काठमाडौं- ओमानका खेलाडी अकिब इल्यास सुलेहरी घाइते भएका छन्। नेपालबिरुद्ध बलिङ गर्ने क्रममा घाइते भएका उनको दायाँ हातको बुढीऔंलाको हड्डी सरेको एसीसी प्रिमियर कपका मेडिकल कोअर्डिनेटर डा अभिषेकराज सिंहले जानकारी दिए।
उनलाई कलंकीस्थित नेपाल नेसनल हस्पिटलमा उपचार गरिएको उनले बताएका छन्। उनको उक्त औंलामा प्लास्टर गरिएको अस्पतालका मेडिकल निर्देशक डा प्रकाश पौडेलले जानकारी दिएका छन्।
नेपालविरुद्ध उनले ९ ओभर बलिङ गरेका थिए। त्यस क्रममा एक विकेट लिँदै ५२ रन खर्चेका थिए। उनले शतक बनाएका नेपालका ब्याटर कुशल मल्लको महत्वपूर्ण विकेट लिएका थिए।
६४ बलमा १०८ रनसहित नेपाललाई विशाल लक्ष्यतर्फ डोर्याइरहेका मल्ललाई उनले आयान खानबाट क्याचआउट गराएका थिए।
दायाँहाते टप अर्डर ब्याटर उनी घाइते भएपछि ब्याटिङमा आएनन्। ३० वर्षीय अनुभवी खेलाडि उनले ओमानका लागि १७ एकदिवसीय खेलमा दुई शतक बनाएका छन् भने पाँच अर्धशतक बनाएका छन्। बलिङमा उनले १७ खेलमा १९ विकेट लिइसकेका छन्।