केही समय अघि पश्चिम बुटवलतिरबाट एक बच्चालाई हड्डीको समस्या भएर हो कि वा अन्य कुनै कारणले गर्दा तलको खुट्टा चलाउन छोडे भनेर कान्तिबाल अस्पतालमा रिफर गरिएको थियो । आमा बुवा एकदम अत्तालिनु भएको थियो । हड्डीको डाक्टरलाई देखाए पछी उहाँले एक्सरे गराउनु भयो र अन्य कारण पनि खोजी हेरौं भन्नु भयो । हेर्दा गुलियन बेरी सिंड्रोम (जिबीएस) जस्तो पनि देखिन्थ्यो तर त्यो छटपटाएको परिवारलाई आत्मबल बढाउन मैले भने 'अहिले तुरुन्तै डराइहाल्नु पर्ने छैन। तर घर जाने नसोच्नु होला। अहिले एकछिन पछि केही अन्य धेरै डाक्टरको राउण्ड हुन्छ अनि चेक जाँच गरे पछि अन्तिम सल्लाह हुन्छ।'
पछि त्यो बच्चाको रोग जिबिएस नै आयो भन्ने खबर पाएँ र सुधार भएर घर पनि गइसकेका थिए। त्यस लगत्तै एक बच्चालाई उनको परिवारले दाङबाट चिकित्सकको सिफारिसमा रिफर भएर कान्ती बाल अस्पतालमा राती लिएर आएका थिए । शायद सिरियस भएर अनि आइसीयूमा बेड नभएर अन्तै अस्पतालमा रिफर गर्नु परेको थियो। मैले पछि थाहा पाए सम्म उन्को पुरा उपचार हुन पाएन पछि बच्चा लगेर घर झारफुक गर्दै हुनुहुन्थ्यो रे। त्यस लगत्तै भखरै उपत्यका भित्रबाट एकजना नानी लिएर एक दम्पती कान्ति बालको इमर्जेन्सीमा आउनु भयो । उनलाई चेक जाँच गर्दा जिबिएसको धेरै सम्भावना देखियो र भर्ना गरी उपचार गरेर निको बनाई घर पठायौं।
करिब ३ महिना भित्रैमा मैले भेटेका सुनेका माथि को तीनवटै घटनामा देखिएको समस्या भनेको गुलियन बेरी सिंड्रोम (जिबिएस) हो। आउनुहोस् आजको यस अंकमा यो रोग सम्बन्धी केही चर्चा गरौ ।
गुलियन बेरी सिंड्रोम (जिबिएस) के हो?
यो समस्यामा बिरामीको शरीरको रोग प्रतिरोधात्मक शक्तिले आफ्नै शरीरको स्नायु प्रणालीमा असर देखाउँछ र मांसपेशीले काम गर्न छोड्न सक्छ।
कतिपयमा पेट वा छाती सम्बन्धी समस्या भएको १० दिन भित्रै बिरामीको मांसपेशीमा कमजोरीपन देखिन शुरु भइसक्छ। राम्रोसँग नपकाएको मासु र नउमालेको दूधको प्रयोगले बिरामीको पेटमा समस्या आउने गर्दछ।
शुरुमा शरीरको तल्लो भाग झनझ्नाउने, अचेतना तथा बोधो हुने, ढाड दुख्ने, खुट्टाका मांसपेशी दुख्ने गर्दछन। तल्लो खुट्टाबाट शुरु हुँदै माथिल्लो शरीर हुँदै हात अनी अनुहारका मांसपेशीहरुलाई कमजोर पार्छ। जुन प्राय शरीरको दुबैपट्टी हुने गर्छ। यो समस्या भएको बिरामीलाई १ महिना भित्र अधिकतम कमजोर बनाइसकेको हुन्छ। बिरामी भएको कुनै एक समयमा ६० प्रतिशत बच्चा हिँड्न नसक्ने हुन्छन्। त्यस्तै करिब ५० प्रतिशत व्यक्तिमा खान निल्न गार्हो हुने, अनुहार बाङ्गिने, खान सर्काउने, श्वास फेर्न गार्हो हुने, अवाज धोद्रो हुने गर्छ। केहीमा मुटुको प्रेसर घटबढ हुने, धड्कन घट्बढ हुने गर्छ। कसैमा हातखुट्टामा छोएको पनि थाहा पाउँदैनन् भने एकदम बिरलै दिशापिसाब गएको थाहा नपाउने हुन्छन्। समयमा उपचार नपाए वा जटिलता बढ्दै गए ज्यान पनि जान सक्छ।
निदान कसरी गर्ने?
चिकित्सकको सल्लाह बमोजिम माथि भने जस्तो लक्षण, शारीरिक परीक्षण, ढाडको पानीको परीक्षण, मेरुदण्डको एमआरआई जाँच, नसा तथा मांसपेशीको परीक्षण गर्न सकिन्छ।
पूर्वानुमान
कतिपय अवस्थामा २-३ हप्तामा आफैं पनि निको हुन शुरु भइसक्छ। बिरामी भएको शुरुकै बेलामा धेरै असहज तथा कमजोर भई मांसपेशी चलाउन नसक्ने बच्चा तथा भेन्टीलेटरमा बस्नु परेका बच्चामा ढिला गरी सन्चो हुने वा पुरै सन्चो नहुन पनि सक्छ।
उपचार
आवश्यकता अनुसार आइसीयूमा राखी उपचार गर्नु पर्ने र महँगो खालको औषधि प्रयोग र नियमित फिजियोथेरापी गर्नुपर्ने हुनसक्छ।