स्वास्थ्य उपचारका क्षेत्रमा ‘कर्पोरेट कल्चर’ भित्र्याउने नेपालकै पहिलो अस्पताल हो, नर्भिक। निजी क्षेत्रबाट चलेका अस्पतालहरुमध्येको अग्रणी अस्पताल नर्भिकले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ प्रविधि भित्र्याउने विषयमा पनि आफूलाई सधैँ अग्रस्थानमा राख्दै आएको छ।
स्वास्थ्य उपचारका क्षेत्रमा विश्व बजारमा आएका प्राविधिदेखि उपचार विधि भित्र्याउँदै बिरामीको सेवालाई प्राथमिकता दिँदै आएको नर्भिक अब पेपरलेस अस्पतालका रुपमा समेत चिनिन थालेको छ।
अस्पतालले डिजिटल प्रणालीलाई अंगिकार गर्दै अगाडि बढिरहेको अस्पतालका संस्थापक तथा संरक्षक बसन्त चौधरीले जानकारी दिए। उनका अनुसार अस्पताल अहिले ९० प्रतिशत डिजिटलाइज भइसकेको छ।
‘नर्भिक अस्पताल सधैँ विश्व बजार र समयसँगै चल्दै आइरहेको छ,’ उनले भने, ‘अहिलेको समय भनेको नै डिजिटलाइज्ड हो। सोही अनुसार हामीले नर्भिकलाई पनि अगाडि बढाइरहेका छौं। नर्भिक अहिले ९० प्रतिशत डिजिटल भइसकेको छ।’
नर्भिकले १० वर्ष अघिदेखि नै अस्पताललाई पेपरलेस बनाउने अभियान सुरु गरेको उनले जानकारी दिए। ‘अभियान त १० वर्षअघि नै सुरु भएको हो। तर सुरुमा यो प्रक्रियामा जान केही चुनौती र ढिलाइ पक्कै भएको हो,’ उनले भने, ‘४ वर्षअघि नर्भिकको ६० प्रतिशत सेवा डिजिटलाइज्ड भइसकेको थियो। अहिले हामीले यसलाई ९० प्रतिशत पुर्याएका छौं।’
बिरामीको सेवालाई नै प्रमुख केन्द्र बनाएर अस्पतालले समयानुकुल पाइलाहरु चाल्दै अगाडि बढेको नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरी बताउँछिन्। ‘निजी क्षेत्रबाट सञ्चालित नर्भिक अस्पतालले डिजिटलाइज सेवाको पहल लिएको छ,’ उनले भनिन्, ‘यसका कारण बिरामीले सहज रुपमा उचित सेवा पाउन सकेका छन्। क्रमशः हामी अस्पताललाई शतप्रतिशत डिजिटल बनाएर पेपरलेस बनाउँदै छौं।’
नर्भिकले अस्पतालमा बिरामी प्रवेश गर्ने दुई स्थान आकस्मिक र ओपीडीदेखि नै विद्युतीय रेकर्ड प्रणाली लागू गरेको छ। यसका साथै नर्भिकले छुट्टै एप बनाएर अस्पताललाई पेपरलेस बनाएको प्रबन्ध निर्देशक चौधरीले जानकारी दिइन्।
‘चिकित्सकहरुले पनि विद्युतीय रुपमा नै प्रेस्किप्सन लेख्नुहुन्छ र सोही अनुसार अन्य विभागमा जानकारी पुगेको हुन्छ,’ उनले भनिन्, ‘यसो हुँदा बिरामीले कागज बोकेर हिँडिरहनु परेन भने चिकित्सक तथा ल्याब लगायतका अन्य विभागमा समेत नम्बर हानेको भरमा बिरामीको विवरण थाहा पाउन सकिन्छ।’
उनका अनुसार डिजिटल प्रणाली लागू भएपछि बिरामी, चिकित्सक र अस्पताल सबैलाई सहज भएको र सेवा पनि छिटो छरितो भएको छ। यसका साथै सेवा डिजिटलाइज्ड हुँदा अस्पतालले नयाँ योजना तथा कार्यक्रमहरु बनाउँदा समेत सहज भएको उनले जानकारी दिइन्।
‘डेटा सिस्टममा हुँदा अस्पतालको वृद्धि विकास र आगामी कार्यदिशा प्रदान गर्न र अध्ययन गर्ने विद्यार्थीलाई पनि सहज हुन्छ। यसले बिरामीलाई पनि गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ,’ उनले भनिन्।
नर्भिक एउटा अस्पताल मात्रै होइन, नेपालमा अस्पताल व्यवस्थापनको नयाँ तरिका र मानकका रुपमा पनि चिनिन्छ।
नर्भिककै सिको गर्दै निजी स्तरबाट सुविधासम्पन्न अस्पताल खुल्ने क्रम बढ्दो छ। यस्ता अस्पतालले दिने आकर्षक सेवा–सुविधाका कारण राम्रा डाक्टरको पलायन रोकिएको छ। नयाँ उपकरण तथा प्रविधि भित्रिएका छन्।
१० वर्ष अघिदेखि पेपरलेस अस्पताल बनाउने अभियान सुरु गरेका हौं : वसन्त चौधरी
निजी क्षेत्रबाट सञ्चालित नर्भिक अस्पतालले डिजिटलाइज प्रणालीको पहल लिएको छ। अहिले नर्भिक अस्पताल ९० प्रतिशत डिजिटलाइज्ड भइसकेको अवस्था छ। नर्भिकले १० वर्ष अघिदेखि नै पेपरलेस अस्पताल बनाउने अभियान सुरु गरेको हो। पेपरलेस अस्पताल बनाउने अभियान सुरु गर्दा सरुमा वरिष्ठ चिकित्सकहरुलाई अभ्यस्त बनाउन केही समस्या परेको थियो। जबसम्म उहाँहरुले इप्रेस्किप्सनलाई स्वीकार गर्नुहुँदैन तबसम्म यथार्थमा अस्पताललाई पेपरलेस बनाउन समस्या नै हुन्छ।
अस्पतालको ओपीडी र आकस्मिक दुई वटा ठाउँ हो, बिरामी इन्ट्री हुने पोइन्ट। यी दुवै ठाउँका डाक्टरलाई इप्रेस्किप्सनमा ढाल्न सजिलो चाहिँ हुँदैन रहेछ। त्यसमा पनि खासगरी सिनियर कन्सलटेन्टहरु, नाम चलेका कन्सलटेन्टहरु जोसँग बिरामीको भिड धेरै लाग्छ, उहाँहरुलाई कागजमा लेख्न जति सजिलो लाग्छ, कम्प्युटरमा टाइप गरेर सबै कुरा गर्न अलि झिँझो लाग्नु स्वभाविक हो। सुरुसुरुमा यो प्रोसेस ढिला भएको थियो। ४ वर्ष अघिसम्म ६० प्रतिशत सेवा डिजिटलाइजमा ढाल्न सकेका थियौं। अहिले ९० प्रतिशत पुगिसकेका छौं।
डिजिटलाइज्ड प्रणालीमा जाँदा बिरामीको तथ्यांक सही रुपमा रहन्छ। बिरामीको दोहोरो रजिस्ट्रेसन हुँदैन। बिरामीलाई पनि आफ्नो डेटा अस्पतालमा गएपछि मोबाइल नम्बर वा नर्भिकको आईडी नम्बर दिएपछि मेरो सबै फाइल एउटै रिपोर्टमा बस्छ भन्ने हुन्छ। डाक्टरले त्यही नम्बर टाइप गर्दा बिरामीको हिस्ट्री आउँछ। बिरामी क्रस रेफरल भएको छ भने पनि अर्को कन्सल्टेन्टले बिरामीको आईडी नम्बरबाट इलेक्ट्रोनिक रुपमै बिरामीको हिस्ट्री थाहा पाउन सक्छ।
बिरामीलाई के भएको छ ? औषधि के–के दिएको छ ? विगतमा के–के समस्या थियो ? के–के जाँच भएका छन् ? अब कुन औषधि प्रयोग गर्ने भन्ने विषय चिकित्सकहरुले सहजै थाहा पाउन सक्छन्। हातले लेखेर दिएकोमा कहिलेकाहीँ नबुझिने, एउटाको सट्टामा अर्को पर्ने खतरा रहन्छ तर डिजिटलमा त्यस्तो समस्या हुँदैन। यसले बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्छ।
बिरामीहरु आजभोलि शिक्षित छन्। अस्पताल आउनुअघि नै बिरामी आफ्नो लक्षण अनुसार के भएको छ भन्ने आकलन गरेर आउँछन्। पहिला जस्तो मोटो–मोटो फाइल बोकेर आउन पनि चाहँदैनन्। उनीहरुको लागि पनि त्यो डेटा सधैं सुरक्षित भयो। एप्समा बिरामीको डेटा हुने भएकाले कहीँ गएर उसले जँचाउन पर्दा आफ्नो फाइल बोकेर जान परेन। त्यसमा उसको इन्भेस्टिगसन, केस रिपोर्ट सबै हुन्छ। हाम्रो नर्भिकको एप्समा बिरामीको सबै हिस्ट्री रहन्छ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धानको लागि पनि नर्भिकलाई अनुमति दिएको छ। यस्तै फेलोसिपको लागि पनि ४ वटा विषयमा अनुमति छ। शैक्षिक अध्ययन–अनुसन्धानको सेन्टरको हिसाबले पनि डिजिटलाइज्ड प्रणालीले धेरै मद्धत गर्छ। नर्भिकमा अहिले नयाँ भवन बनिरहेको छ। नयाँ भवनलाई अझ बढी सूचना–प्रविधिमैत्री बनाएका छौं। त्यहाँ केही समयपछि रिमोर्ट कन्ट्रोल, रोबटिक सर्जरीहरु हुन थाल्छन्।