प्रिय प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीज्यूहरु,
पानी परेको पर्यै, परेको पर्यै, परेको पर्यै... छ । यता लेखेर केही पनि हुँदैन, हुनेवाला नै छैन। धेरै युवाहरुलाई यो थाहा छ । थाहा पाइसकेका र वाक्क भइसकेकाहरुलाई त्यो पानी पार्ने बादल भन्दा पनि माथिबाट बोइङ, जेट, इयरबसहरुले उडाएर पानी नै नपर्ने र कृत्रिम पानी पार्ने सक्ने देशहरुमा पुर्याइसकेको छ।
कसैलाई पानी नै पानीले भरिएको टापुहरुको बीचमा पुर्याएको छ । ‘पानी’ उनीहरु र त्यो देशका नागरिकहरुलाई सबैभन्दा ठूलो खुशीको वस्तु भएको छ। कसैलाई मनोरन्जन भएको छ, कसैलाई आविष्कार। यस्तै कुराहरु धेरैले कयौंपटक लेखपनि सकियो, तर लछारपाटो केही लागेन। ‘लेख्नै दिएन’, ‘बोल्नै दिएन’ भनेर तपाईंहरु आउनुभएको हो। तर, तपाईंहरु पनि आज बोलेको नि सुन्नुहुन्न, लेखेको नि देख्नुहुन्न। त्यसैले ‘यहाँ लेखेर केही हुन्न’, यो बुझ्नेहरू कि लेख्नै छाडिसके, कि देशै छाडिसके। बाँकी भएकाहरुलाई खासै आश त छैन, तर भन्नलाई थाकेका पनि छैनन् ।
करिब चारदशक हुन लाग्यो तपाईंहरुको वरिपरी मात्र देश घुमेको। ९-१० कक्षातिरको बिज्ञान विषयमा पृथ्वी सूर्यको वरिपरी घुम्छ भनेर पढाइन्छ। अरुको थाहा भएन, ‘नेपाल देश’ तपाईंहरुको वरिपरि मात्रै घुम्छ भनेर बिज्ञानको पाठ्यक्रममा राख्नलाई अब ढिलाई गर्नुहुन्न। बिचरा कलिला नानीबाबुहरुलाई कामै नलाग्ने कुरा किन पढाईराख्ने? देशभित्र जहाज धेरै चले देश विकास हुन लागेको हो रे, र देशबाट बाहिरतिरर जहाज धेरै चले देश उँधोगतिमा जान लागेको हो रे ! हामीलाई यहीँभित्र चल्ने कुराहरु धेरै चाहिएको हो, अनुसन्धान र आविष्कारहरु चाहिएको हो, त्यो भन्दा पनि माथि नागरिकको ज्यानधनको सुरक्षा चाहिएको हो । मेरो सरकार छ भन्ने अनुभूति चाहिएको हो ।
यो चार दशकभन्दा थोरै समयमा त्यही समुद्रको पानीले कुनबेला बगाउला भन्ने देशहरु आज समुद्रमाथि नै बस्ति बसालिसके, हामी यही खोलानाला पनि व्यवस्थापन गर्न सकेनौं। सक्ने नागरिकहरु बाहिर गए, नसक्नेहरु सरकारको नजिक हातमुख जोर्नसम्म पाइएला कि भनेर राजधानीसम्म आए। रोजगारी भएन, बस्ने ठाउँ भएन, खोला वरिपरी बीना सुरक्षा बस्न बाध्य पारियो। गाउँगाउँमा पहिरोले उस्तै । स्थानीय सरकारलाई जथाभावी बाटो मात्र खने पुगिहाल्ने। यो सबको जिम्मा अहिलेसम्मका तपाईंहरुले लिने कि नाइँ?
हामीलाई अहिले पानी-जहाज चाहिएको छैन, पानीको बीचमा अलपत्र परेको त्यो ज्यान चाहिएको हो, पानीले सधैं पुर्याजउने विनाश र त्रासको समाधान चाहिएको हो । खोलामा हराएका ठूलाठूला बस नै भेट्टिनन् भने यी विचरा साना मान्छेहरु अब कसरी भेटिएलान्? हाम्रो सुरक्षा र सतर्कताका योजनाहरु खै? वर्षेनी रोगले भन्दा बढी नागरिक सडकमा मर्ने गर्छन् । सडक सुरक्षामा काम खै? द्रूत-प्रतिकार्य खै? आसेपासे र नातागोता बोक्ने त्यो हेलिकप्टर खै? माखो नमार्ने भीआईपीलाई दिने सुरक्षाको सानो अंश यी भुइँमान्छेहरुलाई खै? खोला-नाला र त्यो वरिपरीको नागरिकको व्यवस्थापन खै? भोट बैंक मात्र बनाएर पुग्यो? तपाईंहरुले भन्ने ठूलाठूला परिवर्तन खै ? नागरिकको सरकार खै ? कि अझै ठूलो परिवर्तन चाहिएको हो ? हालसम्मका प्रधानमन्त्रीज्यूहरु, रवाफ मात्र देखाएर पुग्यो ? जवाफ खै?
संयुक्त राष्ट्रसंघ, हार्वर्ड, जोन हप्किन्स, अक्सफोर्डमा मलाई मेरो प्रधानमन्त्रीले जुनसुकै भाषामा सम्बोधन गर्छन् त्यो मतलब भएन। छिमेकी मोदीबाट नै यो कुरा सिक्न सकिन्छ । भाषा माध्यम हो, फगत एक सानो कुरा हो । अंग्रेजी झन् सानो हो । मेरो देश त्यो बेला मात्र सम्बृद्ध भएको मान्नेछु, जुनदिन मेरो प्रधानमन्त्रीले मेरै देशको भाषामा बोल्नेछन् र अरु देशका प्रमुखहरु लालायित भएर उल्था गर्दै सुन्नेछन् र जोडजोडले ताली पिट्नेछन् । बोल्नका लागि बोल्ने कुरा पनि हुनुपर्योत, अरुलाई सुनाउन सकिनेगरी काम गरेको हुनुपर्योम। त्यो बेलाको सम्बोधनपछि देश फर्कंदै गर्दा हामी भन्नेछौं- प्रधानमन्त्रीज्यू, अर्कोपालीको सम्बोधन नेवारीमा गर्नुहोला, त्यसपछि क्रमश: मैथलीमा, किराँतमा, थारुमा, खाममा, खसमा, गुरुङमा, तामाङमा, शेर्पामा, डोटेलीमा, राईमा, अवधिमा... ।
खैर, यता लेखेर त केही हुन्न । तरपनि, नेपालमाथिको बादलले पानी पारेको पार्यैल छ, यहाँहरुको बादलले कहिले पानी पार्ने ? सबैजना सुरक्षित रहनुहोला ।
-चिकित्सा विज्ञानको एक विधार्थी
डा. मिलन मल्ल