काठमाडौं- भारतमा ‘ब्रेन डेथ’ भएका ४५ वर्षीय एक युवाले अंगदान गर्दा एकै पल्ट पाँच जनाको ज्यान जोगिएको छ।
हरियाना निवासी रान्दीप यादव नाम गरेका ती युवाको ‘ब्रेन डेथ’ भएको घोषणा हालै मेदान्त अस्पतालले गरेको थियो। उनको शरीरबाट झिकिएको विभिन्न अंग मंगलबार अन्य बिरामीमा प्रत्यारोपण गरिएको हो।
मेदान्त अस्पतालमा कार्यरत कर्मचारीले दिएको सूचना अनुसार टाउको दुखाईको समस्या बोकेर यादव १६ अप्रिलमा गुरगाउँ पुगेका थिए।
उनलाई अस्पताल भर्ना गर्दा वान्ता तथा अधिक चक्कर लाग्ने समस्या देखियो। केहि दिनको परीक्षणपछि अस्पतालले उनको परिवारलाई उपचार हुन नसक्ने जानकारी गराएको थियो। यसै क्रममा उनको ‘ब्रेन ह्यामरेज’ बाट निधन भयो।
मेदान्त अस्पतालका मेडिकल काउन्सिलर इभा पाण्डेका अनुसार ‘ब्रेन डेथ’ भएका यादवको शरीरबाट मुटु, फोक्सो, लिभर र किडनी निकालेर पीएसआरआई अस्पताललाई बुझाइएको थियो। आँखा भने निरमाया आँखा अस्पताललाई प्रदान गरियो।
यादवको शरीरबाट निकालिएको मुटु ३३ वर्षीय एक युवाको शरीरमा प्रत्यारोपण भएको छ। यस्तै, फोक्सो ४२ वर्षीय महिला र लिभर ६३ वर्षीय बृद्ध मान्छेको शरीरमा प्रत्यारोपण भएको छ।
यस्तै, एउटा किड्नी ६२ वर्षीय बृद्ध मानिसमा प्रत्यारोपण भएको छ। श्रीमानको शरीरबाट अंग छुट्टयाएर दान गर्ने निर्णय लिन निकै गाह्रो परेको यादवकी श्रीमतीले टाइम्स अफ इन्डियालाई बताएकी छिन्।
‘मरेर पनि मेरो श्रीमानले धेरैको ज्यान बचाएका छन्। यसले मलाई गर्वान्वित तुल्याएको छ,’ उनले भनिन्।