काठमाडौँ- शताब्दी पुरुष गौरीशङ्कर लाल दासको १०१औँ जन्मोत्सव समारोह मानाइएको छ । बिहीबार साँझ यहाँ आयोजित कार्यक्रममा उनले आफ्नो नवीनतम् कृति ‘यादों के गलियारों मे’ संंस्मरणत्मक निबन्ध सङ्ग्रहको लोकापर्ण गर्दै जन्मदिवस मनाएका हुन्।
पुस्तकमा उहाँले आफूले भोगेका विभिन्न चुनौतीहरूका विषयमा लेख्नुभएको छ । उनले मानवअधिकार आयोगको गठनको सुरुआती समयमा काम गरेका थिए। त्यससँग सम्बन्धित अनेक प्रसङ्गहरू पुस्तकमा समेटिएको छ ।
उनी विसं २००९ मा नै काठमाडौँ आएका थिए। लोकसेवा आयोगको सिफारिसमा सर्वप्रथम उहाँले वीर अस्पतालमा आवासीय चिकित्सकका रूपमा काम गर्न सुरु गरेका थिए।
उनले मानवअधिकार आयोगका साथै क्षयरोग निवारण संस्था, नेपाल परिवार नियोजन सङ्घ तथा नेपाल रेडक्रस सोसाइटी, नेपाल कुष्ठरोग निवारण सङ्घमा पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै योगदान दिए।
बिहिबारबाट डा लालले अर्को शताब्दीमा प्रवेश गर्नुभएको खुसीमा जन्मोत्सव कार्यक्रम आयोजना गरिएको उनका जेठा छोरा आनन्दमोहन दासले जानकारी दिए। उनको स्वस्थ्य जीवन साकारात्मक सोच र क्रियाशीलताका कारण भएको उनका छोरा आनन्दमोहन बताउँछन्।
पेसाले चिकित्सक डा लालको रुचि साहित्य र सङ्गीतमा पनि छ । उनी अहिले पनि लेखनमा सक्रिय छन्। बाँसुरी र तबला वादन उनको अर्को सोख हो।
डा लालकी कान्छी बुहारी रञ्जुका अनुसार उनीआज पनि आफ्नो ल्यापटमा घण्टौँ बसेर लेख्न सक्छन्। सक्रिय भइरहने उनको बानी नै उहाँको दीर्घजीवनको कथा रहेको रञ्जु बताउँछिन् । डा दासको जन्म विसं १९८१ आश्विन कृष्ण द्वादशीको दिन भएको हो ।
डा लालले आफ्नो जन्मोत्सवमा सहभागी सबैप्रति कृज्ञता र अशीर्वाद प्रकट गर्दै भने, “एक सय वर्ष बाँच्नुपर्छ तर स्वस्थ्य जीवनशैलीका साथ राम्रोसँग सुन्ने र बोल्ने हुनुपर्छ । म अहिले ठीकै छु । र, तपाईंहरूको मायाका लागि आभारी छु।”
डा लालको जन्मोत्सव समारोहमा प्रमुख अतिथिको आसनबाट शुभकामना प्रदान गर्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले शताब्दी पुरुषको सम्मान र उनको नाममा हुलाक टिकट र सिक्का निकाल्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको जानकारी दिए। उनले आफ्नो कार्यकालमा सो कार्य पूर्ण गर्ने आश्वासनसमेत दिए।
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले डा लालको सक्रिय जीवनको कामना गर्दै प्रधानमन्त्रीसम्म उहाँको नाममा पेस गरिएको हुलाक टिकटलगायतका लागि विषय पुर्याउने बताए।
पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले उनीसँगको आफ्नो बाल्यकालको स्मृति स्मरण गरे। कार्यक्रममा पूर्वउपराष्ट्रपति परमानन्द झा, विद्याधर मल्लिकलगायको उपस्थिति थियो ।