गर्भावस्थामा महिलाको छालामा समयसँगै विभिन्न परिवर्तन हुँदै जान्छ। गर्भावस्थामा छाला सुख्खा हुने र संवेदनशील हुन्छ। त्यस्तो अवस्थामा छालाको स्याहारमा बढी ध्यान दिनुपर्ने छाला रोग विशेषज्ञ डा धर्मेन्द्र कर्ण बताउँछन्। गर्भावस्थामा विशेषगरी अनुहारमा चायापोतो आउने, पेट तथा शरीरका विभिन्न भागमा स्ट्रेच मार्क देखिने लगायतका परिवर्तनहरु हुने गर्छ। यस्तो अवस्थामा जथाभावी औषधिको प्रयोग गर्न नहुने डा कर्णले जानकारी दिए। गर्भावस्थामा छालामा देखिने समस्याको उपचार वा औषधिको प्रयोग गर्न नहुने भएकाले छालामा स्याहारमा नै ध्यान दिनुपर्ने उनले बताए। गर्भावस्थामा छालामा आउने परिवर्तन, समस्या र यसको रोकथामका लागि के गर्ने डा कर्णसँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानीः
गर्भावस्थामा महिलाको छालामा कस्तो कस्तो परिवर्तन आउँछ?
गर्भवती अवस्थामा छालामा परिवर्तन विभिन्न समय अनुसार हुँदै जान्छ। पहिलो तीन महिना, दोस्रो तीन महिना र अन्तिम तीन महिना गरेर गर्भावस्था तीन चरणको हुन्छ। पहिलो तीन महिनामा छालामा खासै परिवर्तन हुँदैन। तर पहिलो तीन महिनामा छातीमा, निप्पलमा र योनीमा परिवर्तन भने हुन्छ। छालामा सामान्य परिवर्तन हुन्छ तर त्यो नेटिसेवल हुदैन। दोस्रो तीन महिनामा भने छालामा बढी परिवर्तन आउँछ। दोस्रो तीन महिनामा छालामा नरमपना बढ्छ। नरमसँग चिल्लो बढ्छ। संवेदनशील हुँदै जान्छ। खासगरी एक्स्पोज हुने पार्टहरु अनुहार, घाँटी, हातको कुहिनाभन्दा तल, घुँडाभन्दा तलको भागको छाला संवेदनशील बनेको हुन्छ। जसले गर्दा सुख्खा बढी हुने, ड्यामेज चाँडै हुने, हातले कुनै केमिकल चलाएमा एलर्जी छिट्टै हुने, साधारण चोटपटक लाग्दा पनि रगत बगिहाल्ने र खत बस्ने सम्भावना बढी हुन्छ। किनकी हाइ भास्कुलारिटी रक्तसञ्चार बढी हुन्छ। यस्तो अवस्थामा अनुहारमा डन्डिफोहोर छ भने डन्डिफोहोर सुकेर जान्छ तर २ देखि ५ प्रतिशत महिलामा भने डन्डिफोहोर बढ्न सक्छ।
गर्भावस्थामा छालामा देखिने मुख्य समस्या के हो?
गर्भावस्थामा अनुहारको छालामा चायापोतो देखिने समस्या मुख्य हो। चायापोतो गर्भावस्थाको दोस्रो तीन महिनाबाट देखिन थाल्छ। यो बढ्दै जान सक्छ। तर चायापोतोको समस्या देखियो भने गर्भवती महिलाले चिन्ता गर्नुपर्दैन। चायापोतो भनेको छालाको छाता हो। यो सबै गर्भवती महिलालाई आउदैन। यदी अनुहार सेन्सेटिभ छ र तपाईं घाममा जाँदै हुनुहुन्छ र त्यहीबेला छाला डड्दै छ भने त्यो समयमा छालालाई बचाउन शरीरले आफ्नो छाता निकालेको हो चाया। त्यही नै चाया हो। गर्भावस्थामा छाला सेन्सेटिभ हुन्छ। अनुहारमा पनि नाकको डाँडी, गालामा अर्थात अनुहारको उठेको भागहरुमा चाया आउँछ।
गर्भावस्थामा किन कसैलाई चायापोतोको समस्या हुँदैन, कसैलाई बढी हुन सक्छ ?
हर्मोनल इफेक्टका कारण गर्भावस्थामा चायापोतोको समस्या देखिने हो। स्ट्रोजेनिक इफेक्टले यस्तो हुन्छ। सामान्यता तौल धेरै बढ्दै गएको छ भने चायापोतोको समस्या बढ्नसक्छ। घाममा धेरै बस्ने वा लाइटमा धेरै समय बस्नेलाई चायापोतोको समस्या पनि बढी हुनसक्छ।
यस्तो समस्या न्यूनीकरण वा समाधानका लागि गर्भवतीले के गर्ने? के नगर्ने?
अनुहार सेन्सेटिभ हुँदा छाला बढी सुख्खा भएर चायापोतोको समस्या बढ्ने हो। त्यसैले छालालाई सुख्खा हुन दिन भएन र घामबाट जोगिनुपर्छ। तर कुनै पनि ब्लिचिङ क्रिमहरु, नाइट क्रिम, सेरमहरु प्रयोग गर्नु हुँदैन। सेरममा हानिकारक केमिकल हुन्छ जुन छालाभित्र प्रवेस गर्छ। जसले दीर्घकालिन रुपमा गर्भवती महिला र गर्भमा रहेको शिशु दुवैलाई असर गर्छ। रेटिनो लगायतका विशाक्त केमिकल समेत हुनसक्ने भएकाले त्यसको प्रयोगले गर्भमा रहेको शिशुको शारीरिक विकासमा पनि असर गर्न सक्छ। गर्भावस्थामा सनब्लक क्रिमको प्रयोग गर्न सकिन्छ। सनब्लक क्रिमको प्रयोग गर्दा सकेसम्म फिजिकल सनब्लक लगाउनुपर्छ। सनब्लक पनि दुई किसिमको हुन्छ एउटा फिजिकल र अर्को केमिकल। केमिकल सनब्लक सकेसम्म नलगाएको राम्रो हुन्छ। किनकी त्यो एब्जर्ब हुन्छ अनिमात्र घामलाई छेक्छ। फिजिकल सनब्लक भनेको एब्जर्भ हुँदैन। सेतो नै बस्छ। सनब्लक लगाउदा ३० देखि ५० एसपिएफ भएको लगाउदा राम्रो हुन्छ।
गर्भावस्थामा अनुहारको छाला बाहेक शरीरका अन्य भागको छालामा हुने समस्या के–के हुन्?
गर्भावस्थामा विस्तारै पेटको भाग बढ्दै जान्छ। गर्भमा रहेको शिशुको वृद्धिविकाससँगै महिलाको पेट तथा शरीरको तल्लो भागहरु बढ्दै जान्छ। जसले गर्दा विशेषगरी गर्भावस्थाको तेस्रो तीन महिना सुरु भएसँगै स्ट्रेचमार्क देखिन थाल्छ। छालाको बाहिरी भाग एउटा साइजले बनेको हुन्छ। गर्भावस्थामा गर्भमा रहेको शिशु बढ्दै जाँदा महिलाको छाला तन्किँदै जान्छ। छाला तन्किँदा छालाको भित्री रेसाहरु च्यातिन्छ र खतजस्तो देखिन्छ। त्यसैलाई स्ट्रेच मार्क भनिन्छ।
गर्भावस्थामा छाला तन्किनु राम्रो कुरा हो। किनकी शरीरको वृद्धिविकास र बच्चाको वृद्धिविकास भइरहेकोले छाला तन्किने हो। शरीरको वृद्धिविकास भएपछि छाला तन्किन्छ। जसले गर्दा स्ट्रेच मार्क आउने हो।
गर्भावस्थामा स्ट्रेच मार्क कहाँ–कहाँ देखिन सक्छ?
गर्भावस्थामा स्ट्रेच मार्क पेटमा, छातीमा, काखीमा, हातमा, छातीभन्दा मुनिको भागमा, थाइमा, तिघ्रामा देखिन सक्छ। स्ट्रेच मार्क विभिन्न रंगको पनि हुनसक्छ। रातो र सेतो खालको स्ट्रेच मार्क देखिन सक्छ।
गर्भावस्थामा स्ट्रेच मार्क कम गर्न औषधि उपचार गर्न हुन्छ?
रातो रंगमा देखिएको स्ट्रेच मार्क मोस्चराइजर लगाएपनि निको हुन्छ। तर सेतो रंगमा देखिएको स्ट्रेच मार्क भने त्यसको लागि लेजर प्रविधिले मात्र निको पार्न सकिन्छ। तर यो गर्भावस्थामा गर्न मिल्दैन, हुँदैन। स्ट्रेच मार्क कम गर्न वा आउन नदिन भन्दै बजारमा विभिन्न किसिमका क्रिमहरु पाइने गरेका छन्। तर गर्भावस्थामा त्यस्ता क्रिमहरुको प्रयोग गर्नु वा स्ट्रेच मार्कको औषधि उपचार गराउनु हुँदैन। किनकी बजारमा पाइने स्ट्रेच मार्क हटाउने क्रिममा विभिन्न किसिमको केमिकल हुन्छ जसले गर्भमा रहेको शिशुको लागि हानिकारक हुन्छ।
गर्भावस्थामा स्ट्रेच मार्क आउन नदिन वा कम गराउन के गर्न सकिन्छ?
यस्तो अवस्थामा छालालाई सहज रुपमा तन्किने कसरी बनाउने? छाला सुख्खा छ भने स्ट्रेच मार्क झनै बढ्छ। स्ट्रेच मार्क बढ्न नदिन र रोकथामका लागि छालालाई सुख्खा राख्न भएन। छालालाई तन्किन सहज बनाउन मोस्चराइजर लगाइराख्नुपर्छ। यस्तो अवस्थामा महंगो मोस्चराइजर लगाउनुपर्छ भन्ने छैन। नरिवलको तेल, बदामको तेल दिनमा दुईतीन पटक लगाउन सकिन्छ।
गर्भावस्थामा छालामा हुने परिवर्तनसँगै देखिने समस्या समाधानका लागि के–के उपायहरु छन्?
गर्भावस्थामा हातखुट्टा सुख्खा र संवेदनशील हुन्छ। त्यसैले साबुनको प्रयोग गर्नु हुँदैन। हातले कपडा धुने, भाँडा माझ्ने काम गर्दा राम्रोसँग मोस्चराइजर, प्रेटोलियम जेल वा भ्यास्लिनको प्रयोग गर्नुपर्छ। यदी कपालको स्याहार गर्दै हुनुहुन्छ भने बेस्सरी माड्नु हुँदैन। कपाल कोर्दा ठूलो काइयोको प्रयोग गर्नुपर्छ। किनकी गर्भावस्थामा कपालको जरा कमजोर भएको हुन्छ। गर्भवती महिलाले खाने खानेकुराहरु शिशुको वृद्धिविकासमा सप्लाई भइरहेको हुने हुँदा कपाल लगायत आमाको शरीरमा चाहिने पोषक तत्वहरु कम भइरहेको हुन्छ। स्याहार नपुग्ने अवस्थामा कपाल धेरै लामो राख्नु पनि हुँदैन।