काठमाडौं- अमेरिकाको सबैभन्दा ठूलो औषधि उत्पादक कम्पनी 'जोन्सन एण्ड जोन्सन'ले आफूविरूद्ध मुद्धा दायर गर्ने समूहलाई सम्झौंताका लागि ८९० करोड अमेरिकी डलरको प्रस्ताव अघि सारेको छ।
यदि यो प्रस्ताव अनुमोदन भए अमेरिकी न्यायलयको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झाैता सावित हुनेछ।
अमेरिकी अदालतमा जोन्सनविरूद्ध हजारौँ मुद्धा दायर छन्। कम्पनीले उत्पादन गर्ने टेल्कम पाउडरले क्यान्सरजस्तो घातक रोग फैलाएको भन्दै अदालतमा मुद्धा परेको थियो।
न्युयोर्कस्थित कम्पनीले आफूले प्रस्ताव गरेको सम्झौंतामा सहमति बने अदालतबाट अनुमोदन लिने काम सुरु गर्ने बतायो। उसले मुद्धा टुँगिएको अवस्थामा आफ्नो उत्पादनलाई स्वास्थ्य उपयोगी बनाउनेतर्फ केन्द्रीत रहने बताएको छ।
जोन्सनले आफूविरूद्धको मुद्धा टुँग्याउन जुन रकमको प्रस्ताव गरेको छ, त्यो यसअघि सूर्तीजन्य कम्पनीले मात्र खर्च गरेको थियो। जोन्सनको पाउडरमा ओवेरियन क्यान्सर उत्पत्ति हुने अंश फेला परेको भन्दै मुद्धा दायर भएको थियो। यसपछि सन् २०२० को मे महिनामा कम्पनीले अमेरिका र क्यानडामा टेल्कममा आधारित बच्चाहरूमा प्रयोग हुने पाउडर बेच्न बन्द गरेको थियो।
जोन्सन एण्ड जोन्सनको मुद्धासँग जोडिएका विभागका उपाध्यक्ष एरिक हासले भनेका छन्, ‘कम्पनीको दाबी छ कि उविरूद्ध लागेको आरोपमा कुनै सत्यता छैन। यसमा वैज्ञानिक तथ्यको अभाव छ।’
जोन्सनले आफ्नो सहायक कम्पनी एलटीएल म्यानेजमेन्ट एलएलसीमार्फत आउँदो २५ वर्षमा मुद्धा दर्ता गर्ने हजारौंं व्यक्तिलाई ८९० करोड अमेरिकी डलर भुक्तानी गर्न तयार भएको बतायो। एलटीएल म्यानेजमेन्ट एलएलसी आफूमाथि लागेको आरोप समाधान गर्न स्थापना भएको कम्पनी हो।
यसअघि पनि यो कम्पनीले २०० करोड अमेरिकी डलरको सम्झौंता रकमको प्रस्ताव अघि सारेको थियो। तर, त्यो बीचैमा तुहीयो। जोन्सन एण्ड जोन्सन कम्पनीको तर्फबाट भनिएको छ, ‘यो मुद्धालाई जति छिटो समाधान गर्न सकियो, त्यो नै कम्पनी र कम्पनीको हित चिताउने व्यक्तिका लागि सर्वोत्तम विकल्प हुनेछ।’