फिजियोथेरापीलाई नेपालीमा भौतिक चिकित्साको नामले चिनिन्छ। यो वैज्ञानिक प्रमाणहरुमा आधारित एउटा उपचार प्रणाली हो। जसको मुख्य उद्देश्य नै जीवनको गुणस्तर बढाउनु हो। यसले धेरैजसो रोगहरुको आफै पहिचान गरी आफ्नै विधि र प्रक्रियाबाट उपचार गर्ने काम पनि गर्दछ। त्यसैले विश्व स्वास्थ्य संगठनले यसलाई स्वशासित र स्वतन्त्र पेसा पनि घोषणा गरेको छ।
फिजियोथेरापीको भुमिका कुनै पनि रोगको रोकथाम र उपचारदेखि पुनर्स्थापना र स्वास्थ प्रोत्साहनसम्म हुन्छ। यसले शारीरिक र मानसिक दुवै हिसाबमा शरीरलाई फाइदा पुर्याउने काम गर्दछ। फिजियोथेरापीभित्र यसका विभिन्न विभागहरु छन् र विभागका अनुसार छुट्टा-छुट्टै विशेषज्ञ र परामर्शदाता हुन्छन्। आउनुहोस यसको बारेमा बुझौँ।
१. मस्कुलोस्केलेटल अर्थात् हाडजोर्नी र मांसपेशीसम्बन्धी फिजियोथेरापी:
यसका विशेषज्ञहरुले अर्थोपेडिक र रूमेटोलोजीकल अवस्थाको विस्तृत दायराको लागि सल्लाह र उपचार प्रदान गर्दछन्। शरीरमा भएका हड्डी, जोर्नी, मांसपेशी, स्ननायुबधन वा टेन्डनहरुमा कुनैपनि किसिमको चोट, समस्या भयो भने यसका विशेषज्ञको परामर्श लिनुपर्दछ। जस्तैः मांसपेशीमा तनाव, मांसपेशी च्यातिएको, हड्डी खिएको, भाचिएको, जोर्नीहरुमा दुखाइ, गर्दन दुख्ने, ढाड दुख्ने जस्ता समस्या साथै सर्जरी जस्तै ल्यामिनक्टोमी, आर्थ्रोप्लास्टी आदि गर्नु अघि र पछिl
२. न्यूरोलोजिकल फिजियोथेरापी:
यसका विशेषज्ञहरुले स्नायु र न्यूरोभास्कुलर प्रणालीभित्र उत्पन्न भएका समस्याहरूको कारण हाम्रो चाल, सन्तुलन, विभिन्न अङगबिचको समन्वय, गति र कार्यहरूमा हुने गडबड र अव्यवस्थाको उपचार गर्दछन्l जस्तैः पक्षघात, झड्का, हातखुट्टा नचल्ने, झमझमाउने मुख एकातिर बाङ्गिएको हुने, नसा च्यापिएको वा खुम्चिएको, भेस्टिबुलर रोग, गुइलिन बार सिंड्रोम, आदि।
३.कार्डियोपल्मोनरी फिजियोथेरापी:
यसका विशेषज्ञहरुले हृदय, रक्त नली र फोक्सोमा रोग वा समस्या भएका मानिसहरूको उपचार गर्दछन्। बिरामीको छातीबाट संक्रमित खकार खाली गर्न वा व्यक्तिलाई सास फेर्न मद्दत गर्न, भेंटिलेटरको प्रयोग, वा सास फेर्न सजिलो पार्ने व्यायामहरु सिकाउने गर्दछन्। आईसीयूमा सामान्य रूपमा सास फेर्नलगाउने देखि जटिलताहरू रोक्न पनि भूमिका खेल्दछन्।
जस्तै: फोक्सो सम्बन्धित; दम, तीव्र छाती संक्रमण, कोभिड- १९, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजीज (सीओपीडी), सिस्टिक फाइब्रोसिस, निमोनिया, मुटु सम्बन्धित; मायोकार्डियल इन्फ्राक्सन पछिको पुनर्स्थापना वा अन्य सर्जरीपछि रक्तनली सम्बन्धित; डीभीटी , भेरिकोज आदि अन्य; कोलिस्टेक्टोमी, या अन्यसर्जरी अघि र पछि।
४. पिडियाट्रिक (बाल चिकित्सा) फिजियोथेरापी:
यसका विशेषज्ञहरुले त्यस्ता बच्चाहरूको उपचार गर्दछन् जसमा मस्कुलोस्केलेटल, कार्डियोपल्मोनरी, न्यूरोलोजिकल वा विकासात्मक ढिलाइका साथै संवेदी कमजोरीका कारण समस्याहरु देखापर्दछ। जस्तै: मस्तिष्क पक्षाघात (cerebral palsy), डुचेन मस्कुलर डिस्ट्रॉफी, विभिन्न फ्राक्चर, स्पाइना बिफिडा, शारीरिक र मानसिक विकासमा ढिलाइ, अटिजम आदि।
५.समुदायमा आधारित फिजियोथेरापी
यसका विशेषज्ञहरुको मुख्य उद्देश्यसमुदायमा आधारित मेडिकल एकीकरण, अवसरहरूको सामनता र अशक्तहरूका लागि शारीरिक उपचार पुनर्वास कार्यक्रमहरूको स्थापना गरेर अशक्त र अन्य व्यक्तिहरुलाई सहयोग पुर्याउनु हो। यसका विशेषज्ञहरुले सामुदायिक स्तरमा फिजियोथेरापीको जागरूकता बढाइ धेरैभन्दा धेरै मानिसलाई यसको सेवाबाट फाइदा पुर्याउनु अनि समुदायमा भएका श्रोत साधनहरुको उपयोग गरेर उपचार दिने गर्दछन्l जस्तैः काठको प्रयोग गरेर प्यारलर बार बनाएर हिँडाउनेl
६.महिला स्वास्थ्य फिजियोथेरापी:
यसका विशेषज्ञहरुले महिलाको श्रोणि र श्रोणिको तलको भागमा असर गर्ने सबै विकारहरूको चिकित्सीय उपचार गर्ने गर्दछन्।
जस्तै : गर्भावस्था, सिजेरियन सेक्सन, डायस्टेसिस रेक्टाइ एब्डोमिनिस, गर्भलिंग मधुमेह, मूत्र पथ संक्रमण, आङ्ग खस्ने समस्या आदि।
७.जेरियाट्रिक फिजियोथेरापी:
यसका विशेषज्ञहरुले वृद्ध व्यक्तिहरूको गतिशीलता र सन्तुलन सुधार गर्ने, लड्नबाट जोगाउने, शक्ति र आत्मबल बढाउनुका साथै अरु रोगहरु लाग्नबाट बचाउने काम गर्दछन्। उनीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरी जिवनको गुणस्तर बढाउने काम पनि गर्दछन्। जस्तै : डिमेन्सिया, फिटनेस सम्बन्धित व्यायामहरू सिकाउने, लड्नबाट बचाउने आदि।
८.खेलकुद फिजियोथेरापी:
यसका विशेषज्ञहरुले विभिन्न शारीरिक क्रियाकलाप र व्यायम सिकाइ खेलाडीहरूको खेल खेल्ने क्षमता र स्तर बढाउन मद्दत गर्दछन्। खेल खेल्दा वा अभ्यासको क्रममा केही चोटपटक लागे वा शारीरिक समस्या आएमा त्यही अनुसार उपचार पनि गर्दछन्। जस्तै : खुट्टा मर्कनु, एसिल इन्जुरि, मांसपेशी ऐंठन लिगामेन्ट च्यातिने आदि।
अन्य विशेषग्यता: क्यान्सरमा फिजियोथेरापी, पशु चिकित्सा फिजियोथेरापी, अन्तरिक्ष यात्रीहरूको लागि फिजियोथेरापी आदि।
फिजियोथेरापिष्टहरुले विभिन्न रोगहरुको बारेमा अनुसन्धान गरेर देशको ढुकुटिमा स्वाश्थ्य समन्धि नयाँ तथ्य जोड्न पनि महत्व भुमिका खेल्दछन।
फिजियोथेरापीको भूमिका यतिमा मात्र सिमित छैन। भूकम्प, बाढिपहिरो जस्तो प्राकृतिक प्रकोपमा परेर शारीरिक अपाङ्गता र अशक्तता भएका मानिसहरुको उपचार र पुनर्स्थापना गरि उनीहरुलाई पहिलाको जस्तै काम गरेर हिड्न सक्नि बनाउने काम फिजियोथेरापीले गर्दछ। यति मात्र होइन, स्थानीय तहदेखि विश्वब्यापी फैलिएको (कोरोना भाइरस) वा कुनै पनि संक्रामक तथा महामारीको रोकथाम, नियन्त्रण, उपचार र आवस्यकता परेको खण्डमा पुनर्स्थापनासमेत गरेर सम्पूर्ण मानिसहरूको जीवन स्तर बढाउने काम फिजियोथेरापीले गर्दछ।
फिजियोथेरापीको यति धेरै विशेषता र महत्व भएतापनि हाम्रो देशमा फिजियोथेरापीको जति उपभोग हुनुपर्ने त्यति नभएको देखिन्छ। मेरो व्यक्तिगत विचारमा, जनमानिसमा फिजियोथेरापीको महत्वबारे जानकारी र जागरुकताको कमी र फिजियोथेरापी सेवा सम्मको पहुँचतामा कठिनाइका कारण मानिसहरुले यसको लाभ लिन नसकेको हुनसक्छ। के कारणले गर्दा मानिसहरु फिजियोथेरापिको फाइदा लिनबाट बन्चित छन्, अनुसन्धान गरेर पत्ता लगाइ समाधान गर्न सरोकारवालालाई अनुरोध गर्द्छु।