डडेल्धुरा– अमरगढी नगरपालिका वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणा गरिएको छ। उक्त वडालाई शुक्रबार पोषणमैत्री वडा घोषणा गरिएको हो। जसलाई देशकै पहिलो वडा भनिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारीले वडा नम्बर १० का अध्यक्ष खेमराज भट्टलाई पोषणमैत्री वडा घोषणाको प्रमाणपत्र प्रदान गरे।
स्थानीय तह कार्यान्वय निर्देशिका २०७८ कार्यान्वयन आएपछि वडालाई पोषणमैत्री घोषणा गरिएको बताइएको छ।
वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको आयोजनामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भण्डारीले दिगोपनाका लागि शुभकामना व्यक्त गरे। ‘७६ वटा सूचक पार गर्दै देशकै पहिलो वडाका रुपमा पोषणमैत्री घोषणा गर्न सफल भएकोमा अमरगढी नगरपालिका परिवारलाई धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने।
सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष मोहनदेव बिष्टले पोषणमैत्री घोषणा भइसकेपछि अब दिगोपनाका लागि जोड दिन आवश्यक रहेको बताए। ‘सुदूरपश्चिमका सबै वडा र ८८ वटै पालिकामा यो अभियानलाई सफल बनाउनका लागि हामी तत्पर रहेका छौं,’ उनले भने। कार्यक्रममा अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीले ०७६ सालदेखि सुरु भएको अभियान ०७९ मा आएर सफल भएकोमा पोषणमैत्री वडा बनाउनका लागि सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे।
‘देशकै पहिलो वडा अमरगढी नगरपालिकाको भएको छ भने अब दोस्रो वडा पनि यसै नगरपालिकाको हुनेमा म ढुक्क छु,’ मेयर जोशीले भने।
अमरगढी नगरपालिकाले युरोपियन युनियन, युनिसेफ, यूएसएआईडी र सु–आहाराको सहयोगमा ०७६ सालदेखि थालेको अभियानअन्तर्गत वडा नम्बर १० लाई पोषणमैत्री वडा घोषणा गरिएको हो। स्वास्थ्य, शिक्षा, खानेपानी तथा सरसफाई, महिला तथा बालबालिका, पशुपन्छी विकास, कृषि विकास र शासकिय प्रबन्ध गरी सात वटा विषयका ७६ वटा सूचकमा सन्तोषजनक नजिता देखिएपछि वडालाई पोषणमैत्री वडा घोषणा गरिएको हो।
हाल वडामा रहेका ३ सय २० घरधुरीमा शुद्ध खानेपानीका लागि फिल्टर, सरसफाइका क्षेत्रमा भाडा धुने र सुकाउने च्याङ्ग, जुठ्यान, करेसाबारी, कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि खाल्टा रहेको छ।
यस्तै, गर्भपतिले स्वास्थ्य संस्थामा नियमित ८ पटकसम्म चेकजाँच गर्दै आएका छन् भने विद्यालयमा विद्यालय नर्स, गर्भवती र महिनावारी भएकालाई अनिवार्य रुपमा आइरन चक्की सेवन, धुवारहित चुलोको प्रयोग, विद्यार्थीलाई घरमा पकाइएको खाना अनिवार्य रुपमा खुवाउने गरेका छन्।