‘जापानमा नेपालीको स्वास्थ्य : बढ्दो छ मानसिक समस्या’ स्वास्थ्य खबरका कार्यकारी सम्पादक डिबी खड्काले जापान पुगेर स्थलगत अध्ययनका आधारमा तयार पारेको विशेष रिपोर्ट हो। जापानमा कार्यरत नेपाली समुदाय, नेपाली मूलका चिकित्सक तथा स्वास्थ्यकर्मी, विभिन्न संघ–संस्थाका प्रतिनिधिसँग गरिएको गहन अन्तरक्रिया, साथै उपलब्ध तथ्य र तथ्यांकको विश्लेषणपछि यो सामग्री तयार गरिएको हो। यस विशेष शृङ्खलालाई हामीले swasthyakhabar.com मा ६ भागमा प्रकाशित गरेका छौं भने स्वास्थ्य खबरपत्रिकाको कभर स्टोरीका रूपमा पनि प्रस्तुत गरेका छौं। यो उक्त शृङ्खलाको अन्तिम तथा पूर्ण भाग भाग हो। यसअघिका पाँच भागका यहाँ एक साथ समावेश गरिएका छन्। — सम्पादक)
सामान्यतया आउने उत्तर हुन्छ– ठिकै छ। त्यहाँ बसिरहेका नेपालीका अनुसार त्यसपछि आफन्तको प्रश्न हुन्छ– कमाइ–धमाइ पनि ठिक छ नि?
विद्यार्थी अस्मिता लामाको भनाइ अनुसार उनीहरुले आफन्तबाट अपेक्षा गर्ने पुरक प्रश्न हुन्छ, ‘ठिकै छ कि सञ्चै छ?’ त्यसरी सोधियो भने उनीहरुले व्यक्त गर्ने कुरा अनगिन्ति छन्। तर कुरा फेरि पनि कमाइ–धमाइतिर मोडियो भने चाहिँ धेरैको बिसञ्चो मन झन् बल्झिन्छ।
साथीभाइले पनि भन्छन्, ‘विदेशमा छस्, मोज छ ’ अग्ला भवन र समुद्र किनारमा खिचिएका तस्बिरले मात्रै जीवन दर्शाउँदैन। नियमित जीवनमा वर्षका एक–दुई पल्ट आउने ती तस्बिरले बाँकी ३६३ दिनको प्रतिनिधित्व गर्दैनन्।
जापानमा अहिले १ लाख ४० हजार नेपाली छन्। त्यसमा ठूलो संख्या विद्यार्थीको छ। जापान सरकारको नजरमा उनीहरु पढ्न आएका हुन्। नेपालीहरुको नजरमा उनीहरु कमाउन गएका हुन्। यहीँनेरबाट सुरु हुन्छ ती १९/२० कै उमेरका कलिला विद्यार्थीको जीवनमा विरोधाभाष।
हाल जापानमा अध्ययनरत काभ्रेपलाञ्चोककी अस्मिता लामाको कथासँग धेरै नेपाली विद्यार्थीको मनोदशा मिल्दोजुल्दो छ। चार वर्षअघि पढ्न जापान पुगेकी लामा आत्महत्या गर्ने खराब सोचलाई जितेर नयाँ जीवनमा प्रवेश गरेकी छिन्। सबैले लामाले जस्तै आफूलाई त्यो त्रासदीबाट बाहिर निकाल्न सक्दैनन्। त्यसैले जापानमा नेपाली विद्यार्थीहरुले आत्महत्या गरेको खबरहरु पनि पछिल्लो समय बाक्लिन थालेको छ। बिरामी मन लिएर नेपाली डाक्टर खोज्दै पुग्नेको संख्या उल्लेख्य छ।
विगत २२ वर्षदेखि जापानमा कार्यरत न्युरोसर्जन डा लुशुन चालिसेका अनुसार उनलाई खोज्दै आउने ४० जनामा ३० जना मानसिक समस्यासँग सम्बन्धित हुन्छन्। उनले भने, ‘टाउको दुख्यो, रिंगटा लाग्यो जस्ता लक्षण लिएर आउँछन्। उनीहरुलाई टाउकोको नशासँग सम्बन्धित समस्या भयो भन्ने लागेर मकहाँ पुगेका हुन् तर उनीहरुमा त्यस्तो समस्या हुँदैन। मानसिक समस्या हुन्छ र कतिपयको मैले नै गर्ने काउन्सिलले बिसेक पनि हुन्छ। धेरैलाई भने नेपाल गएर एक पल्ट परामर्श लिन सुझाउँछ।’
अर्को, जापानमा प्रचलित भिसा हो कुक। नेपाली र भारतीय रेस्टुरेन्टमा मात्रै काम गर्न पाउने सर्तमा उनीहरुलाई भिसा दिइएको हुन्छ। उनीहरुलाई त्यहाँ मगाउने पनि रेस्टुरेन्ट गरेका नेपालीहरु नै हुन्छन्। ‘जापान पस्न पाए सबै दुःख दूर हुने’ मानसिकतामा रहेकाहरु त्यही भिसामा कन्सल्टेन्सीलाई १५ लाखसम्म तिरेर त्यहाँ पुग्छन्।
नेपाली र भारतीय रेस्टुरेन्टमै काम गर्ने उनीहरुको तलब बढीमा ८० हजार रुपैयाँसम्म हुने कुक र उनीहरुको परिवारको मानसिक स्वास्थ्यमाथि अध्ययन गरेका मनोचिकित्सक डा विजय ज्ञवाली बताउँछन्। उनी त कुक भिसालाई आधुनिक जमानाको मानव बेचबिखनकै संज्ञा दिन्छन्। उनी भन्छन्, ‘९० प्रतिशत कुक १५ देखि २० लाख तिरेर त्यहाँ पुग्छन्। एउटा कुकले राम्रै रेस्टुरेन्टमा काम गर्दा पाउने एक लाख रुपैयाँ हो। उसले १५ लाख रुपैयाँ खर्च गर्यो भने १५ लाख कमाउन ३० महिना लाग्छ। कसैले श्रीमती पनि लिएर जान्छन् तर श्रीमतीको ओभरवर्क हुन्छ।’ यही कारण कुक र तिनीहरुका श्रीमतीको मानसिक स्वास्थ्यमा निकै समस्या देखिएको उनी बताउँछन्।
दैनिकी, अभिभावकको अपेक्षा र यथार्थ
जापानमा विद्यार्थी भिसामा आएकाहरुले चार वर्ष कमाएर घर पठाउने परिकल्पना नगरे पनि हुन्छ। किनभने, उनीहरु पढ्नका लागि आएकाले त्यहीँ बढी समय बित्छ। जति बाँकी समय रहन्छ, त्यसमा उनीहरु त्यहाँको महँगो जीवनशैली जिउन र कलेजको शुल्क तिर्न ठिक्क हुनेगरी कमाउन सक्छन्।
यहाँनेर विद्यार्थी अस्मिता लामाको अनुभव राख्नु उपयुक्त हुन्छ। उनी सन् २०२० मा जापानमा आएकी हुन्। त्यो समय कोरोनाले बाहिर निस्किन पाइँदैनथ्यो। उनी आसाइ नामक पत्रिकाको छात्रवृत्ति (पत्रिका बाँड्ने काम गरेपछि कलेज शुल्क तिर्ने) मा आएकी थिइन्। उनले १ देखि ४ बजेसम्म दुई टाइम पत्रिका बाँड्नुपथ्र्यो। कलेज पनि जानैप¥यो। उनलाई सुत्ने समय बेलुकी ६ बजेदेखि राति १ बजेसम्म चार घन्टा हुन्थ्यो। उनले भनिन्, ‘त्यो चार घन्टा पनि ऋण कसरी तिर्ने, कसरी पढ्ने, भन्ने चिन्ताको छटपटीमै सकिन्थ्यो। त्यसपछि झर्काे लाग्ने, बोल्न मन नलाग्ने र आत्महत्या गरौं जस्तो लाग्ने भयो।’
पढेर आफ्नो भविष्य बनाउने भन्ने सपना बोकेर जापान टेकेकी थिइन् उनी। घरपरिवारले ऋण–धन गरेर उनलाई त्यहाँ पठाएको थियो। उनलाई पढ्ने सपना भए पनि परिवारलाई कन्सल्ट्यान्सीले भनेको थियो, ‘ऋणको चिन्ता नगर्नुहोस्। एक वर्षमै तिरिहाल्छिन्।’
त्यसपछि स्वभाविक रुपमा दुई महिनापछि उनको घरबाट प्रश्न आयो, ‘तिम्रो कमाइ कति छ ? ब्याज यति भइसक्यो। अलि–अलि पठाउँदै गर आदि।’
लामाले प्रश्न गरिन्, ‘आफ्नो भविष्यको चिन्ता, पढाइको प्रेसर, ऋणको तनाव र कामको तनाव, एउटा १९/२० वर्षको बच्चाले त्यो प्रेसर कसरी थेग्न सक्छ ?’
अनुसन्धानकर्ता भरत नेगी जापानमा रहेका नेपालीहरुको मानसिक स्वास्थ्य समस्या बढ्दो क्रममा रहेको बताउँछन्। एनआरएनए ग्लोबल हेल्थ कमिटीले आयोजना गरेको ‘पाँचौं नेपाली ग्लोबल हेल्थ कन्फरेन्स’मा आफ्नो प्रस्तुति राख्दै उनले यस्तो बताएका हुन्।
उनले १९८ जनालाई लिएर गरेको एक अनुसन्धानमा ‘असामान्य डिप्रेसन’ मा पुगेका ७४ जना अर्थात् ३७.२ प्रतिशत भेटेका छन्। यसैगरी बोर्डर लाइनमा ७१ जना अर्थात् ३५.७ प्रतिशत, सामान्य ५४ जना अर्थात् २७.१ प्रतिशत मात्रै भेटिएका छन्। यसैगरी २५.६ प्रतिशतको एन्जाइटीको तह असामान्य अवस्थामा पुगिसकेको उनको अनुसन्धानले देखाएको छ। पुरुषमा भन्दा महिलामा एन्जाइटी अझ बढी देखिनुका साथै कोभिड–१९ को महामारीका समयमा यो अझ बढेको उनले बताएका छन्।
नेपालीहरुको स्वास्थ्यलाई नजिकबाट हेरिरहेकी जनस्वास्थ्यकर्मी डा एलिजा केसी भण्डारी मानसिक समस्या सिर्जना गर्ने अनेक कारण रहेको बताउँछिन्। नमिल्दो परिवेश, फेरिएको जीवनशैली, कमाउनैपर्ने दबाब आदि मुख्य रहेको उनको बुझाइ छ। उनले देखेकी छिन्, ‘कतिले कयौं रात सुत्दै नसुती काम गरिरहेका हुन्छन्। विशेषगरी नेपाली विद्यार्थीले हप्तामा २८ घन्टा काम गर्न पाउँछन्। तर जम्मा २८ घन्टाले शुल्क तिरेर खान–बस्न पुग्दैन।’
यताबाट पठाउनेले प्रतिघन्टा १५ सय कमाइ हुने बताइरहेका हुन्छन्। तर उताको जीवनशैली अनुसार त्यसले धान्दैन। कामलाई असाध्यै महत्व दिने प्रचलन, कामको प्रकृति र काममा लगाउने स्वभावले समेत समस्या सिर्जना गरिरहेको उनको बुझाइ छ।
व्यवस्थित प्रणाली, अव्यवस्थित नेपाली
जापानको स्वास्थ्य प्रणाली विश्वकै पाँच उत्कृष्ट प्रणालीमा पर्छ। जापानमा बस्ने हरेकको स्वास्थ्य बीमा अनिवार्य छ। ‘सर्वव्यापी स्वास्थ्य बीमा’ भनिएको बीमा सरकार र सार्वजनिक संस्थाहरुद्वारा परिचालित छ। जुनसुकै बिराम वा चोटपटक लागे पनि सामान्यतया ७० प्रतिशत यही बीमाबाट बेहोरिन्छ। ३० प्रतिशत भने आफैंले बेहोर्नुपर्छ।
जापानमा नेपाली समेटिने सामान्य तया दुई मोडेलका बीमामा हो, १. राष्ट्रिय स्वास्थ्य बीमा, २. कर्मचारी बीमा। जो कुनै निश्चित कम्पनीका लागि काम गरिरहेका छैनन्, उनीहरु यहाँ समेटिन्छन्। डा चालिसेका अनुसार आफ्नै रेस्टुरेन्ट गर्ने, सानोतिनो पसल चलाउने आदि यसमा पर्छन्। त्यसैगरी विदेशी विद्यार्थीहरूका लागि पनि यही बीमा लागू हुन्छ। बीमाको प्रक्रिया नगरपालिका कार्यालयमा गरिन्छ।
यहाँको बीमा शुल्क आम्दानीमा निर्भर हुन्छ। गएको वर्षमा व्यक्तिले कमाएअनुसार चालु वर्षमा बीमा शुल्क निर्धारण हुन्छ। भर्खरै विदेशबाट आएका विदेशी विद्यार्थीहरूले जापानमा कमाएका हुँदैनन्। त्यसैले चालु वर्षमा बीमा प्रिमियम सस्तो हुन्छ।
यसैगरी यहाँ धेरै नै खर्च लाग्ने उपचारका लागि बीमा कम्पनीले एक महिनामा हुने उपचार खर्च वा औषधि शुल्क निश्चित रकमभन्दा बढी पनि तिर्ने प्रणाली छ। यदि तिनीहरूको उपचार ५० लाख येन वा १ करोड येनभन्दा बढी हुँदा बिरामीले खर्च गर्ने मुश्किल हुन्छ वा उसका जीवनका अन्य पक्ष ध्वस्त हुन्छन्। त्यस्तो अवस्थामा पनि बीमाले भरथेग गर्छ। यसैगरी बच्चा जन्माउँदा ‘बच्चा जन्माउने एकमुष्ठ भत्ता (झन्डै चार लाख नेपाली रुपैयाँ) पनि यहीँबाट दिइन्छ।
अर्को कर्मचारी बीमा हुन्छ। जसको बीमाकर्ताहरू राष्ट्रिय स्वास्थ्य बीमा संघ (क्योकाइ केन्पो), जापान प्राइभेट स्कुल प्रमोसन तथा म्युचुअल एड एजेन्सी (प्राइभेट म्युचुअल सहायता), स्वास्थ्य बीमा समाज, आदि हुन्छन्। कम्पनीमा काम गर्ने व्यक्तिहरू र उनीहरूका परिवारका लागि माथि उल्लिखित बीमाकर्ताहरूमध्ये एक बीमा संस्थाले कभर गर्छ। कुन बिमा पाउने भन्ने काम गर्ने कम्पनीमा निर्भर रहन्छ। उदाहरणका लागि यदि काम गर्ने संस्था ठूलो भएमा स्वास्थ्य बीमा संघमा सामेल हुन्छन्।
निजी विश्वविद्यालयमा काम गर्नेहरु ‘निजी विद्यालय म्युचुअल सहायता’मा सामेल हुन्छन्। यस बीमाको सुविधामा रोजगारदाता र कर्मचारीले आधा–आधा बीमा शुल्क भुक्तान गर्ने प्रणाली हुन्छ। यदि १० हजार रुपैयाँ बीमाका लागि कम्पनीले घटाएर तलब दिन्छ भने उसले शुल्क बुझाउँदा १० हजार थप्नुपर्छ। पाउने सुविधा भने दुवै बीमाबाट उस्तै हुन्छ।
जापानको स्वास्थ्य प्रणाली हेर्दा सामान्यतया स्वास्थ्य उपचार समस्या देखिँदैन। तर बीमामा अभ्यस्त भइनसकेकाले नेपालीहरुलाई भने अझै जटिल लाग्छ। कम्पनीमा काम गर्नेहरुका लागि बीमाको शुल्क तिर्नेदेखि प्रक्रियासम्म कम्पनीले गर्ने भएकाले त्यति असहज देखिँदैन। तर आफैं तिर्नुपर्ने स्वरोजगार (विशेषगरी कुकहरु) र विद्यार्थीहरुले भने नियमित रुपमा तिर्दैनन्। जसले गर्दा बिरामी पर्दा शतप्रतिशत तिर्नुपर्ने हुन्छ र जुन निकै महँगो पर्ने आप्रवासीका काम गर्ने जापानिज गैरसरकारी संस्था सिंघामा कार्यरत मीना शाक्य बताउँछिन्। उनी भन्छिन्, ‘हाम्रो हुर्काइ नै त्यस्तो हो कि ?, सकेसम्म बीमामा जान खोज्दैनन्। नेपालबाट औषधि मगाएर खाने वा अति नै भएपछि अस्पताल जाने गरेका छन्।’
निकै अप्ठ्यारो परेपछि उनी कार्यरत संस्थालाई सहयोग माग्ने पनि छन्। तर नेपालबाट आफूखुसी अनेक औषधि मगाएर खाएको कुरा चिकित्सकलाई भन्न सक्दैनन्। जसले गर्दा त्यहाँका चिकित्सकलाई समस्या पहिचान गर्न असहज हुने गरेको मेडिकल ट्रान्सलेटर समेत रहेकी उनी बताउँछिन्। कतिले बिरामी परेपछि जापान आएदेखिको बीमाशुल्क तिर्नुपरेको र कतिले बच्चा भएपछि तिर्नुपरेको उनले देखेकी छिन्।
आफू केही नजान्ने मात्रै नभई सहयोग लिन पनि नखोज्ने नेपालीको स्वभाव रहेको बताइन्। उनले भनिन्, ‘हाम्रो संस्थाले जापानमा बस्ने सबै विदेशीलाई सबै प्रकारको सहयोग गर्छ। अन्य देशका नागरिक सामान्य केही पर्दा पनि सहयोग लिन खोज्छन् तर नेपालीले चाहिँ सकेसम्म नजरअन्दाज गर्छन्।’
बीमा कार्ड भएकाहरुले समेत अस्पतालमा देखाउन हिच्किचाउने गरेको डा एलिजा केसी भण्डारी बताउँछिन्। उनी भन्छिन्, ‘केही नेपालीहरुमा कार्ड देखायो भने ट्याक्स धेरै तिर्नुपर्छ भन्ने धारणा छ। त्यसैका आधारमा करका लागि क्रस चेक गर्न आउँछ भन्ने भ्रम छ। जबकि, कर प्रणाली र बीमा लिंक नै हुँदैन। त्यसैले उपचार गर्न जान धकाइरहेका हुन्छन्।’
यसबाहेक पनि जापानमा सुविधा छन्। जुन निम्नानुसार प्रस्तुत गरिएको छ:
जन्म भत्ता (जन्म दिनुअघि) :गर्भवतीलाई 'प्रसूति बिदा'को व्यवस्था छ। श्रम मापदण्ड कानुन अन्तर्गत, यदि रोजगारदातालाई अनुरोध भनियो भने, कम्पनीले डेलिभरीको अपेक्षित मिति भन्दा ४२ दिन अघिबाट बिदा दिनुपर्छ। कानुनले त्यस अबधिमा तलब दिनैपर्ने बाध्यता भने गरेको छैन। कम्पनीबाट तलब प्राप्त भएन भने पनि, प्रसूति भत्ता बीमा कम्पनीबाट पाइने व्यवस्था छ।
जुम्ल्याहाहरूका केसमा प्रसूति बिदाको लागि डेलिभरीको अपेक्षित मिति भन्दा अघि ४२ दिनको सट्टा ९८ दिन हुन्छ। यदि बच्चा डेलिभरीको अपेक्षित मिति भन्दा पछि जन्मिन्छ र ४२ दिन भन्दा बढि समय लिन्छ भने पनि यो बच्चा जन्माउने दिनसम्म 'प्रसूति बिदा'को रूपमा मान्यता दिइन्छ।
जन्म दिएपछि : बच्चा जन्माएको दिनदेखि ५६ अनिवार्य बिदा हुन्छ। यो अविधिमा काम गर्न कानुनले नै बर्जित गरेको छ। यसलाई 'पोस्टपर्टम बिदा' भनिन्छ। यदि बच्चा जन्मेको ४२ दिन पछि डाक्टरले यो अनुमति दियो आफ्नो इच्छा अनुसार काम गर्न सक्ने भनिएको छ। यस अवधिमा प्रसूति भत्ता हुन्छ। जुन तलबको लगभग दुई तिहाइ हुन्छ।
प्रसूति भत्ता : यसको अतिरिक्त, पारिवारिक हेरचाह बिदाको सुबिधा पनि छ (जब तपाईंका आफन्तहरूलाई सुत्केरीको हेरचाहको आवश्यकता पर्दछ र परिवारले हेरचाहको लागि छुट्टी लिएको समयको रकम पाउने व्यवस्था हुन्छ)।
श्रम बीमा : श्रम बीमा त्यो बीमा हो जो कम्पनीमा काम गर्नको लागि मानिसहरू भर्ना हुन्छन्। कम्पनीका लागि काम गर्ने सबै व्यक्तिहरूले अनिवार्य बीमा हुन्छ। बीमाकर्ता सरकार हुन्छ। त्यहाँ दुई प्रकारका बीमा प्रिमियम हुन्छन्, एक कम्पनीद्वारा भुक्तानी (श्रम दुर्घटना बीमा) र अर्को कम्पनी र कामदारद्वारा भुक्तानी (श्रमिक बीमा)।
बेरोजगारी भत्ता : यदि काम गर्ने कम्पनीबाट हटाइयो वा आफैँले छाड्नुपर्यो भने अर्को काम फेला नपरेसम्म बेरोजगार भत्ता प्राप्त गर्न सकिन्छ। कति समय र कति रकम प्राप्त हुन्छ, त्यो आवेदकमा निर्भर गर्छ। पैसा प्राप्त गर्नका लागि त्यहाँ अन्य सर्तहरू भने छन्।
बाल हेरचाह बिदा : प्रसूति बिदाको ५६ दिनपछि यदि आफ्नो बच्चा हुर्काउन अझ बढी बिदा लिन आवश्यक पर्यो भने बाल हेरचाह बिदा लिन सकिन्छ। यो सुबिधा बच्चा जन्मेको मितिदेखि लगभग एक वर्षका लागि भनिएको छ। यो सुविधा बच्चाको आमा मात्र होइन, बुबाले पनि पाउन सक्छन्। दुवैले एकै समयमा प्राप्त गर्न भने सक्दैनन्। सुविधा रकम प्राप्त गर्नको लागि केही सर्तहरु भने हुन्छन्। त्योबेला पाइने रकम तलबको लगभग आधा हुनेछ।
औद्योगिक दुर्घटना बीमा : यसलाई आधिकारिक रूपमा कामदार दुर्घटना क्षतिपूर्ति बीमा भनिन्छ। बिमारी वा कामको क्रममा घाइते भएको कारण (व्यावसायिक कारण) अस्पताल उपचार खर्च बेहोरिन्छ। बिमारी वा कामको दौरानमा चोटपटकका कारण (व्यावसायिक कारण) बिरामी बिदाको समयमा घर खर्च पनि दिइन्छ। घाइते भएर निको भए पनि अपांगता रहन्छ भने क्षतिपूर्ति पैसा दिइन्छ।
मृत्युको शोकमा परेको व्यक्तिको जीवनलाई सहयोग गर्न क्षतिपूर्ति रक़म पनि दिने गरिन्छ। यो बीमाको शुल्क कामको प्रकृतिमा निर्भर गर्छ। यसमा बीमा रकम तिर्नु पर्दैन। रोजगारदाताले सबै बीमा रकम भुक्तान गर्छ। यस्तो बीमाको बीमा कार्ड हुँदैन।
कामको क्रममा घाइते हुँदा : अस्पताल पुग्ने बित्तिकै सोधिन्छ, ‘तपाईंलाई चोट कसरी लाग्यो?’ त्यस समयमा अस्पतालमा सोध्ने व्यक्तिलाई भन्नुपर्छ, 'म काम गर्ने क्रममा घाइते भएँ...।’
त्यस्तो भनियो भने अस्पतालमा पैसा तिर्नु पर्दैन। यदि त्यसपछि पनि अस्पताल जाने वा भर्ना हुने अवस्था आउँदा पनि पैसा तिर्नु पर्दैन। चिकित्सा खर्चको अतिरिक्त कम्पनीबाट तलब नपाउँदा चोटपटक वा रोग निको नहुन्जेलसम्म बिमाबाट घर खर्च पाउन सक्ने व्यवस्था छ।काम गर्ने क्रममा चोटपटक लाग्दा कम्पनीका व्यक्तिले त्यसो नभन्नु चाहिँ भनेका हुन सक्ने बताइन्छ। घरमा घाइते भएको वा बिदाका दिनमा घाइते भएको बताउन जोडबल गर्छन् तर सरकारले झुट निषेध गरेको छ।
चोट निको भयो तर अशक्त भयो भने : उपचारपछि चोट निको भयो तर शरीरका अंगहरू पहिलेजस्तो भएनन् वा आँखाले देख्न गाह्रो भयो भने वा निको भएन भने अपांग सूचीमा राखिन्छ। बीमाबाट निश्चित पैसा प्राप्त हुन्छ। अपांगताको अवस्था १ देखि १४ श्रेणी (अपांगता ग्रेड)मा विभाजित गरिएको छ। डाक्टरको राय र लक्षणहरूको आधारमा ग्रेड छुट्याइन्छ।
जो १ देखि ७ श्रेणीमा छन् उनीहरूले निवृत्तिभरण (पेन्सन) प्रणालीको रूपमा बीमा प्राप्त गर्नेछन्। प्रत्येक वर्ष निश्चित रकम प्राप्त हुन्छ। ग्रेड ८ देखि १४ श्रेणीका व्यक्तिका लागि एकमुष्ट रकम भत्ताको रूपमा भुक्तान गरिन्छ। दुवै अवस्थाको बीमा रकम काम गर्दा प्राप्त भइरहेको तलबको आधारमा हिसाब गरिन्छ।
कामका क्रममा घाइते भएर मृत्यु हुँदा : शोकसन्तप्त परिवारलाई बीमा रकम भुक्तानी गरिन्छ जस्तै: पति/पत्नी, बच्चाहरू र बुबा-आमालाई एकमुष्ट रकम र पेन्सन दुवै प्रदान गरिन्छ। यस अवस्थामा पनि पेन्सन मृतकले उसको जीवनकालमा प्राप्त गरेको तलबको आधारमा गणना गरिन्छ।
जापानमा नेपालीको स्वास्थ्य : नेपालबाटै किन मगाउँछन् औषधि?
जापान जाने हरेक नेपालीको झोला खोतल्ने हो भने त्यहाँ कुनै न कुनै औषधि हुन्छ। पारासिटामोल, ब्रुफिन, साइनेक्स, आईपिल जस्ता औषधिहरु जापान जाने प्रायले बोक्छ। यसैगरी मधुमेह, ब्लडप्रेसर जस्ता दीर्घरोगका औषधि पनि जापानमा बस्नेहरुले नेपालबाटै मगाएर खाइरहेको धेरै भेटिएको डा एलिजा केसी भण्डारी बताउँछिन्।
जापानले सामान्यतया चिकित्सकको सल्लाहमा औषधि सेवनलाई प्राथमिकता दिन्छ। तर पारासिटामोल, ब्रुफिन, आईपिल जस्ता औषधिहरु ‘ओभर द काउन्टर’ पनि पाइन्छन्। त्यसबारे नेपालीलाई उति ज्ञान नभएको डा भण्डारी बताउँछन्। त्यहाँ औषधि सामान्यतया जेनेरिक नामबाट बढी प्रयोगमा रहने भएकाले नेपालीहरुका लागि झन्झटिलो छ।
डा ज्ञवालीलाई जापानमा बस्ने नेपालीको नियमित जस्तो फोन आइरहन्छ। जापानमा लामो समय काम गरेका कारण मानसिक समस्याको परामर्शका लागि सम्पर्क गर्नेहरु त छँदैछन्। त्यो भन्दा बढी छन्– ज्वरोलाई अंग्रेजी र जापानिज भाषा के भनिन्छ ? भनेर सोध्ने। जापानी चिकित्सककहाँ परामर्श र औषधि लिनका लागि भाषा अवरोधकका रुपमा रहेको छ। उनले भने, ‘नेपालीहरुले सुनाउने लक्षण पनि अनौठा छन्, जुन ट्रान्सलेटरले समेत बुझ्दैन। जस्तोः छातीमा चस्का हान्छ, मुटुमा सोला हान्छ।’
मानसिक स्वास्थ्यमा जापानमा नेपालीहरुले कम सहयोग पाउने मुख्य कारण भाषा हो। डा ज्ञवालीका अनुसार मानसिक रोगमा सामान्यतया ट्रान्सलेसन समेत राम्रो नमानिने भएकाले सहजीकरण गर्न गाह्रो हुन्छ। ‘सामान्य सिद्धान्त छ– मनको कुरा कसरी ट्रान्सलेसन हुन्छ ? मैले ट्रान्सलेसन गर्दा प्रोफेसरले रोक्नुहुन्थ्यो।’ जापानिज चिकित्सकले भाषा मात्रै होइन, परिवेश समेत नबुझ्ने भएकाले उपचारमा समस्या रहेको उनले अनुभूत गरेका छन्।
जापानमा हालै आयोजित ‘एनआरएनए ग्लोबल नेपाली हेल्थ कन्फरेन्स’ले जापानमा रहेका नेपालीलाई स्वास्थ्य सेवामा असहजता हुनुको एउटा कारण भाषा रहेको औंल्याएको छ। उक्त कन्फरेन्सको साइन्टिक कमिटीको चेयर रहेका डा लुशुन चालिसे भन्छन्, ‘प्रायः सबै ठाउँमा जापानी भाषा प्रयोग हुन्छ। जापानी भाषा जानेन भने स्वास्थ्य सेवा लिन गाह्रो भने हुन्छ। धेरै विदेशीहरुले उपचार लिने ठाउँमा ट्रान्सलेटर भने राखेको छ। तर सबैले अस्पतालले त्यो सेवा दिन सक्दैनन्।’ जापानमा चिकित्सा समेत जापानिज भाषामै पठनपाठन हुन्छ। त्यसैले चिकित्साकर्मी अंग्रेजीमा उति दक्ष हुँदैनन्। नेपालीहरुको समेत अंग्रेजी राम्रो नहुने भएकाले संवादमा समस्या देखिन्छ।
जापानमा स्वास्थ्य बीमामा नियमित शुल्क तिरिरहेका नेपालीहरु पनि उपचारका लागि नेपाल नै फर्किने गरेको देखिन्छ। खासगरी भाषाको अवरोधका कारण आफ्नो कुरा प्रष्ट भन्न नसक्दा त्यस्तो अवस्था आएको हुन सक्ने डा भण्डारी बताउँछिन्। उनले भनिन्, ‘भाषाले गर्दा समस्याको पहिचान हुन मुश्किल हुन्छ। त्यसैले कतिपय नेपालीले नेपाली चिकित्सक खोजिदिन हामीलाई पनि भन्छन्।’
नेपालीपनका समस्या
जापानमा लामो समय काम गरेका डा सुमन सापकोटा स्वास्थ्य सम्बन्धी चेतनाको अभावले पनि त्यस्तो अवस्था आएको बताउँछन्। एनआरएनए पाँचौं नेपाली हेल्थ कन्फरेन्समा आफ्नो अनुभव सुनाउने क्रममा उनले एक जना थाइरोइडका बिरामी बीमा प्रणालीमै नगएको भेटिएको बताए। उनले भने, ‘महिनावारीमा समस्या तथा बच्चा नबस्ने भएपछि उपचार खोज्दै आउनुभयो। एक जनाको बच्चा खेर जाने भएकाले हामीकहाँ आउनुभयो। जापानमा सीफुड खाने भएकाले थाइरोइडको समस्या त्यति शंका गरिँदैन। चामल, मासु सबै बाहिरको खाने नेपालीहरुमा चाहिँ समस्या रहन्छ। थाइरोइड जाँच्न भनियो। जाँच्दा समस्या भेटियो र अहिले उहाँहरुले त्यसको उपचार गरेर बच्चा बसेको ४÷५ महिना भएको छ।’
जापानमा आवश्यकताभन्दा बढी जाँचलाई सकेसम्म निरुत्साहित गरिन्छ। सीमित स्रोत–साधनमा धेरैभन्दा धेरै सेवा दिने प्रणाली छ। त्यसैले कतिपय अवस्थामा नेपालीहरुको रोगको पहिचानमा समस्या देखिने गरेको उनको अनुभव छ। एक जना नेपाली बिरामीले त्यहाँ लामो समय उपचार गराए। ज्वरो आउने समस्या भएका उनी एन्टिबायोटिक लिउन्जेल निको हुन्थे तर फेरि बल्झिन्थ्यो। पेटमा पानी जमिरहेको तर क्यान्सर भएको नपाइएपछि डा सापकोटाले टिबीको शंका गरे। तर जापानमा ब्याक्टेरिया नभेटिएसम्म औषधि चलाउन पाइँदैन। त्यसपछि उनले नेपाल नै गएर जाँच गराउन भने। यहाँ पनि टिबी देखिएन तर त्यसैको आशंकामा औषधि दिँदा ठिक भएको उनी बताउँछन्।
नेपालबाट जापानमा पुगेका धेरै प्रजनन उमेरका छन्, विद्यार्थी भिसामा पुगून् वा कुक भिसामा। उनीहरुको बच्चा जन्माउने उमेर हुन्छ। त्यसले पनि मानसिक र शारीरिक स्वास्थ्यमा चुनौती थपेको चिकित्कसहरु बताउँछन्। असुरक्षित यौन सम्बन्ध पनि एउटा समस्याका रुपमा देखिन्छ। असुरक्षित यौनपछि प्रयोग गरिने ‘इमर्जेन्सी पिल’ नेपालमा सामान्यतया २ सय रुपैयाँभन्दा कममै पाइन्छ। जापानमा भने ‘आईपिल’ नेपाल जस्तो सजिलै र सस्तै नपाइने डा भण्डारी बताउँछिन्। उनले भनिन्, ‘यहाँको सरकारले गर्भनिरोध होइन, बच्चा जन्माउन प्रेरित गरिरहेको छ। त्यसैले निरोधको प्रक्रिया र औषधि सहज उपलब्ध हुँदैन।’
आईपिल जापानमा अनलाइनमै मगाउन पनि सकिने तर निकै महँगो भएको उनको भनाइ छ। उनले थपिन्, ‘यहाँ कम्तीमा ११ हजार पर्छ। जति चाँडो आवश्यक भयो, त्यति नै शुल्क बढी लिने गरिन्छ।’
जापान जानुपूर्वको तयारी शून्य छ। कमाउन जापान जाने भएपछि कतिपय महिला पाखुरामा नरप्लान्ट राखेर जान्छन्। डा विजय ज्ञवालीका अनुसार जापानको चिकित्सामा नरप्लान्टबारे कुनै पढाइ हुँदैन। त्यो झिकेर बच्चा जन्माउन चाहनेहरु समस्यामा पर्ने गरेका छन्। उनले उदाहरण दिँदै भने, ‘एक दम्पती नरप्लान्ट निकाल्न निकै धाएछ। कहीँ–कतै डाक्टरले झिक्न नमानेपछि सहयोग खोज्दै हामीकहाँ आयो। मैले चिनेको ठाउँमा देखाउँदा जापानिजहरु दंग परे। उहाँहरु इलिगल बसिरहनुभएकाले नेपाल फर्किन पनि समस्या थियो। एक जना रिटायर्ड जापानिज चिकित्सक खोजेर झिक्न लगायौं।’
उमेरले ३८ वर्ष उमेर पुगेकी ती महिलाले सन्तान जन्माएकी थिइनन्। घर्किंदो उमेरका कारण झिकेर बच्चा जन्माउन खोज्दा उनले समस्या भोगिन्। डा ज्ञवालीले भेट्दा उनलाई मानसिक समस्या भइसकेको थियो। उनले थपे, ‘त्यहाँ जानुअघि नै जानकारी दिन सकियो भने अन्य वैकल्पिक विधि अपनाउँथे होलान्। भाषा परीक्षामा एक÷दुई वटा प्रश्न स्वास्थ्यको राख्नुपर्छ। त्यस्तो हुँदा उनीहरुले जानकारी पाउँछन्।’
न्यून नेपाली चिकित्सक
जापान जस्तै विकसित अन्य देशमा नेपाली चिकित्सकहरुको संख्या पनि उलेख्य छ। त्यस कारण सोध्दै–खोज्दै भए पनि नेपाली चिकित्सकबाट उपचार पाउन सक्ने सम्भावना रहन्छ। तर जापानमा त्यहाँको नेसनल लाइसेन्स प्राप्त नेपाली चिकित्सक जम्मा पाँच जना रहेको डा लुसुन चालिसे बताउँछन्।
जापानमा नेपाली चिकित्सक र नर्स न्यून हुनुको कारण त्यहाँको प्रणाली हो। नेपालमा एमबीबीएस पढेका चिकित्सकले त्यहाँ ‘इक्युभ्यालेन्ट’ पाउन सक्दैनन्। डा चालिसेका अनुसार त्यहाँ एमबीबीएसमा ६ वर्षको कोर्स हुन्छ र नेपालमा जम्मा ५ वर्षको। युरोपतिरको ६ वर्षे पढाइ सकेर आएकाहरुका लागि पनि लाइसेन्स प्रक्रिया झन्झटिलो छ। चिकित्साको अध्ययन समेत जापानिज भाषामा हुने भएकाले परीक्षा नै सोही भाषामा हुन्छ। फेरि जापानिज भाषा पढेर लाइसेन्स दिनु सहज नभएकाले नेपाली चिकित्सक जाँदैनन्। नर्सको मामलामा त्यही लागू हुन्छ।
अहिले जापानमा रहेका लाइसेन्सप्राप्त चिकित्सक कक्षा १२ पछि त्यहीँ मेडिकल पढेकाहरु हुन्। जसले जापनिज भाषामै मेडिकल पढेका कारण उनीहरुले नेसनल लाइसेन्स प्राप्त गरेका छन्।
१९-२० वर्षको बच्चाले यती धेरै बोझ कसरी बोक्न सक्छ?
अस्मिता लामा, विद्यार्थी

म चार वर्षअघि आसाइ छात्रवृत्तिमा आएको हो। आसाइ नामको पत्रिका बाँड्ने काम गरेर पढ्ने हो। मसँग पढेर केही बन्ने सपना थियो। यहाँको माहोलले त्यसलाई कसरी विथोल्यो, म कसरी मानसिक रुपमा कमजोर भएँ र फेरि अहिलेको अवस्थामा आइपुगें भन्ने यहाँ बताउन चाहन्छु। जसले अरुलाई पनि आफूलाई बलियो बनाइराख्न मद्दत पुगोस्।
जब हामी नेपालबाट पढ्न भनेर जापान आउँछौं। यहाँको वातावरण, पढाइ र काममा हामी अभ्यस्त हुन पाएका हुँदैनौं। सवैको घरबाट दुई महिनामै प्रश्न आउँछ- तिम्रो कमाइ कति हो? कसैले पढाइ कस्तो छ? भनेर सोध्दैन। त्यसपछि आफूले देखेको सपना कहाँ हो कहाँ? के कामबाट पैसा आउँछ, त्यतै दौडियो।
दिनको २४ घन्टामा ४ घन्टा पढ्नुपर्छ। बाँकी समय पैसा कमाउन लागिन्छ। फेरि आफन्त साथीभाहरुका प्रश्न आइनै रहन्छन्- कहिले घर किन्ने ? घडेरी कहाँ हेर्ने ? हामी कमाउनतिरै थप जोड दिन्छौं। हप्तामा ७ दिनमा ६ दिन काम गर्नुपर्छ, एक दिन सुत्न खोजिन्छ। निन्द्रा लाग्दैन, के गरौं, कसो गरौं हुन्छ।
आफ्ना मनका कुरा सुन्ने वरपर आफन्त र साथीहरु हुँदैनन्। हप्तैपिच्छे आत्महत्याका समाचार पढिरहेका हुन्छौं। त्यसपछि फ्रस्ट्रेसन बढ्छ। मान्छेहरु त्यस्तो अवस्थामा पुग्छन्।
जापान पठाउने कन्सल्टेन्सीले अभिभावकसँग त्यहाँ पढेर बच्चाले उज्वल भविष्यका बनाउँछ भन्दैन। पढेर यस्तो मान्छे बन्छ भन्दैन। यति कमाउँछ भन्छ। जबकी भनिदिनुपर्थ्यो- त्यहाँ कलेज यस्तो हुन्छ, दैनिक गुजारा यसरी चलाउनुपर्छ। एउटा विद्यार्थीले राम्ररी पढ्ने हो भने चार वर्ष पैसा कमाइ हुँदैन। आफूलाई बस्ने, खाने र स्कुलको शुल्कसम्म कमाउन सक्छ।
म २०२० मा जापान आउँदा कोरोनाले बाहिर निस्किन नपाइने अवस्था थियो। म यहाँ आउन लिइएको ऋण थियो। घरबाट कुरा आउँथ्यो- कहिले तिर्ने ? ब्याज यति भइसक्यो। त्यसपछि मैले पढाइमा ध्यान दिन पाइनँ। म डिप्रेसनमा गएँ। म कोठामा सुत्नै नसक्ने भएँ। दिउसो पत्रिका १ देखि साढे ४ वा ५ बजेसम्म बाँड्नपर्थ्यो। म ६ बजे सुत्न जान्थें तर साढे १२ बजेसम्म निद्रा लाग्दैनथ्यो। यताउति पल्टिने गर्यो यत्तिकैमा फेरि साढे १ बजे त काममा जानैपर्ने हुन्थ्यो। म होपलेस भएँ। डिप्रेसनमा गएँ, अरुसँग बोल्न पनि झर्को लाग्ने, बोल्नै मन नलाग्ने र आत्महत्या गरौं जस्तो लाग्ने अवस्था आयो।
किन हुन्छ हुन्छ यस्तो। यसको कारण छ। कन्सल्टेन्सीले अभिभावकसँग एक वर्षमै ऋण चुक्ता गर्छ भनेको हुन्छ। हामीले आफ्नो स्कुल शुल्क, खाना र बसाइ नै गाह्रो भइरहेको हुन्छ। ऋण कसरी थाम्न सकिन्छ? १९/२० वर्षको बच्चाले त्यो बोझ कसरी बोक्न सक्छ?
मेरो अनुभवबाट म विद्यार्थी साथीहरुलाई जुनसुकै हालतमा पनि आफ्नो सपना नछाड्नु सुझाव दिन्छु। मैले निकै संघर्ष गरें। त्यसअघि म डिप्रेसनमा गइसकेकी थिएँ। मलाई आत्महत्या गरौंजस्तो लागिसकेको थियो। आफैंलाई सम्हाले। त्यस्तो गर्नुहुँदैन भनेर जापानिज भाषा राम्रो बनाउनेतिर लागें। पढाइमा जोड दिएँ। राम्रो पढाइ भएपछी महिनाको ३० हजार छात्रवृत्ति पाएँ । जसले मलाई सजिलो भयो। मन लागेर पढें, राम्रै कलेजमा नाम निकालें। पढ्नुपर्छ भन्ने दृढता भयो भने हप्ता २८ घन्टा काम नगरेपनि सर्वभाइभ हुन सकिन्छ। चार वर्षपछि खुशी मिल्छ।
पहिले पढ्छु, त्यसपछि कमाउछु भन्ने सपना नछाडिकन अघि बढ्नुपर्छ। म अहिले २४ घन्टामा २० घन्टा काम गर्दिनँ। अहिले म दोस्रो वर्षमा अध्ययनरत छु। चार वर्ष मन लगाएर पढ्छु। त्यसपछि मात्रै पैसा कमाउछु भन्ने सोच बनाएकी छु। अहिले मसँग फेरि आत्मविश्वास आएको छ। सवैलाई त्यही आत्मविश्वास राख्न सुझाउँछु।
भाषा र प्रणाली नबुझ्दा स्वास्थ्य सेवा लिन समस्या
डा एलिजा केसी भण्डारी , स्वास्थ्य नीति विभाग, नेसनल सेन्टर फर चाइल्ड एन्ड डेभलपमेन्ट, जापान

जापानको टोकियोस्थित सेन्ट ल्युक इन्टरनेसनल युनिभर्सिटीबाट जनस्वास्थ्यमा विद्यावारिधि गरेकी डा एलिजा केसी भण्डारी अहिले नेसनल सेन्टर फर चाइल्ड एन्ड डेभलपमेन्ट, जापानको स्वास्थ्य नीति विभागमा कार्यरत छिन्। एनआरएनए जापानकी उपाध्यक्ष रहेकी उनी एनआरएनए ग्लोबल हेल्थ कमिटीमा पनि आबद्ध छिन्। उक्त कमिटीले उनको नेतृत्वमा जापानमा ‘ग्लोबल नेपाली हेल्थ कन्फरेन्स’ गरेको थियो। जुन कन्फरेन्सले आप्रवासीहरुको स्वास्थ्यमा जोड दिएको थियो। जापानमा बस्ने नेपालीहरुको स्वास्थ्यलाई लिएर उनीसँग डिबी खड्काले गरेको संवादः
नेपालको तुलनामा जापानमा स्वास्थ्य सेवा लिन कति सहज वा असहज छ?
जापान युनिभर्सल कभरेज भएको देश हो। यहाँ प्रवेश गर्ने हरेक व्यक्ति स्वतः यहाँको बीमा सुरक्षा भित्र छिर्नुपर्ने हुन्छ। यहाँको राष्ट्रिय बीमाले ७० प्रतिशत उपचार वा स्वास्थ्य सुविधा उपयोग खर्च ब्यहोर्ने गर्छ भने केवल ३० प्रतिशत मात्रै व्यक्ति स्वयंले तिर्नुपर्ने हुन्छ। तसर्थ आर्थिक हिसाबले यहाँ सेवा लिन गाह्रो छैन। तर यहाँको स्वास्थ्य प्रणाली नबुझेका व्यक्तिहरुलाई भने विभिन्न समस्या हुन सक्छ। जस्तो भाषाको कठिनाइका आफूलाई के समस्या हुँदा कुन चिकित्सककहाँ जानुपर्छ भन्ने कुरा थाहा नहुनु, चिकित्सककहाँ गए पनि आफ्ना लक्षणहरु खुलेर भन्न नसक्नु आदि। अर्को यहाँ नेपालमा जस्तो केही भएर क्लिनिक वा अपतालमा जाँदैमा भएभरको जाँच गर्ने प्रणाली छैन। सकेसम्म कम तर पर्याप्त जाँचहरु गर्ने निमय छ। धेरैलाई तुरुन्तै निचोड चाहिने र यहाँको स्वास्थ्य सुविधा लिने प्रक्रिया फलोअपमा धेरै जानुपर्ने कुरा झन्झटिलो लागेर बीचमा जँचाउन जान छाड्छन्। तसर्थ सेवा लिन सबैलाई असहज त हैन, कोही–कोहीलाई गाह्रो पर्न सक्छ।
यहाँ विश्वमै राम्रो मानिएकामध्येकै एउटा स्वास्थ्य बीमा प्रणाली छ। नेपालीहरु त्यसबारे कत्तिको जानकार देख्नुहुन्छ?
अहिले अधिकांशलाई यहाँको स्वास्थ्य बीमाको बारेमा जानकारी छ। तर कतिलाई अपूरो जानकारी रहेको देखिन्छ। जस्तैः कतिलाई बीमा कार्ड देखाएर क्लिनिक वा अस्पताल गयो भने पछि जापान सरकारले करको बील पठाउँछ भन्ने धारणा छ। जबकि, बीमा र कर अफिसको आफसमा कुनै सम्बन्ध हुँदैन। कतिले बीमाको प्रिमियम धेरै तिर्नुपर्छ भनेर बीमा कार्ड नै प्रयोग नगर्ने गर्नुहुन्छ। सायद धेरैलाई बीमाको प्रिमियम उसको तलब अनुसार निर्धारण गरिन्छ भन्ने थाहा छैन। जस्तैः कसैको आम्दानी महिनाको दुई लाख छ भने उसको बीमा मासिक चार लाख कमाउनेको भन्दा थोरै हुन्छ।
यहाँ बस्ने धेरैले नेपालबाट औषधि मगाएर खाइरहेको देखिन्छ। यहाँ चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि पाइँदैन वा महँगो पर्छ?
बिना प्रेस्क्रिप्सन लिन मिल्ने औषधिहरु जसलाई हामी मेडिकल भाषामा ‘ओभर द काउन्टर ड्रग’ भन्छौं, त्यस्तो मेडिसिन जापानमा पनि पाइन्छ। यहाँको ड्रग स्टोहरुमा सामान्यतया दुखाइ कम गर्ने पेनकिलरहरु, घाउ, चोटपटक लाग्दा प्रयोग हुने औषधि आदि सजिलै पाइन्छ।
तर, धेरैलाई सायद कुनै औषधिले के काम गर्छ थाहा नभएर नेपालबाट आउँदा पारासिटामोल, साइनेक्स जस्ता औषधिहरु लिएर आउने गर्नुहुन्छ। कतिले यहाँ जाँच गर्दा महँगो पर्छ भन्ने डरले उच्च रक्तचाप, डाइबिटिज जस्ता रोगको औषधि नेपालबाट लिएर खाने गर्नुहुन्छ। कति औषधिहरु केही समयपछि जाँच गरेर डोज घटाउँदै लैजानुपर्ने हुन्छ। तर कुनै चेकजाँच नगरी वर्षौं एउटा औषधि सेवन गरेर बस्नु हुने नेपालीहरु पनि भेटेको छु मैले। यस्तो गर्नु स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ। तर सचेतनाको अभावले यस्तो जोखिमपूर्ण अभ्यास जापानबासी नेपालीहरुले गरिरहनुभएको छ।
प्रजनन उमेरका नेपालीहरुको संख्या यहाँ धेरै देखिन्छ। गर्भनिरोध लगायतका कुरामा असजिलो हो?
जापानमा नेपालमा जस्तो सजिलै प्रेस्क्रिप्सन बिना पसलमा परिवार नियोजन वा आंशिक गर्भनिरोधक चक्कीहरु पाइँदैन। यहाँ परिवार नियोजनको चक्कीका लागि चिकित्सकले प्रेस्क्रिस्पन दिनुपर्छ। हाल अनलाइन कन्सल्टेसनबाट आंशिक गर्भनिरोधक चक्की लिन पाइन्छ। तर नेपालको तुलनामा निकै महँगो हुन्छ। एउटै चक्कीको ११ देखि १५ हजारसम्म पर्न आउँछ। त्यस्तै नरप्लान्ट जस्ता सेवाहरु त छन् तर जन्मदर कम भएको देश भएकाले नेपालमा सित्तैमा उपलब्ध हुने सेवाका लागि यहाँ करिब ३० हजार देखि ५० हजारसम्म पर्न आउँछ। त्यसैले धेरै महिलाहरु नेपालबाटै नरप्लान्ट राखेर आउनुहुन्छ। तर त्यसको मिति सकिएपछि जापानमा निकाल्न मिल्छ भन्ने थाहा छैन। यहाँ महँगो हुने भएकाले निकाल्न खोज्नुहुन्छ। पाँच वर्ष राख्ने नरप्लान्ट कतिले ७÷८ वर्ष राखेको पनि देखेको छु।
बच्चा पाउने अवस्था भएपछि जोडीहरु नेपाल फर्किने गरेको देखिन्छ। यहाँ गर्भावस्थामा पनि सहज छैन हो?
जापानमा गर्भ रहेदेखि बच्चा पाउँदा र शिशुको समेत राम्रो हेरचाह हुन्छ। गर्भवती महिलाका लागि नेपालमा भन्दा यहाँ धेरै सहुलियत छ। उनीहरुलाई जहाँ पनि प्राथमिकतामा राखिन्छ। विशेषगरी जापानमा जन्मदर बढाउनका लागि पनि सरकारले विभिन्न योजनाहरु लिएर आएको छ। यहाँ गर्भवती महिला लागि निमयित जस्तो र शिशुको हेरचाह कसरी गर्ने भन्ने जस्ता विषयमा जानकारी दिइन्छ। तर भाषागत समस्यका कारण धेरै जनाले जापानमा बच्चा जन्माउन असहज हुने धारणा राख्छन्। फेरि बच्चा भइसकेपछि यहाँ होकेइन वा किन्डरगार्डेन पनि निःशुल्क छ। तर बच्चाहरु नेपालीभन्दा जापानी संस्कृति बढी सिक्ने, भाषा पनि नेपाली बोल्न असहज हुने देखिन्छ। जसका कारण आमाबुवाले बच्चा नेपालमै हुर्कियो भने टाठोबाठो हुन्छ भन्ने धारणा छ। कतिपय भने यहीँको स्वास्थ्य लगायतका कुराबाट सन्तुष्ट भएर यहीँ आफ्ना बच्चाहरुको स्कुलिङ गराइरहेको पनि हुनुहुन्छ।
तपाईंहरुले आयोजना गरेको पाँचौं ग्लोबल नेपाली हेल्थ कन्फरेन्समा मानसिक स्वास्थ्य पनि ठूलो चुनौतीका रुपमा रहेको विभिन्न रिसर्च प्रस्तुत भए। जापानमा नेपालीहरु मानसिक रुपमा अस्वस्थ बन्दै जानुको कारण के देखिन्छ?
मानिसिक स्वास्थ्यको समस्या नेपालीको मात्र नभएर जापान लगायत विश्वव्यापी समस्या हो। जापानको काम गर्ने शैली र यहाँको जीवनयान निकै तनावपूर्ण हुन्छ। यहाँ कामलाई भगवानको रुपमा लिइन्छ र सानैदेखि बच्चाहरुलाई आफ्नो काम आफैं गर्नुपर्छ, आफ्नो समस्या आफैं समाधान गर्नुपर्छ भन्ने जस्ता कुरा सिकाइन्छ। त्यसले मानिसहरुमा सहयोग खोज्ने बानी त्यति हुँदैन। त्यस्तै यहाँ अरु धेरै कारणहरु जस्तो घट्दो जन्मदर, बढ्दो महँगी, कामको तनावले गर्दा मानसिक रोगहरु बढ्दो क्रममा छ। नेपालीहरुको सन्दर्भमा हेर्ने हो भने पनि कारण यिनै हुन्। तर जापानी भाषा खासै नआउने र सानो उमेरमै जापानमा आउनाले मानसिक समस्या अझै बढिरहेको देखिन्छ। त्यस्तै कतिले मानसिक समस्या र शारीरिक समस्याको अन्तर पत्ता लागउन सक्दैनन् र धेरै क्लिनिक देखाएपछि पनि आफ्नो समस्या समाधान नहुँदा निराश हुने गरेको पाइन्छ।
यहाँ नेपालीको मानसिक स्वास्थ्यको चुनौती काम गर्ने तौरतरिका, जीवनशैली र संस्कृतिले थपेको हो?
हो, पक्कै पनि हामी कस्तो ठाउँमा हुर्कियौं, कहाँबाट आयौं भन्ने कुराले हाम्रो मानसिक स्वास्थ्यमा धेरै फरक पार्छ। जस्तै नेपालबाट प्लस टु गरेर आउँछन्, त्यतिखेरसम्म केही काम गरेका हुँदैनन्। यहाँ आउँदा पनि जापानी भाषा विद्यालयहरुमा आउँछन्। पढ्नेभन्दा काम गर्ने होडबाजी देखिन्छ। किनकि, स्कुलको शुल्क तिर्नुपर्यो, खान–बस्न जापानमा त्यत्तिकै महँगो छ। आफूले सोचे जस्तो जागिर पाइँदैन। नेपालमा परिवारका बीचमा रहेको व्यक्ति यहाँ आएर एक्लै हुन्छ। आफ्नो बिदाको समयमा साथीभाइको बिदा हुँदैन। छरछिमेकमा राम्रो चिनजान हुँदैन। तसर्थ एक्लोपन बढ्दै आउने हुन्छ। कतिको तलब राम्रो नभएर, काममा धेरै तनाव भएर पनि मानसिक स्वास्थ्यमा असर पर्न आउँछ। तसर्थ, जापानको र नेपालको जीवनशैलीको अन्तरलाई एडजस्ट गर्न नसक्दा मानसिक समस्या अझै थपिएको हो कि भन्ने भान हुन्छ।
कामको प्रेसर, महँगो जीवनशैली र कमाउनै पर्ने बाध्यताले पनि मानसिक दबाब बढेको हो?
धेरैले रात–दिन नभनी काम गरेको देखिन्छ। यो चाहिँ व्यक्ति इच्छामा भन्दा बाध्यता पनि हुन सक्छ। विशेषगरी विद्यार्थीहरुले हप्ताको ३८ घन्टा काम गर्दा यहाँ खासै राम्रो आम्दानी हुँदैन। किनकि, कामको आधिजस्तो पैसा स्कुलमा तिर्नपर्छ बाँकी रहेको पैसाले खान–बस्न, बिजुली, पानी, ग्यास आदिको बिल तिर्न ठिक्क हुन्छ। काम पनि सोचेको जस्तो सजिलो छैन यहाँ। धेरैजसो काम घन्टौं उभिएर गर्नुपर्ने हुन्छ। त्यस्तै, सानैदेखि स्वस्थ खानेकुरा खाएर हुर्किएका विश्वका औसत आयु बढी भएका जापानिजसँग काम गर्नु चुनौतीपूर्ण हुन्छ। यसो हुनाले व्यक्तिले आफ्नो लागि समय निकाल्न सक्दैनन्। जसका कारण मानसिक समस्या देखिन थाल्छ।
जापानमा मानसिक स्वास्थ्य चुनौतीपूर्ण छ भन्ने सबैलाई थाहा छ। तर त्यसमा कसरी काम गर्न सकिन्छ?
यसमा दीर्घकालीन र अल्पकालीन दुवै सुझाव दिन चाहन्छु। जापान आउने हरेक नेपालीले जापानिज भाषा कम्तीमा एन २ सम्म सकेर आउनुपर्ने प्रणाली भयो भने यहाँको जीवनयापन सजिलो हुन्छ। भाषा आजको भोलि नै सिक्न नसकिने भएकाले यसलाई दीर्घकालीन रुपमा लिनुपर्छ। त्यस्तै हाललाई गर्न सकिने काम भनेको हामीले टेलिहेल्थको माध्यमले यहाँका व्यक्तिहरुलाई केही विशेषज्ञसँग जोडिदिन पायौं र उहाँहरुले समस्या बुझेर औषधि प्रेस्काइब गर्दा त्यसलाई जापानसम्म पुर्याउन पायौं भने सायद धेरैलाई सहज हुन्थ्यो। नेपालका डाक्टरहरुलाई हो भने सबैले खुलेर आफ्नो लक्षणका बारेमा बताउन सक्छन्। त्यसले समस्याको पहिचान गर्न सकिन्छ। त्यही प्रेस्क्रिप्सनका आधारमा जापानमै औषधि खरिद गर्न सकिने वा जापान प्रवेश गर्दा चाहिने औषधि लिएर आउन सक्ने वातावरण अझै सहज भयो भने विस्तारै हामीले यहाँ नेपालीहरुमा रहेको स्वास्थ्य समस्या कम गर्दै लैजान सकिन्छ।
मानसिक समस्या बढ्नुका कारण के हुन्?
डा विजय ज्ञवाली, मनोचिकित्सक (जापानमा लामो समय काम गरेका उनीसँग गरिएको संवादमा आधारित।)

मानसिक समस्या समाधान जापान आफ्नै लागि पनि चुनौतीको विषय बनिरहेको छ। जापानिज मात्रै होइन, विदेशीहरुको आत्महत्या दर पनि जापानमा उच्च छ। तर जापान सरकारले विदेशीहरुको आत्महत्यालाई छुट्टै तथ्यांक बनाएर राख्दैन। त्यसको कारण खोज्ने क्रममा थाहा भयो, जापानमा धेरै कोरियन र चाइनिजले आत्महत्या गर्ने रहेछन्। विदेशीहरुको आत्महत्याको छुट्टै तथ्यांक राख्दा त्यहाँको जीवनशैली कठिन बन्दै गइरहेको सन्देश विश्वमाझ पुग्छ। जापान सरकार त्यस्तो होस् भन्ने चाहँदैन।
मैले सन् २००८ मा नेपालीहरुले जापानमा आत्महत्या गरेको तथ्यांक खोजेको थिएँ। त्यो वर्ष मात्रै ८ जना नेपालीले आत्महत्या गरेको तथ्यांक फेला पर्यो। त्यतिबेला नेपालीको संख्या जम्मा १५ हजार थियो। त्यो विषयलाई लिएर जापानी समुदायमा अपिल गर्न ‘जापान टाइम्स’मा लेख लेखेँ। त्यतिबेलाका प्रधानमन्त्री शिन्जो आबेलाई सम्बोधन गरेर जापानमा बस्ने विदेशीहरुको मानसिक स्वास्थ्यका लागि सरकारको ध्यानाकर्षण गराएँ। त्यो लेख निकै चर्चित भयो।
मानसिक समस्याको कारण
त्यो बेला जापानभरि नै मैले मानसिक स्वास्थ्यलाई लिएर १५/१६ वटा वर्कसप गरेँ। रेस्टुरेन्टमा काम गर्ने नेपालीले दिउँसो फुर्सद नपाउने भएपछि राति १२ बजेदेखि वर्कसप सुरु गरिन्थ्यो। त्यो क्रममा मैले दुई वटा समस्या देखेँ। एक– नेपालीले नेपालबाटै मानसिक स्वास्थ्य समस्या बोकेर गएका छन्। जस्तो, बैंकबाट ऋण लिएर त्यहाँ पुगेका छन्। श्रीमती र परिवारसँग छुट्टिएर बसेका छन्। ठूलो सपना देखाइएको छ तर त्यो पूरा हुने सम्भावना न्यून छ। अर्थात् त्यहाँ पुगेपछि समस्या बढे पनि मुल कारण भने नेपालबाटै सिर्जना भएको छ।
अर्को, स्वास्थ्यमा पहुँच। सामान्य परामर्शबाट निको हुने समस्यामा पनि उनीहरुले उपचार पाएनन्। उनीहरुलाई उपचारबारे जानकारी छैन। भाषामा समस्या छ। जस्तो, त्यहाँ कुक भिसामा गएकाहरु छन्। उनीहरु जापानिज भाषा जान्दै जान्दैनन्। विद्यार्थी भिसामा पुगेकाहरुले जापानिज भाषा जान्दछन् तर उनीहरुलाई मेडिकल विषयमा जानकारी हुँदैन।
विद्यार्थीका समस्या
जापानमा विद्यार्थी अर्थात् १८ देखि २५ वर्षकोलाई बढी भिसा लाग्छ। त्यहाँ विद्यार्थी कस्ता गएका छन् भने चिया पकाउन समेत जान्दैनन्। खाएको थाल समेत परिवारले उठाइदिने परिवेशबाट त्यहाँ पुगेका छन्। तर अब आफ्ना लागि सबै काम आफैंले गर्नुपर्यो। परिवारको ऋण, भाषा, स्कुलको शुल्क र आफ्ना लागि कमाउनुपर्यो। जुन कुरामा उनीहरु अभ्यस्त नै हुँदैनन्। त्यहाँ पानीभन्दा सस्तो अल्कोहल हुन्छ। तनाव बढ्यो कि त्यो उमेरकाले समाधानका रुपमा अल्कोहल प्रयोग गर्छन्। विस्तारै उनीहरुमा समस्या बढ्न थाल्छ। स–साना समस्या समाधानमा समेत अभिभावकको मुख ताक्नुपर्ने भएपछि विद्यार्थी आत्तिन्छन्। मानसिक समस्याको समाधान खोज्ने कुरा सिकाइएको छैन। आत्महत्या नै रोज्छन्।
अर्को, कामको कुरा पनि छ। नेपालमा झाडु–पोछा लगाउने लगाउने जस्ता कामलाई राम्रो दृष्टिले हेरिँदैन। त्यहाँ पुगेपछि सिप नसिकेको मान्छेले गर्ने त्यही तहको काम हो। उनीहरुलाई लाग्छ– म त कत्रो सपना बोकेर के गर्न आएको, यहाँ यस्तो गर्नुपरेको छ। त्यसले पनि मानसिक समस्या सिर्जना गर्छ।
कुकको समस्या
कुक भिसा भनेको मेरो दृष्टिमा आधुनिक जमानाको मानव बेचबिखन नै हो। ९० प्रतिशत कुक १५ देखि २० लाख तिरेर त्यहाँ पुग्छन्। उनीहरु गएर त्यहाँ काम गर्छन्। एउटा कुकले राम्रै रेस्टुरेन्टमा काम गर्दा पाउने एक लाख रुपैयाँ हो। उसले १५ लाख रुपैयाँ खर्च गर्यो भने १५ लाख कमाउन ३० महिना लाग्छ। कसैले त श्रीमती लैजान पाउँछन्। केही कमाइ हुन्छ। श्रीमती लैजाँदा पनि दलालले फेरि पैसा माग्छ।
मैले मेरो किताब ‘चिज–नान’ मा यो विषय उठाएको छु, जुन जापानी भाषामा समेत छ। बेस्टसेलरमध्येमा परेको छ। जापानिजलाई चिज–ना मन पर्छ। तर त्यो मिठो चिज–नान बनाउनेका दुःख उनीहरुलाई थाहा दिन लेखिएको हो। मैले लेखेपछि उनीहरुको प्रतिक्रिया थियो– काम गर्न आउन उल्टै पैसा तिर्नुपर्ने?
उनीहरुको काम गर्ने वातावरण पनि त्यस्तै छ। बाहिर ग्राहक बस्ने ठाउँ झिलिमिली भएर के गर्ने ? भित्र कुकले काम गर्ने ठाउँ साँघुरो हुन्छ। समाजसँग कुनै अन्तक्र्रिया हुँदैन। करिब–करिब जेलमा बसेजस्तो भयो। त्यसले मानसिक अवस्था झन् खस्किन्छ।
मानसिक मात्रै होइन, शारीरिक स्वास्थ्य समस्या पनि उनीहरुमा देखिन्छ। जापानमा गएका नेपाली कुकहरुलाई टिबीको समस्या देखिन्छ। जबकि, टिबी जापानमा निवारण भइसकेको छ।
चिज–नान आगोको भुंग्रोमा बनाउनुपर्छ। धुवाँ बाहिरिने ठाउँ हुँदैन। काम तनावपूर्ण हुन्छ। तनाव कम गर्न मदिरा सेवन बढ्छ। त्यसपछि टिबीको ब्याक्टेरिया सक्रिय हुँदो रहेछ। हामीले हेल्थ क्याम्प गरेको बेला धेरै कुकलाई टिबी देखिएको थियो।
अर्को जापान पुग्ने कुकको भिसा नै यस्तो प्रकृति हुन्छ कि उनीहरुले नेपाल र भारतको रेस्टुरेन्ट बाहेक अन्यत्र काम गर्न पाउँदैनन्। उनीहरु श्रीमती लिएर त जान्छन् तर श्रीमतीले दुई–तीन ठाउँमा काम गर्छिन्। हप्तामा एक पटक मुश्किलले श्रीमान्सँग भेट हुन्छ। स–सना बच्चाहरु नेपालमै हुन्छन्। एक जना यस्तोसम्म भेटेको थिएँ कि जसले जन्मेको दुई महिनामा बच्चा नेपाल छाडेर फर्किएकी थिइन्। नफर्कियो भने कमाइ हुँदैन। भिसा रिन्यु हुने सम्भावना पनि कम हुन्छ। त्यस कारण कुकका श्रीमतीको आत्महत्याको दर पनि बढी छ।
समाधान कसरी?
जापान सरकारले विदेशीको मानसिक स्वास्थ्यका लागि प्राथमिकता दिएको छैन। उनीहरु सबै सेवा आफ्नै भाषामा हुनुपर्छ भन्ने सोच राख्छन्। नेपाली त प्राथमिकतामा पनि छैनौं। नेपालीले जापानिज भाषामा आफ्ना समस्या राख्न पनि सक्दैनन्।
त्यसैले जानुपूर्वको तयारी नै समाधानको सबैभन्दा बलियो उपाय हो। त्यहाँको परिवेश, स्वास्थ्य सुविधा र समाधानलाई लिएर यतै पढाइ हुनुपर्छ। भाषा परीक्षा दिँदा स्वास्थ्यसँग सम्बन्धित केही प्रश्न राख्नुपर्छ।
नेपाल सरकार र त्यहाँस्थित दूतावासले पनि स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ। त्यहाँ वर्षको एक–दुई वटा हेल्थ क्याम्प सरकारी तहबाटै हुनुपर्छ। जति नेपालमा जाइकाले खर्च गर्छ, त्यो भन्दा बढी हाम्रा विद्यार्थीले त्यहाँ पठाउने गरेका छन्। जापानको अर्थतन्त्रमा नेपालको महत्वपूर्ण भूमिका रहेको कुरा पनि कूटनीतिक माध्यमबाट भन्न सक्नुपर्छ। त्यहाँ रहेका नेपाली संघ–संस्थाले पनि स्वास्थ्यलाई प्राथमिकता दिएर काम गर्नुपर्छ।
जापानमा ‘स्वस्थ भइएन भने केही पनि हुँदैन’ भन्ने संस्कृति छ [अन्तर्वार्ता]

कन्सल्ट्यान्ट न्युरोसर्जन डा लुशुन चालिसे जापानको नागोया केन्द्रीय अस्पताल स्नायु शल्यचिकित्सा विभागमा चिफ सर्जनका रुपमा कार्यरत छन्। त्यसअघि उनी द युनिभर्सिटी अफ टोकियोमा एसिस्टेन्ट प्रोफेसर थिए। उनले क्लिनिकल फेलोका रुपमा नायोगा युनिभर्सिटी र न्युरोसर्जनका रुपमा जापानका विभिन्न अस्पतालमा काम गरिसकेका छन्। नागोया युनिभर्सिटीको प्रोग्राम अन्तर्गत न्युरो सर्जरीमा विशेषज्ञता हासिल गरेका चालिसे जापान न्युरो सर्जिकल सोसाइटीको बोर्ड–प्रमाणित फेलो प्रशिक्षक पनि रहेका छन्।
साथै न्युरोसर्जरी र न्युरो अन्कोलोजीमा उनले नायोगा युनिभर्सिटीबाट पीएचडी गरी सेतो रत्ताmकोष प्रयोग गरेर ब्रेन ट्युमरको उपचार गर्ने नयाँ कार–टि थेरापीको अनुसन्धान तथा विकास गरेका थिए। विगत २२ वर्षदेखि जापानमा कार्यरत उनी त्यहाँ बस्ने नेपालीको स्वास्थ्य सेवामा पनि उत्तिाकै सक्रिय छन्। हालै जापानमा आयोजित एनआरएनए ग्लोबल नेपाली हेलथ कन्फोरेन्सको वैज्ञानिक समितिको अध्यक्षता समेत उनले गरेका थिए। जापानको स्वास्थ्य प्रणाली र नेपाली आप्रवासीहरुको स्वास्थ्यलाई लिएर डा चालिसेसँग गरिएको संवाद:
अन्यत्रको तुलनामा जापानमा नेपाली डाक्टरको संख्या किन न्यून देखिन्छ?
तीन वटा कारण मुख्य हुन सक्छन्। पहिलो– भाषा, दोस्रो– झन्झटिलो प्रक्रिया र तेस्रो– समकक्षतामा समस्या। जापानमा स्थायी रुपमा चिकित्सकीय अभ्यास गर्नका लागि मिनिस्ट्री अफ हेल्थ वेल फेयर लिने ‘नेसनल लाइसेन्स’ अंग्रेजीमा हुँदैन, जापानिज भाषामै हुन्छ।
नेपालमा अंग्रेजीमा पढाइ हुने भएकाले अंग्रेजी भाषा मुख्य भएका देशमा लाइसेन्स परीक्षा दिन सहज हुन्छ। जापानमा चिकित्सा अध्ययन समेत जापानिजमै हुने भएकाले लाइसेन्स पनि सोही भाषामा लिइन्छ। बिरामीसँग कुरा गर्दा पनि जापानिज नै प्रयोग गर्नुपर्ने हुन्छ। साइन्टिफिक कन्फरेन्समा मात्रै अंग्रेजी प्रयोग हुन्छ।
त्यसपछि जाँच दिनेसम्मको प्रक्रिया पनि लम्बाचौडा हुन्छ। अमेरिका वा अन्य देशले जस्तो चिकित्सकीय जनशक्ति बाहिरबाट भित्र्याउने नीति लिइसकेको छैन। अर्काे समकक्षताको पनि समस्या छ। जापानमा एमबीबीएस ६ वर्ष पढाइ हुन्छ। नेपालमा पाँच वर्ष भनिन्छ, साढे चार वर्ष पढाइन्छ। त्यसैले नेपालमा पढेर आएकोले मान्यता पाउन मुश्किल हुन्छ। अन्यबाट आएकोमा एक वर्षको इन्टर्नसिप गरेर जाँच दिने प्रणाली भने छ। युरोपबाट ६ वर्षे अध्ययन गरी आएकाले सिधै जाँच दिन मिल्छ तर यताको भाषा नमिलेको हुनाले पास गर्न गाह्रो हुन्छ। क्लिनिकल ट्रेनिङको लागि अस्थायी लाइसेन्स भने युनिभर्सिटीको जिम्मेवारीमा पाइन्छ।
जापान आफैंले पर्याप्त चिकित्सा जनशक्ति उत्पादन गरिरहेको छ?
जापानमा प्रतिवर्ष ७/८ हजार डाक्टर उत्पादन हुन्छन्। अहिले तीन लाखको हाराहारीमा चिकित्सक कार्यरत छन्। जुन नेपालसँग तुलना गर्दा धेरै नै हो। तर विकसित मुलुकको तुलनामा भने कम हो।
युरोप–अमेरिकाभन्दा यहाँ प्रतिव्यक्ति डाक्टरको अनुपात कम छ। जापानमा सेवा सकेसम्म राम्रो दिन खोज्ने प्रचलन छ। सकेसम्म बिरामीलाई बढी समय दिउँ भन्ने भावना यहाँका चिकित्सकमा हुन्छ। त्यस कारण पनि यहाँ जनशक्ति बढी चाहिन्छ।
स्वास्थ्य सेवामा बिरामीमाथि जापानिज र बाहिरिया भनेर प्रणालीमा विभेद छ कि छैन?
जापानमा युनिभर्सल हेल्थ केयर सिस्टम छ। जापानी वा यहाँ लामो समय बस्ने हरेकका लागि स्वास्थ्य बीमा अनिवार्य छ। सामान्यतया काम दिने कम्पनीले आफैंले बीमा पनि गरिदिन्छ। विद्यार्थी र आफ्नो व्यवसाय हुनेले सरकारको प्रणालीमा आउनुपर्छ। बीमाको शुल्क आम्दानीको अनुपातमा तोकिन्छ। जस्तो, मेरो कुरा गर्दा विद्यार्थीकालमा भन्दा अहिले ३० गुना (३ हजार प्रतिशत) बढी तिर्छु। बीमा भयो भने जुनसुकै अस्पताल गएर उपचार गराउन सक्नुहुन्छ। जापानी वा बाहिरिया केही फरक पर्दैन। सबैको सेवा लिने अधिकार छ। बीमा नियमित हुनेलाई उपचार सेवा लिँदा समस्या हुँदैन।
जापानमा निजी र सरकारी जुन अस्पतालमा पुगे पनि सैद्धान्तिक रुपमा शुल्क उस्तै लाग्छ। तपाईंले जुन अस्पताल गए पनि निश्चित प्रोड्युसर उस्तै हुन्छ। नेपालको जस्तो पैसा नभएकाले सरकारी खोजेर जाने अवस्था छैन। तर बेड चार्ज रुम अनुसार फरक हुन सक्छ। नेपालमा जस्तै क्याबिन र डिलक्स रुम हुन्छन्। अप्रेसन वा उपचारको लागि मात्रको हिसाब गर्दा सबै अस्पतालले चार्ज गर्ने उत्ति नै हो। निश्चित सीमामाथिको रकम बीमा अथवा सरकारले तिरिदिन्छ।
जापानमा स्वास्थ्य बीमाले ७० प्रतिशत र ३० प्रतिशत आफैंले बेहोर्नुपर्ने रहेछ। कुनै त्यस्ता सेवा पनि छन्, जुन पूर्ण निशुल्क हुन्छन्?
स्वास्थ्य बीमा प्रणाली भएकाले सरकारले दिने सुविधा त्यसै भित्र हो। तर नेसनल इमर्जेन्सीका बेला निशुल्क हुन्छ। जस्तो कोभिड–१९ का बेला सेवा निशुल्क गरियो। अनिवार्य लगाउनु पर्ने खोपहरु पनि निशुल्क हुन्छन्। बालबालिकाको हकमा भने जापानभरि ६ वर्ष मुनिकाहरुको स्वास्थ्य सेवा निशुल्क छ। केही नगरपालिकाहरुमा १५ देखि १८ वर्ष मुनिका लागि पनि स्वास्थ्य सेवा निशुल्क गरिएको छ।
अस्पतालमा आप्रवासी वा विदेशी बिरामीका लागि अंग्रेजी भाषामा परामर्श दिने वा लिने सुविधा हुन्छ कि हुँदैन?
प्रायः सबै ठाउँमा जापानी भाषा प्रयोग हुन्छ। जापानी भाषा जानेन भने स्वास्थ्य सेवा लिन गाह्रो भने हुन्छ। धेरै विदेशीहरुले उपचार लिने ठाउँमा ट्रान्सलेटर भने राखेको छ। तर सबै अस्पतालले त्यो सेवा दिन सक्दैनन्। शहरका अस्पतालमा भएका ट्रान्सलेटरको नेटवर्क प्रयोग गर्ने विकल्प हुन्छ। उनीहरुलाई निश्चित पारिश्रमिक दिएर राख्नुपर्ने हुन्छ वा बिरामी आफैंले ट्रान्सलेटरको व्यवस्था गर्नुपर्छ। यहाँ एनजीओहरुले निशुल्क ट्रान्सलेटरको व्यवस्था पनि गरिदिएको हुन्छ।
पठन–पाठन जापानी भाषामै हुने भएकाले सबै डाक्टरले अंग्रेजी बोल्दैनन्। यहाँ बस्ने धेरै नेपालीको पनि उति राम्रो अंग्रेजी हुँदैन र त्यस्तो अवस्थामा भाषाको समस्या हुन्छ। भाषाका कारण डाक्टरले राम्रोसँग हेरिदिएन भन्ने गुनासो रहन्छ।
नेपालमा भनिने गरेको ‘होलबडी जाँच’ (निश्चित जाँच) त्यहाँ बीमाले कभर गर्छ कि गर्दैन?
जापान सरकारको नियम अनुसार कम्पनीमा काम गर्नेहरुको त्यही कम्पनीले वर्षको एकपल्ट जाँच गराइदिनुपर्छ। नभए कम्पनीलाई कारबाही हुन सक्छ। त्यस बाहेक साना व्यवसाय, रेस्टुरेन्ट लगायतमा काम गर्नेहरुले आफैं जाँच गर्नुपर्छ। कुनै नगर वा महानगरले उक्त सेवाका लागि कुपन पनि पठाउँछ। त्यस्तो चेक–जाँचमा निश्चित छुटका लागि कुपन पठाउने गरेका हुन्छन्। जापानमा बीमाले रोगलाई मात्रै कभर गर्छ। जापान सरकारले रोगको परिभाषा नै दिएको छ। यस्ता नियमित चेकजाँच, गर्भवती अवस्थामा गराइने जाँचलाई बीमाले कभर गर्दैन।
जापानीजहरु सामान्यतया तन्दुरुस्त देखिन्छन्। एसियाली मुलुकहरु जस्तो, नेपाल र भारतको जस्तो भद्दा र मोटोपन भएका न्यून देखिनुको मुख्य कारण के हो?
यहाँको शिक्षा प्रणालीले नै स्वास्थ्यमा जोड दिन्छ। खेलकुदमा सक्रिय हुने, स्वस्थ आहार–बिहार गर्ने कुरा विद्यार्थीकालमै पढाइन्छ। सरकारी स्कुलले यसलाई प्रोत्साहन गर्छ। बच्चा बेलादेखि नै पोषणको महत्वदेखि लिएर शारीरिक अभ्यासको कुरा सिकाइन्छ। ‘स्वास्थ भएन भने केही पनि हुँदैन है’ भन्ने संस्कृति नै विकास गरिएको छ। त्यसले हेल्थ कन्सियस छन्। उनीहरुको विद्यार्थीकालदेखि नै नियमित चेक–जाँच हुन्छ। बच्चामै चाहिनेभन्दा बढी मोटो भयो वा दुब्लो भयो भने चाहिँ डाक्टरलाई देखाइन्छ। जसले गर्दा बच्चादेखि नै स्वस्थ हुन्छन्। यो प्रणालीभन्दा पनि संस्कृति हो। किनभने, जापानमा मोटो मान्छे राम्रो मानिँदैन। मोटोलाई खिसिट्युरी गरिन्छ। जस्तो, हामीकहाँ दुब्लो भयो भने ‘खान नपाए जस्तो, मरन्च्याँसे, भोकमरी’ भनेर खिसिट्युरी गरिन्छ। तर मोटोलाई खाइलाग्दो रहेछ भनिन्छ।
त्यसैले सामान्यतया जापानमा मान्छेहरु मोटाउन खोज्दैनन्। यहाँ सुरुमा आउँदा मैले यस मामलामा ‘कल्चरल सक’ पाएँ। जब म दुब्लाउँथे या गर्मी महिनामा घाममा डढेर कालो हुन्थेँ, जापानीजहरु ‘हेनसम’ भन्थे। नेपालमा गोरो, मोटो र पुक्क परेकोलाई राम्रो भनिन्छ। नेपाल पनि अहिले मोटोलाई राम्रो नभन्ने प्रणालीमा जान थालेको छ।
नेपालमा अभ्यास गर्ने चलन प्रेसर र सुगर बढेपछी हुन्छ। जापानमा कसरत गर्ने कुरालाई जीवनकै अंगका रुपमा लिइन्छ। खेलकुद गतिविधिमा अफिस र अस्पतालले प्रोत्साहन गर्छन्। उनीहरुको फुटबल वा बेसबल टिम हुन्छ। कम्तीमा हप्ताको एक पटक फुटबल र बेसबल खेल्न जाने हुन्छ। टोकियोमै पनि तपाईंले देख्नुभयो होला, ओपन स्पेस धेरै छ जहाँ मान्छेहरु रनिङ गरिरहेका हुन्छन्। बुझेको भनिएका मान्छे कसरतलाई गफको विषय बनाउँछन् र आफूले धेरै कसरत गरेको कुरा सानका साथ बताउँछन्।
खानपानमा पनि उनीहरु कन्सियस छन्। धेरै नेपालीले जापानिज खाना खल्लो भन्छन्। उनीहरुकोमा नुन, मसला र चिल्लो कम हुन्छ। यहाँको खानामा क्यालोरी नै कम छ। खाना नै स्वस्थ छ।
नेपालीहरु त्यो जीवनशैली र खानपिनमा अभ्यस्त देख्नुहुन्छ कि हुन्न?
यहाँ दुई थरीका नेपाली छन्। एक थरी जापानिज समाजमा भिजेका छन्। जापानिजसँगै बढी काम गर्छन्। उनीहरु चाहिँ जापानिज जीवनशैली र खानपान चाहेर÷नचाहेर पछ्याउँछन्। अर्काे थरी नेपाली जो काम गर्न आउँछन्। विद्यार्थी भिसामा आएर पैसा कमाउने हुन्छ। उनीहरु जापानिजसँग त्यति धेरै घुलमिल हुँदैनन्। रेस्टुरेन्ट र सुपरमार्केटमा काम पनि नेपालीसँगै हुन्छ। जापानमा बसे पनि जापान भित्रको सानो नेपालमा नै बाँचिरहेका छन् भने पनि हुन्छ। उनीहरुमा खानपिन सहित धेरैजसो कुरा नेपाली स्टाइलमै पाइन्छ।
नेपालीले स्वास्थ्यका लागि त्यहाँ भोग्ने चुनौती के–के हुन्?
हामीले यसपल्ट जापानमै आयोजित ग्लोबल नेपाली हेल्थ कन्फरेन्सको घोषणापत्रमा पनि प्रष्ट रुपमा औंल्याएका छौं। हामीले त्यहाँ भनेका छौं– प्रवासी नेपालीहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पुग्ने मुख्य बाधाहरूः भाषा, संस्कृति, कानुनी र वित्तीय स्थिति, शिक्षाको स्तर र अन्य नदेखिने उल्झनहरु छन्। यो सम्मेलनले उक्त अवरोधहरू हटाउन र आप्रवासीको लागि स्वास्थ्य सेवा सुधार गर्न काम गर्ने विभिन्न व्यक्ति र संस्थाहरूलाई प्रवासीहरु र सम्बन्धित विशेषज्ञहरूबीच सम्पर्क स्थापित गर्ने प्लेटफर्म प्रदान गर्न महत्वपूर्ण कदम चाल्छ।
प्रजनन् स्वास्थ्यसँग जोडिएको कुरामा जापानी समाज कति खुला हो ? इमर्जेन्सी पिल्स पनि नेपालबाट मगाउने वा अबोर्सन गराउन नेपाल आउने गरेको सुनिन्छ?
यहाँ एउटा त सिस्टमले अप्ठ्यारो पारेको छ। उनीहरु आधिकारिक रुपमा भन्दैनन् तर ओपन सेक्रेट के हो भने, यहाँको सरकारले बच्चा जन्माउन प्रेरित गरिरहेको छ। त्यसैले परिवार नियोजनको सुविधा उति दिएको छैन। जापानमा बच्चाको जन्मदर १/२ छ। एक आमाले एक मात्रै बच्चा जन्माउँछ। त्यसैले उनीहरुको जनसंख्या घट्ने भयो। त्यसैले परिवार नियोजनलाई प्रोत्साहन गरेको छैन।
अर्को, यसमा बीमाले कभर गर्दैन। परिवार नियोजन भनेको रोग लागेर गर्ने होइन, त्येसैले बीमाले हेर्ने रोगको साँघुरो परिभाषा भित्र पर्दैन। बच्चा जन्माउन नचाहनु रोगको परिभाषामा नपर्ने भएकाले जापानमा पिल्स महँगो छ। नेपालमा २ सय रुपैयाँ नपर्ने इमर्जेन्सी पिल्स यहाँ २० हजारसम्म पर्न सक्छ। बरु बच्चा जन्माउँदा सरकार तथा नगरपालिकाले सुविधा दिन्छ।
आप्रवासीको स्वास्थ्यका लागि छुट्टै प्राथमिकता प्रणालीमा छ कि छैन?
यो हेल्थ मात्रै होइन, राजनीतिक कुरा हो। नेपालमा चार जात ३६ वर्ण भन्छौं। बहुभाषिक देश भयो। तर जापानिजहरुले आफू एउटै जाति बताउँछन्। होमोजिनियस पपुलेसन मानेका छन्। त्यो सर्वस्वीकार्य भइसक्यो। आर्य मुलका, गोरा छाला र कालालाई विदेशी भन्छन्। त्यस्तो जनसंख्या २ प्रतिशत मात्रै छ। हामी नेपाली लगायतका विदेशी नेगलेक्टेड पपुलेसनमै पर्छौं। जापानमा पोलिसी बनाउँदा मेजोरिटी जापानीलाई भनेर बनाउँछन्। विदेशीलाई मात्रै फाइदा हुने किसिमको प्रणाली हैन। धेरै आप्रबासी संख्या भएका शहरहरुमा स्थानीय सरकार पनि सजग बन्दैछ। तर केन्द्रीय सरकारले अहिले नै आप्रबासीको लागि विशेष व्यवस्था गरेको देखिँदैन। विभिन्न सपोर्ट ग्रुपहरु भने छन्।
गैरसरकारी संस्था छन्। विभिन्न क्षेत्रमा नेपाल र भियतनामीले काम गरेका छन्। २४ घन्टा चल्ने पसल नै नेपाली र भियतनामीले काम नगरी नचल्ने स्थिति आइसक्यो। जनसंख्या र सामाजिक प्रभाव बढेसँगै हेल्थकेयर पहुँचमा पनि सहयोग पुगेको छ। केन्द्रीय स्तरको नीति निर्माणमै पुग्न भने समय लाग्छ। त्यसैले अहिलेसम्म त्यस्तो प्राथमिकता देखिँदैन। तर कानुनी रुपमा भने आप्रबासी भनेर नै स्वास्थ्य क्षेत्र लगायत अरु कुनै पनि विषयमा भेदभाव भने गर्न पाइँदैन।
आप्रवासी नेपालीको मानसिक स्वास्थ्य चुनौतीपूर्ण देखिएको छ। त्यसको समाधान कसरी हुन सक्छ ? नेपाल र जापान सरकारले के गर्न सक्छन्?
जापानमा एक लाख ४० हजार नेपाली भएका कारण नेपाल सरकारले जापानलाई विशेष ध्यान दिनुपर्छ। आफ्नो देशका १ लाख ४० हजार भएको ठाउँ भनेर नजरअन्दाज गर्नु हुदैन। यहाँका नेपालीहरुको स्वास्थ्य बिग्रिँदा देशलाई घाटा नै लाग्छ। रेमिट्यान्सले देश चलेको छ। दीर्घकालमा रेमिट्यान्सले देश चल्दैन भन्ने धारणा भएको मान्छे हुँ। अहिले हामीले लगानी गर्नुपर्ने नै स्वास्थ्यमा हो। स्वस्थ्य रुपमा कामै गर्न नसकी कसरी अर्थोपार्जन हुन्छ ? त्यसैले जापानले स्वास्थ्यलाई बढी प्राथमिकता दिएको हो।
नेपाल सरकारले नेपालमा हेर्नुपर्ने नै छ तर जापानमा पनि विशेष प्राथमिकता दिन जरुरी छ। अहिलेसम्म नेपाली राजदूतावासले यसका लागि कुनै पनि ठोस कार्यक्रम गरेको थाहा छैन। जापानमा ४९५ जनाले सक्रिय रुपमा काम गरिरहेका छौं। अहिले ‘जापान नेपाली मेडिकल एसोसिएसन’ नै भनेर थप संगठित रुपमा अघि बढ्न खोज्दैछौं। यसअघि पनि हामीले जापानमा रहेका नेपाली स्वास्थ्यकर्मीकै सक्रियतामा निशुल्क हेल्थ क्याम्पहरु गरेका छौं। टेलिमेडिसिनमार्फत पनि नियमित रुपमा विभिन्न परामर्श सेवाहरु दिएका छौं। राजदूतावास, नेपालमा रहेका चिकित्सकसँग र हामीले मिलेर केही काम गर्नैपर्नेछ। राजदूतावास र एनआरएनए जापानले हाम्रो सहयोग लिन सक्नुपर्छ। अहिलेसम्म उल्टो भएको छ। अहिले हामीले पहल गर्दा उहाँहरु सहभागी हुने प्रचलन छ। उहाँहरुले नेतृत्व गरेर हामीलाई सहभागी गराउँदा नतिजा राम्रो आउँछ।
यो पनि पढ्नुहोस्ः
जापानमा नेपालीको स्वास्थ्य-१ : बढ्दो छ मानसिक समस्या
जापानमा नेपालीको स्वास्थ्य- २: मानसिक समस्या बढ्नुका कारण के हुन्?
जापानमा नेपालीको स्वास्थ्य–३ : व्यवस्थित प्रणाली, अव्यवस्थित नेपाली
जापानमा नेपालीको स्वास्थ्य- ४: १९-२० वर्षको बच्चाले यती धेरै बोझ कसरी बोक्न सक्छ?
जापानमा नेपालीको स्वास्थ्य-५ : भाषा र प्रणाली नबुझ्दा स्वास्थ्य सेवा लिन समस्या