काठमाडौं- 'बिरामीको आशिर्वादले गर्दा मैले यो पुरस्कार पाएको हुँ' कोशी अस्पताल विराटनगरका जनस्वास्थ्य निरीक्षक गजेन्द्र प्रसाद यादवले मुस्कुराउँदै भने।
स्वास्थ्य सेवा दिवसको अवसरमा सोमबार स्वास्थ्य सेवा पुरस्कार ग्रहण गरिसकेपछि उनी निकै प्रफुल्ल देखिन्थे। 'एकदमै धेरै खुसी लागिरहेको छ। मैले कहिले पनि यो पुरस्कार पाउँछु भन्ने आशा गरेको थिइन। कामको मुल्यांकन गरेर पुरस्कार दिने सबैप्रति आभार छु,' उनले भने।
मोरङको रंगेलीमा जन्मिएका उनले गाउँकै पार्वती विद्यालयबाट एसएलसी पास गरे। महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसबाट आइएस्सी गरेपछि उनलाई हेल्थ असिस्टेन्ट पढ्ने रहर लाग्यो। उनले २०५९ सालमा कोशी हेल्थ इन्टिच्युटमा हेल्थ असिस्टेन्ट पढाई सुरु गरे। उनी कलेजको दोस्रो ब्याच थिए। निकै राम्रो नम्बर ल्याएर उनले २०६२ सालमा हेल्थ असिस्टेन्टको पढाई सके। नतिजा आएको १५ दिनभित्रै लोकसेवा खुल्यो। परीक्षा दिए। पहिलो प्रयासमै उनको नाम पनि निस्कियो।
२०६३ जेठ १६ गते उनको पहिलो पोस्टिङ खोटाङमा भयो। पोस्टिङ भएको ठाउँसम्म यातायातको सुविधा थिएन। दिक्तेलबाट डेढ दिन हिडेर कष्टले उनी खोटाङ पुगे। जाँदा जति कष्ट भए पनि त्यहाँ गएर काम गर्दैगर्दा निकै राम्रो वातवरण पाएको उनी बताउछन्। 'हरेकको घरमा आफ्नो छोरालाई जत्तिकै माया गर्नुहुन्थ्यो। घर भन्दा पर पनि म घरमै थिएँ। अझै खोटाङका मानिसहरुले सम्झिनु हुन्छ, माया गर्नुहुन्छ खुसी लाग्छ,' उनले भने।
खोटाङमा २ वर्ष ११ महिना काम गरेपछि उनको सुनसरीको इनरुवा अस्पतालमा सरुवा भयो। त्यहाँ उनलाई इमर्जेन्सीको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। तिन वर्ष त्यहाँ काम गरिसकेपछि उनले जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा स्वास्थ्य शिक्षा फोकल पर्सनको रुपमा काम गरे।
त्यसपछि समायोजन भयो। उनी काजमा सुनसरीको गढी गाउँपालिकामा गए। 'त्यसपछि फेरि संघीय समायोजन भयो कोशी अस्पताल गएँ। कोभिड कालदेखि हालसम्म म कोशीमै कार्यरत छु,' उनले भने।
राज्यले दुर्गममा काम गर्न स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ। 'स्वास्थ्यकर्मीहरु दुर्गममा जान नचाहने समस्या छ। प्रोत्साहनको, पहुँचको र अध्ययनका कुराहरु सहज भएमा राज्यले दिशानिर्देश गरेको बमोजिम स्वास्थ्यकर्मीहरु त्यो स्थानमा जान्छन् नै,' उनी भन्छन्।
स्वास्थ्य क्षेत्रमा चुनौती भएपनि अवसर पनि उत्तिकै भएको उनले बताए। भन्छन्,'चुनौती छ तर अवसर धेरै छन्। धेरै ठूलो काम गर्नुपर्छ जस्तो लाग्दैन। हामीले आम नागरिकलाई सामान्य सेवा प्रहाव गर्दा नै उनीहरु धेरै खुसी हुन्छन्।'
उनी थप्छन्, 'एउटा बिरामीसँग राम्रोसँग बोलिदिने हो भने, सेवा तुरुन्तै उपलब्ध गरायो भने, अस्पताल सरसफाई मात्रै भयो भने पनि बिरामी खुसी हुन्छन्। आम नागरिकले हामी स्वास्थ्यकर्मीहरूलाई धेरै माया गर्नुहुन्छ। अस्पताल आएर उपचार गरेपछि फर्किदै गर्दा बिरामीहरुले टाउकोमा हात राखेर आशिर्वाद दिएर फर्किनु हुन्छ।'
उनलाई बिरामीको सेवा गर्न पाउँदा निकै गर्व लाग्छ। बिरामीहरु निको भएर घर फर्किंदाको खुसी शब्दमा बयान गर्न नसक्ने उनले बताए। 'हामी समूदायमा तलसम्म भिज्न पाएका छौँ र सबैभन्दा ठूलोकुरा सेवा गर्न पाएका छौँ। बिरामी मान्छेलाई हामीले सामान्य सेवा दिँदा पनि हामीलाई धेरै ठुलो गुण लगाए जस्तो गर्नुहुन्छ, त्यो हाम्रो लागि एकदमै ठुलो आशिर्वाद रहन्छ। निश्पक्ष भएर बिरामीको सेवा गर्ने हो भने कुनै मन्दिर धाउनु पर्दैन,' उनले भने।
स्वास्थ्य सेवामा आम मानिसको पहुँच विस्तार गर्नुपर्नेमा उनको जोड छ। उनी भन्छन्, 'हाम्रो समाजमा आर्थिक विपन्नता यति धेरै छ की बिरामीसँग उपचार गर्ने पैसा हुन्न। सहेर बस्नुपर्ने अवस्था छ। स्वास्थ्य क्षेत्रमा आम नागरिकको पहुँच पहिलेभन्दा विस्तार भएको छ तर अझै पर्प्याप्त भएको छैन। विशेष गरी सीमान्तकृत समूदायका मानिसहरु उपचार नपाएर मर्नुपर्ने स्थिति छ। यो अन्त्य हुनुपर्छ।'
सोमबार काठमाडौँमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई जनही ५० हजार रुपैयाँ र ताम्रपत्रसहित स्वास्थ्य सेवा पुरस्कारले सम्मानित गर्यो। पुरस्कारले आफूलाई थप जिम्मेवार र निश्पक्ष भएर काम गर्न प्रेरित गरेको उनले बताए। 'यो पुरस्कार मैले मेरो नाममा ग्रहण गरे पनि यो सम्पूर्ण स्वास्थ्यकर्मीहरुको लागि हो,' ताम्रपत्र तिर हेर्दै गजेन्द्र मुस्कुराए।