बैतडी– बैतडीको दोगडाकेदार गाउँपालिकामा सञ्चालित अवैध औषधि पसल सिल गरिएको छ भने एकजना पक्राउ परेका छन्।
बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको नेतृत्वमा गएको अनुगमन टोलीले औषधि पसल सिल गरेर एकजनालाई पक्राउ गरेको स्वास्थ्य बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए।
दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए।
पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ। स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यो विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।
मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रियासमेत पूरा नगरेको पाइएकाले मेडिकलहरु सिल गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए।