काठमाडौं– ब्याचलर अफ मेडिसिन एण्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) अध्ययनका लागि योग्य हुन तथा छात्रवृति प्राप्त गर्नका लागि एसएलसी (हाल एसईई) को मार्कसिट तथा डकुमेन्टहरु कीर्ते गरेको पाइएपछि एक डाक्टरविरुद्ध मुद्दा चलाइएको छ।
बंगलादेशमा एमबिबिएस अध्ययन गर्नका लागि अयोग्य हुने भएपछि मार्कसिट नै कीर्ते गरेर अध्ययन गरेको पाइएपछि डा. दीपक कुमार ठाकुर विरुद्ध मुद्दा चदाइएको हो। धनुषाको धनौजी गाउँपालिका–१ का ३१ वर्षीय ठाकुरले नेपाल मेडिकल काउन्सिल, बाँसबारीमा इलीजीबीटी कमिटीका तत्कालीन अध्यक्ष डा अनिल कुमार झाको पालामा सर्टिफिकेट कीर्ते गरेर बंगलादेशमा एमबिबिएस अध्ययन गरेको पाइएको भन्दै फागुन १८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको हो।
मार्कसिट कीर्ते गरेको उजुरी परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरेर उनीमाथि मुद्दा चलाउन भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो। सरकारी वकिल कार्यालयले उक्त फाइल अध्ययन गरेपछि डा ठाकुरविरुद्ध कीर्ते अन्तर्गत लिखतसम्बन्धीको कसुरमा अदालतमा मुद्दा दायर गरेको हो।
ठाकुरले डेफोडिल्स पब्लिक स्कूल विद्यापतिचोक जनकपुरबाट २०६३ सालमा एसएलसी उत्तिर्ण गरेका थिए।
डेफोडिल्स स्कूलले ठाकुरको सिम्बोल नम्बर ०२०४६८० ‘एच’ रहेको र उनले २०६३ मा प्रथम श्रेणीमा एसएलसी उत्तिर्ण गरेको भन्दै प्रहरीलाई पत्र पठाएको थियो।
डेफोडिल्सबाट एसएलसी उत्तिर्ण गरेको भए पनि उनले बंगलादेशमा एमबिबिएस अध्ययन गर्नका लागि पेश गरेको मार्कसिट भने कीर्ते गरेको खुलेको छ।
२०६३ मा पास भएको सिम्बोल नम्बर ०२०४६८० ‘एच’ को ठाकुरको मार्कसिट राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमकीको रेकर्डसँग भिडाउँदा समेत म्याच खाएको थिएन। सरकारी रेकर्डमा ठाकुरको मार्कसिट म्याच नखाएपछि ठाकुरले उक्त सर्टिफिकेट कीर्ते गरेको ठहर गर्दै उनीविरुद्ध मुद्दा चलाइएको हो।
ठाकुरले बंगलादेशस्थित नर्थ इस्ट मेडिकल कलेजमा एमबिबिएस अध्ययनका लागि मार्कसिट कीर्ते गरेको आरोप लगाइएको छ। एमबिबिएस अध्ययनका लागि मेडिकल काउन्सिलबाट वैदेशिक अध्ययन स्वीकृती सिफारिस लिनका लागि ठाकुरले एप्लिकेशनका साथ पेश गरेको एसएलसीको मार्कसिट अनुसन्धानका क्रममा कीर्ते गरेको खुलेको बताइएको छ।
ठाकुरका कीर्ते गरेका कागजातहरुलाई सक्कल हुन् भन्दै ज्योति अधिकारीले नोटरी गरेका थिए।
ठाकुरका सक्कल र नक्कल मार्कसिट भिडाउँदा कुल प्राप्तांक अंक समान रहे पनि विषयअनुसार अंक भने हेरफेर गरेको पाइएको छ।
ठाकुरले ७२ दशमलव १३ प्रतिशत ल्याएर एसएलसी पास गरेका थिए भने कीर्ते गरेर बनाइएको मार्कसिटमा पनि सोही प्रतिशत उल्लेख गरिएको छ। तर एमबिबिएस अध्ययन तथा छात्रवृतिका लागि विषयअनुसार आवश्यक पर्ने अंक भने तलमाथि गरेको अनुसन्धानबाट खुलेको छ।
उनले अनिवार्य अंग्रेजीमा ६५ ल्याएका थिए। नक्कली मार्कसिट बनाउँदा अंग्रेजीको ३ अंक घटाउँदै ६२ बनाए। नेपालीमा ६४ अंक ल्याएकोमा २० अंक घटाएर ४४ मात्रै बनाए। अनिवार्य गणितमा ८८ अंक ल्याएकोमा ७ अंक घटाउँदै ८१ अंक बनाएको अनुसन्धानबाट खुलेको छ।
विज्ञानमा ६९ अंक आएकोमा नक्कली मार्कसिट बनाउँदा २ अंक थप्दै ७१, सामाजिक शिक्षामा ७२ आएकोमा ८ अंक थप्दै ८० अंक राखेर नक्कली मार्कसिट बनाएको दाबी गरिएको छ।
स्वास्थ्य तथा जनसंख्यामा त सक्कल मार्कसिटको भन्दा १९ अंक थप गरेको खुलेको छ। स्वास्थ्य तथा जनसंख्यामा ६९ अंक आएकोमा नक्कली मार्कसिट बनाउँदा ८८ अंक र अकाउन्टमा ७९ अंक आएकोमा १ अंक थप गर्दै ८० अंक बनाएको पाइएको अभियोगपत्रमा उल्लेखमा गरिएको छ। अतिरिक्त गणितमा ७१ अंक आएकोमा त्यसलाई भने जस्ताको त्यस्तै राखिएको छ।
कीर्ते गरेको पाइएको भन्दै जिल्ला अदालतमा मुद्दा दायर गरिएका ठाकुरविरुद्ध ७ वर्षसम्म कैदको मागदाबी गरिएको छ।
कीर्ते गरेको अनुसन्धानबाट खुलेपछि मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २७६ अन्तर्गतको कसुरमा उनीविरुद्ध मुद्दा दायर गरिएको छ। सार्वजनिक लिखत अन्तर्गतको कसुरमा उनीवरुद्ध ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।
ठाकुरविरुद्ध सिआइबीले एक वर्षअघि नै छानबिन गरे पनि उनी पक्राउ भने परेका छैनन्। अहिलेसम्म पनि पक्राउ नपरेकाले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। कीर्तेको कसुरको मुद्दा दर्ताको हदम्याद सकिन लागेपछि फरार प्रतिवादी बनाउँदै मुद्दा दर्ता गरिएको हो।