काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संघीय अस्पतालका प्रमुखहरुलाई आफूले दिएको निर्देशन कार्यन्वयन भए नभएको विषयमा जानकारी लिएका छन्।
सबै संघीय अस्पतालका प्रमुखहरुसँग शुक्रबा वेविनार मार्फत बैठक बस्दै स्वास्थ्य मन्त्री पौडेलले आफूले दिएको ९ बुँदै निर्देशनको कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका हुन्। मन्त्री पौडेलले सबै अस्पताल प्रमखुहरुलाई निर्देशन कार्यान्वयनको अवस्थाबारे इमेल मार्फत लिखित जानकारी दिन पनि भनेका छन्।
अस्पताल प्रमुखहरु काममा व्यस्त हुने भएकाले वेविनार मार्फत बैठक गरिएको मन्त्री पौडेलले जानकारी दिएका छन्।
‘सेवा प्रवाह गर्न भएका प्रयास के के भए?’ मन्त्री पौडेलले बैठकमा सहभागि अस्पताल प्रमुखहरुलाई प्रश्न गरे, ‘निर्णय बमोजिम नागरिकलाई सहज तरिकाले सेवा प्रवाहका लागि कुन-कुन विषय कार्यान्वयन गर्नु भयो, तपाईंहरूका कार्यक्रम के के छन्? ९ बुँदे बाहेक सेवा प्रवाह सहज बनाउन के-के विषयमा सेवा थप गर्नु भयो ? जानकारी गराइदिनु होला।’
अस्पतालका प्रमखुहरुले दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गरेको, केही अस्पतालमा विस्तारित सेवा लागू गरेको, चिकित्सकको राउन्ड, बिरामी भर्ना, डिस्चार्जमा समय व्यवस्थापन गरि सहजीकरण सुरु गरेको मन्त्री पौडेललाई जानकारी दिएका छन्।
अस्पताल प्रमुखहरुले ओपीडी र शल्यक्रियाहरूमा युनिट थप, टोकन प्रणाली लागू गरेको, अनलाइन टिकट व्यवस्थापन गरेको, विद्युतीय भुक्तानी प्रणाली व्यवस्थित गरेको, अस्पतालको सेवा सम्बन्धी जानकारी प्राप्त गर्न कार्य सुरु गरेको,सोधपुछ तथा गुनासो सुन्ने कक्ष व्यवस्थित गरेको जानकारी दिएका थिए ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले अस्पताल प्रमखुहरुको कुरा सुनेपछि अस्पतालको लाइन व्यवस्थापन, अस्पतालको सरसफाइ, शल्यक्रियाको पालो कुर्नुपर्ने अवस्थाबारे गम्भीर भएर व्यवस्थापन गर्न निर्देशन दिएका छन्।
मन्त्री पौडेलले चिकित्सकहरुलाई कार्यलय समयमा अनिवार्य अस्पतालमै रहन पनि निर्देशन दिएका छन्।
‘डिउटीको समयमा अनिवार्य अस्पतालमै रहनुस्,’ मन्त्री पौडेलले अस्पताल प्रमुखहरुलाई भने, ‘डिउटीको समयमा कोही पनि अनुपस्थिति हुनु हुँदैन, यसलाई कडाइका साथ लागू गर्न जरुरी छ।’
मन्त्री पौडेलले अस्पतालहरुमा स्रोत–साधन, भौतिक संरचना तथा जनशक्तिको कमि लगायतका समस्या समाधानका लागि दीर्घकालिन योजना बनाएर अघि बढ्नुपर्ने बताए।
अहिले भएकै संरचना र जनशक्तिबाट गुणस्तरिय सेवा प्रवाहका प्रयास गर्न मन्त्री पौडेलले आग्रह पनि गरे।
वेविनारमा बोल्दै स्वास्थ्य सचिव डा रोशन पोखरेलले आकस्मिक बोहका रुटिन सर्जरीहरुका लागि पालो कुर्न सकिने कुरा बिरामी र आफन्तलाई राम्रोसँग काउन्सिलिङ गर्न सुझाव दिए।
मन्त्री पौडेलले गत शुक्रबार अस्पताल प्रमुखहरुसँग छलफल गरेर नै ९ बुँदे निर्देशन दिएका थिए। अस्पतालहरुमा ९ बुँदे निर्देशनसहितको पत्र पठाइएको थियो।
पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको तारतम्य मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिइएको थियो।
यस्तै विस्तारित अस्पताल सेवा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि, २०७७ बमोजिम विस्तारित अस्पताल सेवा लागू गर्न पनि पत्रमा भनिएको छ। प्राप्त सुझावका कार्यविधि परिमार्जन गरिने विषय पनि निर्णयमा उल्लेख छ।
चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तारतम्य मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने, अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमवाट उपलब्ध गराइने सबै औषधि अस्पतालको बिमा फार्मेसीमा पर्याप्त राखी अटुट र अविच्छिन्न सेवा प्रवाह गर्ने विषय पनि छन्।
यस्तै, अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन अस्पताल प्रमुखद्वारा विभागीय प्रमुख एवं अन्यलाई सम्बन्धित अधिकार प्रत्यायोजन गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको थियो।
यसका साथै अस्पतालको कुन सेवा कहाँ पाइन्छ भन्ने जानकारी नहुँदा सेवाग्राहीको अव्यवस्थित भीड अस्पतालमा हुने भन्दै त्यसको निराकरणका लागि नक्सा सबैले देख्ने गरी टाँस्नुपर्ने वा स्वयं सेवक परिचालन गर्नुपर्ने र सोधपुछ, सहायता कक्ष, गुनासो सुन्ने व्यवस्था, पिउने पानी र सफा शौचालयको व्यवस्था मिलाउन पनि निर्देशन दिएका थिए।