्ने हो भने वार्षिक जम्मा ५ सयदेखि ६ सयको हाराहारीमा मात्रै बालबालिका उपचारमा आएको भेटिन्छ।
ती दुई तिहाइ बालबालिका अस्पतालको पहुँचमा नपुग्नुको कारण के होला त?
ती बालबालिका उपचारको पहुँचमा नपुग्नुको प्रमुख कारण जनचेतनाको कमी नै हो। आम मानिसमा क्यान्सर लागेपछि निको हुँदैन भन्ने बुझाइ छ। सोही कारण उनीहरु अस्पताल आउँदैनन्।
साथै, आर्थिक भार अर्को प्रमुख कारण हो। सरकारले सहुलियतमा दिएको रकम पर्याप्त नहुँदा अभिभावक आफैंले खर्च गर्न सकुन्जेल त उपचार गर्छन्। त्यसपछि उपचार बीचमै छोड्ने या उपचार नै गर्न नआउनेको संख्या बढी छ।
दुर्गमका क्यान्सर लागेका बालबालिकालाई अस्पताल पुग्ने वातावरण बनाउन के गर्नु पर्ला?
सरकारले, एअरलाइन्सले भारतमा उपचार गर्न जानेलाई टिकट मिलाइदिन्छ। यसको मतलब सरकारलाई अझै पनि नेपालमै उपचार हुन्छ भन्ने थाहा रहेनछ भन्ने बुझ्नु पर्छ। टिकट दिएर बाहिर उपचार गर्न जानलाई प्रोत्साहन गर्नुको सट्टा नेपालमै विशेषज्ञ डाक्टर छन् भन्ने ज्ञान दिलाएर, क्यान्सर पहिचानको लागि सामान्य चेक–जाँच निःशुल्क गर्ने वातावरण सिर्जना गर्नु पर्छ।
यदि चेक–जाँचमा क्यान्सर देखियो भने दुर्गमबाट अस्पतालसम्म आउन गाडी लगायतमा सहुलियत अथवा काठमाडौँ आएर उपचार गर्नेलाई बासको व्यवस्था जस्ता कुरा सरकारले गरिदिन सक्छ।
बच्चालाई क्यान्सर भइसकेपछि अभिभावकलाई आर्थिक भार किन पर्छ भने, बच्चासँगै अभिभावक पनि काठमाडौँ या अन्य उपचार हुने सहर पुग्नु पर्ने हुन्छ। दुर्गमबाट काठमाडौँ उपचार गर्न आएकाले सरकारले दिएको १ लाख रुपैयाँले उपचार गर्ने कि खाने–बस्ने त?
त्यसैले सरकारले दुर्गमबाट काठमाडौँ या अन्य सहरमा उपचारका लागि आउनेहरुको लागि बासस्थानको व्यस्थापन गर्ने हो भने केही हदसम्म राहत हुन सक्छ। क्यान्सरमा मात्रै होइन, अन्य रोगका बिरामीलाई पनि आर्थिक भार कम गराउन सरकारले यो तरिका अपनाउन सक्छ।
बालबालिकामा हुने क्यान्सर पहिचानमा अभिभावकको भूमिका कस्तो रहन्छ?
बालबालिकामा हुने क्यान्सर पहिचानमा मुख्य भूमिका अभिभावककै हुन्छ। खानपानदेखि लक्षणहरुको पहिचानसम्ममा अभिभावकले विचार पु¥याउनु पर्छ। बालबालिकालाई जंक फुड नखुवाउने, सकेसम्म घरमै फलेको फलफूल, तरकारी खुवाउने, केमिकल फ्याक्ट्री, रेडियसन फ्याँक्ने क्षेत्रतिर नलैजाने र जे पायो त्यही औषधि नखुवाउने गर्नुपर्छ।
साथै, मेरो घरमा कसैलाई क्यान्सर छैन, मैले मेरो बच्चालाई राम्रो वातावरणमा हुर्काएको छु भन्ने सोचेर लक्षण देखिएन भन्दै अस्पताल नलैजाने गर्नु हुँदैन। यसो गर्दा यदि बच्चालाई क्यान्सर रहेछ भने पनि दोस्रो या तेस्रो स्टेजमा मात्र पहिचान हुने सम्भावना हुन्छ। त्यसैले हरेक आमा–बाबु सतर्क हुन जरुरी छ।
बालबालिकामा हुने क्यान्सरको उपचार प्रक्रिया के हो?
क्यान्सरको उपचार विधि तीन प्रकारका हुन्छन्। किमोथेरापी, रेडियो थेरापी र सर्जरी। यी तीन वटै प्रक्रिया एकै बिरामीमा लागू हुँदैन। बिरामीको अवस्था हेरेर फरक–फरक तरिकाले उपचार गर्नुपर्ने हुन्छ। जस्तो– ब्लड क्यान्सरमा किमोथेरापी मात्रै प्रयोग हुन्छ।
ब्लड क्यान्सर कसरी पहिचान गर्न सकिन्छ?
ब्लड क्यान्सरमा हप्ता दिनसम्म पनि सिटामोल खाएर निको नहुने ज्वरो आउने, निला डामहरू आउने, जसलाई हाम्रो समाजमा बोक्सीले टोकेको भनेर सामान्यीकरण गर्ने चलन छ, हेमोग्लोबिनको मात्रा कम हुँदै जाँदा बच्चा सेतो हुने, बच्चा थकित हुने, आलस्य हुने, हात र खुट्टाका जोर्नीहरु दुख्यो भन्ने जस्ता लक्षण देखा पर्छन्।
बच्चामा फरक–फरक लक्षण देखिने हुनाले आमा–बाबु सतर्क हुन जरुरी छ। आम मानिसमा ब्लड क्यान्सर निको हुँदैन भन्ने भ्रम छ तर सबैभन्दा धेरै निको हुने क्यान्सर नै ब्लड क्यान्सर हो। त्यसैले उपचार गर्न हिच्किचाउनु हुँदैन।
मस्तिष्कको क्यान्सर (ब्रेन ट्युमर) भएको कसरी थाहा पाउन सकिन्छ?
ब्रेन ट्युमर हुँदा ब्लड क्यान्सरमा जस्तो केही लक्षणहरु देखा पर्दैनन्। यसमा प्रायः बच्चाहरुले बिहानको समयमा भोमिट गर्ने, आँखा कम देख्ने, घाँटी बाङ्गो हुने, हिँड्दा लड्खडाउने जस्ता समस्या देखा पर्छन्। कतिपय आमा–बाबुले बच्चाले आँखा कम देख्यो भनेर स्कुलमा पहिलो बेन्चमा बस्न लगाउने, भोमिट गर्दा औषधि खुवाएर राख्ने गर्नाले अस्पताल आइपुग्दासम्म क्यान्सर दोस्रो, तेस्रो स्टेजमा पुगिसकेको हुन्छ। त्यसैले अभिभावकले ध्यान दिनु जरुरी छ।
लिम्फोमाका लक्षण के–के हुन्?
लिम्फोमा हुँदा रक्तकोषहरू केही पनि परिवर्तन हुँदैनन्। ग्रन्थी फुलेर डल्लो भेटिन्छ। पेटमा लिम्फोमा हुँदा पेटमा डल्लो भेटिन्छ। घाँटीमा लिम्फोमा हुँदा हाँडे आउँछ। हाँडे पनि दुईथरीको हुन्छ।
कलेजो र मिर्गौलाको क्यान्सर हुँदा कस्ता लक्षण देखिन्छन् नि?
कलेजोको क्यान्सर हुँदा पेट दुखिरहने, कलेजोको आकार बढ्ने, वाकवाकी लाग्ने, खाना नरुच्ने हुन्छ। मिर्गौलाको क्यान्सर हुँदा बच्चाको मिर्गौलामा साइडतिर डल्लो जस्तो भेटिने हुन्छ।
बच्चामा हुने अण्डकोषको क्यान्सर के हो?
बच्चामा अण्डकाषको क्यान्सर हुँदा अण्डकोष सुन्निन्छ। गाउँघरतिर साना बच्चाहरुको अण्डकोष सुन्नियो भने तेल लगाएर ठिक हुन्छ भन्ने मान्यता छ। तर क्यान्सरका कारणले सुन्निएको छ भने ठिक हुँदैन। त्यसैले समयमै उपचार गराइहाल्नु पर्छ।