दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि एमबीबिएस अध्ययन सन्चालनार्थ ७५ प्रतिशत विद्यार्थीको छात्रबृती उपलब्ध गराउन अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएको छ।
एमालेका महासचिव शंकर पोखरेलको पहल तथा समन्वयमा अर्थ मन्त्रालयबाट रकमको श्रोत सुनिश्चितता भएको छ।
अब चिकित्सा शिक्षाको अध्ययन, अनुसन्धानको लागि दाङ हब बन्ने थप सुनिश्चितता हुँदै गएको महासचिव पोखरेलले बताए।
प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि एमबीबीएस कार्यक्रम संचालनार्थ ७५ प्रतिशत विद्यार्थीको छात्रबृत्ती रकम सुनिश्चित गर्ने कार्य सम्बन्धमा सफलता हासिल मिलेको भन्दै अब छिट्टै चिकित्सा शिक्षा आयोगबाट सिट निर्धारण हुने बिश्वास ब्यक्त गरे। स्रोत सुनिश्चितता भएपछि एमबीबीएस पढाउने बाटो खुलेको बताए।
महासचिव पोखरेलको पहलमा आज अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षता तथा शिक्षामन्त्री बिद्या भट्टराई लगायत मन्त्रालयका सचिवहरुको उपस्थितिमा भएको बैठकले सकारात्मक निष्कर्ष निकालेको छ।
एमबीबीएसको छात्रवृत्तिको लागि स्रोत सुनिश्चितताको मन्त्रीस्तरीय निर्णय गरेर चिकित्सा अध्ययन क्षेत्रमा सकारात्मक शन्देश प्रवाह भएको रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले बताए।