जनकपुर- मधेश प्रदेश अन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत करारका चिकत्सकहरु आन्दोलित भएका छन्। उनीहरुले तीन महिनादेखि तलब नपाएको भन्दै तलबको माग गर्दै आन्दोलन थालेका हुन्।
करार चिकित्सकले मंगलबार जनकपुरस्थित मधेश प्रदेशको स्वास्थ्य मन्त्रालय परिसरमा धर्ना दिँदै नाराबाजी गरेका छन्। मन्त्रालय परिसरमा उनीहरुले ‘नो पे- नो ड्युटी, कम्प्लिट पेन डाउन’ लेखेको प्लेकार्ड बोकेर नाराबाजी गरेका हुन्।
आन्दोलनरत चिकित्सकहरु संघीय सरकारले तलबका लागि रकम पठाइसके पनि प्रदेश सरकारले निकासा नदिएपछि आफूहरु समस्यामा परेको बताउँछन्। उनीहरुले तीन महिनादेखि तलब नपाएपछि बाध्य भएर आन्दोलन गर्नु परेका बताएका छन्।
चिकित्सकहरुले मधेस प्रदेश सरकार हरायो भन्दै नाराबाजी समेत गरेका थिए। उनीहरुले हरेक महिना तलब पठाउने लिखित प्रतिबद्धता नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।