काठमाडौं- २०७६ साल कात्तिकको अन्तिम साता नेपाल चिकित्सक संघका पूर्व अध्यक्षहरु र केही वरिष्ठ चिकित्सकहरु लगातार छलफलमा सक्रिय थिए। छलफलको मुख्य विषय थियो– नेपाल चिकित्सक संघको अध्यक्षमा डा लोचन कार्कीलाई उम्मेदवार बनाउने वा नबनाउने।
छलफलमा केही चिकित्सकले डा लोचनको उमेर कम भएकाले अन्य कोही वरिष्ठलाई नै अध्यक्षमा उठाउनुपर्छ भन्ने आवाज बुलन्द पारिरहेका थिए। केहीले भने उमेर हेर्ने होइन, डा लोचनको नेतृत्व गर्न सक्ने क्षमता हेर्नुपर्ने भन्दै आफ्नो मत राखिरहेका थिए।
साताव्यापी छलफलले अन्ततः कात्तिक २८ गते डाक्टर लोचनलाई अध्यक्षमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गर्यो। निर्णयमा भनिएको थियो– विगत लामो समयदेखि संघले दिएको जिम्मेवारीलाई निष्ठापूर्वक सम्पन्न गर्दै आउनुभएका तथा केन्द्रीय कार्यकारिणी समितिको सदस्य, महासचिव एवं विभिन्न पदाधिकारीको रुपमा कुलतापूर्वक पदीय जिम्मेवारी निर्वाह गर्नुभएका युवा चिकित्सक डा लोचन कार्कीलाई अध्यक्ष पदमा सर्वसम्मत उम्मेदवार उठाउने।
संघको २८औं कार्यकारिणी समितिका लागि माघमा निर्वाचन भयो। निर्वाचनमा डा लोचन प्रतिस्पर्धीभन्दा दोब्बर बढी लोकप्रिय मतसहित विजयी भए।
०००
२०७९ मंसिर। संघको २९औं कार्यकारिणी समितिका लागि अध्यक्ष सहितका उम्मेदवारका विषयमा टुंगो लगाउन लोकतान्त्रिक प्यानलका तर्फबाट चिकित्सकहरु छलफलमा जुटिरहे। अधिकांश छलफलमा संघको अध्यक्षमा डा लोचनलाई पुनः दोहर्याउनुपर्ने विषयले प्रवेश पाउँथ्यो।
डाक्टर लोचनलाई अध्यक्षमा पुनः दोहोर्याउनुपर्छ भन्दै सार्वजनिक रुपमा प्रस्ताव राख्नेहरुमा संघका पूर्वअध्यक्ष डा आनन्दप्रसाद श्रेष्ठ र डा चोपलाल भुसाल अग्रस्थानमा थिए। उनीहरुले हरेकजसो छलफल र भेटघाटमा डा लोचनको कार्यशैली र नेतृत्वदायी क्षमताको कदर गर्दै दोस्रो कार्यकाल पनि अध्यक्षमा उठ्न आग्रह गरेका थिए।
डा लोचनलाई दोस्रो कार्यकाल पनि अध्यक्ष उठ्न आग्रह गर्नेमा तीन वर्षअघि डा लोचनको उमेर सानो रहेकाले तत्काल हतार गर्न नहुने भन्दै आवाज उठाउनेहरु पनि थिए। तिनैमध्येका एक चिकित्सकले भने, ‘युवा उमेरका डा लोचनलाई नेतृत्व सुम्पदा सम्हाल्न सक्दैनन् कि भन्ने डर थियो। तर उनले आफूलाई अब्बल सावित गरिदिए। उनको नेतृत्व क्षमतालाई सम्मान गर्दै दोस्रो कार्यकाल पनि अध्यक्ष बन्नुपर्छ भनेर भनेका हौं।’
तर, डा लोचनले संघमा नयाँ नेतृत्व आउनुपर्छ, नयाँलाई अवसर दिनुपर्छ भन्दै अध्यक्षमा पुनः दोहोरिन चाहेनन्। उनले अध्यक्षमा नदोहोर्याउने बताएपछि लोकतान्त्रिक प्यानलबाट डा अनिल कार्की अध्यक्षका उम्मेदवार बने। माघमा भएको निर्वाचनमा डा अनिल विजयी भएका छन्। संघमा निर्वाचित भएका उम्मेदवारहरुले फागुन १८ गते पदभार सम्हाल्नेछन्। त्यही दिनबाट डा लोचनको तीन वर्षे अध्यक्ष पद समाप्त हुनेछ।
संघको इतिहासमै सम्भवतः सबैभन्दा कम उमेरका निर्वाचित अध्यक्ष डा लोचन नै हुन्। उनी ४१ वर्षको उमेरमै संघको अध्यक्ष पदमा निर्वाचित भएका थिए। कम उमेरमा अध्यक्ष भएका डा लोचनलाई अग्रज र युवापुस्ता दुवैथरीका चिकित्सकहरुलाई समेटेर काम गनुपर्ने चुनौती थियो। उनले उक्त चुनौतीलाई अवसरका रुपमा लिए। युवा र अग्रज चिकित्सकमा आफ्नो उमेर बीचको भएकाले दुवै पक्षलाई जोड्ने पुलका रुपमा काम गर्छु भन्ने अठोट लिएर योजनासहित काम गरेको उनी बताउँछन्।
डा लोचनले युवादेखि अग्रजसम्म सबै चिकित्सकलाई जोड्न सफल भएको भन्दै संघका पूर्वअध्यक्ष डा केदारनरसिंह केसीले सार्वजनिक मञ्चमा भन्दै आएका छन्। डा लोचन कार्कीले संघको अध्यक्षका रुपमा परिपक्व नेतृत्व देखाउँदै उम्दा काम गरेको भन्दै डा केसीले प्रशंसा गरेका छन्।
लोकतान्त्रिक प्यानलका चिकित्सक मात्र नभई यस पटक लोकतान्त्रिक प्यानलविरुद्ध चुनावी मैदानमा होमिएका प्रगतिशील प्यानलका अध्यक्षका उम्मेदवार डा सन्तोष पौडेलले समेत डा लोचनले अध्यक्षका रुपमा राम्रो काम गरेको भन्दै प्रशंसा गरे। संघको कार्यालयमा भएको एक कार्यक्रममा सार्वजनिक मञ्चबाट डा पौडेलले लोचनको नेतृत्व क्षमताको प्रशंसा गरेका हुन्।
डा लोचन आफ्नो तीन वर्षे कार्यकालमा धेरै राम्रा र उपलब्धिमुलक काम गर्न सफल भएको बताउँछन्। ‘काम धेरै गर्न सफल भइयो। तर तीन वर्षको समय भने निकै छोटो भएजस्तो लाग्यो,’ उनले भने, ‘सबैलाई मिलाएर नयाँनयाँ योजनासहित काम गरेका कारण कोभिड महामारीको कठिन समयमा पनि धेरै उपलब्धि हासिल गर्न सफल भएकोमा खुसी लागेको छ।’
परिवारिक वातावरणले नेतृत्व क्षमता बढायो
डा लोचन आफूमा सानै उमेरदेखि नेतृत्व गर्न सक्ने क्षमताको विकास पारिवारिक वातावरणले गरेको बताउँछन्। बाल्यकालदेखि नै पारिवारिक राजनीतिक वातवरण र त्यसले आफ्नो मानसपटलमा जमाएको राजनीतिक घटनाक्रमको चेतले पनि नेतृत्व गर्न सक्ने बनाएको उनी बताउँछन्।
२०३४ साल माघ १३ गते भोजपुरमा जन्मिएका डा लोचनको पारिवारिक पृष्ठभूमि राजनीतिसँग जोडिएको थियो। उनका बुबा नेपाली कांग्रेसका नेता थिए। बुबा कांग्रेसका नेता भएकाले उनले घरमै हुने राजनीतिक चहलपहललाई बुझ्दै गए।
राजाविरोधी गतिविधि गरेको आरोपमा बुबा जेल परेपछि बुबालाई जेलमै भेट्न जाने क्रम चल्यो। जसले डा लोचनलाई राजनीति र नेतृत्व गर्ने विषयमा अझ मोह बढायो।
‘बुबा जेलमा हुँदा उहाँलाई भेट्न जाँदा प्रहरीसँग निडर भएर बोल्नुका साथै आत्मबल पनि बढ्दै गयो,’ उनले विगत सम्झँदै भने, ‘त्यस क्रममा धेरै कुरा जान्ने र सिक्ने अवसर मिल्यो। बुबा जेलमा पर्नु दुखद थियो। तर त्यसले मलाई भने धेरै कुरा सिकायो।’
बुबा जेलबाट निस्केपछि हुने राजनीतिक भेटघाट र उहाँलाई भेट्न आउनेहरुसँग नियमित हुने कुराकानीले आफ्नो ज्ञानको दायरासँगै नेतृत्व गर्ने क्षमता पनि बढेको उनी बताउँछन्। ‘म ६-७ कक्षा पढ्दा नै समाजवाद र साम्यवादबीच फरक के हो, समाजवाद भनेको के हो, प्रजातान्त्रिक समाजवाद भनेको के हो भनेर म घण्टौं बोल्न सक्थें। कतिपय मञ्चहरुमा बुबाले मलाई बोल्न समेत दिनुहुन्थ्यो,’ उनले विगत सम्झँदै भने।
बाल्यकालदेखि नै डा लोचनको रुचि राजनीतितर्फ देखेपछि पढाइ बिग्रने डरले उनका बुबाले आइएस्सी अध्ययनका लागि काठमाडौं विश्वविद्यालयमा भर्ना गरिदिए। आइएस्सी अध्ययनपछि उनी एमबिबिएस अध्ययनका लागि बंगलादेश गए। एमबिबिएस अध्ययन पूरा गरेर नेपाल आएपछि उनले चित्कित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट एमडी अध्ययन गरे।
चिकित्सा शिक्षा अध्ययनमा व्यस्त भइरहे पनि डा लोचनमा चिकित्सा क्षेत्रमै हुने समस्याबारे आवाज उठाउने गर्थे। एमडी अध्ययन पूरा गर्नेवित्तिकै उनले संघको निर्वाचनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिए र सबैभन्दा धेरै मत ल्याएर विजयी भए।
त्यसपछिका निर्वाचनहरुमा पनि निरन्तर सहसचिव, महासचिव हुँदै अध्यक्षसम्म निरन्तर जितिरहे। हरेक निर्वाचनमा उनी लोकप्रिय मतसहित विजयी भए। ‘संघमा तल्लो तहदेखि नै काम गर्दै आएको हुनाले पनि अध्यक्षका रुपमा टिममा मिलेर राम्रोसँग काम गर्न सफल भएँजस्तो लाग्छ,’ डा लोचनले संघमा आफूले गरेको कामको मूल्यांकन गर्दै भने, ‘हुन त आफ्नो कामको मूल्यांकन आफैंले गर्दा राम्रो हुँदैन। तर अग्रज र युवा चिकित्सकले दिएको प्रतिक्रिया र तीन वर्षमा भएका कामहरु हेर्दा राम्रो काम गरेको छु भन्ने विश्वास छ।’
नेतृत्वसँग सबैलाई मिलाएर लैजाने कला, नयाँनयाँ काम गर्ने योजना, निडर र काम गर्ने हुटहुटी हुनुपर्ने उनी बताउँछन्। डा लोचन आफ्नो कार्यकालमा राज्यसँग आफ्नो कुरा निर्धक्क राख्न तथा सिनियर र जुनियर चिकित्सकहरु सबैलाई समेट्न सकेको बताउँछन्।
‘उमेरका कारण राज्य संयन्त्रले मेरो कुरा पत्याउँदैनन् कि भन्ने डर थियो, तर जब मैले काम गर्न थालें, विशेषगरी कोभिडको समयमा तत्कालीन स्वास्थ्य मन्त्रीलाई स्वास्थ्यकर्मी र चिकित्सकलाई लिएर कोभिडको लडाईं लड्नुपर्छ भनेपछि स्वास्थ्य मन्त्रालयले हामीसँग सहकार्यमै कोभिडमा कामहरु ग¥यो,’ उनले भने, ‘सिनियर र जुनियर सबैसँग सरल तरिकाले काम गर्न सक्ने भएकाले सिनियरले पनि पत्याए, जुनियरले पनि पत्याए।’
पाइलट बन्न चाहन्थे, आमाले नमानेपछि डाक्टर
विद्यालय उमेरदेखि नै डा लोचनको सपना पाइलट बन्ने थियो। अकाशमा प्लेन उडेको देख्दा उनी भन्थे, म पनि भविष्यमा यसैगरी प्लेन उडाउँछु। पढाइमा तेज लोचनले एसएलसीपछि पाइलट बन्ने सपनाका विषयमा घरमा आमाबुबालाई सुनाए। तर उनको प्रस्तावलाई आमाले ठाडै अस्वीकार गरिदिइन्।
प्लेन दुर्घटनाका समाचार सुनिरहेकी आमालाई आफ्नो एक्लो छोरो पाइलट भयो भने भविष्यमा दुर्घटनामा पर्ने पो हो कि भन्ने डर भयो। आमाले त्यतिबेला भनेको सम्झँदै डा लोचन भन्छन्, ‘उहाँ (आमा)लाई घरको एक्लो छोरो प्लेन दुर्घटनामा ज्यान गुमाउँछ कि भन्ने डर रहेछ। मेरो प्रस्ताव त सिधै हुँदैन भन्दिनुभयो। त्यसपछि मेरो दोस्रो सपना डाक्टर बन्ने थियो। पहिलो सपना त्याग्दै दोस्रो सपना पछ्याएको हुँ।’
डाक्टर बन्नुपर्छ भन्ने सपनाको बिजारोपण भने आफ्ना ठूलो बुबालाई देखेर भएको भन्छन् डा लोचन। ‘ठूलो बुबा डाक्टर हुनुहुन्थ्यो। कहिलेकाहीँ गाउँमा आउँदा उहाँलाई सबैले माया र सम्मान गर्ने। डाक्टरसाब हजुर भन्दै आउने। अनि उहाँले गाउँका बिरामीको उपचार गरेको देख्दा मलाई पनि पाइलट भइएन भने डाक्टर त बन्छु भन्ने लागेको थियो,’ विगत सम्झँदै उनले भने।
पाइलट बन्ने सपना त्यागेका लोचनले काठमाडौं विश्वविद्यालयमा आइएस्सी अध्ययन गरेका हुन्। त्यसपछि एमबिबिएस र इन्जिनियरिङमा फर्म भरे। इन्जिनियरिङ पढ्न छात्रवृत्ति पनि पाए। ‘मेरो रुचि इन्जिनियरिङमा थिएन। त्यसैले छात्रवृत्ति पाए पनि मैले इन्जिनियरिङ पढिनँ। एमबिबिएस नै पढ्छु भने त्यसतर्फ लागेँ,’ उनले सुनाए।
उनी एमबिबिएस अध्ययनका लागि २०५२ सालमा बंगलादेश गए। बंगलादेशको युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीमा एमबिबिएस अध्ययन गरेपछि नेपाल फर्किए। त्यतिबेला बंगलादेशमा एमबिबिएस अध्ययन गरे पनि नेपालमा नै इन्टर्नसिप गर्न पाउने नियम थियो। त्यही अनुसार उनी नेपालमा आएर वीर, प्रसूति गृह र कान्ती बाल अस्पतालमा गरेर एक वर्ष इन्टर्नसिप गरे। त्यसपछि भने उनले ज्ञानेश्वरस्थित हिमाल अस्पतालमा मेडिकल अफिसरको जागिर सुरु गरेका हुन्।
हिमालमा दुई वर्ष काम गरेपछि डा लोचनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा इन्टरनल मेडिसिनमा एमडी अध्ययन सुरु गरेका हुन्। सन् २०१० मा एमडी अध्ययन सकेका डा लोचन हाल वीर अस्पतालमा कार्यरत छन्।
कोभिडको संकटलाई समस्या होइन, अवसरका रुपमा लिए
डा लोचनले आफ्नो कार्यकालमा सुरुवातदेखि नै कोभिड महामारीसँग जुध्नुपर्यो। अध्यक्षको रुपमा जिम्मेवारी सम्हालेको तीन साता नबित्दै २०७६ चैत ११ गतेदेखि नेपालमा देशव्यापी लकडाउन भयो।
महामारी फैलिँदै गर्दा एकातर्फ कोभिडका बिरामीको उपचार गर्ने चिकित्सक आफैं त्रास र अन्योलमा थिए। अर्कोतर्फ अस्पताल, स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समाजले अस्पतालबाट कोभिड ल्याउँछन् भन्दै बहिष्कार गरिरहेको अवस्था थियो।
नेतृत्वको असली पहिचान संकटकै समयमा हुन्छ भन्ने डा लोचनले राम्रोसँग बुझेका थिए। त्यसैले उनले कोभिड महामारीको चुनौतीसँग जुध्दै त्यसलाई अवसरका रुपमा उपयोग गर्ने निधो गरे। ‘महामारीसँग जुध्नु त छँदै थियो। सँगसँगै मैले समग्र चिकित्सा क्षेत्रसँग नागरिकको स्वास्थ्यका विषयमा पनि काम गर्नुपर्ने थियो,’ उनले भने, ‘त्यसकारण महामारीको उक्त संकटलाई चुनौतीका रुपमा नभई अवसरका रुपमा सदुपयोग गर्ने निर्णय गर्दै योजनाहरु बनाएँ। त्यही अनुसार काम गरेँ।’
डा लोचनको अध्यक्षतामा निर्वाचित कार्यसमितिले २०७६ फागुन १७ गते कार्यभार सम्हालेको हो। कार्यभार सम्हालेको पाँचौ दिनमा नै उनीहरुले कोरोना भाइरस सम्बन्धी जनचेतना कार्यक्रम गरेका थिए। सोही दिन नै उनको नेतृत्वमा कोरोना भाइरसको संक्रमणबाट जोगिँदै स्वास्थ्य संस्था र चिकित्सकहरुलाई तयारी अवस्थामा रहनका लागि अवलम्बन गर्नुपर्ने रक्षात्मक उपायहरुका विषयमा पनि छलफल भएको थियो।
‘नयाँ भाइरसको डर सबैतिर रहेको समयमा चिकित्सा क्षेत्रमा पनि के हुने हो, कस्तो हुने हो भन्ने डर र अन्योल थियो,’ डा लोचनले भने, ‘हामीले त्यसलाई चिर्दै सुरक्षित रहने उपायदेखि अस्पतालमा संक्रमित आउँदा कसरी उपचार गर्ने भन्ने विषयमा तालिम दिने काम पनि गर्यौं।’
सो समयमा चिकित्सकको समस्या समाधानका लागि आफूहरुले आवाज उठाएको र चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोभिडका बिरामी उपचारका लागि क्रिटिकल केयरको तालिमहरु १२ हजारभन्दा बढीलाई दिन सकिएको डा लोचन बताउँछन्।
‘कार्यसमितिले जिम्मेवारी सम्हालेको एक साताभित्र नै चीन लगायतका देशमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै नेपालमा पनि आवश्यक तयारी, जनचेतना जगाउने, सुरक्षित रहनका लागि गर्नुपर्ने सावधानी लगायतका विषयमा वृहत छलफल गर्दै सरकारलाई सात बुँदे ज्ञापनपत्र बुझाएर दबाब दिएका थियौँ,’ उनले आफ्नो कार्यकालको सुरुवातमा गरेको कामको प्रगति विवरण सुनाउँदै भने, ‘अग्रपंक्तिमा खटिएका देशभरका चिकित्सलाई पिपिई, एप्रोन, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गरायौं।’
कोभिड महामारीसँग लड्दै गर्दा आफूले संघको अध्यक्षको रुपमा निर्वाह गर्नुपर्ने अन्य नीतिगत कामहरुलाई पनि पूरा गरेको उनले सुनाए।
‘हामीले चुनावअघि घोषणापत्रमा लेखेका कुराहरुलाई कार्यान्वयन गर्नुपर्ने चुनौती थियो। तर कोभिड आउने वित्तिकै हाम्रो पहिलो लडाईं कोभिड वरुद्ध हुनुपर्ने भयो,’ उनले भने, ‘कोभिडमा फोकस हुँदाहुँदै पनि हामीले उठाएका अजेण्डालाई भने बिर्सिएनौं।’
२५ वटा संगठनको अध्यक्ष
डा लोचन तीन वर्षे कार्यकालमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न पेसागत र ट्रेड युनियन संस्थाहरुको अध्यक्ष समेत भए। नेतृत्वदायी क्षमता देखेर नै २५ वटा संगठनले उनलाई साझा अध्यक्षका रुपमा चयन गरेका हुन्।
स्वास्थ्यमा क्रियाशील २५ वटा ट्रेड युनियन तथा पेसागत संघ–संगठनहरुको संघर्ष समितिको अध्यक्षका रुपमा डा लोचनको अगुवाइमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारसँगै चिकित्सक र स्वास्थ्यकर्मीहरुको पेसागत हकहित र सुरक्षा, नीतिगत सुधार र कानुन संशोधन लगायतका विषयमा स्वास्थ्य मन्त्रालयसँग २०७७ माघ ४ गते १९ बुँदे सहमति भएको थियो। सोही सहमति अनुसार सरकारले कोभिड नियन्त्रणदेखि स्वास्थ्यकर्मीको सुरक्षा लगायतका विषयमा काम अगाडि बढाएको थियो।
‘नेपाल चिकित्सक संघको मात्र नभई स्वास्थ्यमा रहेका २५ वटा संघ–संगठनले मलाई विश्वास गर्नु निकै खुसीको कुरा थियो,’ उनले भने, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरु सबैको मन जित्न सक्नु नै मेरो कार्यकालको ठूलो उपलब्धि हो जस्तो लाग्छ।’
स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी कानुन संशोधन
डा लोचन आफ्नो कार्यकालमा गरेको ठूला उपलब्धिको रुपमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ परिमार्जन हुनुलाई मान्छन्। सो ऐन आएपछि स्वास्थ्य संस्था तथा अस्पतालमा डाक्टरमाथि हातपात गर्ने व्यक्तिलाई पुर्पक्षका लागि थुनामा राख्ने प्रावधान सुरु भएको उनले बताए।
डा लोचनले भने, ‘यो व्यवस्थालाई हामी ठूलो उपलब्धिको रुपमा लिन्छौं। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन परिमार्जन गरेर धरौटीमा छुट्न नसक्ने व्यवस्था ल्याउन सक्यौं।’
संघलाई चिकित्सकको हकहितका लागि लड्ने संस्था मात्र नभई जनताको स्वास्थ्यप्रति उत्तरदायी छ भन्ने सन्देश दिएर संघको छवि परिवर्तन गर्ने काम समेत आफूले गरेको उनले बताए।
‘कोभिडको समयमा हामीले कल सेन्टर, टेलिमेसिन सेवाहरु सञ्चालन गरेर देश र विदेशमा भएकालाई स्वास्थ्य परामर्श सेवा दियौं,’ उनले भने, ‘विभिन्न अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर वितरण गर्यौं। जसले गर्दा संघ जनताप्रति पनि उत्तरदायी छ भन्ने सन्देश दिन सक्यौं।’
संघलाई नेपाल सरकारको स्वास्थ्यको थिंक ट्यांकका रुपमा विकास गर्ने प्रमुख उद्देश्यसहित हरेक वर्ष नीतिगत विषयमा बहस गर्दै सरकारलाई सुझाव दिन राष्ट्रिय सम्मेलनको सुरुवात गर्न सफल भएकोमा खुसी व्यक्त गर्छन् डा लोचन।
‘स्वास्थ्य मन्त्रालयका पूर्वमन्त्री, पूर्वसचिवदेखि तत्कालीन मन्त्री तथा सचिव, स्वास्थ्यसँग अपत्यक्ष जोडिएका अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्रीसम्मलाई ल्याएर हामीले स्वास्थ्य सम्मेलन गर्यौं,’ उनले भने, ‘यो सम्मेलनले संघ थिंक ट्यांक हो भन्ने सन्देश दिएका छौं। सरकारले नीति बनाउँदा संघको सम्मेलनले सहयोग पुर्याउँछ।’
संघले महिला चिकित्सकहरुलाई प्रोत्साहन गर्न राष्ट्रपतिको हातबाट सम्मान गर्न सुरु गरिएको र यसले महिला चिकित्सकको मनोबल बढाउन सफल भएको उनले बताए।
आफ्नै कार्यकालमा नेपालमा नै पहिलो पटक मेडिकल म्युजियम स्थापनाको काम अगाडि बढेको पनि डा लोचनले जानकारी दिए। ‘नेपालको स्वास्थ्यको इतिहास बताउँदै विगतमा के–कस्ता उपकरण, सामग्री तथा व्यवस्था गरिएको रहेछ भन्ने कुरा म्युजियममा हुनेछ,’ उनले म्युजियम स्थापनाको उद्देश्य प्रष्ट पार्दै भने, ‘म्युजियमका लागि नेपालमा पहिलो पटक प्रयोग भएका सामग्रीहरु संकलन गर्दै तिनीहरुको विवरण लेखनको काम समेत अगाडि बढिसकेको छ। यो एउटा ऐतिहासिक काम हो।’
चिकित्सकको दरबन्दी र तलबबारे चिन्ता
संघको तीन वर्षे कार्यकालमा चिकित्सकहरुको तलब–भत्ता वृद्धि र दरबन्दी थप गर्ने विषयमा भने सरकारका तर्फबाट उल्लेख्य सहयोग नहुँदा चाहेअनुसार काम गर्न नसकिएको उनी बताउँछन्। भन्छन्, ‘म सधैं चुनावअघिको अजेण्डालाई टेबलमा लिएर बस्छु। यो तीन वर्षमा धेरै काम गरियो, चिकित्सकको तलब र दरबन्दीको कुरा एकदमै महत्वपूर्ण छ। यसमा अझै केही गर्न सकेको भए हुन्थ्यो भन्ने लाग्छ। तर यो विषयमा भने निरन्तर आवाज उठाउँदै काम अगाडि बढाउन सरकारलाई दबाब भने दिइनै रहनेछु।’
दरबन्दीका विषयमा सोचेअनुसार काम अगाडि नबढे पनि चिकित्सकहरुको तलब तथा शुल्कका विषयमा भने केही काम गर्न सकिएको उनी सुनाउँछन्। ‘चिकित्सकहरुको ओपिडी शुल्क २०७१ सालदेखि बढेको थिएन, हाम्रै कार्यकालमा ओपिडी शुल्क बढाउने काम पनि गर्यौं,’ डा लोचन भन्छन्, ‘तलब–भत्ता लगायतका सेवा–सुविधा बढाउने विषयमा हाम्रो पहलमा एक समिति बनेर काम अगाडि बढेको छ।
उक्त समितिले प्रतिवेदन तयार पारेर स्वास्थ्य मन्त्रालयमा बुझाएको छ। सोही अनुसार तलब लगायतका सेवा–सुविधा थपको फाइल अर्थ मन्त्रालयमा पुगेको छ।’
उनी आफ्नो कार्यकालको अन्त्यसम्ममा पनि चिकित्सकको तलब–भत्ता र दरबन्दी बढाउने विषयमा सक्रिया रुपमा लागिरहेको बताउँछन्।
‘कोभिड नआएको भए यी दुई वटा समस्या पनि समाधान गर्ने थिएँ। मलाई यो दुई विषयमा अझै नीतिगत कुरामा लविङ गर्ने हुटहुटी छ,’ उनी भन्छन्।
नयाँ नेतृत्वलाई अझ चुनौती
नेपालमा चिकित्सकको संख्या र ती चिकित्सकले काम गर्ने अस्पतालको संख्या थपिँदै गएको छ। योसँगै संघको लागि कार्य चुनौतीहरु पनि थपिँदै गएको डा लोचन बताउँछन्। संघको नयाँ नेतृत्वले चिकित्सकको हक–अधिकारसँगै जनताको हक–अधिकारलाई पनि समेटेर काम गर्नुपर्नेमा उनी जोड दिन्छन्। त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने उनी बताउँछन्।
‘डाक्टर र बिरामीबीचको सम्बन्धलाई सुमधुर बनाउने गरी संघले यो क्षेत्रमा काम गर्नुपर्छ,’ डा लोचन भन्छन्, ‘अन्य देशभन्दा हाम्रो देशको चिकित्सक संघ धेरै बलियो छ, यो बलियोपनलाई अब आउने पदाधिकारीले डगमगाउन दिनुहुन्न।’
डा केदारनरसिंह केसी
पूर्वअध्यक्ष, नेपाल चिकित्सक संघ
डा लोचन कार्की संघको सदस्यदेखि अध्यक्षसम्मको हरेक जिम्मेवारीमा आफूलाई परिपक्व रुपमा प्रस्तुत गर्न सफल भए। संघका अहिलेसम्मका अध्यक्षहरुको हिसाबले हेर्दा डा लोचन एउटा माइलस्टोनका रुपमा अघि बढेका छन्। उनी नेतृत्वको कार्यसमितिले उम्दा काम गरेको छ।
डा अञ्जनीकुमार झा
पूर्वअध्यक्ष, नेपाल चिकित्सक संघ
डा लोचनसँग सबैलाई मिलाउँदै अगाडि बढ्न सक्ने नेतृत्वदायी क्षमता छ। उनको काम गर्ने शैली, वाक कला पनि राम्रो छ। डा लोचनको कार्यशैलीलाई प्रशंसायोग्य छ।
डा चोपलाल भुसाल
पूर्वअध्यक्ष, नेपाल चिकित्सक संघ
डा लोचनको काम गर्ने शैली निकै राम्रो छ। उनी कोभिड महामारीको समयमा समेत निकै राम्रो काम गर्न सफल भए। त्यही भएर संघको अध्यक्षमा डा लोचनलाई फेरि दोहो¥याउनुपर्छ भन्ने मेरो मत थियो।
कोभिड–१९ को कहरका बाबजुद पनि हालको वर्तमान कार्यकारिणी समितिले तीन वर्षको कार्यकालमा नेपाल चिकित्सक संघमा रहेर उल्लेख्य कामहरु गर्न सफल भएको छ। २०७६ साल फागुन १७ गते देखि कार्यभार सम्हालेपश्चात् संघले चिकित्सकहरुको पेसागत हकहित, सुरक्षा, स्वास्थ्यको नीति निर्माणदेखि गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्ने नागरिकको हकको रक्षाका लागि काम गरेको छ।
डा लोचन कार्की नेतृत्वको कार्यसमितिले गरेका प्रमुख उपलब्धि
-कार्यसमितिले जिम्मेवारी सम्हालेको एक साताभित्र नै चीन लगायतका देशमा कोरोना भाइरसको संक्रमण फैलिएको भन्दै नेपालमा पनि आवश्यक तयारी, जनचेतना जगाउने, सुरक्षित रहनका लागि गर्नुपर्ने सावधानि लगायतका विषयमा वृहत छलफल गर्दै सरकारलाई सात बुँदे ज्ञापनपत्र बुझाएको।
-अग्रपंक्तिमा खटिएका देशभरका चिकित्सलाई पिपिई, एप्रोन, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गरायौं। नागरिकलाई विशेषज्ञ चिकित्सकको परामर्श सेवाका लागि टेलिमेडिसिन सेवा, कल सेन्टर सेवा सुरु गर्यौंं। अस्पताल तथा स्वास्थ्य संस्थामा अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर, भेन्टिलेटर, मोनिटर, लगायतका महत्वपूर्ण मेडिकल सामग्री वितरण गरेका थियौँ।
-चिकित्सकहरुलाई ड्यूटीमा जान सुरक्षित होस् भन्नका निम्ति परिचयात्मक ज्याकेट वितरण गरेका थियौँ।
-महामारीको समयमा संघले क्रिटिकल केयरसँग सम्बन्धित तालिम १२ हजार ५ सय जनालाई, स्ट्रेस म्यानेजमेन्ट सम्बन्धि तालिम, फस्ट एड तालिममा पाँच हजारभन्दा बढीलाई दिन सकिएको थियो।
-संघले दुई वटा राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन सफलतापूर्वक सञ्चालन गरिसकेको छ। यो सम्मेलन केवल शैक्षिक गतिविधिमा मात्र केन्द्रित नभई समग्र नेपालको स्वास्थ्य प्रणालीलाई विश्वसामु प्रतिस्पर्धात्मक रुपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने सम्बन्धमा ठोस रणनीतिमूलक कार्ययोजना तर्जुमा गर्न सहजीकरण होस् भनेर आयोजना गरिएको हो।
- महिला चिकित्सकहरुको योगदानलाई कदर गर्दै राष्ट्रपतिबाट सम्मान गर्ने काम पनि हुँदै आइरहेको छ। ‘…वुमन इन मेडिसिनÚ नामको उक्त कार्यक्रम हरेक वर्ष हुनेछ। दुई वर्षमा ३० जना महिला चिकित्सक सम्मानित भइसक्नुभएको छ।
- संघले तीन वर्षको यो अवधिमा झण्डै दुई दर्जनभन्दा बढी संघ–संस्थाहरुसँग चिकित्सकहरुको हकहितका लागि सम्झौता गरेर आवश्यक काम अगाडि बढाइएको छ। चिकित्सकहरुलाई अध्ययन, अनुसन्धान, तालिममा सहयोग, अनुदान उपलब्ध गराउनुका साथै सम्मान र अवार्ड गर्ने लगायतका निकै नै महत्वपूर्ण सम्झौता भएका छन्।
-चिकित्सकहरुको पेसागत सुरक्षा र वृत्तिविकासमा संघले महत्वपूर्ण काम गरेको छ। तलब, करका विषयमा देखिएको समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयमा गरिएको पहल अर्थ मन्त्रालयमा पुगेको छ।
-यो कार्यकालमा भएको अर्को महत्वपूर्ण उपलब्धि भनेको चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी कानुनको हो। ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन), ऐन २०७९ पारित भइसकेको छ।
- चिकित्सा शिक्षा मार्फत पिजीमा सिट बढाउन सफल भएका छौं।
-नेपालको इतिहासमा नै पहिलो पटक ‘मेडिकल म्युजियम’ निर्माणको काम अगाडि बढेको छ।
-युवा चिकित्सकहरुलाई ध्यानमा राखी संघको कार्यालयमा ५० जनासम्म अट्ने निःशुलक अध्ययन कक्ष सञ्चालमा ल्याएका छौं।
- जर्नल अफ मेडिकल एसोसिएसनलाई मासिक रुपमा प्रकाशनमा ल्याएका छौं।
- चिकित्सकले लिने परामर्श शुल्क लामो संघर्षपछि समयानुकल बढाउन सफल भएका छौं। यसका साथै नेपाल चकित्सक संघले प्रत्येक दुई वर्षमा परिमार्जन गर्ने अधिकार समेत प्राप्त गरेका छौं।
-चिकित्सक र चिकित्सकका परिवारलाई संघको कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने व्यवस्था गरेको।