काठमाडौं- नेपालले विकसित र उदयीमान अर्थतन्त्र भएका मुलुकलाई आफ्ना ‘राष्ट्रियरुपमा निर्धारित योगदान’ (एनडिसी) अद्यावधिक गरी थप महत्वाकांक्षी लक्ष्यहरू निर्धारण गर्न आग्रह गरेको छ। इजिप्टको शार्म एल-शेखमा नोभेम्बर ६ देखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)मा नेपालले सो विषयमा राष्ट्रिय अवधारणा प्रस्तुत गरेको हो।
उदयीमान अर्थतन्त्र भएका मुलुक चीन, भारत, ब्राजिल, दक्षिण अफ्रिका, अर्जेन्टिना, इरानलगायतको विश्व कार्बन उत्सर्जनमा झण्डै दुई तिहाइ योगदान छ। सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले नेपाली प्रतिनिधिमण्डलको प्रमुखका रुपमा राष्ट्रिय अवधारणा प्रस्तुत गरेका छन्। सम्मेलनको प्रारम्भ नोभेम्बर ७ र ८ मा भएको ‘उच्चस्तरीय सत्र’मा नेपालबाट राष्ट्र प्रमुख वा सरकार प्रमुखको सहभागिता नभएकाले नेपालले उक्त सत्रमा राष्ट्रिय सम्बोधन गर्न पाएको थिएन।
‘उच्चस्तरीय सत्र’मा सम्बोधन गर्न नपाएका मुलुकहरुले मङ्गलबार भएको सत्रमा आफ्ना राष्ट्रिय अवधारणा प्रस्तुत गरेका छन्। कार्यक्रममा सचिव कँडेलले जलवायु लक्ष्य र प्रतिबद्धतामा अन्तर नभएको उल्लेख गर्दै कार्यान्वयनको अभाव रहेको बताए। सचिव कँडेलले भने, “फलस्वरूप, उत्सर्जन अन्तर बढ्दै गएको छ र तापमान सीमित गर्ने प्रयास ओझेलमा पर्दै गएका छन्।”
कोप-२१ पेरिस सम्मेलनमा राष्ट्र र सरकार प्रमुखहरूले विश्वको औषत तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने र यस शताब्दीमा तापमान वृद्धि दुई डिग्री सेल्सियसभन्दा कम राख्ने लक्ष्य राखेका थिए। यद्यपि हालैको उत्सर्जन अन्तर प्रतिवेदनले तापक्रम स्तर र उत्सर्जन घटाउन अपर्याप्त प्रगति भएको देखाएको छ। “यसकारण, हामी आशा गर्छौं कि कोप(२७ ले हाम्रा प्रतिबद्धताको समीक्षा गर्न र ऐतिहासिक पेरिस सम्झौतामा डेलिभर गर्न एकता नवीकरण गर्न केन्द्रित हुनेछ”, उनले भने। हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान भए पनि नेपाल, कमजोर भू-परिवेष्ठित पहाडी देश भएकाले जलवायु परिवर्तनको नकारात्मक प्रभावको सामना गरिरहेको छ।