काठमाडौं- किस्ट मेडिकल कलेज 'व्यवस्थापनको लापरबाही'का कारण २७ वर्षीया महिलाको मृत्यु भएको भन्दै छानबिन समिति गठन गर्न माग गरिएको छ। प्रतिनिधि सभाको बैठकमा सांसद् सञ्जयकुमार गौतमले यस्तो माग गरेका हुन्।
ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको र आन्दोलन चलिरहेको बताउँदै आवश्यक कदम चाल्न सरकारको ध्यान आकर्षण गराएका हुन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की २७ वर्षकी महिलाको गत साउन २६ गते मृत्यु भएको उनले बताएका छन्।
उनका अनुसार साउन २१ मा उनलाई अस्पताल भर्ना गरिएको थियो। २२ गते पहिलो शल्यक्रिया गरिएको थियो। रक्तश्राव नरोकिएको भन्दै २५ गते फेरि शल्यक्रिया गरिएको थियो। २६ गते बिहान रगत आवश्यक भएको भन्दै २० प्वाइन्ट रगत मगाइयो र साँझ मृत घोषणा गरिएको उनको भनाइ छ।
उनले भने, 'डाक्टर ईश्वर हुनुहुन्छ। व्यवस्थापनको त्रुटिले गर्दा, विविध कारणले गर्दा यीनको हत्या हुन्छ। ११ दिनदेखि परिवार आन्दोलनमा छ। नेपाल मगर संघले आन्दोलनमा साथ दिइरहेको छ। मैले स्वास्थ्य मन्त्रीलाई पनि भनें। गृहप्रशासन जानकार छ। अझै केही भएको छैन। एउटा छानविन समिति गठन होस् । पीडितले न्याय पाओस्।'
अस्पताल प्रशासन न्यायका लागि तयार नभएको उल्लेख गरे। उनले यस्तो संस्थामा यस्ता लापरबाहीले राम्रो सन्देश नदिने बताए। नागरिकको जिउधनको सुरक्षा हुनुपर्ने उनको भनाइ छ।