काठमाडौं- नेपाल मेडिकल कलेजको प्रिन्सिपलमा प्राध्यापक डाक्टर मोदनाथ मरहठ्ठा नियुक्त भएका छन् । काठमाडौं विश्वविद्यालयले प्राडा मरहठ्ठालाई आगामी तीन वर्षका लागि प्रिन्सिपलमा नियुक्त गरेको हो।
विगत तीन वर्षदेखि कलेजको अस्पताल निर्देशकको भूमिकामा रहेका उनलाई शुक्रबार कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले प्रिन्सिपल पदमा पदस्थापन गराएका हुन्। कलेजमा आयोजित कार्यक्रममा अध्यक्ष प्राडा अन्सारीले नवनियुक्त प्रिन्सिपललाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा डा मरहठ्ठाले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे। ‘यहाँले तीन वर्ष अस्पताल निर्देशकको भूमिकामा रहेर गर्नु भएको कामबाट हामी सन्तुष्ठ नै छौं। अब प्रिन्सिपलको भूमिका पनि कुशलतापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने विस्वास छ,’ उनले भने।
काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोग लगायत नेपाल सरकारका नियामक निकायहरुसँग समन्वय गर्न, कलेजको शैक्षिक र प्राज्ञिक विकासमा प्रिन्सिपलले समन्वयकारी भूमिका निर्वाह प्रिन्सिपलको महत्वपूर्ण भूमिका रहने बताउँदै अध्यक्ष प्राडाअन्सारीले त्यसका लागि सबैले सकारात्मक भएर काम गर्नुपर्ने बताए। साथै उनले नवनियुक्त प्रिन्सिपलसँग सहकार्य, समन्वय गरेर काम गर्न विभागीय प्रमुख, फ्याकल्टी र कर्मचारीहरुलाई निर्देशन समेत दिए।
पदस्थापन कार्यक्रममा बोल्दै नवनियुक्त प्रिन्सिपल प्राडा मरहठ्ठाले नेपाल मेडिकल कलेजको शिक्षा, स्वास्थ्य र अनुसन्धानका क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहेर काम गर्ने अवसर पाएकोमा धन्यवाद व्यक्त गर्दै पदीय दायित्व निर्वाह गर्ने क्रममा सबैसँग सहकार्य गरी सामुहिक सल्लाह सुझावअनुसार अगाडी बढ्ने बताए।
कलेजकी प्रबन्ध निर्देशक डा साविहा यासमिनले नवनियुक्त प्रिन्सिपल डा मरहठ्ठालाई कार्यकालको शुभकामना दिँदै म्यानेजमेन्टको तर्फबाट कलेजको शैक्षिक विकास, प्रवद्र्धन र जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार रहेको बताईन्। त्रिवि शिक्षण अस्पतालको एनेस्थेसिया विभागको प्रमुख भएर काम गरिसकेका डा मरहठ्ठासँग कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन समेत काम गरिसकेका छन्।