चितवन- भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ। भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच आज यससम्बन्धी सम्झौता भएको हो।
सम्झौताअनुसार भरतपुर महानगरवासीले ‘होल बडी चेकअप’मा ५० प्रतिशत, अन्य सम्पूर्ण उपचारमा ३० प्रतिशत र अस्पतालको फार्मेसीमा सात प्रतिशत छुट पाउनेछन्। अस्पतालले बजारबाट खरिद गरेका सामानमा भने छुट सुविधा नदिने सम्झौतामा उल्लेख छ।
सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ। महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र चितवन मेडिकल कलेजका अध्यक्ष प्रा डा हरिश्चन्द्र न्यौपाने र सिएमसी फार्मेसीका सरोजप्रसाद ज्ञवाली साक्षीका रूपमा छन्।
छुट सुविधा लिनका लागि महानगरले उपचार कार्ड उपलब्ध गराउनेछ। यो कार्ड तयार नहुँदासम्म महानगरको सिफारिसका आधारमा छुट सुविधा पाइनेछ। स्वास्थ्य बिमा, विपन्न र मेडिकल लिगल केसमा भने महानगरवासीले छुटको दाबी गर्न पाउने छैनन्। महानगरले आयोजना गर्ने स्वास्थ्यसम्बन्धी कुनै कार्यक्रमहरू भएमा आवश्यक स्वास्थ्यसम्बन्धी जनशक्ति अस्पतालले उपलब्ध गराउने सम्झौतामा जनाइएको छ।
शिक्षण अस्पतालको भगिनी संस्था सिएमसि क्यान्सर इन्स्टिच्यूटमा सञ्चालित सिटिइभिटीको पढाइमा विद्यार्थीहरूलाई १० प्रतिशत छुटका लागि महानगरले सिफारिस गर्न सक्ने जनाइएको छ। महानगरले आफ्नो कार्यालय परिसरमा सबैले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४ बाई ६ फिटको बोर्डमा दुवै पक्षबीच भएको सम्झौताको जानकारी राख्नुपर्नेछ। यो सेवा मङ्सिर २ गतेदेखि २०८२ मङ्सिर १ गतेसम्म लागू हुनेछ। सम्झौतालाई पुनः नवीकरण गर्न सक्ने प्रावधान राखिएको छ।