बैतडी – बैतडीको मेलौली नगरपालिकामा आधारभूत अस्पताल निर्माणका विषयमा देखिएको विवाद थप पेचिलो बन्दै गएको छ। नगरपालिको वडा नम्बर १ र ७ का नागरिकले आ–आफ्नो ठाउँमा अस्पताल निर्माण हुनुपर्ने माग राखेपछि तीनदिनदेखि आन्दोलन भइरहेको छ।
वडा नम्बर ७ का स्थानीयहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा १५ शय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग राख्दै मंगलबारदेखि नगरपालिकामा तालाबन्दी गरेका छन्। आन्दोलनकै कारण पाटन–पञ्चेश्वर सडक अन्तर्गत मेलौलीमा यातायात बन्द गरिएको छ भने मेलौली बजार पनि बन्द छ।
यस्तै वडा नं १ का बासिन्दाहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने माग राखेका छन्। उनीहरुले पनि नगरपालिका नजिकै प्रर्दशन गरेका छन्।
अस्पताल निर्माणका विषयमा विवाद हुँदा बिहीबार दुवै पक्षबीच झडप हुँदा ३५ जना घाइते भएका थिए। मंगलबारबाटै आ–आफ्नो क्षेत्रमा प्रर्दशन गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
दुवै पक्षलाई एक ठाउँमा राखेर वार्ता गर्ने प्रयास गरिएको भए पनि त्यो सम्भव हुन नसकेको प्रहरी निरीक्षक खत्रीले बताए। दुवै पक्षको बन्द र प्रदर्शनका कारण यात्रुहरुलाई सास्ती भएको छ।
उनीहरुले अत्यावश्यक सेवाका गाडीमासमेत रोक लगाउन थालेका छन्। मेलौलीमा दुवै पक्षबीच झडप हुन थालेपछि प्रहरी निरीक्षक खत्रीकै नेतृत्वमा त्यहाँ थप प्रहरी परिचालन गरिएको छ। शुक्रबार दिउँसो सशस्त्र प्रहरी खटिएको भए पनि अहिले सशस्त्रको टोली फर्किएको प्रहरी निरीक्षक खत्रीले बताए।
नेपाल नगरपालिका संघको अधिवेशनका लागि मेलौली नगरपालिकाका प्रमुख र उपप्रमुख काठमाडौंमा रहेका छन्। नगर प्रमुख भीमबहादुर चन्दले विज्ञप्ति निकालेर वार्ता र संवादकै माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।
दुवै पक्षको विवादका कारण २०७० सालदेखि अस्पताल निर्माण अलपत्र परेको छ। दुवै पक्षको खिचातानीका कारण अस्पताल निर्माणको काम अघि बढ्न सकेको छैन। यो विषय दिनानुदिन थप पेचिलो बन्दै गएको स्थानीय गणेश नायकले बताए। त्यहाँका नागरिक रातभर सडकमै सुत्न थालेका छन्।