दशैं भन्नासाथ अझै पनि धेरैजसोले खाने, पिउने, रमाइलो गर्ने, राम्रो लगाउने भन्नेमा नै विश्वास गर्छन्। त्यही अनुसार तयारी समेत गर्छन्। पहिला–पहिला वर्षभरि मिठो परिकार खान पाउनेको संख्या कम हुन्थ्यो। नयाँ लुगा किन्न पनि दशैँ नै कुनुपर्ने हुन्थ्यो। तर समयान्तरसँगै अहिले लुगा पनि जहिल्यै किनेर लगाउन सकिन्छ भने खानेकुराको उपलब्धता र पहुँच पनि केही हदसम्म वर्षैभरि हुन थालेको छ।
दशैँमा विभिन्न मासुका परिकार, अण्डा, दूध–दही, मिठाइ, फलफूल, च्याउ, पनिर, आइसक्रिम, केक इत्यादि तयार गरिन्छ। अनि बिदामा रमाइलो गर्नुपर्छ भन्दै बिहानैदेखि खाना पकाउने र खाने कार्यक्रम सुरु हुन्छ। चिल्ला मासुका परिकारसँगै विभिन्न किसिमका रक्सीहरु पिउने पनि धेरै हुन्छन्।
वियर, वाइन, ह्विस्कीले अहिलेको समाजमा राम्रै पकड जमाइसकेको छ। कहिल्यै रक्सी नपिउनेले पनि यो दशैंमा त पिउनुपर्छ भन्दै सुरु गर्छन्। कोही, दशैं त हो नि भन्दै महँगा विदेशी रक्सी भित्र्याउन थाल्छन्। कतिपयले त मदिरा नै उपहार दिने र लिने समेत गर्छन्। अरु समयमा भन्दा दशैंमा अत्यधिक रक्सीको खपत हुन्छ, जुन स्वास्थ्यका दृष्टिकोणले नराम्रो हो।
दशैंमा तास खेल्ने, फिल्म हेर्ने, कम्प्युटर, मोबाइलमा गेम खेल्ने, इन्टरनेट खोलेर सोसल मिडियामा व्यस्त हुने पनि धेरै नै हुन्छन्। यी कार्यहरुले हामीलाई खाना अत्यधिक र व्यायाम कम गराउँछ। र, सजिलै तौल बढाउन मद्दत गर्छ।
दशैंमा हामी ६ हजारदेखि ७ हजार क्यालोरी एकै दिनमा खान्छौँ। तर केही पनि कसरत नगरी बसी–बसी खायौं भने त २ हजार क्यालोरी पनि खर्च हुँदैन। अनि त्यो ४ हजार देखि ५ हजार बढी क्यालोरी के गर्ने ?
क्यालोरी भन्नाले खानामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो खाद्यान्नबाट प्राप्त हुने शक्ति हो। १ ग्राम कार्बाेहाइड्रेट वा प्रोटिनले ४ क्यालोरी दिन्छ भने १ ग्राम चिल्लोले ९ क्यालोरी दिन्छ। १ ग्राम रक्सी पियौं भने ७ क्यालोरी पाइन्छ भने ३३० एमएल कोक पियौं भने १४० क्यालोरी शक्ति पाइन्छ।
ती क्यालोरी प्रदान गर्ने मासु, दूध–दही, मिठाइ, पनिर वा एनिमल फ्याट (बोसो) राम्ररी प्रयोग हुन पाएन भने हाम्रो कलेजोमा वा रक्तनलीमा जम्न थाल्छ। रक्तनलीको चिल्लो पदार्थ बढ्दै जाँदा रक्तनली बन्द हुने खतरा हुन्छ र हृदयाघात, मस्तिष्काघात हुने खतरा हुन्छ। अतः दशैंमा रमाइलो गर्नुपर्छ, खानुपर्छ तर आवश्यकता अनुसार मात्र। सबैभन्दा महत्वपूर्ण कुरा त खाना अनुसार यथेष्ट व्यायाम गर्नुपर्छ।
व्यायामको लागि यसो गरौँ
धेरैजसो बिहान मन्दिर दर्शन गर्न त गई नै रहेका हुन्छन्। त्यो समयमा गाडी, मोटरसाइकल प्रयोग नगरी बिहान २÷३ घण्टा हिँडेर पुग्न सकिने भयो साथीभाइ तथा परिवारजनसँग गफ गर्दै हिँड्दा रमाइलो पनि हुन्छ र व्यायाम पनि हुन्छ।
घरमा बसेर खाना बनाउने, गफिने बेलामा पनि मेचमा सोफामा बस्नुको सट्टा उभिएर नै सबै काम ग¥यो भने पनि व्यायाम हुन्छ।
तास खेल्ने, टीभी हेर्नेभन्दा घर–आगनमै ब्याडमिन्टन खेल्ने, टेबल टेनिस खेल्ने, बल खेल्ने भयो भने अर्को व्यायाम हुन्छ।
कतिपय ठाउँमा आफू पहिले कहिल्यै गएको छैन भने दशैें बिदामा त्यो ठाउँमा पैदल नै किन नपुग्ने ? ३÷४ घण्टा पैदलै गएर विभिन्न नौलो ठाउँ वा आपूmलाई मनपर्ने ठाउँको रमाइलो बटुल्यौं भने व्यायाम पनि भयो, रमाइलो पनि।
बेलुका पनि खानापश्चात् एक घण्टा स–परिवार नै घर बाहिर पैदल घुमेर आयौं भने अर्काे आनन्द लिन सकिन्छ।
बालबालिकालाई पनि सकेसम्म शारीरिक व्यायाम हुने खेलहरुमा समावेश गराऔँ। फुटसल, साइक्लिङ, क्रिकेट, दौड वा अन्य कुनै।
दशैंमा बाहिर धेरै नै मोटर–गाडीहरु नगुड्ने हुनाले पैदल यात्रा सँगसँगै साइक्लिङ, जगिङ, रनिङ पनि पनि उत्तिकै सम्भव भएको हुनाले यो दशैंमा काठमाडौंबासीले किन रिङरोड पूरै साइक्लिङ नगर्ने ? वा स्वयम्भूदेखि पशुपतिसम्म किन रनिङ नगर्ने ? वा सबै देवीको मन्दिर पैदलै किन नभ्याउने ? वा नारायणथान, गोदावरी, टोखा, गोकर्ण, चोभार आदिद ठाउँ किन पैदलै अनुभव नगर्ने ? काठमाडौं बाहिरकाले पनि आफ्नो ठाँउको रमाइलोपना किन पैदलै डुलेर नगर्ने?
जसरी भए पनि आफ्नो शरीरलाई एकै ठाँउमा मात्र नराखेर चलायमान राख्यौं भने हामीले अरु ३ हजार क्यालोरी जति प्रयोग गर्न पाउँछौ। त्यसैले यो दशैं रमाइलो गरी मनाउने बेला खानाको साथै हिँड्ने कामलाई पनि तिव्रता दिन सक्यौं भने दशैं मंगलमय हुनाका साथै स्वस्थकर पनि हुन सक्छ।
(लेखक धुलिखेल अस्पतालमा कार्यरत छन्।)