डा केएन पौडेल त्यतिबेला कर्णाली प्रदेशको सुर्खेतमा पुगे, जतिबेला त्यहाँ रहरले जाने विशेषज्ञ चिकित्सक बिरलै भेटिन्थे। इन्टरनल मेडिसिनमा एमडी गरेका उनका लागि अनेकौ अवसर थिए। तर उनले सुर्खेत रोज्नुको कारण थियो– जहाँ अभाव छ, त्यहाँ सेवा दिन्छु केही समय।
केही समय सेवा दिने मनोभावसहित सुर्खेत प्रादेशिक अस्पताल आइपुगेका उनले दशक बिताइसके। अर्घखाँचीमा जन्मेहुर्केका डा पौडेल अस्पतालमा वरिष्ठ कन्सल्टेन्ट फिजिसियनको रुपमा कार्यरत छन्। अहिले कर्णाली प्रदेश र त्यहाँका बिरामीप्रति उनको अपनत्व छ। त्यही अपनत्वले उनी आफ्नो अध्ययन र अनुभवबाट प्राप्त ज्ञानसीप त्यहीँ प्रयोग गरिरहेका छन्। बलबुताले भ्याएसम्म त्यहाँ उपलब्ध हुन नसकेका उपचार सेवा विस्तारमा क्रियाशिल छन्।
चितवनको कलेज अफ मेडिकल साइन्सेस मेडिकल कलेजबाट एमबिबिएस गरेका डा पौडेलले इन्टरनल मेडिसिनमा एमडी भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट गरेका हुन्। एमडी अध्ययन पूरा गरेपछि भरतपुरको चितवन मेडिकल कलेजमा डेढवर्ष काम गरे। डा पौडेल २०७२ सालमा सुर्खेत प्रादेशिक अस्पतालमा पुगेका हुन्।
डा पौडेल सुर्खेत प्रादेशिक अस्पतालमा नसर्ने रोगका बिरामीहरु उच्च रक्तचाप, मधुमेह, पक्षघातलगायतका बिरामीदेखि सरुवा रोगहरु डेंगु स्क्रबटाइफस, झाडापखाला लगातका रोगका बिरामीहरु बढी हेर्छन्।
डा पौडेल सुरुमा सुर्खेत प्रादेशिक अस्पतालमा फिसिजियनको रुपमा पुग्दा विशेषज्ञले दिने सेवा नै थिएन भन्दा हुन्छ। त्यसैले उनले सवैखालका बिरामीको उपचार गरे। कर्णालीको विकट ठाउँबाट विशेषज्ञ चिकित्सक खोज्दै त्यहाँ आइपुगेका बिरामीको उपचारका लागि उनले आफ्नो तर्फबाट प्रयास गरे। उनी सम्झिन्छन्, ‘हामीकहाँ आइपुग्न नै निकै कष्ट झेलेका हुन्छन्। हामीले उनीहरुका लागि आफूले सकेको गर्नुपर्छ जस्तो लाग्थ्यो।’
कर्णालीको प्रादेशिक राजधानी सुर्खेतमा रहेको अस्पताललाई सुविधा सम्पन्न बनाउँदै जाने जिम्मेवारी पनि त्यहीँ कार्यरत चिकित्सकको हुन्थ्यो । त्यसकारण डा पौडेल लगायत त्यहाँका चिकित्सकको पहलमा अस्पतालमा अहिले डायलाइसिसदेखि आइसीयु सेवासम्म विस्तार भइसकेको छ।
उनका अनुसार अस्पतालमा अहिले ६ जना विशेषज्ञ चिकित्सक छन्। त्यहाँ मुटुरोगको केही सेवा डा पौडेलले नै सुरु गरे। अहिले विस्तार हुँदै गएको छ। मुटुरोग विशेषज्ञ सहितको टिमले अस्पतालमै मुटुको इको सेवा दिइरहेका छन्।
विशेषज्ञ चिकित्सकहरु भएपछि अस्पतालमा विशेषज्ञ सेवाहरु पनि विस्तार हुँदै गएको उनी बताउँछन्। डा पौडेल भन्छन्, ‘म १० वर्ष अघि आउँदा त विशेषज्ञ चिकित्सक नै थिएनन्, अहिले विशेषज्ञ चिकित्सक पनि थपिएका छन्, सेवाहरु पनि विस्तार भएको छ।’
अस्पतालमा हाल १२ वटा डायलाइसिस मेसिनहरु जडान गरिएका छन्। हेपाटाइटिस बी, हपाटाइटिस सी पोजिटिभ बिरामीका लागि पनि छुट्टै डायलाइसिस मेसिन दुईवटा र आइसीयु पनि छुट्टै व्यवस्थापन गरेर सेवा दिइरहेको डा पौडेलले बताए।
डा पौडेलका अनुसार हाल अस्पतालमा कर्णालीका १० जिल्लाका बिरामीहरु उपचारका लागि सुर्खेत प्रादेशिक अस्पतालमा आउने गर्छन्। विशेषगरी दैलेख, कालिकोट, सल्यान, जाजरकोट, लगायतका जिल्लाबाट धेरै बिरामी आउछन्।
जुम्ला, हुम्लाका केही बिरामी पनि आउने गरेको उनले सुनाए। मुटुका बिरामीहरुलाई एन्जियोग्राफी तथा एन्जियोप्लाष्टी सेवा भने अस्पतालमा नभएकोले हृदयघातका बिरामीलाई रेफर गर्नुपर्ने अवस्था रहेको उनले बताए।
डा पौडेल फिजिसियन चिकित्सक हुन्। सुर्खेत प्रादेशिक अस्पतालमा अन्य रोग विशेष विशेषज्ञ चिकित्सक नहुँदा सवै सेवाका लागि बिरामी रिफर भएर उनीकहाँ नै आइपुग्थे। अहिले रोग विशेष विशेषज्ञ चिकित्सक उपलब्ध छन्। बिरामीहरु उनीहरुकहाँ रिफर हुने वा सिधै स्वास्थ्य जाँच गराउन पुग्ने गरेका छन्।
धेरैजसो फिजिसियनहरु विशेषज्ञ चिकित्सकभन्दा पहिला बिरामी आफूहरुले हेर्नुपर्ने धारणा राख्छन्। तर डा पौडेल भने रोगका प्रारम्भिक पहिचान भइसकेको अवस्थामा रोगविशेष विशेषज्ञ चिकित्सककहाँ गएर जचाउनुलाई राम्रै ठान्छन्।
‘विशेषज्ञ चिकित्सक नभएको ठाउँमा त ठिकै हो, तर रोग विशेषज्ञ विशेषज्ञ चिकित्सक छन् भने त बिरामी सिधैं उहाँहरुले हेर्नु ठिकै हो। तर बिरामीको चाप अनुसार धान्न सक्नेगरी हेर्नुपर्छ,’ डा पौडेल भन्छन्।
स्वस्थ रहन समय–समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने सरकारको नीति योजना छ। सोही अनुसार विभिन्न कार्यक्रम पनि चलिरहेको हुन्छ। तर कर्णालीका धेरै बिरामी रोग लागिसक्दा पनि समयमै उपचारका लागि नआउने समस्या विकराल रहेको डा पौडेल बताउँछन्। ‘बिरामीहरु भौगोलिक दूरी, आर्थिक समस्याको कारण पनि समयमै उपचारमा आउँदैनन्। कतिपय बिरामी त दुईतीन दिन हिडेर यातायात भएको ठाउँसम्म आइपुगेर अनि अस्पताल जाने पनि हुन्छन्,’ उनले भने, ‘सेवा विस्तार भएको भए बिरामीले समयमै स्थानीय स्तरमै उपचार पाउने थिए।’
दुर्गमका बिरामीलाई लक्षित गरेर सुर्खेत प्रादेशिक अस्पतालले टेलिमेडिसिन सेवा पनि चलाइरहेको उनले बताए।
दुर्गमका स्वास्थ्य संस्थादेखि जिल्ला अस्पतालहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीले आफूहरुसँग टेलिमेडिसिन सेवामार्फत पनि बिरामीलाई दुर्गममा सेवा दिइरहेको उनको भनाइ छ।
सुर्खेत प्रादेशिक अस्पतालमा दैनिक एक हजार देखि १२ सयसम्म बिरामी आउँछन्। डा पौडेलले सम्हाल्दै आएको मेडिसिन विभागमा मात्र दैनिक ४०० बिरामी उपचारका लागि आउने गरेका छन्। अस्पतालमा हाल बाल रोग, स्त्री तथा प्रसूति, नाक, कान घाँटी, मुटुरोग विभागहरु विशेषज्ञले चलाइहेका छन्।
लामो सयम एउटै अस्पतालमा भएकाले पनि बिरामीसँग डा पौडेलको भावनात्मक सम्वन्ध पनि जोडिएको छ। जसले उनलाई बिरामी प्रतिको सेवामा सधैं समर्पित गराउँछ।
उनी भन्छन्, ‘सेवा विस्तार हुँदै गएपछि बिरामीहरुमा सेवामा विश्वास बढ्दै गएको छ, लामो समय यही भएकाले पनि बिरामीसँग भावनात्मक सम्बन्ध पनि विस्तार भएको छ। बिरामीको सेवा गर्न पाउदा खुसी लाग्छ।’
दशैं नजिकिदै गर्दा डा पौडेल खानपानमा ध्यान दिन आग्रह गर्छन्। ‘सुगर, प्रेसर, युरिक एसिडको समस्या भएकाहरुले दशैंमा धेरै रातो मासु नखानु, मदिराको सेवा नगर्नु, स्वास्थ्यलाई ख्याल गर्दै दशैं मनाउन सबैलाई आग्रह गर्छु,’ उनले भने।