आयुर्वेदको शाब्दिक अर्थ जीवनको विज्ञान भन्ने हुन्छ। यसको प्राथमिक उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गरी स्वास्थ्यको उच्चतम अवस्था हासिल गर्ने र तत्पश्चात रोग लागि हालेमा रोगको उपचार गर्ने हो। स्वस्थ व्यक्तिको परिभाषा अन्तर्गत शारीरिक, मानसिक, भावनात्मक साथै आध्यात्मिक पक्षहरूको सन्तुलन भन्ने बुझिन्छ। मधुमेह मानव जातिमा रहेको एउटा हजारौ वर्ष पुरानो रोग हो। मानव सभ्यताले हजारौ वर्षदेखि यस रोगविरूद्ध लड्ने प्राकृतिक उपायहरू विकास गरेको छ। सर्वप्रथम अर्थवेवेदमा मधुमेहको वर्णन "आश्राव" को रूपमा गरिएको छ। आश्राव भन्नाले अधिक मात्रामा पटक पटक मूत्र निस्कनु भन्ने बुझिन्छ। मधुमेह प्रारम्भिक अवस्थामा एउटा कफज विकार हो जुन समयमै उपचार नगर्दा यो विकार मधुमेहमा परिणत हुन्छ।
मधुमेहलाई सुगर अथवा डायबिटिज पनि भनिन्छ। शहरीकरण र जीवनशैलीमा आएको परिवर्तनसँगै मधुमेहको व्यापकता नेपाली समाजमा पनि बढ्दो छ र घर घरमा सरोकारको विषय बन्न पुगेको छ। नेपालमा मधुमेह ८.५ प्रतिशत वयस्कहरूमा रहेको पाइयो र संसारभरि सन् २०४० सम्म १०.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ। मधुमेहले नेपाल भारत लगायतका विकासशील देशहरूमा महामारीको रूप लिइरहेको बेलामा हजारौ वर्षदेखि आयुर्वेद चिकित्सामा प्रचलनमा रहेका मधुमेह विरूद्धका प्राकृतिक उपायहरू मधुमेह रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय स्वास्थ्य सेवाको मूलधारमा समायोजन गर्नु आवश्यक छ।
आधुनिक चिकित्सा विज्ञानको प्रशिद्ध जर्नल "द ल्यान्सेट" ले आफ्नो सम्पादकीयमा लेखेको छ "आधुनिक चिकित्सा विज्ञानले रगतमा रहेको चिनी नियन्त्रणको लडाइमा सफल भए पनि मधुमेह विरूद्धको युद्ध हार्दैछ।" यो कथनले अहिलेको परिस्थितिलाई इंगित गरेको छ। एकातर्फ मधुमेहको उपचारका लागि नयाँ नयाँ प्रभावकारी औषधिहरूको आविष्कार भइरहेको छ भने अर्कोतिर मधुमेह तथा यसका जटिलताहरूको प्रकोप महामारीको रूप लिइरहेको छ। मधुमेहले व्यक्तिको जीवनको गुणस्तरमा उल्लेख्य नकारात्मक असर पार्दछ। मधुमेह एउटा रोग मात्र नभइ रोगहरूको समूह हो र यसले कालान्तरमा शिरदेखि पाउसम्मका सबै अंगहरूमा प्रभाव पार्दछ। मधुमेह लगायतका नसर्ने रोगहरू र यी रोगहरूको जटीलतामा भएको वृद्धिका कारण व्यक्तिगत तथा राष्ट्रिय रूपमा स्वास्थ्यमा व्ययभारको उल्लेख्य वृद्धि भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार यदि समयमै मधुमेह लगायतका नसर्ने रोगको प्रभावकारी रोकथाम तथा नियन्त्रणका उपायहरू अपनाइएन भने यसले देशको आर्थिक वृद्धिमा नै नकारात्मक असर पर्न सक्छ।
मधुमेहलाई कहिले पनि रगतमा बढेको चिनीको मात्राका रूपमा मात्र बुझ्नु र त्यसै अनुसार उपचार गरिनु हुँदैन। मधुमेह सँगसँगै अन्य विकारहरू जस्तै मोटोपना, उच्च रक्तचाप, रगतमा चिल्लोपना वृद्धि आदि पनि देखापर्ने हुँदा रगतमा चिनीको मात्रा नियन्त्रण गर्नुका साथै उपरोक्त विकारहरूलाई पनि सम्बोधन गर्नु मनाशिव हुन्छ। यस प्रकार मधुमेहका साथमा मोटोपना लगायतका विकारहरू सम्बोधन गर्नसक्ने उपचार विधि आयुर्वेदमा विस्तृत रूपमा वर्णन गरेको पाइन्छ। जीवनशैलीबाट उत्पन्न मधुमेह लगायतका रोगहरूलाई औषधिले मात्र ठीक पार्छु भन्नु पानी भरिएको कोठालाई पोछा लगाएर सुकाउछु भन्नु जस्तै हो। यस्ता रोगहरूलाई पानीको मूल नै बन्द गरेदजस्तै जीवनशैलीमा परिवर्तन गरेर मात्रै नियन्त्रण गर्न सकिन्छ। सदवृत्त, योग, दिनचर्या, ऋतुचर्या, आहार कल्पना र औषधिको माध्यमबाट आयुर्वेदमा मधुमेहको उपचार गरिन्छ।
निदान
मधुमेहको उपचारका लागि यसका कारक तत्वहरूको ज्ञान अति आवश्यक छ। सुश्रुतका अनुसार रोगको पहिलो उपचार विधि भनेको निदान परिवर्जन अर्थात रोगका कारक तत्वहरूबाट टाढा रहनु हो। मधुमेहको सामान्य निदान अन्तर्गत आहार र विहार दुवै पर्दछन र यी दुवैले शरीरमा कफको वृद्धि गरी मधुमेह उत्पन्न गर्दछन। आयुर्वेदमा बीज दोष अर्थात आनुवंशिक कारण पनि मधुमेहको कारण मानिएको छ।
जीवनशैलीजन्य कारण
अत्यधिक निद्रामा रमाउनु
दिउँसोमा सुत्ने बानी
व्यायामको अभाव
आलस्य
निश्चिन्त हुनु
लामो समयसम्म पल्टिरहनु
लामो समयसम्म एउटै ठाउमा बसिरहनु
आहारजन्य कारण
अत्यधिक मात्रामा नियमित रूपमा निम्न खानेकुराको सेवन गर्नु
दही
माछा मासु
दूध वा दूग्धजन्य पदार्थ
नयाँ अन्न
गूड वा गूडबाट बनेका खानेकुरा
शीतल चिल्लोपनायुक्त र गुलियो खानेकुरा
अन्नको झोलिलो पदार्थ
गुलियो नूनिलो अमिलो चिल्लो शीतल पदार्थको सेवन गर्नु
सुरा सेवन
भोक नलागेर पनि खानु
अत्यधिक चिल्लो पदार्थ सेवन गर्नु
नियमित रूपमा शरीर संशोधन नगर्नु
मधुमेहका प्रकार
आयुर्वेदमा २ प्रकारका मधुमेहको वर्णन पाइन्छ
स्थूल बिरामी मोटोपनायुक्त हुन्छ।
कृश बिरामी दुब्लो पातलो हुन्छ धातु क्षय भएको हुन्छ।
प्रकार १ः यो प्राय बालबालिकामा हुने गर्दछ र यसमा बिरामीलाइ इन्सुलिनको आवश्यकता पर्दछ किनभने शरीरले इन्सुलिन उत्पादन गर्न सक्दैन।
प्रकार २ः यो वयस्क मानिसमा हुने गर्दछ। स्वास्थ्य संस्थाको बहिरंग सेवामा प्राय यस प्रकारको मधुमेह पाइन्छ। र गर्भावस्थामा हुने मधुमेह।
प्रकार २ मधुमेहमा इन्सुलिनको अभाव रोगको उत्तरार्धमा मात्रै देखिन्छ। सुरूवातमा इन्सुलिन सामान्यभन्दा बढी नै हुन्छ तर त्यसले आफ्नो काम भने गर्न सक्दैन। यस अवस्थालाई इन्सुलिन रेसिस्टेन्स भनिन्छ। शरीरमा बढेको चिनी वा सुगरको मात्राले शरीरका पेन्क्रियाज लगायत सबै अंगहरूमा प्रतिकूल प्रभाव पर्दछ।
लक्षण
मधुमेह लक्षण नदेखिएरै पनि हुन सक्छ। नियमित रगत वा पिसाब परीक्षणबाट मात्रै पत्ता लाग्न सक्छ। लक्षण देखिएमा निम्नानुसार देखिन सक्छन
अत्यधिक प्यास लाग्नु
मोटोपना र कालान्तरमा दुब्लाउदै जाने
अत्यधिक भोजन गर्नु
पटक पटक र अत्यधिक मात्रामा मूत्र लाग्नु
महिलाहरूमा योनीबाट सेतो पानी बग्नु
पुरूषमा यौन दूर्बलता
धमिलो देखिनु
टाउको भारी भइरहनु र स्पष्टतापूर्वक सोच्न नसक्नु
खुट्टा झम्झमाउनु
शारीरिक दुर्बलता
मधुमेहको उपचार
मधुमेहको उपचार रोग र रोगीको अवस्था अनुसार गरिन्छ। मधुमेह उपचारका लागि दुइवटा विधिहरू रहेका छन।
संशोधन (शारीरिक मलहरू निष्कासनबाट)
संशमन (औषधिको प्रयोगबाट)
बिरामी शारीरिक र मानसिक रूपमा बलियो भएमा संशोधन गर्न सकिन्छ र बिरामी दुर्बल भएमा औषधी द्वारा धातुवर्धक उपचार गरिन्छ। आचार्य सुश्रुतले धनी र गरीबका लागि छुट्टै उपचार विधि बताउनु भएको छ। धनी व्यक्तिले पर्याप्त मात्रामा आसवबाट तयार पारिएको जडिबुटीयुक्त औषधिका साथमा शूल्यमांस (रोष्ट) सेवन गर्नुपर्छ। गरीब बिरामीले एक्लै बस्नुपर्छ, दैनिक १०० योजनको दूरी खालि खुट्टा, बिना छाता हिड्नुपर्छ र अमला, कपित्थ, तिंदुक र अश्मन्तक जस्ता फलफूल सेवन गर्नुपर्छ। गाइहरूको झुण्डलाइ पछ्याउदै हिड्नुपर्छ। खेतबाट अन्न बटुलिसकेपछि खेतमा बाकि रहेका अनाज टिपेर सेवन गर्नुपर्छ अथवा थोरै मात्रामा चराचुरूङ्गीहरूले खाने जति अन्न सेवन गर्नुपर्छ। शारीरिक व्यायाम, मल्लयुद्ध र हात्तिको सवारी गर्नुपर्छ।
औषधि
अमला, विल्वपत्र, गुडूची, हरिद्रा, निम्बपत्र, करेला को रस वा चूर्ण।
त्रिफला चूर्ण, जामुन चूर्ण। आयुर्वेदका सबै ग्रन्थहरूमा मधुमेह एउटा याप्य रोग हो अर्थात आजीवन उपचार चाहिने रोग हो। यो निको हुँदैन।
महाकाली आयुर्वेद औषधालयको बहिरंग सेवामा आउने नयाँ सेवाग्राहीहरू सबैलाइ स्वस्थ जीवन र नसर्ने रोग व्यवस्थापन कार्यक्रम अन्तर्गत उच्च रक्तचाप र मधुमेहको लागि परीक्षण गराइन्छ। आफू स्वस्थ भएको विश्वास गर्ने, कुनै लक्षण नभएको व्यक्तिले एकै चोटी रगतमा चिनीको मात्रा बढी देखिएपछि प्राय स्वास्थ्यकर्मीलाइ पत्याउदैन र आफू केहि दिन खानपानमा सुधार गरेर हेर्ने तर औषधि सेवन नगर्ने बताउछन्। मधुमेह असाध्य रोग हो र अब तपाईंले जीवनभर जीवनशैली र खानपानमा परिवर्तन गर्नुपर्छ भन्दा उसले मनमनै नमीठो अनुभव गर्दै अस्वीकार गरेको हुन्छ। रगतमा चिनीको मात्रा ४००/५०० मि ग्रा भएको बिरामीलाई तपाईंले अन्नको मात्रा एकदमै कम गर्नुपर्छ, सागपात गोरस र माछा मासु (खाने भए) नियमित रूपमा सेवन गर्नुपर्यो भन्दा भात रोटी नखाए के खाने हो भन्दै प्रतिप्रश्न गर्नुहुन्छ र औषधिबाट मात्रै मधुमेह नियन्त्रणमा आओस भन्ने सोच हुन्छ। अन्य अस्पताल वा स्वास्थ्य संस्थाबाट मधुमेह पत्ता लागेका र एलोप्याथी औषधि सेवन गरिरहेका बिरामीहरू आयुर्वेद औषधि खान चाहेको र आयुर्वेदबाट मधुमेह नियन्त्रण गर्न सकिन्छ कि सकिदैन भन्दै प्रश्न गर्नुहुन्छ। मधुमेहको पनि मानिसको जस्तै उमेर हुन्छ। सुरूको अवस्थामा खानपान र जीवनशैली सही राखेर मधुमेह नियन्त्रणमा राखेमा आयुर्वेद औषधिले पनि उपचार हुन सक्छ तर जीर्ण रोगीको अनियन्त्रित मधुमेहको उपचारका लागि इन्सुलिन औषधिको विकल्प छैन। केही मधुमेहका बिरामीहरू अनियमित रूपमा औषधि सेवन गरिरहेका हुन्छन आफूलाइ शारीरिक रूपमा अप्ठ्यारो नभएसम्म स्वास्थ्य संस्थामा आउँदैनन्। अनियन्त्रित मधुमेहले दीर्घकालमा आँखा, मुटु, मिर्गौला, नशा र शरीरका सबै अंगहरूमा प्रतिकूल असर पार्दछ। अत्यधिक मात्रामा रगतमा बढेको चिनीको मात्रा (५०० मि ग्रा वा बढी)ले केही तीब्र जटिलताहरू (डायबेटिक किटोएसिडोसिस, आदि) उत्पन्न हुनसक्छन जसको उपचार सघन कक्षमा मात्र हुन सक्छ र प्राण नै संकटमा पर्न सक्छ।
मधुमेहका दीर्घकालीन जटिलताहरू
मिर्गौला सम्बन्धी जटिलताहरू
आजभोलि मधुमेह पत्ता लागेसँगै मिगौलामा पनि समस्या देखिने गरेको छ। पछिल्ला केही दशकमा गरिएका अध्ययनहरूले मधुमेहका बिरामीमा मिर्गौला सम्बन्धी समस्यालाइ विभिन्न ५ वटा अवस्थाहरूमा विभाजन गर्न सम्भव भएको छ।
प्रथम अवस्थाः मिर्गौलाको आकारमा वृद्धि भइ त्यसको कार्यमा पनि वृद्धि हुन्छ। यस्ता परिवर्तनहरू शुरूको अवस्थामा मधुमेह पत्ता लागेसँगै देखिने गरेका छन्। पिसाबमा प्रोटिनको मात्रा नदेखिने र शारीरिक श्रम गरेपछि त्यसको मात्रा पिशाबमा धेरै देखिन्छ। रगतमा चिनिको मात्रा नियन्त्रण गरेर यस अवस्थालाइ आंशिक वा पुरै निको पार्न सकिन्छ।
द्वितीय अवस्थाः यो अवस्था विस्तारै वर्षौ सम्ममा विकसित हुन्छ। यस अवस्थामा मिर्गौलाको कार्यक्षमतामा वृद्धि हुन्छ शारीरिक श्रम पश्चात मात्र पिशाबमा प्रोटिनको मात्रा अधिक देखिन्छ र मिर्गौलामा सूक्ष्म परिवर्तनहरू देखापर्दछन। धेरै जसो मधुमेहका बिरामी मिर्गौला रोगको दोश्रो अवस्थामा जीवन गुजार्दछन्। रगतमा चिनिको मात्रा नियन्त्रणमा रहुन्जेल लक्षणहरू देखा पर्दैनन तर अनियन्त्रित मधुमेहमा भने पिशाबमा अधिक मात्रामा प्रोटिन देखिन्छ।
तृतीय अवस्थाः यस अवस्थाको मुख्य लक्षण पिशाबमा प्रोटिनको मात्रा सामान्य भन्दा अधिक तर लक्षण देखिएका हुदैनन्। पिशाबमा प्रोटिनको मात्रा क्रमिक रूपमा बढ्दै जान्छ, रक्तचाप पनि बढ्दै जान्छ र यो अवस्था मिर्गौलाको स्वास्थ्यमा निर्णायक हुन्छ।
चौथो अवस्थाः व्यायाम गर्दा वा आराम गर्दा सबै अवस्थामा पिशाबमा प्रोटिन देखिन्छ (०.५ ग्रा प्रति दिन भन्दा बढी)। समयमै उच्च रक्तचाप नियन्त्रण नगरिएमा मिर्गौलाको कार्यक्षमता घट्दै जान्छ। उच्च रक्तचाप नियन्त्रण गर्दा यो अवस्था विग्रिन पाउदैन र डायलायसिसलाइ केहि वर्ष पछि धकेल्न सकिन्छ।
पाँचौ अवस्थाः यस अवस्थामा बिरामीको मिर्गौला फेल हुन्छ र डायलाइसिस वा मिर्गौला प्रत्यारोपणको आवश्यक्ता हुन्छ।
मुटु तथा रक्तनली सम्बन्धी जटिलताहरू
मधुमेहका बिरामीमा समय वित्दै जाँदा हृदयमा संचारित हुने रक्तनली र स्नायुमा क्षति हुन्छ जसका कारण हृदयरोगको सम्भावना बढ्दै जान्छ। उच्च रक्तचापले पनि हृदयरोगको सम्भावना वृद्धि गर्दछ। मधुमेहको बिरामीमा हृदयरोगका लागि जोखिम तत्वहरूः
धुम्रपान
मदिरापान
मोटोपना
अधिक नून र चिल्लोपनायुक्त भोजन
रगतमा चिल्लोपना वृद्धि हुनु
मधुमेहका बिरामीमा हृदयरोग हुने सम्भावना बढी हुन्छ त्यसैले नियमित रूपमा हृदयरोग भए नभएको परीक्षणहरू (इ सि जि, इको, ट्रिडमिल टेस्ट गर्नुपर्दछ। साथै खानपान र जीवनशैलीमा निम्न अनुसारका परिवर्तन अपनाउनुपर्दछ।
स्वस्थकर आहारः शरीरमा रस, रक्त, मांस आदि धातुहरू र ओज बढाउने खानेकुरा सेवन गर्नुपर्दछ। आचार्य सुश्रुतले वर्णन गरे अनुसार आहारको पालना गर्दा रगतमा चिनिको मात्रामा नियन्त्रण रहनुका साथै शरीरमा ओजको पनि वृद्धि हुन्छ। मधुमेहका बिरामीहरूमा रस रक्तादि धातुहरूका साथै ओजको पनि क्षय हुन्छ।
मोटोपना कम गर्ने
सक्रिय जीवनशैली अपनाउने
तनावमुक्त रहने
नशा सम्बन्धी जटिलताहरू
प्रथम अवस्थाः सुरूको अवस्थामा हात तथा खुट्टाहरूमा कहिले काहि लक्षणहरू देखिन्छन र बिरामीले लक्षणहरू खासै वास्ता गरेको हुदैन किनभने यी सहन सकिने हुन्छन। मधुमेह रोग नशा सम्बन्धि समस्याहरूको प्रमुख कारण हो। प्रथम अवस्थाको नशा रोगमा रगतमा चिनिको मात्रा बढाउने खानेकुराहरू नियन्त्रण गर्दा लक्षणहरू निको हुन्छ।
दोश्रो अवस्थाः हात, खुट्टामा दुखाइ र झमझमाहट नियमित रूपमा हुने गर्दछ। बिरामी चिकित्सक कहाँ परामर्श लिन प्राय यसै अवस्थामा जाने गर्दछन। यस अवस्थामा मधुमेहको उत्कृष्ट व्यवस्थापन द्वारा नशामा भएको क्षति पूर्ण रूपमा फर्किने सम्भावना केहि मात्रामा रहन्छ। तर अवस्था पार गरेपछि नशाहरूको क्षति स्थायी नै हुन्छ।
तृतीय अवस्थाः दुखाइ असह्य हुन्छ, निरन्तर हुन्छ। प्रभावित नशाहरूमा चेतना शून्य हुन्छ र त्यस अंगमा घाउ लागेको वा काटेको पनि थाहा नहुने हुन्छ र संक्रमणको सम्भावना वृद्घि हुन्छ।
चौथो अवस्थाः दुखाइ कम हुन्छ। प्रभावित अंगमा चेतना शून्य हुन्छ। शरीरको सन्तुलन कम हुदै जान्छ। असन्तुलनका कारण हिडाइको सन्तुलन बनाउन गाह्रो हुन्छ।
पाँचौ अवस्था तथा अन्तिम अवस्थाः सहारा लिएर मात्र हिड्न सकिन्छ। ह्रविलचियरको सहारा चाहिन्छ। यस अवस्थामा खुट्टा काट्नुपर्ने सम्भावना सर्वाधिक हुन्छ।
नशा रोगको रोकथामः
मधुमेहको उचित व्यवस्थापन
धुम्रपान नगर्ने
पोषक तत्वहरूयुक्त आहार लिने
भिटामिनको कमि हुन नदिने
नियमित व्यायाम
कनशमा क्षति हुने कुराहरू जस्तै मादक पदार्थ त्याग्ने।
(लेखक महाकाली आयुर्वेद औषधालयका आयुर्वेद चिकित्सक हुन्।)