अहिले पनि अपेक्षित अवस्थामा नपुगेको बाजुरा जिल्ला अस्पतालको हविगत २२ वर्षअघि कस्तो थियो होला ? भौतिक संरचना, औषधि उपकरण र जनशक्ति, जता हेर्यो त्यतै अभाव । अभाव होइन, चरम अभाव । टिप्पणी सुनिन्थ्यो– जिल्ला सदरमुकाममा भएकाले मात्रै स्वास्थ्य संस्थाको नाम जिल्ला अस्पताल राखिएजस्तो !
अस्पतालको दुरावस्थाले चिड्चिडो बनेका सेवाग्राहीमाझ ओठमा मुस्कान लिएर हरदम झुल्किने एउटा अनुहार थियो । उनी हुन्, अनमी ललिता दानी । जिल्ला अस्पताल बाजुराले डाक्टरको अनुहार नियमित देख्न थालेको दशक पुगेको छैन । त्यसअघि त्यहाँ चिकित्सक भेटिनु सामान्य कुरा थिएन । आमजनको आँखामा त्यो बेला एक जना ललिता र अर्का एक जना स्वास्थ्यकर्मी नै ‘ठूला डाक्टर’ थिए ।
अविकसित देशको विकसित जिल्लाको सूचीको अन्त्यमा पर्ने यो ठाउँका धेरै बिरामी त्यस्ता हुन्थे, सुविधासम्पन्न अस्पताल रिफर गरियो भने ‘बाँचिदैन’ भनेर उनीहरु घरतिर लाग्थे । मृत्यु कुरेर बस्थे । त्यो परिस्थिति महसुस गरेका त्यहाँका स्वास्थ्यकर्मीले सकेको प्रयास जिल्ला अस्पतालमै गर्थे । बिरामी र उनीहरुका आफन्तले गरेको भरोसालाई कायम राख्न आफ्नो बुताभन्दा बाहिरको अवस्थालाई पनि सम्हाल्ने प्रयास गर्थे । अनुभवले सिकाएको ज्ञान–सिप जोखिम मोलेर प्रयोग गर्दा बिरामी निको हुन्थे ।
स्वास्थ्य सेवाको २५ वर्षे करिअरमा १५ वर्ष जिल्ला अस्पताल बाजुरामै बिताएकी ललितालाई त्यो समयका नचिन्ने बाजुराली निकै कम भेटिन्छन् । किनभने, न्यून जनशक्तिमा चलिरहेको अस्पतालको आँगनमा हरबखत भेटिने उनै थिइन् । उनी आफैँ नर्सिङ इन्चार्ज समेत भएकाले जतिबेला र जहाँनेर स्टाफको अभाव हुन्छ, त्यहाँनेर उनी हुन्थिन् । बिदामा अरु घरतिर लाग्थे । उनी अस्पतालमा भेटिन्थिन् । इमर्जेन्सी केही पर्यो, बोलाउँदा तुरुन्तै हाजिर भइहाल्ने दूरीमा उनी नै बस्थिन् । त्यसैमाथि ‘नाइँ’ भन्न नजान्ने उनको स्वभावका कारण पनि सुरुमै सम्झिने नाम उनकै हुन्थ्यो ।
एक पटक सेवा दिएको बिरामी र उनका आफन्तको अनुहार नबिर्सिनु ललिताको अर्काे विशेषता थियो । बाटोमै भेटिए पनि ‘सन्चो–बिसन्चो’ सोधिहाल्ने स्वभाव छ र बोलीमा माधुर्य उनले प्राकृतिक रुपमै प्राप्त गरेको विशेषता हो ।
अनमी मात्रै भए पनि उनले नगर्ने काम थिएन । नयाँ औजार र उपकरण आयो कि प्रयोग गर्न सिक्ने कौतुहल उनलाई हुन्थ्यो । तुरुन्तै सिकिसक्थिन् । अस्पताल पुगेका चिकित्सकले पनि आफू नभएको बेलाका लागि उनलाई तयार गर्थे । सिक्न रहर गर्ने स्वभावले नै उनलाई भिडियो एक्सरे तालिम दिलाएको हो । जिल्ला अस्पतालमा रहँदा उनले नियमित भिडियो एक्सरे चलाइन् । ग्रामीण अल्ट्रासाउन्ड मेसिन बोकेर उनी जिल्लाका सबैजसो भेगमा पुगेकी छिन् ।
ललिताले ग्रामीण अल्ट्रासाउन्डको सेवा दिँदा जिल्लाभरिका जम्मा दुई जनाले उक्त तालिम लिएका थिए । तीमध्ये एक जना उच्च शिक्षाका लागि जिल्लाबाट बाहिरिइन् । केही वर्ष उनी एक्लैले जिल्लाको दूरदराजसम्म पुगेर सेवा दिनुप¥यो । बाटोघाटो नपुगेको त्यो समयमा उनले दुई दिनसम्मको बाटो हिँडेरै सेवा दिएकी छिन् । उनको त्यो समर्पणका कारण केही गर्भवतीको ज्यान जोगिएको छ । किनभने, सम्भावित जोखिम उनले बेलैमा पहिल्याएर स्वास्थ्य संस्थासम्म पु¥याएकी छिन् । तीमध्ये कतिलाई आफैँसँग अस्पताल ल्याएकी छिन् । धेरै जोखिमपूर्ण अवस्था समयमै पहिलएकी छिन् । त्यसमध्ये केही केस सनी कहिल्यै बिर्सिन्नन् ।
एकपल्ट जिल्लाकै दुर्गममा पर्ने छतरामा अल्ट्रासाउन्ड लिएर पुगेकी थिइन् ललिता । ‘गर्भवती महिलाको जाँचका क्रममा जुम्ल्याहा सन्तान भएको देखियो । त्यसमध्ये एकको अवस्था जोखिमपूर्ण हुन लागेको थियो । मैले तुरुन्तै थप जाँचका लागि अस्पताल जान भनेँ । अछामको बयालपाटा पुग्दा एउटाको भित्रै मृत्यु भइसकेको पत्ता लाग्यो,’ उनले सम्झिइन् ।
त्यसैगरी डोगडी भन्ने अर्काे ठाउँमा तीन वटा बच्चा पेटमा हुर्किरहेको अल्ट्रासाउन्डबाट देखियो । गरिब परिवारकी ती महिला आफैँले प्रशस्त पोषण खान पाएकी थिइनन् । जोखिमपूर्ण लागेपछि ललिता आफैँले जिल्ला अस्पताल लिएर आइन् । थप जाँच र सल्लाहका लागि धनगढीको सेती अञ्चल अस्पतालमा पठाइयो । यसैगरी बुढीनन्दा नगरपालिकाको कोल्टीमा जाँच गर्ने क्रममा बच्चा गर्भभित्रै मरेको पत्ता लगाइन् । तुरुन्तै उनले कोल्टीस्थित प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइन् ।
अझै घरमा, बाटोमा सुत्केरी भइरहेको सुनिने बाजुरामा ग्रामीण अल्ट्रासाउन्ड सुरु हुँदा यस्ता जोखिमपूर्ण केसहरु धेरै भेटिए । ललिता भन्छिन्, ‘समस्या पहिचान गर्ने मात्रै होइन, जानकारी पनि दिने काम ग¥यौँ । नियमित अस्पतालमा चेकजाँच गराउने र स्वास्थ्य संस्थामै सुत्केरी हुन आउनुपर्छ भन्न थालेकै २५ वर्ष भयो ।’
ललिता २०५६ कात्तिक २५ गते सरकारी स्वास्थ्य सेवामा प्रवेश गरेकी हुन् । तीन वर्ष बाजुराकै आटिचौर स्वास्थ्य चौकीमा सेवा दिइन् । स्वास्थ्य सम्बन्धी चेतना न्यून भएको त्यो समयमा महिलाहरु जँचाउन र सुत्केरी हुन स्वास्थ्य चौकी आउँदैनथे । उनी आफैँ घरमा पुग्थिन् । त्यसैमाथि अन्धविश्वास थियो । सुत्केरी महिलालाई ‘छुन नहुने’ रुढिग्रस्त सोचविरुद्ध पनि उनले संघर्ष गर्नुप¥यो । उनी सम्झिन्छन्, ‘सुत्केरी गराएको, छोएको नाममा समेत मैले गाली खाएकी छु ।’
२०५९ सालमा उनको सरुवा जिल्ला अस्पताल बाजुरामा भयो । द्वन्द्वको त्यो समयमा जिल्लामा बाहिरका डाक्टर र स्वास्थ्यकर्मी आउजाउ गर्न सहज थिएन । त्यसैले धेरै बिदामै हुन्थे । बिरामीको चाप हुन्थ्यो । उनी लगायतको सानो टिमले शतप्रतिशत खट्नुपथ्र्याे । त्यहाँ पनि अस्पताल आउनेहरुलाई मात्रै होइन, घरमै पुगेर समेत सेवा दिनु परेको उनी बताउँछिन् ।
आइपर्ने हरेक समस्यामा खट्ने भएकाले उनलाई अस्पतालका उपकरण सञ्चालनदेखि दक्ष प्रसूतिकर्मी (एसबीए) तालिम, अप्रेसन थिएटर टेक्निक तथा म्यानेजमेन्ट तालिम, एचआईभी परामर्श तालिम, आईयूसीडी तालिम लगायत प्रदान गरिएका छन् । यी सबै तालिमको उनले उपयोग गरिसकेकी छिन् ।
पछिल्लो ६ वर्षदेखि ललिता बडिमालिका नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत छिन् । ग्रामीण अल्ट्रासाउन्डका लागि उनी आफैँ पालिका अन्तर्गतका विभिन्न ठाउँमा पुगिरहन्छिन् । साथै आफूले जानेको ज्ञान–सिप समेत पालिका अन्तर्गतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई प्रदान गरिरहेकी छिन् ।
सक्रियता र सेवालाई मन्त्र बनाउन उनले बाल्यकालमै सिकेकी हुन् । बाजुराको तत्कालीन जुगाडा गाविसस्थित पिनालेखमा जन्मिएकी ललिताको बाल्यकाल संघर्षपूर्ण रह्यो । सन्तानलाई शिक्षा दिने सोच भएका तर आर्थिक अवस्था नाजुक भएका उनका पिता रणबहादुर दानीले आफ्नो युवावय भारतका विभिन्न शहरमा मजदूरी गरेर बिताए ।
४ छोरी र २ छोरासहित ९ जनाको परिवार कृषि पेसाले मात्रै धान्न नसकिने भएपछि खेतीपातिको काम सकेर उनी भारत लाग्थे । आमालाई सबै कुरामा सघाउने काममा दिदीहरुसँगै ललिता पनि सक्रिय हुन्थिन् ।
समस्या भए पनि शिक्षाका लागि सम्झौता गर्ने उनका बुवाको स्वभावका कारण छोराछोरी सबैले पढाइमा मिहिनेत नै गरे । सबै रोजगार छन् । तीमध्ये दुईले शिक्षण र चारले स्वास्थ्य सेवा नै रोजे । ललितासहित ५ जना सरकारी जागिरे छन् भने एचए अध्ययन गरेका उनका भाइ विदेशमा छन् ।