काठमाडौं- अमेरिकन पब्लिक हेल्थ एसोसिएसन (एपीएचए) का प्रमुखले अमेरिकी स्वास्थ्य मन्त्रीको रूपमा रोबर्ट एफ केनेडी जुनियरको नियुक्तिलाई लिएर बिरोध गरेका छन्।
बीबीसीसँग कुरा गदै एपीएचएका कार्यकारी निर्देशक जर्जस सी बेन्जामिनले केनेडीको कुनै स्वास्थ्य पृष्ठभूमि नभएको बताएका छन्। साथै केनेडीको भ्याक्सिनप्रतिको आशंकायुक्त विरोधले 'देशमा स्वास्थ्यमा पहिले नै ठूलो क्षति पुगेको' बताए।
'उनी प्रशिक्षण, व्यवस्थापन कौशल, स्वभाव वा यो काम गर्नको लागि विश्वासयोग्य छैनन्,' बेन्जामिन भन्छन्, 'यो पदका लागि उनी बिल्कुल गलत छनोट हुन्।'
उनले केनेडी १.९ ट्रिलियन डलरको बजेट र ८० हजार जनशक्ति भएको एजेन्सीको निरीक्षक बन्न लायक नभएको बताए।
'हामी जनता र जनताको स्वास्थ्यको लागि कस्तो जोखिम हो भनेर मानिसहरूलाई थाहा छ भनेर सुनिश्चित गर्न हामी सकेसम्म यो नियुक्तिको विरोधमा उत्रिनेछौ,' उनले भनेका छन्।