बाल आस्थमालाई दम भनेर बुझ्ने गरिन्छ। आम मानिसको बुझाइमा भने सबै व्यक्तिमा हुने दमलाई एकै प्रकारले लिने गरिएको पाइन्छ।
बाल दम भन्नाले बालबालिकाको श्वास फेर्ने नली साँघुरिएको अवस्था हो। बाल दम जटिल हुँदै जाँदा बालबालिकाको श्वास फेर्ने नलीको मांसपेसीहरु खुम्चिँदै जाने गर्छ। बालबालिकामा हुने दमलाई पनि उमेर समूह अनुसार विभाजन गरिएको हुन्छ। ५ वर्षभन्दा कम उमेरका बालबालिकाहरुमा भाइरल इन्फेक्सनका कारण पनि श्वास फेर्न गह्रो हुने अवस्था आउँछ।
भाइरल इन्फेक्सनका कारण श्वास फेर्ने नली पटकपटक खुम्चिरहेमा त्यसलाई पनि दम भन्ने गरिन्छ। त्यसलाई नक्कली दम भनेर बुझने गरिन्छ। यदि ५ वर्षभन्दा माथिका बालबालिकामा स्याँ–स्याँ वा छाती बज्ने समस्या भइह्यो भने त्यसलाई बाल दम भयो भनेर बुझ्नुपर्छ।
बालबालिकालाई दम हुनुको ९० प्रतिशत कारण एलर्जी हो। त्यस्तै ४० वर्षभन्दा कम उमेरका मानिसमा दम भएमा त्यसको प्रमुख कारण नै एलर्जी हो। तर ४० वर्षभन्दा माथिका मानिसमा दम भएमा त्यसको प्रमुख कारण धूमपान तथा वातावरणीय कारण हुन सक्छ।
गाउँघरमा दाउराको प्रयोगबाट खाना पकाउँदा त्यसबाट निस्कने धुँवाले असर गर्दा पनि कतिपयलाई दमको समस्या आउन सक्छ, जुन वातावरणीय कारण अन्तर्गत पर्छ।
बालबालिकामा दमको समस्या किन आउँछ ?
कतिपय बालबालिकामा आमाको गर्भमा रहँदादेखिको कारणले दमको समस्या आउने गर्छ। गर्भवती अवस्थामा आमा धेरै तनावपूर्ण अवस्थामा हुँदा, धूमपान तथा मद्यपान गर्ने आमाबाट जन्मिएको बच्चामा, आमामा पोषणको अभाव भएको अवस्थामा, गर्भवती महिला वातावरणीय प्रदूषण भएको स्थानमा बसेको अवस्थामा बच्चाको श्वासप्रश्वास नलीमा असर गरी दम हुन सक्ने कतिपय अध्ययनले देखाएका छन्।
बच्चा जन्मिएपछिका कारक तत्वहरु
नर्मल रुपमा जन्मिएका बच्चामा भन्दा शल्यक्रियाबाट जन्मिएका बच्चामा दम हुने सम्भावना बढी हुन्छ। आमाको दूध खाएका बच्चामा दम हुने सम्भावना एकदमै कम हुन्छ। आमाको दूध खाएका बच्चामा नखाएका बच्चामा भन्दा विभिन्न इन्फेक्सन हुने सम्भावना एकदमै कम हुन्छ। जसका कारण आमाको दूध नखाएका बच्चामा दम हुने सम्भावना बढी हुन्छ।
राष्ट्रिय खोप अभियान अन्तर्गतका खोप बच्चालाई नलगाएको अवस्थामा निमोनिया तथा विभिन्न प्रकारका इन्फेक्सन हुन सक्छ। खोप लगाउन छुटेका बच्चामा इन्फेक्सनको खतरा बढी हुने भएकोले दमको जोखिम पनि बढी हुने गर्छ।
बच्चा १ वर्ष नभएसम्म गाई–भैंसीको दूध दिनु हुँदैन
गाउँघरमा अझै पनि बच्चालाई आमाको दूध पर्याप्त नभएको अवस्थामा गाई–भैंसीको दूध खुवाउन सुरु गरिहाल्छन्। विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार पनि बच्चा जन्मिएको एक वर्ष नपुग्दासम्म गाई–भैंसीको दूध दिनु हुँदैन। आमाको दूध नआएको विशेष अवस्थामा चिकित्सकको सल्लाह अनुसार कुनै प्रकारको दूध दिन सकिन्छ।
गाई–भैंसीको दूधमा आमाको दूधमा भन्दा प्रोटिनको मात्रा एकदमै बढी हुन्छ जुन बच्चाको मिर्गौलाका लागि हानिकारक मानिन्छ। १ वर्ष नपुग्दै गाई–भैंसीको दूध खाएका बच्चामा पछि गएर एलर्जी हुने सम्भावना बढी हुन्छ।
आज–भोलि जथाभावी एन्टिबायोटिकको प्रयोग हुने गरेको छ। अनावश्यक रुपमा एन्टिबायोटिक प्रयोग हुँदा शरीरमा हुनुपर्ने राम्रो किटाणुहरुलाई नष्ट गरिदिने काम गर्छ। जसले शरीरमा रोगप्रति लड्न सक्ने क्षमता कमजोर बनाउने तथा एलर्जी हुने सम्भावना बढाउँछ। जसले बच्चामा दम गराउन सक्छ।
पछिल्लो समय पश्चिमा जीवनशैली तथा खानपानका कारण पनि बच्चामा एलर्जीजन्य समस्या बढिरहेको छ। वंशाणुगत तथा वातावरणीय तत्वका कारण एलर्जीजन्य समस्याका रुपमा रहेको दमको समस्या बढ्ने गर्छ।
बालबालिकालाई दम भएको अभिभावकले कसरी थाहा पाउने ?
बालबालिकाका उमेर अनुसार देखिने लक्षणका आधारमा अभिभावकले दम भएको थाहा पाउन सक्छन्। यदि दुई वर्षभन्दा कम उमेरको बच्चामा खोकी लाग्ने, छाती बज्ने जस्ता समस्या पटकपटक देखिएको छ भने उनीहरुलाई दम भएको शंका गर्न सकिन्छ।
बच्चाले हास्ँदा, खेल्दा पनि छाती बजेको महसुस अभिभावकले गर्न सक्छन्। दमको समस्या आएपछि बच्चाले साँझ, बिहान र रातको समयमा बढी खोक्ने गर्छन् भने दिउँसो खोकी कम हुन्छ। छाती नबज्दा पनि बच्चालाई दुई साताभन्दा बढी समयसम्म खोकी लागेमा चिकित्सककहाँ परीक्षणका लागि लैजानुपर्छ। औषधि खुवाउँदासम्म ठिक हुने तर औषधि सेवन बन्द गर्नाेसाथ खोकी लागेको अवस्थामा बच्चालाई दम भएको शंका गर्न सकिन्छ।
५ वर्षभन्दा माथि उमेरका बच्चाहरुले पनि साथीभाइसँग खेल्दा, दौडदा चाँडै थाक्ने तथा छाती बजेको जस्तो अनुभव गरेमा बाल दम भएको हुन सक्छ।
बालबालिकामा दमका कारण आउन सक्ने स्वास्थ्य जटिलता
बालबालिकालाई दम हुँदा पनि खोकी लागेको भन्दै फार्मेसीबाट औषधि लगेर सेवन गरिरहने तथा राम्रो उपचारमा नगएको अवस्थामा श्वासप्रश्वासको नली नै बिग्रने गर्छ।
यसरी श्वासप्रश्वास नली बिग्रँदै गएको अवस्थामा वयस्क अवस्थामा सीओपीडी दमको समस्या देखिन सक्छ। यस्तो अवस्थामा फोक्सोले काम गर्न सक्ने क्षमतालाई पुनः फिर्ता ल्याउन नसक्ने गरी बिग्रने गर्छ।
औषधि सेवनले मात्रै बाल दम निको हुन्छ ?
आजसम्मको बाल दमको उपचारका लागि शल्यक्रिया विधिको प्रयोग गरिँदैन। दम एक प्रकारको दीर्घ रोग भएकोले बारम्बार दोहोरिन सक्छ। दम भएको अवस्थामा जथाभावी एन्टिबायोटिकको प्रयोग हुँदा त्यसले नकारात्मक असर बढी गर्छ। पछिल्लो समय प्रयोग हुने इनेलरथेरापी उपचार विधि वैज्ञानिक मानिएको छ। बच्चाको अवस्था अनुसार चिकित्सकको सल्लाहमा यस उपचार विधि प्रयोग गर्नु उपयोगी हुन्छ। यसको नकारात्मक असर तुलनामा रुपमा ज्यादै न्यून रहेको छ। एलर्जिक दममा एल्जेन फेला पार्न सकेमा एल्जेन इम्युनोथेरापी दिएर पनि रोगको उपचार गर्न सकिन्छ।
नेपालमा बाल दमको अवस्था
नेपालमा हालसम्म बाल दमको अवस्थाका बारेमा यकिन तथ्यांक राखेको पाइँदैन। बाल दमको अवस्थाबारे स्वास्थ्य मन्त्रालयले पनि तथ्यांक संकलनका लागि खासै चासो देखाएको पाइँदैन।
काठमाडौं लगायत शहरी क्षेत्रमा उपचारका लागि आउने बालबालिकामा १० जनामध्ये करिब ३ जनालाई दमको समस्या भएको पाइन्छ।
उपचारको पहुँचको अवस्था
अझै पनि बालबालिकामा दम हुन्छ भन्ने चेतना धेरैलाई छैन। उपचारका लागि अस्पतालसम्म पुगेका धेरैजसो बिरामीलाई कफसिरप, एन्टिबायोटिक जस्ता उपचार विधिको प्रयोग गर्ने प्रचलन अझै पनि धेरै छ। जसका कारण बालबालिकाले रोग अनुसार चिकित्सक र उपचार नै नपाएको अवस्था विद्यमान छ।
अझै भन्नुपर्दा नेपालमा दमको उपचार गर्ने विशिष्टीकृत चिकित्सकको संख्या ज्यादै न्यून रहेको अवस्था छ। सरकारी स्तरको कान्ति बाल अस्पतालमा समेत बाल दमको उपचार गर्न सक्ने १ जना मात्रै चिकित्सक रहेको अवस्था छ। निजी अस्पतालको सन्दर्भमा भन्नुपर्दा पनि एकदमै न्यून संख्यामा चिकित्सकहरु यस विधामा छन्। त्यसैले दक्ष जनशक्तिको अभावका कारण नेपालमा बाल दमको उपचार सही समयमा हुन सकेको छैन।
बालबालिकालाई दम हुनै नदिन अभिभावकको भूमिका
बालबालिकालाई दम हुनै नदिन अभिभावकको भूमिका आमा गर्भवती हुँदादेखि नै हुन्छ। गर्भवतीको वातावरणको अवस्था, खानपान, जीवनशैली लगायतका कुराहरुले यसमा प्रभाव पार्छ। गर्भावस्थामा तनावमुक्त जीवनशैली भएको अवस्थामा बालबालिकालाई दम हुने सम्भावना कम गर्न सकिन्छ।
त्यस्तै आमालाई कुनै समस्या नभएको अवस्थामा सकेसम्म नर्मल डेलिभरी गराउनुपर्ने हुन्छ। सामान्यतया नर्मल डेलिभरीबाट जन्मिएका बच्चाको रोगसँग लड्ने क्षमता शल्यक्रियाबाट जन्मिएका बच्चामा भन्दा धेरै हुन्छ।
वंशाणुगत कारणले हुने दम बाहेक घरको वातावरण स्वच्छ राख्दा, प्रशोधित खानेकुराको सेवन कम गराउने जस्ता सावधानी अपनाएको अवस्थामा बाल दमको जोखिमलाई कम गराउन सकिन्छ।
(बाल रोग विशेषज्ञ डा गौतमसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित। डा गौतम नेपाल आस्थमा एलर्जी सेन्टर लाजिम्पाटमा कार्यरत छन्।)