काठमाडौं– परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले थप दुई सेवा विस्तार गरेको छ। अस्पतालमा गर्भवती तथा सुत्केरीहरुको लागि मानसिक स्वास्थ्य सेवा तथा बालबालिकामा जन्मजात रुपमा हुने विकलांग अवस्थाको पहिचान गर्ने सेवा सुरु गरिएको हो।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा एक कार्यक्रमका बीच उक्त सेवाको उद्घाटन गरिएको हो।
महिलाहरुहरुमा सुत्केरी तथा गर्भवती अवस्थामा मानसिक स्वास्थ्यको समस्या बढी देखिने विभिन्न अध्ययनहरुबाट पत्ता लागेको छ। मानसिक तनाव, एन्जाइटी, उदासिनता जस्ता समस्या गर्भवती तथा सुत्केरी अवस्थामा झनै बढी देखिने गरेकोले अस्पतालले उक्त सेवाको थालनी गरेको निर्देशक डा श्रीप्रसाद अधिकारी बताउँछन्।
‘गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक तनाव तथा गम्भीर खालको स्वास्थ्य समस्या साइकोसिस लगायतको समयमा नै पहिचान गर्न सकेमा हाल उपलब्ध स्रोत साधनबाट नै प्रभावकारी रुपमा समाधान गर्न सकिन्छ’, डा अधिकारीले भने, ‘त्यसकारण समयमै पहिचान गर्दै उपचार सेवा दिन सेवा विस्तार गरेका हौं।’
स्वास्थ्यको शारीरिक पक्षलाई मात्रै बढी प्राथमिकतामा दिने परिपाटीका कारण मानसिक स्वास्थ्य समस्यामा अझै पनि समाजको नकारात्मक बुझाई कायम रहेको उनको धारणा छ।
नेपालमा २० प्रतिशत गर्भवती तथा सुत्केरीमा देखिन्छ मानसिक समस्या
विकसिक मुलुकको तथ्यांकमा करिब १० प्रतिशत गर्भवती तथा सुत्केरी महिलाहरुमा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ।
नेपाल जस्तो न्यून आय भएका मुलुकका करिब २० प्रतिशत गर्भवती तथा सुत्केरी महिलाहरुमा मानसिक स्वास्थ्य देखिने गरेको विज्ञहरु बताउँछन्।
यस्ता मुलुकमा सुत्केरी पश्चात्को एक वर्ष भित्र मृत्यु हुने महिलाहरु मध्ये २० प्रतिशतको आत्महत्याका कारण मृत्यु हुने गरेको पाइएको छ।
सन् २०२१ को जनगणनासँगै गरिएको कुल मातृ मृत्यु १५१ प्रतिलाख जीवित जन्ममध्ये ६ प्रतिशत मृत्यु आत्महत्याबाट हुने गरेको तथ्यांक सार्वजनिक गरिएको थियो।
गर्भवती तथा सुत्केरी अवस्थामा हुने मानसिक स्वास्थ्य समस्याले महिलामा मात्रै नभएर बच्चाको समेत शारीरिक तथा मानसिक तथा भावनात्मक विकासमा असरमा पुग्ने चिकित्सकहरु बताउँछन्।