काठमाडौं- देशभर कोरोना संक्रमितको सङ्ख्या बढ्दो क्रममा छ। आर्क्चस नामक कोरोना भेरियन्टको विस्तारसँगै कोभीड-१९ को केशहरु बढिरहेका छन्।
आर्क्चस ओमिक्रोनको सब भेरियन्ट हो जसलाई एक्सबीबी १.१६ स्ट्रेन भनेर पनि चिनिन्छ। यो सिंगापुर, अष्ट्रेलिया, बेलायत र अमेरिकासहित २२ देशहरूमा पहिचान भएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत मार्च २२ देखि यसको निगरानी गरिरहेको छ।
यसले मानिसहरुमा रोगको गाम्भीर्यता भने परिवर्तन भएको देखिएको छैन। आर्क्चसको ल्याब परीक्षणले यसको स्पाइक प्रोटिनमा अर्को उत्परिवर्तन पत्ता लगाएको छ। जसले यसको संक्रामक क्षमता बढाएको छ।
यद्यपि एक्सबीबी १. ५ स्ट्रेनले अघिल्ला स्ट्रेनहरू भन्दा छिटो फैलिरहेको देखिन्छ। डब्ल्यूएचओका अनुसार, यसले बढी गम्भीर रोग निम्त्याउँदैन। यो स्ट्रेनबाट खतरा कम छ।
विज्ञहरुका अनुसार डेल्टा भेरीयन्टमा जस्तो स्वाद या गन्ध हराउने भने यसमा देखिंदैन। अहिले कोरोना संक्रमितहरुले ज्वरो आउने, घाँटी दुख्ने, रुघा खोकी लाग्ने, शरीर दुख्ने, थकान र पखाला लाग्ने लक्षणहरु महसुस गरिरहेका छन्।
अन्य भेरिएन्टमा जस्तै एक्सबीबी १.१६ मा पनि लक्षणहरु फरक भने छैनन्। वयस्कहरूमा भने बारम्बार ज्वरो आउने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, खोकी लाग्ने, पखाला, थकान जस्ता लक्षणहरू देखापर्छन्। जटिल रोग भएका बिरामीहरूमा भने श्वासप्रश्वासको समस्या, सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू देखिन सक्छन्।
कोरोना विरुद्दको खोपले संक्रमणबाट जोगाउँछ तर भाइरसको उत्परिवर्तनका कारण खोप लगाइएका व्यक्तिहरु पनि संक्रमित हुन सक्छन्। यद्यपि खोप नलगाएका व्यक्तिहरुभन्दा खोप लगाइएका मानिसहरु सुरक्षित हुन्छन्। तर सबैले रोकथामको लागि ध्यान दिन आवश्यक हुन्छ।
रोकथामको लागि के गर्ने?
- कोरोना विरुद्दको खोप लगाउने
- कम्तिमा १ मिटरको भौतिक दुरी कायम राख्ने
- दुरी कायम राख्न नमिल्ने ठाउँहरुमा मास्कको प्रयोग गर्ने
- साबुनपानीले हात धुने या सेनिटाइजरको प्रयोग गर्ने
- खोक्दा या हाछ्यु गर्दा मुख छोप्ने
- कोरोनको लक्षण देखिएमा या कोरोना पोजेटिभ भएमा आईसोलेसनमा बस्ने
- मास्क लगाउने समयमा र खोलेपछि साबुनपानीले हात धुने
- प्रयोग गरेको मेडिकल मास्क फ्याल्ने, कपडाको मास्क हो भने धोएर सुकाउने
(एजेन्सीको सहयोगमा)