काठमाडौं- ‘ठूलो भएपछि के बन्ने ?’ स्कुल पढ्दा हरेक विद्यार्थीले सामना गर्ने प्रश्न हो यो। आफन्तहरूको हरेक प्रश्नमा कल्पना श्रेष्ठको उत्तर सधैँ उही हुन्थ्यो, ‘आई वान्ट टु बि अ नर्स’।
गोरखाको जौबारीस्थित सुन्दर बजारकी कल्पनाले माध्यमिक तहसम्मको अध्ययन गाउँकै परोपकार आदर्श माध्यमिक विद्यालयबाट गरिन्।
२०४४ सालमा राम्रो नम्बर ल्याएर उनले एसएलसी उत्तीर्ण गरेपछि बच्चैदेखि देखेको सपना पूरा गर्ने बाटो खुल्यो। गाउँघरमा एउटा थेगो निकै प्रचलित छ, ‘छोरा बिग्रिन्छ कमर्सले, छोरी बिग्रिन्छे नर्सले।’
यो भ्रम चिर्न परिवारले उनलाई नर्सिङ पढाउने निधो गर्यो। त्यतिबेला गाउँमा न नर्सिङ पढ्ने सुविधा थियो, न सञ्चारको सुविधा नै। दाइ काठमाडौँमा नै अध्ययनरत थिए। त्यसैले उनलाई काठमाडौं आएर पढ्न त्यति गाह्रो भएन।
कल्पनाले साबिकको शान्तभवन नर्सिङ क्याम्पस अर्थात् हालको ललितपुर नर्सिङ क्याम्पसबाट २०४७ सालमा पीसीएल नर्सिङको पढाइ पूरा गरिन्।
जागिर गर्ने र ब्याचलर पढ्ने सपना बोकेर अघि बढेकी कल्पनाको सपनामा त्यतिबेला कुठाराघात भयो, जब पीसीएल सकेको केही महिनाभित्र उनको विवाह भयो। त्यसपछि घरमै बस्नुपर्ने बाध्यता बन्यो।
उनको विवाह रामेछापको साँघुटारमा भएको थियो। घरनजिकै एउटा स्वास्थ्य चौकी थियो। त्यो स्वास्थ्य चौकीमा एक एचए, एक अहेब र दुई अनमीको दरबन्दी भए पनि जनशक्तिको अभाव थियो। केही समय कल्पनाले यही स्वास्थ्य चौकीमा आफूले जाने–बुझेको कुरा प्रयोगमा ल्याइन्। कामप्रतिको उनको समर्पण देखेपछि स्थानीयले नै स्वास्थ्य चौकीमा नियुक्ति लिन कर गरे।
उनलाई यतिबेला गाउँलेहरूको विश्वास तोड्न मन लागेन। काठमाडौं पुगेर स्वास्थ्य सेवा विभागबाट ६ महिनाको अस्थायी दरबन्दी लिइन्।
‘म नर्स भएको हुनाले स्वास्थ्य चौकीमा मेरो दरबन्दी थिएन, त्यही कारणले रामेछाप जिल्ला अस्पतालमा अस्थायी दरबन्दी लिएर काजमा साँघुटार स्वास्थ्य चौकीमा काम गर्न थालें,’ उनले विगत सुनाइन्, ‘काज ६/६ महिनाको हुन्थ्यो। सकिने वित्तिकै जिल्ला अस्पताल पुगेर थपेर जानु पथ्र्यो।’
वास्तवमा उनको नर्सिङ यात्रा २०५१ सालबाट सुरू भएको हो। उक्त स्वास्थ्य चौकीको उनी नै पहिलो स्टाफ नर्स हुन्। भन्छिन्, ‘आफ्नो घर नजिकै नर्सको रूपमा काम गर्न पाउँदा म दंग थिएँ। २३ सय रुपैयाँ तलब थियो र मेरो सपना पनि पूरा हुँदै थियो।’
गाउँ भए पनि साँघुटारमा धेरै थोकको सुविधा थियो। स्वास्थ्यप्रति यहाँका नागरिक जागरूक थिए। यही कारण स्थानीयले खाली दरबन्दीमा पनि कल्पनाका लागि जोड गरेका थिए।
अहिले पनि स्थानीयबासी उनलाई ‘डाक्टर्नी’ भनेर सम्बोधन गर्छन्। पढाइ पूरा गरेर दुई वर्ष त्यत्तिकै बसेकी कल्पनालाई आफूले जानेजति सेवा प्रवाह गर्न सफल भएकोमा औधी खुसी लागेको छ।
उनी भन्छिन्, ‘त्यहाँ मैले अनेक समस्या देखे। गाउँलेको माया उत्तिकै पाइयो। सानो चोटपटकदेखि सुत्केरी गराउनेसम्मको अग्रसरता देखाएँ।’
कामको सिलसिलामा उनले अनेकौं समस्याबाट जुध्नुपर्यो। एक पटक गर्भवती महिला ठूलो पेट बोकेर स्वास्थ्य चौकी आएकी थिइन्। पहिले त सबैलाई जुम्ल्याहा बच्चा जस्तो लागेको थियो। तर कल्पनाले पिसाब रोकिएर पेट सुन्निएको भन्दै ती गर्भवतीको पिसाब निकाली दिइन्। ‘कम्तीमा तीन लिटर जस्तो पिसाब निस्कियो। बच्चा पनि नर्मल जन्मियो,’ उनी भन्छिन्, ‘यो घटना अझैं मेरो स्मरणमा छ।’
स्वास्थ्य चौकीमा काम गर्दै जाँदा उनलाई लोकसेवा परीक्षा दिन मन लाग्यो। उनले खुब मिहिनेत गरिन् र २०५४ सालमा पहिलो प्रयासमै नाम निकालिन्।
लोकसेवा पास गरेपछि उनको पहिलो दरबन्दी थियो, सिन्धुली जिल्ला अस्पताल। उनको छोरा सानो थियो। गर्भवती पनि थिइन्। त्यसैले छिट्टै रमाना लिएर काठमाडौंको प्रसूति गृहमा काम गर्न थालिन्।
यसअघि गाउँको स्वास्थ्य चौकीमा काम गरिरहेकी कल्पनाले केन्द्रीय अस्पतालमा झन् नयाँ कुरा सिक्ने मौका पाइन्।
‘गाउँभन्दा राजधानीको अस्पतालको अवस्था राम्रो हुने भइहाल्यो। जनताले पाउने सेवा–सुविधा पनि फरक पाएँ,’ उनले अनुभव सुनाइन्, ‘स्वास्थ्य चौकीमा गाउँ तथा वरिपरिका बिरामी मात्र आउँथे। राजधानीमा टाढा–टाढाका फरक व्यक्तित्व भएका मानिसहरू भेट हुँदा रमाइलो लाग्थ्यो। केही सिक्ने अवसर पनि पाइन्थ्यो।’
सरकारी जागिरमा जति नै जमे पनि उनको नर्सिङ विषयमा ब्याचलर गर्ने सपना भने पूरा भएको थिएन। विवाहपछि थपिएको बालबच्चाको हेरचाह र घर–व्यवहारले उनी सरकारी जागिरमा रमाइरहेकी थिइन्।
तर, उनलाई एक दिन आफ्नो सपना पूरा गर्ने हुटहुटी चढ्यो। श्रीमान् सहयोगी थिए। घरमा नन्द–देवर, सासु–ससुरा सबै भएको हुनाले बच्चा हुर्काउन त्यति गाह्रो नपर्ने निष्कर्षका बीच उनले रोकिएको आफ्नो अध्ययनलाई पूरा गर्ने अढोट गरिन्। र, प्रसूति गृहमा कार्यरत रहँदै बिएनको प्रवेश परीक्षाको लागि तयारी सुरू गरिन्। २०५६ सालमा महाराजगञ्जस्थित नर्सिङ क्याम्पसमा छात्रवृत्तिमा उनको नाम निस्कियो।
२०५८ सालमा अध्ययन सम्पन्न गरेपछि उनको सरूवा धादिङ जिल्ला अस्पतालमा भयो। पछि काजमा पुनः वीर अस्पताल फर्किइन्। वीरमा हुँदा पेइङ मेडिकल वार्डमा २ वर्ष, जनरल अपरेसन थिएटरमा ६ वर्ष, फिमेल सर्जिकल वार्ड र इएनटीमा गरी १० वर्ष बिताइन्। यही क्रममा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पार्टटाइम मेडिकल सर्जिकल विषयमा अध्यापन पनि गरिन्।
२०६९ सालदेखि उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रहेर बीएन पढ्ने विद्यार्थीलाई पढाउने गर्थिन्। उनले २०७३ सालमा न्याम्सबाटै ‘ओमेन्स हेल्थ एन्ड डेभल्मेन्ट’ विषयमा स्नातकोत्तर गरेकी थिइन्।
‘लामो समय मेडिकल सर्जिकलमा काम गरेरपछि मिडवाइफलाई पढाउनु पर्दा असहज जस्तो भएको थियो। तर मैले ओमेन्स हेल्थ एन्ड डेभल्मेन्ट विषय पढेपछि धेरै सहज भयो,’ आफ्नो सपना पूरा गर्ने अभियानमा निरन्तर लागेकी कल्पनाले स्वास्थ्यखबरसँग भनिन्।
हाल उनी सरकारी सेवामा आबद्ध नर्सहरूको संघ (गोनान) को अध्यक्ष छिन्। नेपाल नर्सिङ संघको निर्वाचित कोषाध्यक्ष पनि हुन् उनी।
सरकारी सेवामा लागेको झन्डै तीन दशकको अनुभव सँगालिसकेकी कल्पना नर्सहरूको सेवा–सुविधाप्रति त्यति खुसी छैनन्।
उनी भन्छिन्, ‘म संगठनमा लाग्नुको एउटा कारण यो पनि हो। नर्स र चिकित्सकको लागि नीति नै फरक बनेको छ। सेवाकालमा २ पटक स्तरबृद्दि हुन पाउने नियममा उल्लेख छ तर अधिकांश नर्सहरुको दरबन्दी अस्पतालमा हुने र अधिकांश अस्पतालहरु सुगम उल्लेख गरिएको ठाँउमा रहेकोले दुर्गममा नगएको कारण देखाई नर्सहरुलाई नियम नै उलङ्घन गरि स्तरबृद्दि हुनबाट बन्चित गरईएको छ। फेरि संघको हकमा डडेल्धुरालाई मात्र दुर्गम मानेको छ र उक्त अस्पतालमा भएको दरबन्दीमा नर्सहरुलाई खटाउँदा वर्षाैंसम्म पनि पालै नआउने स्थिति छ।’
उनी थप्छिन्-' दुर्गमको क्लच पनि आठौं तहदेखि माथिको लागि लागू गरिएको छैन। यसमा अत्यन्त मानव अधिकार हनन भएको छ। त्यसैले ऐन नै पूनर्लेखन गर्नुपर्छ भन्ने हाम्रो माग हो।'
लामो समय छैटौँ तहमा काम गरिरहेकालाई १५ वर्ष बितिसक्दा पनि सातौँ तहमा बढुवा नगरिएको उनको भनाइ छ। ‘सरकारी नर्सहरू स्तरवृद्धिबाट वञ्चित भइरहेका छन्। सरकारी नर्सको समस्या उनीहरूले जति कसैले बुझ्न सक्दैन। यही समस्या सम्बोधनका लागि पहल गर्न संघ स्थापना गरेका हौं। नर्सहरूको अधिकारका लागि हामी लडिरहेका छौँ,’ उनी भन्छिन्।
‘एक चिकित्सक र स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था–२०७७’ को कार्यविधिले नर्सलाई विभेद गरेको भन्दै संघले डाक्टर जस्तै नर्सका लागि पनि स्पष्ट सेवा सुविधा व्यवस्था गर्न माग गरेको छ।
‘दुर्गममा लामो समय काम गरे पनि अनुभव बटुल्न नपाएका धेरै नर्सहरू छन्। उनीहरू स्तरवृद्धिबाट वञ्चित भएका छन्,’ उनी भन्छिन्, ‘२०औँ वर्ष उही पदमा काम गरेर बिताउनुपर्ने अवस्था छ।’
संघले स्तरवृद्धिको समस्या समाधान नभएको भन्दै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, सांसद र प्रधानमन्त्री कार्यालयलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा पनि दायर गरेको छ।
स्तरवृद्धिबाट बन्चित गराइँदा सरकारी सेवामा सेवारत नर्सहरुको मनोबल गिरेको र जागिरप्रति नैराश्य छाएको उनी बताउँछिन्।
‘हामीले स्तरवृद्धि होस् र ऐन संशोधन गरिपाउँ भनेर माग गरेका छौँ’, उनले भनिन्, ‘एउटा संस्थागत मुद्दा र अर्को सामूहिक मुद्दा चलिरहेको छ। संस्थागत मुद्दा गोनानले नेतृत्व गरिरहेको छ भने अर्को देशभरिका १ सय १४ जना नर्सको सामूहिक मुद्दा छ।’
अनमी, स्टाफ नर्स, बिएन गरेका नर्सले दुर्गममा काम गर्दा अध्ययन बिदा नपाउने, अध्ययन बिदाको सिट काटिने जस्ता समस्याको लागि पनि गोनानले मुद्दा उठाइरहेको छ।
स्वास्थ्य मन्त्रालयले ५० देखि २०० शय्याको अस्पतालको सांगठनिक संरचना मस्यौदा दरबन्दीका लागि स्वास्थ्यका संघ–संस्थासँग सुझाव लिएको थियो। न्यूनतम सेवा मापदण्डअनुसार गोनानले नर्सिङतर्फ ९/१०औँ तहको १, ७/८औँ तहको नर्सिङ अफिसर १० र स्टाफ नर्स १ सय २२ गरी १ सय ३३ जना आवश्यक रहेको सुझाव मन्त्रालयलाई दिएको थियो। तर सम्बोधन भएको छैन।
‘निजी क्षेत्रमा नर्सहरू न्यून तलबमा काम गर्नुपर्ने अवस्था छ। यस्तै सरकारीस्तरका नर्सहरू स्तरवृद्धिबाट वञ्चित छन्। ‘जुन तहमा जागिर सुरु भयो, त्यही तहमा जागिर छाड्नुपर्ने बाध्यता छ,’ उनी भन्छिन्, ‘स्वास्थ्य सेवा ऐनमा भएको कुरा हामीले पाउनुपर्छ।’
स्तरवृद्धिको समस्या नसुल्झिएकोले नर्सको मनोबल खस्किएको उनको भनाइ छ।
त्यस्तै, रात्रिकालीन ड्युटी गर्ने नर्सको भत्ता सुरुदेखि नै १२३ रुपैयाँ मात्र भएकाले त्यसमा पनि थप गरिनुपर्ने उनी तर्क गर्छिन्। अन्य विभिन्न मागसहित नाइट भत्ता एकदिनको तलब बराबर उपलब्ध गराइनुपर्ने भनि जतिपटक स्वास्थ्यमन्त्री फेरिन्छ त्यति नै पटक माग पत्र पेश गरिएको उनको भनाइ छ।
भर्खरै नर्सिङ पढिरहेका र पढ्ने सोच बनाएकालाई सेवा भावका साथ यो पेसामा लाग्न सुझाव दिन्छिन्। उनको बुझाइ छ, ‘नर्सिङ पेसा जागिर मात्र होइन, समाजसेवा पनि हो।’