डा अवनिभूषण उपाध्याय वरिष्ठ मुटुरोग विशेषज्ञ हुन्। केहि दिनअघि उनको ‘मुटुसँग सहयात्रा’ नामक आत्मवृत्तान्त प्रकाशित भएको छ। उनै डा उपाध्यायसँग स्वास्थ्यखबरकी अन्शु खनालले गरेको पुस्तक वार्ता:
१. पाठकहरुबाट पुस्तकको कस्तो प्रतिक्रिया पाईरहनुभएको छ?
आजका दिनसम्म टेलिभिजनहरुमा, अनलाईन र सोसल मिडियाका कमेन्टहरुमा तथा व्यक्तिगत रुपमा पनि किताबको निकै सकारात्मक प्रतिक्रिया पाईरहेको छु। अहिलेसम्म चित्त बुझ्दो नै आईरहेको छ।
२. लेखनमा रुची कहिलेदेखि थियो?
लेख्न त पहिले पनि अलिअलि लेख्थें। स्कुलमा हुँदा कथा कविता लेख्ने गर्थें। पछि विविध कारणले त्यो छुटेको थियो। पत्रपत्रिकामा आर्टिकल चाहिं लेखि नै रहेकी थिएँ। किताब नै लेख्ने बारे सोचेको थिईन्, किताबमा लेखेका विषयहरु मनमा थिए। पछिल्लो समय कोरोनाकालको फाईदा उठाएर किताब लेखें।
३. कति समय लाग्यो यो आत्मवृतान्त लेख्न?
यो किताब मैले एक वर्षमा लेखेर सकेको थिएँ।
४. तपाईंंलाई के कुराले यो किताब लेख्न उत्प्रेरित गर्यो?
आफूले काम गरेको समयको डकुमेन्टेसन हुन्छ भन्ने कुराले मैले यो किताब लेखेको हुँ। यो कुरामा मेरो परिवार, सँगै काम गरेका साथीभाई र गुरुहरुले समेत लेख्न उत्प्रेरित गर्नुभयो। मलाई पनि पछि मान्छेहरुले नेपालमा मुटुसम्बन्धी उपचार कसरी सुरु भयो, के कठिनाई थियो भन्ने बारे दस्तावेज हुन्छ भन्ने सोचेर लेखेँ।
५. स्कुल पढ्ने समयमा कविता लेख्थें भन्नुभयो, अझै पनि कविता लेख्नुहुन्छ?
आजकल पनि कविता लेख्छु तर कतै प्रकाशित गरेको भने छैन। अब केहि समयमा सायद एउटा कविता संग्रहको तयारीमा लाग्छु भन्ने छ। लेखेर राखेका कवितालाई संकलन गर्नुपर्ने छ।
६. आफू चाहिं कस्ता किताबहरु पढ्न रुचाउनु हुन्छ?
म ननफिक्सनहरु धेरै पढ्छु। अनि नियात्राहरु र आत्मवृत्तान्त पनि पढ्छु। कहिलेकाहीँ राजनीतिक कुराहरु भएको किताबमा पनि रुची लाग्छ।
७. तपाईंंको मनपर्ने लेखक?
मलाई कविमा भूपी शेरचन र लेखकमा ताना शर्मा निकै मनपर्छ।
८. किताब किन पढ्ने? किन लेख्ने?
संसारमा सबैभन्दा उत्तम साथी भनेकै किताब हो। किताब साथी, गुरु र सहयात्री हुनसक्छ मान्छेको जीवनमा। किताबको अर्को विकल्प नै छैन। मलाई केहि कुरा थाहा छ भने त्यो अरुलाई पनि थाहा दिन किताब लेख्नुपर्छ जस्तो लाग्छ। विविध विषयका बारेमा जान्न बुझ्न र बुझाउन किताब पढ्ने लेख्ने गर्नुपर्छ।
९. कुन भाषाको किताबहरु बढी पढ्नु हुन्छ?
म पहिले अंग्रेजी, रसियन र नेपाली पढ्ने गर्थें। आजकल रसियन कम भएको छ। नेपाली र अंग्रेजी नै बढी पढ्छु।
१०. तपाईंलाई जीवनमा सबैभन्दा बढी प्रभाव परेको किताब हुन् हो?
मलाई जीवनमा सबैभन्दा बढी प्रभाव परेको किताब थोमस फ्राइडम्यानको 'द वर्ल्ड इज फ्ल्याट' हो।
११. पछिल्लो समय पढेको किताब कुन हो?
मैले पछिल्लो समय बाराक ओबामाको जीवनी पढेको थिएँ।
१२. पढ्ने लेख्ने बाहेक के के कुरामा रुची छ?
म बच्चा हुँदादेखि चित्र बनाउन पनि मन पराउथें। स्कुल पढ्ने समयमा ललितकला क्याम्पसमा स्कुल स्तरीय चित्रकला प्रतियोगितामा भाग लिएको थिएँ। उक्त प्रतियोगिताको निर्णायकको भूमिकामा लैनसिंह बाङ्देल हुनुहुन्थ्यो। सो प्रतियोगितामा म प्रथम भएको थिएँ। त्यसपछि लैनसिंह बाङ्देलले मलाई फ्रान्समा ६ वर्षको कोर्ष पढ्न पठाउने प्रतिवद्दता गर्नुभएको थियो। तर बुवाले खासै रुची देखाउनु भएन्। त्यो समय कलालाई समाजले पेशाको रुपमा मान्दैन थियो। बुवालाई मन नपरेको जस्तो लाग्यो अनि मैले चित्रकला पढ्न बाहिर जाने कुरै छोडें।
१३. तपाईंंलाई मनपर्ने चित्रकार को हो नि?
मलाई नेपालमा मनपर्ने लैनसिंह बाङ्देल नै हो। विदेशमा धेरै छन्, जस्तो भ्यान गग, पाब्लो पिकासो निकै मन पर्छ।
१४. पेशाले चिकित्सक भएर पनि कला साहित्यसँग नजिक हुनुहुन्छ, यसले तपाईंलाई कस्तो महसुस गराउँछ?
चिकित्साशास्त्र भनेको निकै नै तनावपूर्ण पेसा हो। जब म कला साहित्यतिर लाग्छु, कुनै चित्रको अगाडि बस्छु वा कवितासँग अलमलिईरहेको हुन्छु भने त्यस्तो बेला मेरो तनाव सबै घटेर जान्छ। मलाई जीवनमा अर्को शक्ति आएको जस्तो अनुभव हुन्छ।
१५. तपाईंले भन्नु भयो, पहिलेको समयमा कला, साहित्यलाई समाजले पेशाको रुपमा लिंदैन थियो, तर अहिले केहि हदसम्म त्यो अवस्था छैन र पनि कला मै केहि गर्छु भन्ने सन्तानलाई अभिभावकहरु ढुक्क भएर हुन्छ भन्न पनि सक्दैनन्। त्यस्ता अभिभावकलाई के भन्नु हुन्छ?
मैले आफ्नै पुस्तकमा पनि लेखेको छु। हरेक बच्चा डाक्टर या इन्जिनियर नै बन्नुपर्छ भन्ने होईन। बच्चाहरुको के चाहना हुन्छ त्यही अनुसार नै पढाउनुपर्छ। आफूलाई इच्छा नभई नभई परिवारको चाहनाको लागि कुनै पनि विषय पढ्नु उचित हुँदैन। अभिभावकले पनि बच्चाबच्चीलाई बुझ्न कोशिश गर्नुपर्छ। जे पढे पनि राम्रोसँग सक्षम भएर पढेमा धेरै अवसरहरु छन्। पहिले र अहिलेको समय उस्तै छैन।
१६. कला साहित्यलाई मन पराउनेलाई के सुझाव छ?
यो हामीलाई प्रकृतिले दिएको ठुलो एउटा मौका हो। हामीले हरेक मौकाबाट फाईदा लिन सक्नुपर्छ। जस्तो हरेक किताबबाट केही न केही सिक्छौं। संगीतमा जानु भयो भने मनलाई आनन्द मिल्छ। तनाव कम हुन्छ। चित्रकलाले अर्कै संसारमा पुर्या उँछ। कला साहित्यमा हामी जति सकिन्छ लाग्नुपर्छ, बुझ्ने कोशिष गर्नुपर्छ।