बैतडी- बैतडीमा डेंगु रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने अभियान सुरु भएको छ। स्वास्थ्य कार्यालय बैतडीको आयोजनामा मंगलबारदेखि जिल्ला सदरमुकाम क्षेत्रमा ‘लार्भा खोज र नष्ट गर’ अभियान थालिएको हो।
लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए।
अभियानका क्रममा पानी जम्ने वस्तु सुरक्षाकर्मीहरुको सहयोगमा हटाइएको उनको भनाइ छ। डेंगी नियन्त्रणका लागि निदानात्मक तथा उपचारात्मक विधि र सचेतनाका लागि घरदैलो कार्यक्रम गरी पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फूलदानीजस्ता पानी जम्मा हुने ठाउँमा सरसफाइ गर्न सुझाव दिइएको प्रमुख भट्टले बताए।
विशेष गरी वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रम, गमला, पानीका ट्यांकी आदिमा लामखुट्टे फूल पार्छ। सहरी क्षेत्रमा यस्ता वस्तु थुप्रै हुने भएकाले पनि यसको बढी जोखिम रहेको छ।
साँझ–बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगीको संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
देशव्यापी रूपमा फैलिरहेको डेंगीलाई नियन्त्रण गर्नका लागि लामखुट्टे टोकाइबाट बच्न सबैले सचेत रहनुपर्ने चिकित्सकहरुले सुझाब दिएका छन् । डेंगी लाग्न नदिनका लागि आफूले बस्ने बासस्थान वरिपरी सरसफाई गर्नुका साथै यसका लक्षण देखा पर्ने बित्तिकै नजिकको स्वास्थ्य संस्थामा जान स्वास्थ्यकमीहरुले सुझाव दिए।
ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स–साना बिमिराहरू देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक–वाकरबान्ता हुनेजस्ता लक्षणहरू डेंगी संक्रमणका सुरुवाती अवस्थामा देखिने गर्दछ।
उनका अनुसार पानी जम्न सक्ने भाँडाहरु गमला, फुलदानी, खाली बट्टा अल्कत्रा वा मट्टितेलका खाली ड्रमहरु, गाडीको काम नलाग्ने टायर आदिमा पानी जम्न नदिने उपाय गर्नुपर्दछ । पानीका ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्ने उनले बताए।